भूकम्पसम्बन्धी धेरै देउडा गीत सर्जकले रचना गरेको पाइन्छ। २०७२ वैशाख १२ गते देशमा आएको महाभूकम्पको पीडालाई पनि गीतले सम्झेको छ।
१६ गते असोज, मंगलबारका दिन अपराह्न ३ : ४१ बजेदेखि ५ बजेसम्म पहाडी एवं हिमाली जिल्ला बझाङमा दुई पटक भूकम्प गयो। ५.४ र ६.३ रेक्टर स्केलको सो भूकम्पको केन्द्रबिन्दु जिल्लाको मष्टा र तलकोट गाउँपालिका रहेको जनाइएको छ। कुलदेवता मष्टाको नामबाट राखिएको सो गाउँपालिका र तलकोट गाउँपालिका छिमेकी गाउँपालिका हुन्। बीचमा अग्लो डाँडाले सीमा छुट्ट्याएको छ। हिमाली भेगका यी दुवैका अगाडि बझाङ र बाजुरा जिल्लाको सिमानामा रहेको लेकाली र हिमाली उच्च शृंखलामा मालिका भगवतीको शक्तिपीठ छ।
उक्त शक्तिपीठमा प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ। जनको भन्दा धनको धेरै क्षति भएको जानकारी आएको छ। बझाङका साथै बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा पनि भूकम्प गएको बताइएको छ। यी सबै जिल्लाहरू सांस्कृतिक रूपमा देउडा गीतका मुहान हुन्। सेती, महाकाली र कर्णाली प्रदेशमा भूकम्पलाई भुइँचालो भनिन्छ। जमिनलाई हल्लाउने भएकाले भुइँचालो भनिएको हो।
भूकम्पसम्बन्धी धेरै देउडा गीत सर्जकले रचना गरेको पाइन्छ। जसमध्ये २०२३ सालमा बझाङमा ठूलो भूकम्प आएर धनजनको निकै क्षति भएको बताउँछन् बूढापाका। भोकमरीको चपेटामा परेका जिल्लावासीलाई तत्कालीन सरकारले हेलिकप्टरमा अमेरिकाका चामल जिल्लामा ओसारेको थियो। लत्ताकपडा, खाद्य सामग्रीको व्यवस्था गरेको थियो। अनाज नपाउने कतिपयले गीतमार्फत भावना पोखेका थिए। बझाङ्गी गीतकारले देउडा गीतमार्फत आफ्ना भावना गाउँवासीलाई यसरी सुनाए :
अम्रिकाको बेसा अरी खाया छ्याकी कैलै।
माथिको गीतले सबैलाई झस्कायो, इतिहासप्रति मानिसलाई फर्कायो। २०२१ सालमा देशमा भूमिसुधार आयोग लागू भएको थियो तर बझाङ जिल्लामा भने २०२३ सालमा मात्र लागू भयो। त्यही साल भोकमरीका कारण पेट पाल्न पकाउने भाडाकुँडा, लगाउने गरगहना र खेतबारी पनि साहुलाई बिक्री गरे गरिबहरूले। दार्चुलाका मकै खरिद गरेर पेट पाले। सिस्नुको खोले पिएर जीवन बचाए। यसरी अति दर्दनाक अवस्था पार गर्दै आए जिल्लावासी।
२०३७ साउन १३ गतेका रातमा पनि त्यस क्षेत्रमा महाभूकम्प गयो। जमिनबाट पानीका मूलहरू फुटे। ठाउँठाउँमा पहिरो आएर बस्ती पुरिदियो, लगाएको खेतबारी सखाप पारिदियो। धेरै घर ध्वस्त भए। बझाङमा ५० भन्दा बढी र डोटी, अछाम, बाजुरा, बैतडी, डँडेलधुरा, हुम्ला र कालीकोट जिल्लामा गरी थप ५० जनाको निधन भयो। तराईमा भन्दा पहाडी भूखण्डमा बढी भौतिक क्षतिसमेत भयो। त्यसबेला गीतकारले देउडामा यी भावना पोखे :
धामीलेक धामीज्यूका दुई हात तीन बाला
दुखारी हुनाले हो कि रातभन्दा दिन काला।
हुन पनि महाभूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा दिनमा नै अँध्यारो छाएजस्तो भएको थियो। यातायातको व्यवस्था थिएन। जतिबेला हप्ताको एक दिन १८ सिटे नेपाल वायु सेवा निगमको जहाज राजधानीबाट नेपालगन्ज हुँदै बझाङ जिल्लामा पुग्थ्यो। कहिलेकाहीँ हेलिकप्टर र १८ सिटे सो जहाजमा चामल लगायत खाद्यान्न सामग्री बोकेर पु¥याउने गरिन्थ्यो। त्यसबेलासम्म सुर्खेतलगायत तत्कालीन कर्णाली अञ्चलका पाँचवटै जिल्ला सेती र महाकालीका नौ जिल्ला गाभिएर पश्चिमाञ्चल विकास क्षेत्र भनिन्थ्यो। २०३७ सालको भूकम्पपछि हालको सुदूरपश्चिम प्रदेशलाई अलग छुट्ट्याइएको थियो।
यसरी दैवीय प्रकोपसँगै देशका विकास क्षेत्रलाई बाँडफाँट गरिएको पाइन्छ। पटक–पटक यस क्षेत्रमा गइरहने भूकम्पका कारण यहाँको जनजीवन अस्तव्यस्त हुने गरिएको छ। सुदूरपश्चिम र कर्णालीको प्राकृतिक सौन्दर्य आँखामा सजाइरहुँ जस्तो छ। अग्ला हिमशृंखला, हरियाली वनजंगल, घाँसेमैदान, पानीका झरनाहरू र मनमोहक तालतलैयाहरू देख्दा सबैको मन पग्लिन्छ। यो प्रान्त दुर्गम छ तर यहाँको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक छ। यही मनमोहक सौन्दर्यका कारण मानिस तराईका फाँटहरूमा गर्मीका कारण बसाइँसराइ गर्न मन पराउँदैनन्।बरु पूर्वी झापा, सुनसरी, मोरङ जिल्लाबाट केही मानिस कञ्चनपुर जिल्लाको पुनर्वास, कैलाली जिल्लाका विभिन्न ठाउँमा बसाइँ सरे। तत्कालीन राजा
महेन्द्रले पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न लगाउँदा धादिङ जिल्लाका केही तामाङ जातिलाई पुनर्वास कञ्चनपुरमा नि : शुल्क रूपमा बस्न लगाए। यसैगरी, महाकाली नदी पारिका तत्कालीन चाँदनी र दोधारा गाविसमा दैलेख, सुर्खेत र बाजुरालगायतका जिल्लाबाट अति विपन्न परिवारका मानिसलाई बस्ने व्यवस्था मिलाइएको थियो। यिनै कुरालाई सरल ढंगले गीतमा वर्णन गर्दै सुश्रुत जोशी (तिमिल्सिना)ले देउडा गीत सुन्दर ढंगले गाएका छन्। महाशंकर देवकोटाको संकलनको उक्त गीत यस्तो छ :
हिउचुचुरा– लागिग्यो चैतको महिना पालुवा पलाउन
हिउचुचुरा– क्यान आउँछ पापी जोवन् मन मेरो जलाउन।
देउडा गीत जीवन र जगत्सँग सम्बन्धित भएकाले मानिस र देउडा गीतको सम्बन्ध अन्योन्याश्रित रहेको पाइन्छ। देउडा गीतले जीवन बोल्ने हुँदा यी गीतहरूको भाव पक्ष निकै नै गहिरो छ। त्यसैले पनि देउडा गीत दर्शनशास्त्र अध्ययन गर्ने प्राकृतिक पाठशालाहरू हुन्। २०३७ सालपछि पनि पटकपटक यस क्षेत्रमा भुइँचालो गइरहेकाले देउडा गीतमार्फत आफ्ना भावना यसरी पोखे :
चेला राम्णा गरिबका घर राम्णा सेटका
दाइ सुखारी म दुखारी हौं एकै पेटका।
कति अर्थ बोकेको छ माथिको गीतले। यी पुराना गीतहरू मानिसको जीवनपर्यन्त बाँचिरहन्छन्। २०४५ भदौ ५ गते पूर्वाञ्चलमा महाभूकम्प गयो। सयौं मानिसले अकालमा ज्यान गुमाए। भौतिक संरचनाहरू नष्ट गरेर मानिस घरबारविहीन भए। त्यसको केही वर्षपछि सुदूरपश्चिममा पनि भूकम्प गयो। कयौं चौपाया मरे। समाजमा २०२३ सालको जस्तै भोकमरीको सुरुआत भयो। त्यो हाहाकार सम्झेर एक गीतांगीले गीतमा यी भावनाहरू साटे :
पहाड पड्कन्या धारा जलेवा नान्ना कि ?
कहिल्यै सु दिन् फर्कन्ना कि यसलाई दिन् झान्ना कि ?
तराईदेखि पहाडी भूभाग र उच्च पहाडी भूभागमा पनि मानिसको बसोबास छ यस क्षेत्रमा। कुनै कुनै गाउँपालिकाका बस्ती यस्ता छन्, हेर्दा एक गाउँबाट अर्को गाउँ नजिक देखिन्छ। तर पैदल हिँड्दा त्यहाँ पुग्न चार घण्टा लाग्छ। बझाङको साइपाल गाउँपालिकाअन्तर्गतका न्यूनागाउँ, धलौन, काडा र धुलीगाउँ यसका उदाहरण हुन्। चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासँग जोडिएका यी बस्ती सरकारी सुखसुविधाबाट वञ्चित छन्। सदरमुकाम र जिल्ला सरकारबाट यी गाउँ सदैव ओझेलमा परेका बेला विनाशकारी भूकम्प आइदिँदा कस्तो विपत् आइपर्छ होला ? सहजै अनुमान लगाउन सकिन्छ। यिनै कुरालाई देउडा गीतमार्फत स्रष्टाले यसरी पीडा पोखेका छन्।
झुन् झुन्या बरसु लाग्यो काट्याबाटो दर्की
यसाइ दिन गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ?
२०७२ वैशाख १२ गते देशमा आएको महाभूकम्पको पीडालाई पनि यो गीतले सम्झेको छ। यसरी देउडा गीतले समय सन्दर्भका कुरा बोलेका हुन्छन्। घटना परिघटनाका विषयहरू गीतले राम्ररी उठान गरेकाले सदैव प्रिय लाग्छन्, माटोका बास्नाका कालजयी यी देउडा गीतहरू।