बाजुरामा आकाशे पानीको भर, बाली सुक्न थालेपछि किसान चिन्तित

बाजुरामा आकाशे पानीको भर, बाली सुक्न थालेपछि किसान चिन्तित
सुन्नुहोस्

बाजुरा : सिँचाइ सुविधा अभावले बाजुरामा ८० प्रतिशत जमिनमा किसान आकाशे पानीको भरमा खेती गरिरहेका छन्। माघ महिना लागिसक्दा पनि वर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन्। आकाशे पानीको भरमा बाली लगाउने किसानले समयमा पानी नपर्दा बाली लगाउन पाएका छैनन् भने लगाएको बाली पनि नउम्रेको किसानले बताउने गरेका छन्। 

हिँउदेबाली लगाउने समय असोज कात्तिकदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि किसानहरू निराशामा परेका हुन्। हिँउदेबाली लगाए लगत्तै पानी नपरेर खडेरी परेपछि किसानहरूले लगाएको गहुँ, जौ, मसुरो लगायतका बालीनालीको उत्पादनमा निकै ह्रास आएपछि किसान चिन्तित बनेका छन्। 

किसानहरूले लगाएका बालीनालीसँगै अहिलेको समय फलफूल रोप्नका लागि खाडल बनाउनुपर्ने खाडलमा मल व्यवस्थापन गर्ने समय भए पनि खडेरीका कारण प्रभावित भएको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख मीनप्रसाद जैशीले बताए। बाजुरामा कुल क्षेत्रफलमध्ये २४ हजार ३ सय १९ हेक्टर खेतीयोग्य जमिन छ भने २० हजार १ सय ५५ हेक्टर जमिनमा खेती गरिँदै आएको केन्द्रको तथ्यांक छ। जिल्लामा १० हजार ४ सय ६० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको भए पनि यो वर्ष पानी नपर्दा किसानले गहुँ छर्न पाएका छैनन्।

कुल उत्पादनको ११ दशमलब ३७ प्रतिशत मध्ये २० प्रतिशत अर्थात् ५ हजार २ सय ४५ हेक्टर जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशत अर्थात् झण्डै १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन्।

जिल्लामा सिञ्चित क्षेत्रमा लगाइएको बाली उत्पादनमा केही घटबढ भएपनि सिचाइ सुविधा नभएका पाखो जमिनमा लगाइएका बाली उत्पादनमा भने निकै ह्रास आउने प्रमुख जैशीले बताए। उनले माघ लाग्दासम्म पनि वर्षा नहुँदा हिउँदेबाली उत्पादनमा करिब ४० प्रतिशतले घटिसकेको बताए। गत साल पनि हिउँदे वर्षा नहुँदा हिउँदेबाली उत्पादनमा निकै ह्रास आएको थियो भने यस वर्ष पनि वर्षा नहुँदा उत्पादनमा कमी आएर भोकमरीको संकट लाग्न सक्ने किसानहरू बताउँछन्।

हिउँदे वर्षा नहुँदा लगाइएको बाली पनि सुक्न थालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको खप्तड छेडेदह ३ का कृषक मन बहादुर रावतले बताए। सिँचाइ सुविधा नभएका जिल्लाका पूर्वीउत्तरी तथा दक्षिणी भेगका स्थानमा प्रशस्तै बाली लगाए पनि हिउँदे वर्षा नहुँदा बाली सुक्न थालेको छ। 

कतिपय ठाउँमा सिँचाइका लागि प्रशस्तै पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ सुविधाको पहुँचमा कृषकहरू पुग्न सकेका छैनन्। वर्षायाममा लगाइएका बाली वन्यजन्तु र बाढी पहिरोले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदमा खडेरीले लगाइएका बाली पनि सुक्न थालेपछि खाद्य संकट हुनसक्ने भन्दै कृषकहरू भोकमरीको चिन्तामा परेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.