गठबन्धन फेरिनासाथ फेरिए ३ प्रदेश प्रमुख

गठबन्धन फेरिनासाथ फेरिए ३ प्रदेश प्रमुख
सुन्नुहोस्

नयाँ प्रदेश प्रमुखका रूपमा मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट  र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई मनोनयनका लागि राष्ट्रपति समक्ष  सिफारिस ।

काठमाडौं : सत्ता समीकरण फेरिएलगत्तै नवगठित सरकारले तीन प्रदेशका प्रमुखहरू पदमुक्त गर्न सिफारिस गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस, गण्डकी र सुदूरपश्चिममा रिक्त हुने पदमा नयाँ प्रदेश प्रमुखलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार, मन्त्रिपरिषद् बैठकले तीनवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकार प्रवक्तासमेत रहेकी मन्त्री शर्माले  बैठकले  रिक्त हुने प्रदेश प्रमुखका पदहरूमा  नयाँ नियुक्तिको सिफारिस गर्न नयाँ प्रदेश प्रमुखका रूपमा मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट  र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई मनोनयनका लागि राष्ट्रपति समक्ष  सिफारिस गरेको जानकारी दिइन्। सिफारिस गरिएका तीनैजना प्रदेश प्रमुख सत्तारुढ नेकपा एमाले निकट हुन्। 

शपथ गराउँदा–गराउँदै पदमुक्त 

प्रदेश प्रमुखमा नियुक्त भएको साढे दुई  वर्षपछि पदमुक्त हुँदै छन्। मन्त्रिपरिषद् बैठकले  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी पदमुक्तकोलागि सिफारिस  गरेको छ। तीनै जना नेपाली कांग्रेस निकट हुन्। 

उनीहरू २०७८ साल साउनमा  प्रदेश प्रमुखमा  नियुक्त भएका थिए। सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी पदमुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले मन्त्रीलाई शपथ गराइरहेका बेला संघिय सरकारले पदमुक्त गरेको हो। नयाँ गठबन्धनको सरकार बने लगत्तै संघ र प्रदेश सरकारहरूबीचमा समन्वय नभएकाले लगायतका गतिविधि भइरहेकोले पदमुक्तकोलागि सिफारिस गर्नु परेको एक मन्त्रीले जानकारी दिए। 

नेपालको संविधानमा प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार राष्ट्रपतिलाई दिएको छ। धारा १६३ (२) मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था रहेको छ। सोहि धाराको उपधारा ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ  ।  राष्ट्रपतिले पदमुक्त नगरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले  प्रदेश प्रमुखको पदमुक्तका लागि भएको मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कार्यालयमा आएको औपचारिक जानकारी नभएको बताए। 

को हुन नयाँ प्रदेश प्रमुख ? 

मधेस सरकार प्रमुखमा सिफारिस भएकी  भण्डारी झापाकी स्थानीय बासिन्दा हुन्। प्राध्यापन पेसामा संलग्न भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघमा आबद्ध छिन्।  उनी  यस अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा डेनमार्कका लागि नेपाली राजदूतमा सिफारिस भएकी थिइन। तर, ओली नेतृत्वको सरकार बाहिरिए पछि उनी राजदूत बन्न पाइनन्। 

गण्डकी प्रदेश प्रमुखमा  सिफारिस भएका डिल्लीराज भट्ट सुदूरपश्चिम डोटीका बासिन्दा हुन्। उनी एमालेको केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन्। त्यस्तै  सुदूरपश्चिम प्रमुखमा सिफारिस भएका मियाँ  यसअघि संविधानसभा सदस्य भएका थिए। एमालेको केन्द्रीय कार्यसमितिमा रहेर कार्य गरेका मियाँ  मुस्लिम इत्तेहाद संघका पूर्वअध्यक्ष  छन्। 

प्रदेशको औचित्य के ? 

संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार, केन्द्रमा सत्ता समीकरण फेरिनेबित्तिकै प्रदेश प्रमुखहरू पदमुक्त  गर्ने प्रवृत्तिले प्रदेशको आवश्यकता र औचित्य नभएको  सन्देश प्रवाह हुने बताए।

 ‘केन्द्रमा केही परिवर्तन हुनेबित्तिकै  तल्लो तहमा पनि हेरफेर हुनु राम्रो होइन। प्रदेशलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न दिइँदैन भन्ने सन्देश गएको छ । प्रदेश औचित्यहिन भएको छ,’ संविधानविद् डा. आचार्यले भने, ‘प्रदेश स्वयं पनि आफ्नो हक, अधिकार र शक्तिलाई उपभोग गर्न सक्षम नभएको 
पनि देखिन्छ।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.