सकसमा जीवन बिमा कम्पनी

सकसमा जीवन बिमा कम्पनी

काठमाडौं : नयाँ बिजनेस नहुँदा जीवन बिमा कम्पनीहरू सकसमा देखिएका छन्। आर्थिक वर्ष २०८०/०८१ को ७ महिना सकिँदासम्म बिमा कम्पनीहरूले गत वर्षको सोही अवधिको बराबर पनि प्रथम बिमा शुल्क उठाउन सकेका छैनन्।

जीवन बिमा पोलिसी जारी गरेपछि बिमितले तिर्ने पहिलो प्रिमियम प्रथम बिमा शुल्क हो। माघ मसान्तसम्मको तथ्यांक केलाउँदा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले संकलन गरेको प्रथम बिमा शुल्क गत आवको यही अवधिको तुलनामा २.११ प्रतिशतले घटेको छ। उनीहरूले गत आवको माघ मसान्तसम्म १६ अर्ब ४५ करोड ७१ लाख ७० हजार रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा ३४ करोड रुपैयाँ कम अर्थात् १६ अर्ब ११ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन गरेको देखिन्छ।

जीवन बिमा कम्पनीहरूको प्रथम बिमा शुल्क आम्दानी वृद्धि हुनुको साटो संकुचन हुनाले जीवन बिमा कम्पनीका लागि आगामी दिन सहज देखिँदैन। महँगीले बचत ओरालो लागेको छ भने दीर्घकालका लागि जीवन बिमामा लगानी गर्नु पनि सर्वसाधारणको प्राथमिकतामा पर्न छाडेको छ। बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणका अनुसार यो वर्ष नयाँ बिमालेख जारी हुने क्रम सुस्ताएको छ। पुसमा ४ लाख ४२ हजार नयाँ बिमालेख जारी भएका छन् भने माघमा केही बढी अर्थात् ४ लाख ४८ हजार पोलिसी बिक्री भएका छन्।

बिमा क्षेत्रका जानकारका अनुसार अभिकर्ता तथा कर्मचारीहरूले गत वर्ष एकल बिमा शुल्कमार्फत टार्गेट पूरा गर्न खोज्दा व्यवसायमा उल्लेख्य सुधार भएको थियो। तर, प्राधिकरणले उधारो बिमा पोलिसी र एकल बिमा शुल्क पोलिसीमा कडाइ गरेपछि जीवन बिमा व्यवसायको प्रारम्भिक आम्दानी खुम्चन थालेको छ।
जीवन बिमा कम्पनीहरूको माघ महिनासम्मको आम्दानीमा प्रथम बिमा शुल्कको हिस्सा १६ अर्ब रुपैयाँ छ। प्रथम बिमा शुल्कले नयाँ व्यवसायको आधार देखाउँछ भने जीवन बिमा कम्पनीहरूको पछिल्लो स्थिति, बिमा क्षेत्रको चलायमानको अवस्था संकेत गर्दछ।

सञ्चालनमा रहेका मात्र पाँच कम्पनीको प्रथम बिमा शुल्क आम्दानी बढ्दा ९ को घटेको छ। हिमालयन, एलआईसी नेपाल, सूर्यज्योति, सिटिजन, सानिमा रिलायन्स, सन् नेपाल, रिलायबल नेपाल, प्रभु महालक्ष्मी र साबिको बिमा संस्था अर्थात् राष्ट्रिय जीवन बिमा कम्पनीको प्रथम बिमा शुल्क घटेको हो। सबैभन्दा बढी गिरावट सन् नेपाल लाइफको प्रथम बिमा शुल्कमा आएको छ। कम्पनीको प्रथम बिमा शुल्क गत अवको सोही अवधिको तुलनामा २९.८५ प्रतिशतले घटेर ७७ करोड ३ लाखमा खुम्चिएको छ। यसैगरी प्रभु महालक्ष्मी र सूर्यज्योति लाइफको प्रथम बिमा शुल्क क्रमशः २६.४६ र २२.०६ प्रतिशतले घटेर ४५ करोड ८१ लाख र १ अर्ब १५ करोडमा सीमित भएको छ।

एलआईसी नेपालको प्रथम बिमा शुल्क ८.७५ प्रतिशतले खुम्चिएर १ अर्ब १९ करोडमा सीमित भएको छ। सानिमा रिलायन्सको नयाँ बिमा व्यवसाय १३.८१ प्रतिशतले घट्दा रिलायबल नेपाल लाइफको ९.९८ प्रतिशत र राष्ट्रिय जीवन बिमा कम्पनीको १०.७५ प्रतिशतले कम भएको छ।

यी कम्पनी साढे १६ अर्ब प्रथम बिमा शुल्कमध्ये सबैभन्दा धेरै नेपाल लाइफले ३ अर्ब ६७ करोड, नेसनल लाइफले २ अर्ब ३५ करोड, हिमालयन लाइफले १ अर्ब २० करोड, एलआईसी नेपालले १ अर्ब १९ करोड, सूर्यज्योति लाइफले १ अर्ब १५ करोड, सिटिजन लाइफले ९५ करोड तथा एसियन लाइफले ८९ करोड रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन्।

सानिमा रिलायन्सले ८५ करोड, सन् नेपालले ७७ करोड, आईएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ७४ करोड, मेट लाइफले ७२ करोड, प्रभु महालक्ष्मी लाइफले ४५ करोड र राष्ट्रिय जीवन बिमा कम्पनीले ३५ करोड रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन्।

नौ कम्पनीको प्रथम बिमाशुल्क घटे पनि नेपाल लाइफको प्रथम बिमा शुल्क आम्दानी २१.३० प्रतिशतले बढेको हो। कम्पनीले गत आवको यसै अवधिमा ३ अर्ब ३ करोडबराबरको यस्तो आम्दानी गरेको थियो। नेसनल लाइफको प्रथम बिमा शुल्क १८.७१ प्रतिशतले बढेको छ। एसियन लाइफको प्रथम बिमाशुल्क ६.३३ प्रतिशतले बढ्दा आईएमई लाइफको ७.५४ प्रतिशत तथा मेट लाइफको प्रथम बिमा शुल्क २.७३ प्रतिशतले बढेको छ।

७ महिनामा ८६ अर्ब बिमा शुल्क उठ्यो

माघ महिनासम्ममा जीवन बिमा कम्पनीहरूले ८६ अर्ब ८८ करोड रुपैयाँ कुल बिमा शुल्क उठाएका छन्। नवीकरणीय शुल्कमा उल्लेख्य वृद्धि हुँदा उनीहरूको बिमा शुल्क बढेको हो। तीमध्ये सबैभन्दा बढी शुल्क उठाउने कम्पनी हो, नेपाल लाइफ। नेपाल लाइफले २३ अर्ब २० करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गर्दा एलआईसी नेपालले १० अर्ब १४ करोड रुपैयाँसहित दोस्रो र नेसनल लाइफ १० अर्ब ५ करोडसहित तेस्रो स्थानमा छ।
हिमालयन लाइफले ९ अर्ब ९१ करोड रुपैयाँ,  सूर्यज्योति लाइफले ५ अर्ब ३ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन्।

पाँच अर्बभन्दा कम बिमा शुल्क संकलन गर्ने कम्पनीहरू राष्ट्रिय जीवन बिमा कम्पनी, एसियन लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, मेट लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र सन् नेपाल लाइफ हुन्। सन् नेपालले सबैभन्दा कम मात्र २ अर्ब १२ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार १४ वटा जीवन बिमा कम्पनीहरूले कुल १ करोड ३७ लाख ७३ हजार ३ सय १५ वटा बिमा लेख जारी गरेका छन्। यी कम्पनीको सक्रिय बिमा लेख संख्याको आधारमा रिलायबल नेपाल सबैभन्दा अघि छ। कम्पनीले करिब ३२ लाख वटा बिमालेख जारी गर्दा दोस्रो धेरै बिमालेख जारी गर्ने जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो।

माघमा १२ अर्ब ६६ करोड
जीवन बिमा कम्पनीहरूले माघ महिनामा १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन्। जुन गत आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको माघ महिनामा उनीहरूले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ कुल जीवन बिमा शुल्क उठाएका थिए।

माघमा सबैभन्दा बढी बिमा शुलक उठाउने कम्पनी पनि नेपाल लाइफ इन्स्योरेन्स नै हो। माघको बिजनेसका आधारमा हिमालयन लाइफ, एलआईसी नेपाल र नेसनल लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो बढी आम्दानी गर्ने कम्पनी हुन्। माघमा रिलायबल नेपाल लाइफले माघ मात्र २६.०९ प्रतिशतले बिमा व्यवसाय वृद्धि गरेको हो। १४ मध्ये २ कम्पनीको बिमा व्यवसाय घटेको छ। गत वर्षको माघको तुलनामा यस वर्ष माघमा राष्ट्रिय जीवन बिमा कम्पनीको ३३.७७ प्रतिशत र सन् नेपाल लाइफको १.८३ प्रतिशतले बिमा शुल्क आर्जन घटेको हो।

पुसको तुलनामा माघको प्रथम बिमा शुल्कमा भारी गिरावट

यस वर्षको पुसको तुलनामा माघमा जीवन बिमा कम्पनीहरूको प्रथम बिमा शुल्कमा भारी गिरावट आएको छ। पुसमा उनीहरूले २ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेकामा माघमा मात्र २ अर्ब २९ करोड २० लाख रुपैयाँ उठको छ जुन १९.४ प्रतिशत कम हो।

नेपाल बिमा प्राधिकरणका अनुसार पुसको तुलनामा प्रथम बिमा शुल्कमा भारी गिरावट आउने कम्पनी एसियन लाइफ हो। कम्पनीको नयाँ बिजनेस आधाले कम भएको हो। आईएमई लाइफ, हिमालयन लाइफ, एलआईसी नेपाल, रिलायबल नेपाल लाइफ, सन् नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको प्रथम बिमा शुल्क आम्दानीमा व्यापक दरले कमी आएको हो। उल्लेखित तथ्यांकले नेपाली जीवन व्यवसाय कम्पनीहरूलाई व्यवसाय गर्न सकस परेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.