नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रको २६ करोड बक्यौता
महोत्तरी : नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रको २६ करोड रुपैयाँँ बक्यौता उठाउन बाँकी रहेको छ। सात स्थानीय तहमा यस केन्द्रको मातहतमा ५८ हजार ग्राहक रहेका छन्। लेखा शाखा प्रमुख शम्भु साहका अनुसार उनीहरूबाट २५ करोड ८८ लाख रुपैयाँँ उठाउन बाँकी रहेको छ।
लेखा शाखाका अनुसार सबैभन्दा बढी बक्यौता रकम कुटानीपिसानी मिलका रहेका छन्। यसबाट अहिलेसम्म ४ करोड ५९ लाख रुपैयाँँ उठाउन बाँकी रहेको छ। त्यस्तै, कृषि सिँचाइबाट ७ हजार २ सय ८९ मिटरका गरी ८ करोड ८५ लाख, खानेपानीको ३४ मिटरबाट १७ लाख ८४ हजार रुपैयाँँ महसुलबापत उठाउन बाँकी रहेको गौशाला वितरण केन्द्रले जनाएको छ।
पाँच स्थानीय तहको एक करोडभन्दा बढी रकम
गौशाला वितरण केन्द्रका अनुसार यहाँका पाँच स्थानीय तहको २०८० साल असार महिनासम्ममा १ करोड ७२ लाख ६७ हजार रुपैयाँँ बिजुली महसुल बक्यौता रहेको छ।
बर्दिबास नगरपालिकामाथि ६५ लाख ९१ हजार रुपैयाँ रहेको छ। त्यस्तै भंगाहा नगरपालिकामाथि ४७ लाख ४४ हजार, औरही नगरपालिकामाथि २४ लाख ७३ हजार, सोनमा गाउँपालिकामाथि १९ लाख १५ हजार र गौशाला नगरपालिकामाथि १५ लाख ४४ हजार रुपैयाँँ बिजुली महसुलबापत उठ्न बाँकी छ।
गौशाला वितरण केन्द्र प्रमुख जगन्नाथ झाका अनुसार प्राधिकरणले सडक बत्ती बक्यौता रकम तिर्न पालिकालाई दसैंअघिदेखि ताकेता गर्दै आएको छ ।