लोक्पामा निरन्तर सुख्खा पहिरो : २२ घरधुरी उच्च जोखिममा

लोक्पामा निरन्तर सुख्खा पहिरो : २२ घरधुरी उच्च जोखिममा
चुमनुब्री ६ लोक्पा गाउँ पुग्नेनेरको पहिरो र त्यसका कारण जमिनमा फाटेको धाजा । तस्बिर : सरोज लामा
सुन्नुहोस्

गोरखा : पछिल्ला दिनहरुमा निरन्तर सुख्खा पहिरो जान थालेपछि गोरखाको एक दुर्गम  लोक्पा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । केहीदिनदेखि निरन्तर सुख्खा पहिरो जाँदा चुमनुब्री गाउँपालिका -६ लोक्पाको हिँड्ने बाटो पनि पहिरोले लगिसकेको र २२ घर उच्च जोखिममा परेको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए । 

गाउँपालिकाको केन्द्र फिलिमबाट लोक्पा जाने बाटोमा गत वर्षको यसैबेला ठूलो पहिरो झरेको थियो । सो पहिलो अहिले पनि लगातार गइरहेको हो । स्यारखोलामा झरेको सो पहिरो अहिले गाउँ नजिकै पुगिसकेको वडाअध्यक्ष लामाले बताए । 

निरन्तरको पहिरोले आज देखेको जमिनको ठूलो क्षेत्र भोलिपल्ट पहिरोमा बगेर गइसकेको हुने उनले बताए । ‘एकवर्षअघि दसैंमा ठूलो पानी परेपछि पहिरो जान सुरु भएको थियो । त्यसयता सो पहिरो क्रम निरन्तर रहेको छ’, लामाले भने, ‘अहिले पनि त्यो पहिरोले लाक्पा दोर्जे लामाको पाखोबारी बगाइरहेको छ । सुख्या पहिरो अझै गइरहेको छ ।’ सो स्थानभन्दा माथितिरका धेरै जमिन पनि चिरा चिरा परेकाले पहिरो निरन्तर जाने संकेत देखिएको उनले बताए । 

बाटो पहिरोले लगेपछि अहिले गाउँ जाने बाटो अन्यत्रबाट घुमाएर परिवर्तन गरिएको छ । ‘अहिले गाउँ र पहिरोको दुरी करिब एकसय मिटर रहेको छ,'उनले भने,‘पहिरो निरन्तर गइरहेको छ,त्यसैले लोक्पाको २२ घर पहिरोको उच्च जोखिममा छ ।’ स्थानीय स्तरमा समाधानै गर्न नसकिने गरी पहिरो गएको वडाअध्यक्ष लामाको भनाइ छ ।

अहिले पहिरोका कारण पदमार्ग उच्चजोखिममा परेकाले स्थानीयहरुलाई उक्त बाटो हिँडडुल नगर्न गाउँपालिका र वडा कार्यालयले सूचित गरेको छ । केहीदिन अघि सूचना टाँस गरी अर्को वैकिल्पक बाटो प्रयोग गर्न आग्रह गरिएको वडाअध्यक्ष लामाले बताए । वैकल्पिक बाटो लामो र घुमाउरो भएकाले खच्चडहरु लैजान भने समस्या पर्ने गरेको उनले बताए । 

पहिरो निरन्तर जारी रहेकाले तत्काल बाटो बनाउन सम्भव नभएको पनि उनले बताए । यसका बारेमा पालिका अध्यक्षसँग छलफल भएको बताउदै भू-र्गभविद् ल्याएर अध्ययन गर्नुपर्ने देखिएको उनले बताए । तल ठूलो पहिरो झरेपछि गाउँ वरिपरिको जमिनमा ठूलाठूलो धाजा फाटेको स्थानीयको भनाइ छ ।

लोक्पा पुग्नुअघिको बाटोमा पनि ठूलो पहिरो र लोक्पाबाट अगाडि जाने बाटोमा पनि ठूलो पहिरो भएका कारण स्थानीयबासी समस्यामा परेका छन् । दुबै मूलबाटो पहिरोको जोखिममा रहेकाले स्थानीयबासी र चुमभ्याली जाने पर्यटक पनि ज्यान जोखिममा राखेर हिड्नु परेको वडाअध्यक्ष लामाको भनाइ छ । 

पर्यटकीय सिजनमा गाउँ पहिरोको घेराभित्र रहेकाले पर्यटन व्यवसाय पनि धरासायी भएको व्यवसायीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.