प्रतिपक्षी बेन्चमा पुग्नासाथ सदन अवरोध

प्रतिपक्षी बेन्चमा पुग्नासाथ सदन अवरोध
प्रतिनिधिसभाको शुक्रबारको बैठक अवरोध गर्दै कांग्रेस
सुन्नुहोस्

काठमाडौं : सत्तामा रहेको झन्डै एक वर्षपछि प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले सदन तताउन सुरु गरेको छ। सत्ता गठबन्धनबाट बाहिरिएको पीडामा रहेको कांग्रेसले अवरोध गर्दा प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको जिकिर गर्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले नै जवाफ दिनुपर्ने अडान राखेको छ। 
प्रतिनिधिसभाको शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहालले जवाफ नदिएसम्म सदन अघि बढ्न नसक्ने अडान राखेका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको घेरामा तानिएका गृहमन्त्री लामिछानेको बारेमा जवाफ दिनुपर्ने माग राखे। 

सत्तामा हुँदा सहकारी ठगीका सम्बन्धमा चुइँक्क नबोलेको कांग्रेसले प्रतिपक्षी हुँदा भने प्रतिनिधिसभा नै अवरुद्ध गरेको छ। विश्लेषकहरूले प्रतिपक्षी कांग्रेसको क्रियाकलापहरूलाई दोहोरो चरित्रको संज्ञा दिएका छन्। ‘सत्ता गठबन्धनबाट अलग हुनु परेकोमा प्रतिनिधिसभा अवरुद्ध गरेर कांग्रेसले दिएको तात्तातो प्रतिक्रिया हो,’ पूर्वसभामुख दमननाथ ढुंगानाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘यिनै दलहरूले अहिलेको अग्रगामी परिवर्तन ल्याउने काम गरेका हुन्। तर, अहिले दलहरू गैरजिम्मेवार देखिन थालेका छन्।’ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले सदन अवरोध गरेको बताइन्। सरकारी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले नयाँ सरकारलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरिन्। 

‘भर्खर त सरकार पुनर्गठन भएको छ। मन्त्रीहरूले भर्खर काम गर्न सुरु गर्नुभएको छ। काम गर्न नसके आफैं सरकारबाट बाहिरिनुहुन्छ,’ मन्त्री शर्माले भनिन्, ‘तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो।’ सदनलाई मर्यादित र प्रभावकारी बनाउने जिम्मा सरकारको रहेको उल्लेख गर्दै मन्त्री शर्माले सदन सञ्चालनमा सहयोग गर्न कांग्रेसलाई आग्रह गरिन्। 

अहिले चर्चामा रहेका विषयका सम्बन्धमा चैत ६ गते प्रधानमन्त्री दाहालले सदनमा उपस्थित भएर जवाफ दिँदैछन्। ‘सरकार जवाफबाट भागेको छैन। प्रधानमन्त्रीले सदनमा जवाफ दिने कार्यक्रम छ। त्यही बेला यस विषयमा पनि जवाफ दिनुहोला,’ मन्त्री शर्माले भनिन्। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रधानमन्त्रीको जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए। कांग्रेस सांसदहरूले सहकारीलगायत प्रकरणमा जोडिएका व्यक्तिले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका थिए। गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद् बैठक स्थगित गरेका छन्।

शुक्रबारको बैठकमा आज राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक गृहमन्त्रीले पेस गर्ने तयारी थियो। सभामुख घिमिरेले विधेयक पेस गर्न अनुमति दिनासाथ कांग्रेसका सांसदहरूले उभिएर विरोध गरे। त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे।

दलहरूबीच छलफलपछि शुक्रबार दोस्रोपटक बसेको बैठकमा सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई विधेयक पेस गर्न फेरि अनुमति दिए। तर कांग्रेसका सांसदहरूले विरोध गर्दै बेल घेराउ र नाराबाजी गरे। त्यसपछि सभामुखले आइतबारसम्मका लागि बैठक नै स्थगित गरेका छन्।

सत्ता गठबन्धनबाट अलग हुनु परेकोमा कांग्रेसको तात्तातो प्रतिक्रिया हो। अग्रगामी परिवर्तन ल्याउने दलहरू गैरजिम्मेवार देखिनु चिन्ताको विषय हो।  - दमननाथ ढुंगाना, पूर्वसभामुख

प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर, प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो। - रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.