मौसममा रुमलिएको मुस्ताङ

प्रकृति

मौसममा रुमलिएको मुस्ताङ

मुस्ताङको विकासको आधार भनेको नै यहाँको पर्यटन हो। नेपाल घुम्न आउने सार्क राष्ट्रलगायतका विदेशी पर्यटकमध्ये १० प्रतिशतभन्दा बढी मुस्ताङ जिल्लामा घुम्न आउने गर्छन्।

धवलागिरि र निलगिरिलगायतका अग्ला गगनचुम्बी हिमाल र वरिपरि अनगिन्ती पहाड। यसरी घेरिएर तल खोंचमा छ, विश्वमै शालिग्रामका लागि प्रख्यात कालीगण्डकी। सोही नदीकिनारमा रहेको मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम। जुन भौगोलिक, जैविक विविधता र पर्यटकीय हिसाबले पनि अन्य जिल्लाभन्दा बिल्कुलै भिन्न छ। जोमसोममा बस्ने तथा यहाँ आउने जो कोहीले पनि पूर्वी र दक्षिणी शिरमा रहेका अग्ला हिमाल तथा वरिपरिका नागबेली पहाड नहेरी धरै पाउँदैन।

पूर्वमा जतिबेला हेरे पनि मुसुमुसु हाँसिरहेको भान हुने नीलगिरि र दक्षिणमा मानापाथी र धवलागिरि हिमालको चुचुरो जसले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। पहिले पहिले त हिउँँद महिनामा जोमसोमभन्दा तल लेतेसम्म पनि हिउँँले ढपक्कै ढाक्थ्यो। हिउँँ हेर्न जोमसोम पनि पुग्न पर्दैनथ्यो, घासाको फेदीमै बाटोसमेत सेताम्मे हुन्थ्यो। अहिले अवस्था फरक छ। पुस सकिँदा पनि नीलगिरि र धवलागिरि हिमालमा समेत हिउँँ परेको छैन र पर्ने लक्षण पनि देखिँदैन। बरु दिउँसोको समयमा भएको अस्वाभाविक तापक्रमको वृद्धिले माथि हिमालको चुचुरोमा भएको हिउँँसमेत पग्लिएर चुचुरो खुइलिँदो डाँडाको रूपमा परिणत हुँदै गएको छ।

केही वर्ष अघिसम्म मंसिर महिना लाग्दै गर्दा मुस्ताङको सबैजसो भागमा हिउँँ पथ्र्यो। अनि जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुस–माघको जाडो छल्न तल पोखरा तथा काठमाडौंलगायत सहरमा फागुनको आधाआधीसम्म उतै घुमघाममा रमाउने चलन थियो। यो चलन यद्यपि कायम पनि छ। यसलाई चलन भन्ने कि बाध्यता वा रहर ? पहिले जाडो महिनामा लगातार हिउँँ पर्ने, बाटोघाटो तथा यातायातको सुविधा नहुने हुँदा यहाँको जनजीवन अत्यन्त कष्टकर हुने भएकाले पोखरालगायतका सहरमा झर्नै पर्ने बाध्यता थियो। हिउँँद महिनामा लामो समय हिउँँ परेको अवस्थामा सवारीसाधन पनि नचल्ने हुँदा मानिसलाई खाद्यान्न समस्या हुन सक्ने भएकाले पोखरातिर झर्नु उतिबेला स्वाभाविक मानिन्थ्यो। प्रहरी, प्रशासन, सेना र केही अत्यावश्यक कार्यालयका कर्मचारीबाहेक अन्य कर्मचारी तथा मुस्ताङमा बसोबास गर्ने नागरिक जाडोमा जिल्ला छोड्नुलाई पहिले अनौठो पनि मानिँदैनथ्यो। तर अहिले पुस सकिनै लाग्दा पनि हिउँँ पर्नु त कता हो कता जोमसोममा दिउँसोको समयमा टन्टलापुर र चर्को घाम लागेका कारण घाममा एकछिन पनि बस्न नसकिने अवस्था छ।

हिउँँद महिना सकिनै लाग्दा पनि जोमसोम आसपास रहेका हिमालमा हिउँँ नपर्नु र हिमालमा भएको हिउँँ पनि पग्लिएर हिमाल रित्तै हुँदै जानुमा सायद जलवायु परिवर्तनको असरको कारण नै होला भन्न सकिन्छ। हिमालमा प्रशस्त हिउँ हुँदा त्यताबाट दक्षिणतर्फ बग्ने चिसो हावाको कारण परपर तराईसम्म फागुन र चैत्रमा पनि चिसो अनुभूति हुने गथ्र्यो। तर यसपालिको अवस्था फरक देखिएको छ। हुन त हिउँँद अझै सकिएको छैन। माघ–फागुनमा पनि पहिले पहिले प्रशस्त हिउँँ पर्ने गरेको पाइन्छ। तर नेपाली उखान ‘लगनपछिको पोते के काम ?’ चरितार्थ हुने देखिन्छ। यदि समयमा हिउँँ नपर्ने र हिमालमा हिउँ नरहने हो भने हिमपातमा आश्रित यहाँका स्याउ खेतीलगायत प्रमुख नगदेबालीको उत्पादन उल्लेख्य मात्रामा घट्ने निश्चित छ। तसर्थ जलवायु परिवर्तनको विषय हिमालमा बस्ने मानिसको सरोकारको विषय मात्र बन्नु हुँदैन। पहाड र तराईमा बस्ने सबै तह र तप्काका सरोकारवाला तथा आम नागरिकका लागि पनि चिन्ताको विषय बन्नु आवश्यक देखिन्छ।

यहाँको भौगोलिक बनावट, जैविक आधार, तालतलैया, बौद्ध तथा हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड तथा शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी, प्रसिद्ध लोमान्थाङ दरबार र छोसेर गुम्बालगायत यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्। हिमशृंखलालगायत यी सबै क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइसकेको छ। कालीगण्डकी नदीमा पहिले जस्तो शालिग्राम पाउन छोडेको छ। लोमान्थाङमा राजा नबस्ने र दरबार बन्द रहने हुँदा त्यहाँ आउने पर्यटकहरू निराश हुने गरेका छन्। पानीको स्रोत सुक्दै गएको छ। वर्षा कम हुने जिल्ला मुस्ताङ हो तापनि यसै वर्षको साउनमा कागबेनीमा आएको बाढीले निम्त्याएको भौतिक विनाश जलवायु परिवर्तनको ज्वलन्त उदाहरण हो भन्न सकिन्छ। सायद सोही कारण हुन सक्छ– यो वर्ष कागबेनीमा पितृको सम्झनामा तर्पण तथा श्र्राद्ध गर्न आउने मानिसको संख्यामा समेत उल्लेख्य कमी आएको छ।

मुस्ताङ आउने नेपाली तथा विदेशी पर्यटकको पहिलो रोजाइ नै जोमसोम, लेतेलगायतका स्थानबाट सहजै हिमाल र हिमालमा भएको हिउँँ देख्नु, हेर्नु र यसको आनन्द लिनु हो। हिमालको उचाइ तथा त्यहाँ देखिने हिउँको मनमोहक दृश्य आ–आफ्नो मोबाइल तथा क्यामेरामा कैद गर्दै आनन्दित हुन यहाँ आउने जो कोही पनि लालायित हुने गर्छन्। हिमालमा हिउँँ पग्लँदै गई त्यसको स्वरूप परिवर्तन भई नांगो खुइलिएको डाँडाको रूपमा परिणत भएपछि हिमालमा हिउँ हेर्ने मनोकांक्षा बोकी मुस्ताङ आउन चाहने पर्यटकको रोजाइमा मुस्ताङ नपर्न पनि सक्छ।

वास्तवमा भन्ने हो भने मुस्ताङको विकासको आधार भनेको नै यहाँको पर्यटन हो। नेपाल घुम्न आउने सार्क राष्ट्रलगायतका विदेशी पर्यटकमध्ये १० प्रतिशतभन्दा बढी मुस्ताङ जिल्लामा घुम्न आउने गर्छन्। यहाँसम्म पुग्ने बाटो सहज भएकाले पनि होला, अहिले नेपाली आन्तरिक पर्यटकहरूको रोजाइमा पनि मुस्ताङ नै पर्ने गरेको छ। मुख्य सिजनमा मुस्ताङमा रहेका होटेलहरूले पर्यटकको माग धान्न सकेका छैनन्। तसर्थ यो यथार्थतालाई हृदयंगम गरी जलवायु परिवर्तन र यसले पारेका असरबारे सरोकारवाला निकाय र राज्य तहबाट समेत तत्काल उचित प्रयासको थालनी गरी यसको संरक्षण र प्रवद्र्धनमा लाग्नु अत्यन्त आवश्यक छ।

मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले मात्रै प्रख्यात छैन। धार्मिक र सांस्कृतिक हिसाबले पनि प्रसिद्ध छ। हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथलगायतका धार्मिक धरोहरको उचित संरक्षण र समय अनुकूल व्यवस्थित गर्दै लैजानु जरुरी देखिन्छ। मुक्तिनाथ मन्दिरको व्यवस्थापन प्रभावकारी बनाउन र यसको सौन्दर्यलाई अझै ज्वाजल्यमान बनाउन सबै पक्ष इमान्दारीपूर्वक लाग्न आवश्यक देखिन्छ। भारतलगायतका मुलुकमा रहेका धार्मिक धरोहरहरूको सौन्दर्यका कारण पनि पर्यटक तथा आस्थावान्हरूको ती स्थानमा थामीनसक्नु घुइँचो लाग्ने गर्छ। यहाँका धार्मिक धरोहरहरूको समयानुकूल मर्मतसम्भार र व्यवस्थित तथा प्रचारप्रसार गर्न सकेमा उता लाग्ने भिड यता पनि लाग्ने निश्चित छ। यसै जिल्लामा रहेको दामोदर कुण्डको जुन ख्याति र महिमा छ तद्नुरूपको व्यवस्थापन हुन सकेको छैन। त्यहाँसम्म पुग्न सडक सुविधाको कठिनाइका कारण पैदल यात्रा कष्टकर छ। हेलिकोप्टर यात्रा अत्यन्त महँगो रहेका कारण जोकोहीका लागि सहज हुने कुरा पनि भएन। तसर्थ यसको सहजताका लागि प्रयास भएमा 
पर्यटनमा थप बलियो आधार बन्न सक्छ।

मुस्ताङ जिल्ला जसरी धार्मिक, जैविक, सांस्कृतिक र पर्यटकीय हिसाबले महŒवपूर्ण छ, त्यसैगरी खेतीपातीको हिसाबले पनि प्रसिद्ध छ। यहाँ उत्पादन भएका जुनसुकै बालीहरू काठमाडौंलगायतका सहरहरूमा प्रमुख ब्रान्डको रूपमा प्रख्यात छन्। यहाँको प्रमुख नगदे बालीको रूपमा रहेको स्याउ, आलु, ओखर, उवा र फापर खेती छन्। पशुपालनमा चौरीगाई, भेडा, च्याङ्ग्रा यहाँको प्रमुख नगद आम्दानी स्रोतको रूपमा छन्। तर जलवायु परिवर्तनको असर यी सबै व्यवसायमा परेको छ।

पहिले कोवाङसम्म पर्याप्त मात्रामा स्याउ उत्पादन हुने गरेकोमा अहिले जोमसोम नजिक रहेको र स्याउ खेतीका लागि प्रख्यात मार्फामा समेत पर्याप्त मात्रामा स्याउ उत्पादन हुन छाडेको छ। आलु खेती प्रशस्त हुने भएता पनि कामदारहरूको अभावमा खेतीयोग्य जमिन बाँझै रहने गरेका छन्। उवा र जौ खेतीमा पनि कामदारकै समस्या छ। यहाँ बसोबास गर्ने मानिसको प्रायः होटेल व्यवसायमा मात्र ध्यान केन्द्रित भएका कारण र प्रशस्त मात्रामा मजदुरी पाउन छाडेका छन्। त्यसैले आलु, उवा र जौ खेती बाली पलायन हुने अवस्था सिर्जना भएको हो।

तापक्रम बढ्दै गएको कारण निश्चित तापक्रममा चरन हुने पशुचौपायामा समस्या देखिन थालेको छ। तसर्थ यी सबै समस्याको समाधानका लागि स्थानीय तह, विभिन्न निकायमा कार्यरत कर्मचारी, मुस्ताङवासी नागरिक र अन्य सम्बन्धित सरोकारवाला एकचित्त भई कार्य गर्न सके बदलिँदो मौसमको अविछिन्न मारमा परेको मुस्ताङलाई पुनः पुरानै अवस्थामा फर्काउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.