एक वर्षदेखि रोकियो भिडियो एक्सरे सेवा
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन।
छत्रदेव गाउँपालिका-२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा २ वटा भिडियो एक्सरे मेसिन रहेपनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि भिडियो एक्सरे सेवा सञ्चालन हुन नसकेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख विष्णु खनालले बताए।
भिडियो एक्सरे गर्ने डाक्टर अध्ययन विदामा गएपछि विगत एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको गएसजी मेसिन सञ्चालन हुन नसकेको हो। यस स्थानका सेवाग्राहीहरू भिडियो एक्सरे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनीकमा जान बाध्य भएका छन्।
भिडियो एक्सरे सेवा सञ्चालन हुन नसक्दा गर्भवती महिलाहरू बढी मर्कामा परेका छन्। एक्सरे मेसिन पनि अहिले सञ्चालन हुन सकेको छैन। प्राविधिक कारणले एक्सरे मेसिन पनि सञ्चालन हुन नसकेको डाक्टर आरोग्य खनालको भनाइ छ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चौविस घण्टे प्रसुती सेवा, ओपिडी सेवा, ल्याब सेवा, बीमा सेवालगायतका सेवाहरू प्रदान हुँदै आएको छ। यस प्राथमिक स्वास्थ्य केन्द्रमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनि गाउँपालिका र गुल्मीको छत्रकोटका बासिन्दाहरूले पनि सेवा लिने गरेका छन्।
जर्नल एकसरे मेसिन पनि दक्ष जनशक्तिको अभावमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी रेनु प्रसाद खनालले सञ्चालन गर्दै आएका थिए। तालिमको भरमा ७ वर्षदेखि एक्सरे मेसिन सञ्चालन गर्दै आएको र अहिले टेक्निकल समस्याका कारण एक्सरे पनि सञ्चालन हुन नसकेको खनालको भनाइ छ।