नयाँ वर्षलाई फेवा किनारमा स्वागत
पोखरा : फेवाताल किनारमा सडक महोत्सवको आयोजना गरी अंग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गरिएको छ। रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा नयाँ वर्षको अवसरमा भएको २५औं संस्करणको सडक महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक सहभागी थिए।
फेवाताल किनारको तीन किलोमिटर क्षेत्रमा विभिन्न सांस्कृतिक झाँकी, कन्र्सट, गीतसंगीतको आयोजना गर्दै विभिन्न खानाका परिकार पस्कँदै सडक महोत्सव भइरहेको छ। पोखरा र अन्नपूर्ण पदयात्रा क्षेत्रमा आउने पर्यटकलाई पोखरामै नयाँ वर्षमा रमाइलो वातावरण बनाउन २४ वर्ष अघिदेखि रेवान पोखराले सडक महोत्सवको आयोजना गर्दै आएको छ।
२५औं संस्करणको महोत्सव विभिन्न जातजाति, नेपाली कला, संस्कृति र परम्परा एकै ठाउँमा पस्केर विशेष रूपमा मनाइरहेको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए। पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले सुरु भएको सडक महोत्सव पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुँदै गएको महोत्सवका संयोजक विश्वराज पौडेलले बताए।
सडक महोत्सवमा विदेशी पर्यटकको भन्दा स्वदेशी पर्यटकको भीड बढी हुने गरेको छ। पछिल्लो समयमा भारतीय पर्यटक पनि महोत्सवकै लागि आउने गरेका छन् भने एक्याप क्षेत्रको पदयात्राका लागि आएका पर्यटक पनि पोखरामा हुने नयाँ वर्ष महोत्सवमा रमाउने गर्छन्।
सन् २०२३ लाई बिदाइ र २०२४ लाई स्वागत गर्ने गरी रजत संस्करण पुस १६ गतेसम्म चल्दैछ। यो पुस १२ गतेबाट सुरु भएको हो। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ सडक महोत्सव सुरु भएको हो। महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत मनोरञ्जनात्मक गतिविधि भइरहेका छन्।
सडक महोत्सवले पर्यटन क्षेत्र चलायमान
पोखराका होटलमा १५ देखि २० प्रतिशतसम्म होटलमा अकुपेन्सी रहेकोमा क्रिसमसमा ५० प्रतिशत र नयाँ वर्षमा आयोजित सडक महोत्सवका कारण ७० प्रतिशतसम्म अकुपेन्सी बढेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
अंग्रेजी नयाँ वर्ष, तमु ल्होसारलगायत विभिन्न बिदाका कारण पनि आन्तरिक पर्यटक पोखरा घुम्न आउने बढेका र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताए। तेस्रो मुलुकका पर्यटक पनि आएकाले चहलपहल बढेको हो। नयाँ वर्षको अवसरमा सन् २०२४ को १ तारिखदेखि पाँच दिनसम्म चहलपहल बढ्ने पनि उनले सुनाए।
२० प्रतिशत भारतीय ३५ प्रतिशत स्वदेशी पर्यटक र बाँकी तेस्रो मुलुकका पर्यटक यतिबेला पोखरामा रहेको व्यवसायीले बताएका छ्न्। पोखराको लेकसाइड र वरपरि होटलमा ४० हजार बेड संख्या रहेको व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्ने विश्वासमा ठूलो लगानीमा होटलहरू थपिएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष जनवरी २०२४ को १ तारिखमा पुग्छ तर अहिलेसम्म चीनबाट दुई चार्टर प्लेन र एउटा भुटानबाट आएको बाहेक नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन।
अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको आगमन बढ्ने विश्वासमा लगानी गरेका पर्यटन व्यवसायी एक वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित रहेका छन्।