गहुँ भित्र्याउने चटारोमा किसान

गहुँ भित्र्याउने चटारोमा किसान
सुन्नुहोस्

पोखरा : फेवा फाँटमा यतिबेला किसानहरू सामूहिक रूपमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन्। गत वर्षदेखि फेवातालको मुहान क्षेत्रको फेवा फाँटमा पोखरा महानगरपालिकाको साझेदारीमा स्थानीय किसानले सामूहिक रूपमा धान खेती गर्न सुरु गरेका हुन्। 

पोखरेली जेठोबुढो धानको पकेट क्षेत्रका रूपमा परिचित फेवा फाँटमा धान भित्र्याएपछि हिउँदमा जमिन बाँझो रहँदै आएको थियो।

गत वर्ष ४१ वर्ष पछि २५० रोपनी क्षेत्रमा गहुँबाली लगाइएकोमा यस  फेवा फाँटको चंखपुर क्षेत्रमा ५ सय रोपनी क्षेत्रफलमा सामूहिक रूपमा गहुँ खेती गरिएको हो। 

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा, पोखरा १८ वडा कार्यालय र भावना सामुदायिक कृषि सहकारी संस्थाको संयुक्त साझेदारीमा चंखपुरमा गत वर्ष देखि गहुँबाली कार्यक्रम सुरु गरिएको स्थानीय किसान तथा गहुँ खेती कार्यक्रमका संयोजक रत्नप्रसाद तिमिल्सिनाले बताए। 

पोखरा महानगरपालिकाले बाँझो जमिनमा गहुँ खेती गर्न गहुँको बिउ  र जग्गा तयार गर्न गत वर्षदेखि बिउँ र खानजोतमा ५० प्रतिशत अनुदान दिएर किसानलाई खेती गर्न प्रेरित गरेपछि बाँझो रहने फेवा फाँटमा गहुँ झुल्न थालेको हो। गहुँ थ्रेसिङ गर्न पनि महानगरपालिकाले छुट्टै एक लाख दिएको छ।

यसै गरी पोखरा १८ वडा कार्यालयले पनि गहुँ खेतीका लागि सहयोग गरेको छ। सामूहिक गहुँ खेतीमा १२७ जना किसान सहभागी छन्। सेयर धनीघरका मम्तीमा एक जना गरेर १३० जनाभन्दा बढीले सामूहिक रूपमा आइतबारदेखि गहुँ काट्न सुरु गरेको तिमिल्सिनाले बताए।  

गत वर्ष मौसमले पनि साथ दिएकोले १ सय २० मुरी गहुँ फलेको तिमिल्सिनाले सुनाए। यस वर्ष क्षेत्रफल पनि बढेकोले कम्तीमा २ सय मुरी हाराहारीमा गहुँ फल्ने अनुमान गरिएको छ। 

बाँझो जमिनलाई उपयोग गरेर किसानलाई उत्पादनसँग जोड्न अनुदान कार्यक्रम ल्याएर पोखराका बिभिन्न क्षेत्रमा किसानको माग अनुसार गहुँ, जौ, तोरी, आलु लगायतको उत्पादनमा सघाएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए। यो कार्यक्रम आगामी वर्षमा थप सफल हुँदै जाने उनले विश्वास गरे। 

पोखरा महानगरपालिकाको गत वर्ष वडा नम्बर २४ माझथुम, वडा नम्बर १३, वडा नम्बर २८, फेवा फाँट लगायतमा गरी हिउँदमा बाँझो रहने १ हजार रोपनी क्षेत्रमा गहुँ लगाउन अनुदान दिएको थियो। यस वर्ष पनि अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ। 

२ सयभन्दा माथिको क्लस्टरमा महानगरपालिकाले अनुदान कार्यक्रम ल्याएको थियो। गहुँ, उवा, फापर लगायतका खाद्यान्नमा परनिर्भरता बढ्दै गएकोले पनि यो अभियान सुरु गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताए। 

हिउँदे बाली अभियान सुरु गर्नु अघि कहाँको जमिनमा के उत्पादन हुनसक्छ अध्ययनका लागि माटो परीक्षण गरेर त्यसै अनुसार उपयुक्त स्थान अनुसार किसानलाई गहुँ, तोरी, उवा, आलु, फापर लगायतका बिउँ, खानजोत लगायतमा महानगरपालिकाले अनुदान दिएको कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले बताए। बाँझो जमिनमा उत्पादन हुँदा किसान खाद्यान्नमा आत्मनिर्भर हुनेमात्र होइन हरियाली, वातावरणमैत्री वातावरण बन्ने पनि उनले बताए। 

सामूहिक रूपमा काम गर्दा र बाँझो जमिनमा गहुँ झुल्दा निकै खुशी लागेको ७४ वर्षीय किसान कुलप्रसाद तिमिल्सिनाले बताए। देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खेतीयोग्य भूमिको पहिचान गरी हजारौं रोपनीमा आधुनिक प्रविधि भित्र्याएर खेती गर्नुपर्नेमा यस्तो हुन नसकेको किसानले बताएका छन्। यसैले देश दैनिक परनिर्भरता बढ्दै गएको किसानको भनाइ छ। 

किसानले बाँझो रहँदै आएको फाँटमा वर्षौपछि गहुँ खेती गरेपछि छाडा चौपायाबाट खेती जोगाउन पालैपालो हेरालु पनि बसेका थिए। यसअघि फेवा बाँध भत्केपछि २०३३ साल देखि २०३७ सालसम्म गहुँ खेती गरियो र त्यसपछि खेती गहुँ खेती गर्न छाडिएको थियो। 

महानगरपालिकाको पहलमा गत वर्षदेखि पुनः गहुँ खेती गर्न थालिएको हो। पुनः गहुँ खेती गरेर उत्पादन पनि राम्रो भएपछि गाउँले सबैमा खुशी छाएको स्थानीय किसानले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.