बिक्री भयो एनसेल, बाहिरियो आजियाटा

बिक्री भयो एनसेल, बाहिरियो आजियाटा
सुन्नुहोस्

काठमाडौंं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्री भएको छ। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको हो।

आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई आफ्नो स्वामित्व बेचेको हो। कम्पनीमा सतिशलाल आचार्य र डेन्टन्स सेक्रेटरिजको संयुक्त स्वामित्व छ। आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन्। एनसेलको बाँकी स्वामित्व आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चरसँग छ। 

आजियटा समूहले तीन दिनअघि मात्र एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो। सोही सेयर स्पेक्ट्रलाइट यूकेले ५० मिलियन अमेरिकी डलरमा खरिद गरेको हो। शुक्रबारको विनिमय दरअनुसार ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँँमा किनबेच भएको हो। एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँँमा किनेर आजियटा सन् २०१६ मा नेपाल भित्रिएको थियो।

बुधबारमात्रै आजियाटा ग्रुप बहार्डले सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाइसेन्स अवधि ६ वर्ष बाँकी छ। दूरसञ्चार ऐन, २०५३ अनुसार विदेशी कम्पनीसँग स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स अवधि २५ वर्ष पुगेपछि स्वामित्व सरकारको हुनेछ। तर, नेपालीसँग स्वामित्वमा रहँदा लाइसेन्स नवीकरण गर्न मिल्छ। 

सन् २००४ मा स्पाइस नेपालका रूपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइल नाममा दूरसञ्चार सेवा सुरु गरेको थियो। सन् २०१० मा स्विडिस दूरसञ्चार कम्पनी टेलियासोनेराले कम्पनी खरिद गरेपछि स्पाइस नेपालको नाम एनसेल बनाइयो। सन् २०१६ अप्रिलमा टेलियासोनेराले आफ्नो स्वामित्व मलेसियन कम्पनी आजियाटालाई बेच्यो। सन् २०२० को अगस्टदेखि एनसेलको नाम एनसेल आजियाटा लिमिटेड भयो।

एनसेलको सेयर किनेपछि सतिशलाल आचार्यले दूरसञ्चार उद्योगमा रहेको आफ्नो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविष्कार, लगानी र नेपाली जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहने घोषणा गरेका छन्। यसैगरी एनसेलका प्रमुख कार्यकारी अधिकृत जाबोर क्युमोभले एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रूपमा कायम राख्नु हाम्रो उद्देश्य रहने दाबी गरेका छन्। 

यसैबीच, एनसेलको सेयर बिक्री गर्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ। न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा दुवै पक्षको छलफल सुनेपछिमात्रै निर्णय हुनेछ। 

यता दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलले आफूसँग स्वीकृत नलिई सेयर किनबेच गरेको भन्दै एनसेलसँग यसको जवाफ मागेको छ। दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.