मटिहानीमा भगवान राम-सीताको मूर्ति बनाएर गरियो विशेष पूजा
मटिहानी (महोत्तरी) : २५ फिटको कलात्मक मूर्ति बनाई महोत्तरीको मटिहानीमा सोमबार पूजा गरिएको छ। स्थानीय लक्ष्मीनारायण मठ मन्दिरमा भगवान राम र सीताको कलात्मक २५ फिटको मूर्ति बनाएर धार्मिक विधिअनुसार पूजापाठ गरिएको हो।
भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरीको मटिहानीमा निर्मित सो कलात्मक मूर्तिको अनावरण लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले संयुक्तरूपमा गरेका थिए।
सो अवसरमा बाजागाजा, कीर्तनसहित स्वस्तिक वाचन र आरती गरिएको थियो। यसअघि सोमबार विहान लक्ष्मीसागर पोखरीमा भगवान लक्ष्मी नारायणको विशेष आरती गरिएको थियो। अहिले साँझमा लक्ष्मीनारायण मठ (मन्दिर)मा महाआरती हुने मेयर मण्डलले बताए। राम र सीताको मूर्तिको दर्शका लागि दर्शनार्थीहरूको भिड लागेको छ। अहिले लक्ष्मीनारायण मठलाई दुल्हीझैं लाइट र मालाले सिंगारिएको छ।