भरपर्दो आम्दानी बन्यो ‘सुन्तला खेती’

भरपर्दो आम्दानी बन्यो ‘सुन्तला खेती’
भोजपुर नगरपालिका–५, बोखिममा ढुवानीका लागि राखिएको सुन्तला। तस्बिर : प्रदीपचन्द्र राई।
सुन्नुहोस्

भोजपुर : मनग्गे आम्दानीको स्रोत हुन थालेपछि भोजपुरका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। राम्रो आम्दानीको स्रोत बनेको सुन्तला खेतीमा भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू पछिल्ला केही वर्षदेखि सुन्तला खेतीउन्मुख बन्दै गएका हुन्।

टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राम राईले केही वर्षअघि करिब २५ रोपनीमा लगाएको सुन्तला बगानबाट अहिले वार्षिक १० लाखसम्म आम्दानी गर्छन््। घरमै बसेर राम्रो आम्दानी बनेको सुन्तला खेतीको बगान स्याहार्न उनले हेरालु र कामदार नै लगाएका छन्। बर्सेनि साढे ९ टनसम्म उत्पादन हुने उनको बगानको सुन्तला धरान, विराटनगर, काठमाडौंसम्म ढुवानी हुने गर्छ।

‘सुन्तला बगानको राम्रो हेरचाह गर्ने हो भने सुन्तला उत्पादन पनि राम्रो हुन्छ, विदेश नै गइरहनु पर्दैन, यहीँ मनग्गे आम्दानी गर्न सकिने रहेछ’ राईले भने, ‘मैले बगानको रेखदेख गर्ने कामदारसँगै सुन्तलालाई चाहिने मलखाद, किटनाशक औषधि र बेलाबेला आवश्यक सिँचाई दिने गरेको छु, अहिलेसम्म खासै घाटा छैन ।’

समुद्री सतहबाट १२ सय मिटरदेखि १५ सय मिटर उचाइका भेगहरूमा सुन्तला खेती राम्रो हुने भएकाले जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला खेती हुने गरेको छ। सुन्तलाको बजारभाउ राम्रो हुने भएकाले पनि किसानहरू अन्नबाली लगाउने खेतबारीहरूमा सुन्तला लगाउन थालेका छन्। सुन्तलाको मागलाई धान्न सक्ने उत्पादन भएकाले किसानहरू खेतीमा हौसिँदै गएको भोजपुर नगरपालिका–५ का कृषक प्रकाश राई बताए। 

‘वर्षैपिच्छे सुन्तला खेती गर्ने किसानको संख्या उल्लेख्य छ, घरको खर्च सजिलै धान्न सक्ने भएकाले पनि किसानहरू सुन्तला खेतीमा हौसिएका छन्’ उनले भने।

प्रतिकूल मौसमले सुन्तलाको मूल्यमा गिरावट

सुन्तला उत्पादन राम्रो भएपनि यो वर्ष प्रतिकूल मौसमका कारण सुन्तला निकासीमा समस्या आएकाले सुन्तलाको मूल्यमा भने गिरावट आएको छ। गतसाल २ सय रूपैयाँ प्रतिकिलो बिक्री भएको सुन्तला यो वर्ष ८० रुपैयाँसम्म बिक्री गर्नुपरेको सुन्तला कृषक तथा व्यावसायीहरू सुनाउँछन्। 

‘विगतका वर्षहरूमा भन्दा यो वर्ष सुन्तला उत्पादन बढे पनि सिजनका बेला तरार्ई क्षेत्रलगायत शहरी क्षेत्रमा प्रतिकूल मौसमका कारण सुन्तलाको माग कम भएकाले भनेजति सुन्तला ढुवानी गर्न सकिएन, धेरैजसो बगानका सुन्तलाहरू स्थानीय बजारमै सस्तोदरमा खपत गर्नुप¥यो’, सुन्तला व्यावसायी बलराम गौतमले सुनाए। बजार माग नभए पनि आगामी वर्षहरूमा उचित मूल्य पर्खाइकै लागि यो वर्ष कृषकहरूबाट सुन्तला ठेक्कामा लिएर सस्तो दरमै शहरबजारसम्म पुर्‍याउन बाध्य भएको उनले बताए। जसकारण विगतका वर्षहरूको तुलनामा यो वर्ष ठेक्कामा लिएको सुन्तलाबाट घाटा ब्यहोर्नुपरेको उनले सुनाए।

अव्यवस्थित बजारीकरणले किसान हैरान

बजारीकरण व्यवस्थित नहुँदा पनि सुन्तला कृषकले यो वर्ष सस्तो मूल्यमा सुन्तला बेचविखन गर्नुपरेको किसानहरू सुनाउँछन्। भोजपुर नगरपालिका–५ का दिलीप राईले भने, ‘सुन्तलाको तलतिरैबाट माग कम भयो, ठेकेदारले सबै उठाउन सकेनन्, मूल्य लगाएनन्, यहाँ बजार सानो छ, स्थानीय तहले बजार व्यवस्थापन गर्न सकेको भए पनि त सुन्तलाको मूल्यमा गिरावट आउने थिएन।’ भोजपुरबाट वार्षिक ७ हजार ९ सय ३० मेट्रिक टनसम्म उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांक छ। 

अनुदानमा सहुलियत

पछिल्ला केही वर्षहरूमा सुन्तलाको मूल्य र मागलाई ध्यानमा राखेर बहुवर्षे आम्दानीको श्रोत सुन्तला खेतीमा किसानहरू आकर्षित हुन थालेको परियोजना कार्यान्वयन ईकाइ संखुवासभा-भोजपुरले जनाएको छ। सुन्तलाका लागि भोजपुरमा क्षेत्र विस्तार, मलखाद, सिँचाइ पाईपमा सहुलियत अनुदानका कार्यक्रमहरू सञ्चालन भइरहको सूचना अधिकारी जुनिता राईले बताइन्। 

‘सुन्तला कृषकका लागि यो कृषि आधुनिकीकरण परियोजनाले कृषकको माग र आवश्यकतालाई हेरेर अनुदानका कार्यक्रमहरू चलिरहेका छन्’, उनले भनिन्। परियोजना कार्यान्वयन ईकाइले सुन्तला क्षेत्र विकासका लागि कृषकहरूलाई पारीपात्ले, धनकुटाबाट उन्नत जातका सुन्तलाका बिरुवाहरू ल्याएर वितरण गरिरहेको उनले सुनाइन्।

टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, रामप्रसादराई गाउँपालिका र अरूण गाउँपालिकालगायतका विभिन्न सुन्तलाका पकेट क्षेत्रमा सुन्तला खेती गरिन्छ। भोजपुरमा देसी, पहाडे, जुनारलगायत स्थानीय प्रजातीका बिजु, कलमी सुन्तला खेती हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.