चौथो मिल्स गोल्डकप : एपीएफको विजयी सुरुवात
विराटनगर : सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल एपीएफले विराटनगरमा शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति बर्दिबासलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। एपीएफका तर्फबाट हरि कार्कीले २, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरेर टिमलाई अन्तिम चारको यात्रा तय गराएका हुन्। बर्दीबासका पवन पाख्रिनले सान्त्वना गोल फर्काएका थिए।
एक पक्षीय खेल पस्किएको एपीएफले ११ औं मिनेटमा हरि कार्कीको गोलमार्फत अग्रता लिएको थियो। कप्तान उज्वल चाम्लिङले निकालेको पासलाई सदुपयोग गर्दै हरिले दर्शनीय गोल गरेका थिए। त्यसको १ मिनेट पनि बित्न नपाउँदै एपीएफले अग्रता दोब्बर बनायो।
कप्तान उज्वलकै पासलाई सदुपयोग गर्दै दिसनले टिमका लागि दोस्रो गोल गरेका हुन्। खेलको २२ औं मिनेटमा हरि कार्कीले अर्को गोल गरेर अग्रता तेब्बर बनाउँदा बर्दीबास थप दबाब झेल्न बाध्य भयो। भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरिले आकर्षक गोल गरेका थिए।
मध्यान्तरपछिको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गोल गरेर टिमलाई फराकिलो अन्तरको जित दिलाए। खेलको ५५ औं मिनेटमा पवन पाख्रिनले सान्तवना गोल फर्काए पनि बर्दीबासलाई जितका लागि पर्याप्त हुन सकेन।
खेलको सुरुवातदेखि आक्रामक खेल पस्किएको एपीएफले अन्तिमसम्म बर्दीबासलाई दवाबमा राखेको थियो। केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बर्दीबास बाहिरिन पुग्यो। खेलको म्यान अफ दी म्याच एपीएफका हरि कार्की घोषित भए। उनले नगद ३ हजार पुरस्कार पाए।
प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा पेमा युवा क्लब विराटनगर र सुनसरीको फेयर फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुने छ। मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा सुरु भएको प्रतियोगिता वैशाख १५ गतेसम्म चल्ने छ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको गोल्डकप संयोजक मनोज खड्काले बताए। उनका अनुसार पुरस्कारवापत विजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने छन्।