रसुवाको धुन्चेमा बजार अनुगमन, अखाद्य वस्तु बेच्ने सप्लायर्सलाई २ लाख जरिवाना
रसुवा : जिल्लामा बजार अनुगमनका क्रममा अखाद्य तथा गुणस्तरहीन वस्तु बेचबिखन गरेको भेटिएपछि व्यापारीलाई २ लाख रुपैयाँसम्म जारिवाना गरिएको छ।
प्रदेश स्तरीय जिल्ला बजार अनुगमन समिति तथा अनुगमन निर्देशिका,२०८० (दफा ७) को उपदफा ४ सँग सम्बन्धित अनुगमनमा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन सुरु गरेको हो।
सदरमुकाममै म्याद सकिएको खाद्य सामग्री बिक्री वितरण भएको गुनासो पछि बजार अनुगमन समितिले व्यवसायी माथि निगरानीका साथ अनुगमन गर्न सुरु गरेको हो। गुनासो पछि धुन्चे बजारस्थित लक्ष्मीराम सप्लायर्सले म्याद गुज्रेको सामग्री बेचेको भेटिएपछि बजार अनुगमन समितिले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
लक्ष्मीराम सप्लायर्सले साविक फर्मको पुँजी ३ लाख मात्र रहेकोले वर्तमान मुद्रास्फीति र पसलमा भएको सामग्रीहरूको मौज्दात बमोजिम फर्मको पुँजी वृद्धि गर्न समेत निर्देशन दिइएको छ।
यसैगरी याङजेन स्टोर, घले किराना पसल, गोसाइँकुण्ड किराना पसल, प्रतिमा किराना पसललाई ५ हजार, रसुवा किराना पसललाई २० हजार, जियाशा कोल्ड स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगीको संयोजकत्वमा गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेबजारमा रहेको खाद्यान्न तथा किराना पसलहरूमा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पसलहरूलाई जरिवाना लगाई म्याद गुज्रिएका खाद्य समान बरामद गरी नष्ट गरिएको हो।
अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु मिति सकिएका खाद्यान्न सामग्री र म्याद रहेको सामग्री एकै ठाउँमा राखेर बेचेको पाइएपछि जरिवाना गरेको हो। लिची जुस, बिस्कुट, चाउचाउ, स्याम्पु, बियर, चकलेट, अचार, चाउमिन, क्याचप, पेय पदार्थ अन्य विभिन्न खाद्यवस्तुहरू म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ।
पसलमा मूल्यसूची नराखिएको, लेबलिङ नगरिएका सामान बेचेको समेत पाइएको सहायक प्रमुख जिल्ला अधिकारी योगीले बताए। उत्तरगया, कालिका, टिमुरे, राम्चे, ग्राङ, चिलिमे, भार्खु साथै गोसाइँकुण्ड पदमार्गहरूमा अनुगमन गर्दै धुन्चे बजारमा पनि अनुगमन गरिएको छ।
समितिले नौकुण्डका गाउँपालिका विभिन्न क्षेत्रमा सञ्चालित उद्योगहरू, स्याफ्रुवेशी, ठूलोस्याफ्रुलगायत गाउँका होटल र पसलहरूमा पनि गुनासोका आधारमा अनुगमन गरिने अनुगमन समितिका सचिव एबम् उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख वृहस्पति तामाङले जानकारी दिए।