भोजपुरमा बन्यो भव्य रंगशाला

भोजपुरमा बन्यो भव्य रंगशाला
सुन्नुहोस्

भोजपुुर : जिल्लाकै बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्डको भोजपुर रंगशालाले पूर्णता पाएको छ। भोजपुर नगरपालिका–७ कोदारस्थित रंगशालाको निर्माण पूरा भएसँगै सिंगो जिल्लावासी र खेलप्रेमी उत्साहित बनेका छन्।

भोजपुर रंगशालाको ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालयलगायत सम्पूर्ण भौतिक पूर्वाधारको काम सकिएपछि रंगशालाले पूर्णता पाएको हो। प्रदेश सरकारको १४ करोड पाँच लाख २६ रुपैयाँको प्राविधिक सहयोगमा बनेको रंगशालाको जिम्मा जिल्ला समन्वय समितिलाई दिइएको छ। 

जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले मैदान अभावमा नवोदित खेलाडीको निराशालाई रंगशालाको पूर्णताले हटाएको बताए। ‘रंगशालाले पूर्णता पाएसँगै यसको संरक्षण र सम्बद्र्धन गर्दै जिल्लाभित्र ठूला प्रतियोगिता सञ्चालन गरिनेछ’, उनले भने।

निर्माणको जिम्मा पाएको रायमाझी मार्सेली जेभीका अनुसार २०७६ कात्तिक ७ बाट सुरु भएको रंगशाला निर्माण २०८० जेठ १८ मा सक्ने सम्झौता थियो। सम्पूर्ण भौतिक पूर्वाधारको काम सकिए पनि मैदान सम्याउने काम शहरी विकास कार्यालय धनकुटामार्फत गरिएको थियो। जिल्ला समन्वय समिति र नगरपालिकाले कामलाई पूर्णता दिन मैदानसँगै बाँकी रहेका शौचालय, ड्रेसिङ रुम, चेन्जिङ रुमकोसमेत मर्मतसम्भार सकिएको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविणकुमार सुवालले जानकारी दिए। 

प्रदेशको उत्कृष्ट रंगशाला बनेपछि जिल्लावासीलाई उत्साहित बनाएको युवा अगुवा संग्राम राईले बताए। ‘लामो समयदेखि खेल मैदान अभावमा खेलाडी पलायन हुने बाध्यतालाई रंगशालाले आशा जगाएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको व्यवस्थित रंगशाला बनेपछि खेलाडीसँगै खेलप्रेमी दर्शकले झेलिरहनुपर्ने प्यारापिटको समस्या पनि हटेको छ।’ 

सानादेखि ठूला सबै खेल तथा खेलाडीहरूका लागि पर्याप्त अभ्यास गर्न र गराउन सहज हुने भएपछि जिल्लाभित्रै प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने फुटबल प्रशिक्षक विनम श्रेष्ठले बताए। ‘साँघुरो मैदानमा अभ्यास गर्दा खेलाडीहरूको फिजिकल फिटनेस र ट्रेनिङ राम्रोसँग हुन सकेको थिएन। जसकारण खेलको नतिजा सोचेजस्तो राम्रो हुन सकेको थिएन’, उनी भन्छन्, ‘वर्षौंपछि रंगशालाको सपना पूरा भएको छ। अब जिल्लाभित्रै  योग्य खेलाडी उत्पादन गर्नेछौं।’ 

२६ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ एक सय पाँच मिटरको लम्बाइ छ। अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने अल्ट्रा धाविका मीरा राईदेखि राष्ट्रिय स्तरका ख्यातीप्राप्त ब्याडमिन्टन र उसु खेलाडी जन्माएको भोजपुरले खेलकुदमा गर्विलो इतिहास बोकेको छ । तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको ०७५/७६ को बजेटबाट रंगशालाको पुर्निर्माण थालिएको थियो। ०६४ सालमा पहिलो जिल्ला विकास समिति बोर्डले ५५ लाख रुपैयाँमा जिल्ला खेलकुद परिषद्मार्फत रंगशालाको जग्गा खरिद गरे पनि बजेट अभावमा काम हुन सकेको थिएन। 

रंगशालाका लागि ०७० सालमा तत्कालीन पूर्वमुख्यमन्त्री राईले छुट्याएको आफ्नो सांसद कोषको १० लाख बजेटले रंगशाला सम्याउने काम भयो। त्यस्तै ०७३/७४ मा भोजपुर नगरपालिकाले रंगशालाका लागि पाँच लाख बजेटबाट रंगशाला सम्याएर केही समयका लागि खेल्न योग्य बनाइएको थियो। वर्षौंदेखि बजेट अभाव झेल्दै आएको रंगशालाको झन्डै १२ वर्षमा ४० लाख बराबर लागतमा केही प्रतिशत मात्र स्तरोन्नती भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.