संस्कृतिको शान्त बगैंचामा भू–कम्प

संस्कृति

संस्कृतिको शान्त बगैंचामा भू–कम्प

भूकम्प पीडित र बुद्धिजीवीहरूको भनाइअनुसार जिल्लामा १२ हजार घरहरू बस्न लायक छैनन्।

प्रदेश बस्न्या स्थिति नाई गाउँ बस्न्या घरै नाई

चेला–चेली भोकभोकाइ छन् कसैको भरै नाई

गत असोज १६ र १७ गतेका दिन अपराह्न जिल्लामा आएको भू–कम्पको धक्का वर्तमान समयमा पनि महसुस भइरहेछ। जिल्लामा रहँदा ४१ पटक पराकम्पन गइरहेको महसुस गरेँ। दिनमा गएकोले मानवीय क्षति हुन सकेन। तर भौतिक क्षति प्रशस्त भएको देखिन्छ। बझाङको तलकोट र मस्टा गाउँपालिका केन्द्रबिन्दु रहेको भू–कम्पका कारण तलकोट गाउँपालिका वडा ४ अन्तरगत वेदकाली गाउँका प्रायः सबै घरहरू नराम्ररी चर्केका छन्। वेदकाली गाउँ यो पंक्तिकारको जन्मभूमि पनि हो। यसैगरी वडा न ६ र ७ दातोला, किदन्न बडीगाउँलगायतका घरहरू निकै चर्केका छन्। ती सबै घरहरू माटोको गारोबाट निर्मित छन्। अक्सर दक्षिणी मोहडाका त्यहाँका घरहरू दुईतले छन्। ‘गोठ गौ पाण मौ’ भन्ने कथनअनुसार मानिसहरू माथिल्लो तलामा बस्ने र गोठमा गाईबस्तु पाल्ने गर्छन्। सबैका घरका कथाहरू र घरधनीका व्यथाहरू बताई साध्य नै छैनन्। जिल्लामा अधिकांश घरहरू बस्न लायक पनि छैनन्।

भूकम्प पीडितहरू र बुद्धिजीवीहरूको भनाइअनुसार जिल्लामा १२ हजार घरहरू बस्न लायक छैनन्। वेदकाली गाउँमा २०३५ सालमा बनेको चारतले माटोको घर छ। घरको माथिल्लो तलादेखि गोठसम्म झन्डै एक हातभित्र पस्ने गारो चर्केको र घरभित्र खाना पकाउन र सुत्न डर लागिरहेछ भन्नुहुन्छ घर मालिक जयकृष्ण उपाध्याय। यसैगरी शुकदेव उपाध्यायको सदरमुकामस्थित चारतले घरको हालत पनि उस्तै छ। यसैगरी प्राविधिक अमरराज उपाध्यायको चारतले घरको हालत पनि उस्तै छ। सिमेन्टको गारो लगाएको घरको हालत देख्दा चिन्तित 
हुनुहुन्छ अमरराज।

माथितिर साइपाल हिमाल तलतिर सेती
जन्म्या ठाउँको बौलो माया क्यान लाग्छ यति

अब चर्चा गरौं मष्टा गाउँपालिकाका चर्केका घरहरूको। तल्कोट गाउँपालिकाको छिमेकी गाउँपालिका हो मष्टा। भिरालो जमिनमा बनेका यहाँका घरहरूको क्षतिको अवस्था पनि देखिनसक्नु छ। आर्थिक अवस्था दयनीय रहेका यहाँका बाडेगाउँ, तुती, धनातोली, रिलु, ठकुन्ना, दय, लटौनका बासिन्दाको अनुहार भयभीत देखिन्छ। एकातिर खाद्यान्न बाली भिœयाउने बेला भएको छ। उनीहरू निर्धक्क घरभित्र पस्न सकिरहेका छैनन् भन्नुहुन्छ वडा नं ४ का वडाध्यक्ष उत्तम जोशी। यसैगरी जिल्लाका खप्तड छान्ना, जयपृथ्वी नगरपालिका, छबीसपाथिभेरा, शुर्मा दौलीचौरमा धान पाकेर पहेंलीपुर देखिन्छ। अर्कोतिर जिल्लावासीलाई धान कोदो मास्र्या थन्क्याएर कता राख्ने पिरलो छ। लगातार भू–कम्प र यसको परकम्पनका कारण प्रत्येक नागरिकको अनुहारमा चिन्ता 
देखिन्छ। सदरमुकाम चैनपुर र गाउँगाउँमा रहेका दलित बस्तीको बढी क्षति भएको देखिन्छ। न्यून आय भएका उनीहरूको रोदन सुनेर मन नपग्लने कसको होला ?

शिरशिर्‍या बयालो चल्दो रोक्या रोकिँदैन
बाहिर दन्त हाँस्याकाइ छन् भित्री देखिँदैन

थलारा गाउँपालिकाका दलित बस्तीले दसैं पर्व घर बाहिर नै मनाए भन्नुहुन्छ, समाजसेवी सुरेन्द्र उपाध्याय र पण्डित देवीलाल जोशी। दुई वर्षपहिले बेमौसमी पहिरोका कारण थलारा डिक्ला गाउँका नौ वटा घरहरू पुरिएका कारण त्यहाँ ११ जनाको अकालमा ज्यान गएको दुःखद् घटना बिर्सन सकेका छैनन् त्यहाँका नागरिकले। यस्तै बिर्सन नसकिने घटना छ, खप्तड छान्ना गाउँपालिकाको बीच भाग भएर बग्ने छान्ना खोलाको। त्यहाँ पनि त्यहीबेला भीषण बाढीका कारण ६ जनाको दुःखद् निधन भएको थियो, दस बिघामा लगाएको धानबाली पूर्ण रूपमा नष्ट गरेको थियो। अझ यस पटक आएको भूकम्पका कारण मानिसहरू निकै भयभीत देखिन्छन्, भन्नुहुन्छ खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया। अन्तको भन्दा केही कम क्षति भए तापनि निम्न आयस्रोत भएका बासिन्दाका लागि घरहरू नराम्ररी चर्केकाले कसरी पुनर्निर्माण गर्ने भन्ने पिरमा छन्, भोकमरीको अवस्थाले पनि यस ठाउँलाई छोडेको छैन भनी चिन्ता व्यक्त गर्नुहुन्छ शुर्मा दौलीचौर गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहरा। 

असोजका १६, १७ आइगयो भुइँचालो
बालीनाली सोतर भया क्या खान्या हो बालो
सदरमुकाम चैनपुरमा घना बस्तीका कारण

भूकम्पले क्षतविक्षत् घरहरू पुनर्निर्माण गर्न कठिनाइ देखिन्छ। सदरमुकामका दलित बस्तीमा पनि बढी क्षति भएकाले यथाशीघ्र उनीहरूको बसोबासको प्रबन्ध मिलाउनु आवश्यक देखिएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल बताउनुुहुन्छ। जन्मभूमिमा धेरै पटक भूकम्प गयो। प्रत्येक घटनाहरू मलाई याद छन्। साइपाल हिमालबाट बग्दै आएकी सेती नदी साक्षी छन् अहिलेको तातो घटनाको। दसैंको बेला देवीका शक्तिपीठहरूमा भक्तजनको भीड पनि त्यति देखिन्न। चैनपुरमा लाग्ने पूर्णिमाको मेला शिलदेवी यस पटक लागेन। यसैगरी तलकोटमा लाग्ने ऐतिहासिक ‘तलकोटी र मष्टामाण्डु’मा रौनक देखिएन। बझाङको प्रकृति अत्यन्तै सुन्दर छ। त्यस्तो सुन्दर प्रकृति र दसैंताकाको संस्कृति सिगार्न भूकम्पले दिएन, कस्तो विडम्बना ? देउडा गीत र खेलको भण्डार हो बझाङ। तर खेलाडीहरूमा कहीँ कतै रौनकता देखिएन। सयपत्री फूलहरूले सिंगारिएको बझाङ जिल्लालाई फलफूलको पनि भण्डार मानिन्छ। यस्तो बेला आउँदो तिहारमा पनि कुनै रौनकता नदेखिने संस्कृतिकर्मी र देउडा खेलाडी भीम धामी बताउँछन्। 
थोरै मात्रामा भए पनि काठमाडौंस्थित हेल्प नेपाल नामक संस्थाले यस्तो दुर्गम जिल्ला र गाउँमा राहतका केही सामग्री पठाएर ठूलो गुन लगायो। संस्थाका संस्थापक अरुणसिंह बस्न्यात र उनको टोली आफैं पुग्न नसके पनि उनको रैवार र थप सामग्रीसहित गाउँगाउँमा पुगी पंक्तिकारले वितरण गर्‍यो। यस्तो बेलामा पंक्तिकारको उपस्थिति देखेर हर्षको आँसु झार्ने र दुःखका गीतहरू सुनाइदिनुहोस् कलाकार साप् भन्नेहरू निकै भेटिए।
केही गीतहरू सुनाएँ, आफ्नो क्षमताले भ्याएसम्म थप राहत सामग्री पनि वितरण गर्न पाउँदा साँच्चिकै परोपकारी काम गरेको अनुभूति भयो। जिल्ला रेडक्रस सोसाइटी, यू. एनएफपीए सेभ द चिल्ड्रेन्स आदि संस्थाले पनि राहत वितरण गरिरहेछन्। यसका लागि एकद्वारा प्रणाली लागू गर्छु भन्नुहुन्छ, प्रजिअ नारायणप्रसाद पाण्डे। जिल्लाका पत्रकारहरू जगदीश रोकाया, शैलेन्द्र रोकाया, प्रदीप मलासी, जिल्ला रेडक्रसका सभापति आरडी उपाध्याय, रेडक्रस सोसाइटी बझाङका भक्तराज जोशी, नगरपिता हिरण्य छत्याललगायत पंक्तिकार पनि ठाउँठाउँमा भू–कम्प पीडितको मलमपट्टी लगाउन जाँदा पीडित पक्षले राहतको अनुभूति गरे। नेपाल सरकारले भू–कम्प पीडितलाई यथाशीघ्र सरकारी तवरबाट राहत सामग्री र घरको क्षतिअनुसार मर्मत गर्नुपर्ने आवश्यक देखिन्छ। 

डोटी सहर देखिँदैन चैनपुर दूर हुनाले
काँझाइको मरनु हुन्छ यसाई लहनाले

देउडा गीत र खेलको भण्डार हो बझाङ। तर खेलाडीहरूमा कहीँ कतै रौनकता देखिएन। सयपत्री फूलहरूले सिंगारिएको बझाङ जिल्लालाई फलफूलको पनि भण्डार मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.