छुट्टीमा रमाइलो गर्नेको रोजाइमा फेवा सिमसार

छुट्टीमा रमाइलो गर्नेको रोजाइमा फेवा सिमसार

पोखरा : ताल, खोला, नदी, हिमालसँग नरमाउने को नै होला र ? मानव सभ्यता नै नदी, खोला जस्ता पानीका स्रोत नजिकैबाट सुरु भएको हो भन्ने इतिहास छ। पानीको महत्व कति छ भन्ने मानव सभ्यता विकास भएको इतिहासबाटै थाहा हुन्छ।  

पोखराको पर्यटनको विकास पनि फेवाताल किनारबाटै सुरु भएको छ। अहिले पनि अर्बौ खर्चेर पर्यटकलाई लक्षित गरी होटल, रेस्टुरेन्ट लगायतको संरचना बनाइएको छ। नयाँ वर्ष लगायतका उत्सव र छुट्टीमा फेवाताल, बेगनास ताल, रुपातालको किनारमा रमाउने चलन पोखरामा सुरु भएको छ। 

फेवाताल किनारमा अझै बढी चहलपहल हुने गर्दछ। पछिल्लो समयमा फेवा सिमसार क्षेत्र, ताल किनार  पोखरेली र अन्य सहरबाट आएका आन्तरिक पर्यटकको रमाउने थलो बन्दै गएको छ। नयाँ वर्ष २०८० मा रमाउन पनि फेवातालको ड्यामसाइडदेखि तालको सिरान खपौदी, ढल्केबर सम्म स्वदेशी पर्यटकका चहलपहल निकै बढेको थियो। 

यसरी ताल किनारमा रमाउन जाने स्वदेशी पर्यटकले आफैंले तयार पारेको वा बजारमा किनेर खाना लग्ने गर्दछन्। ड्राइ पिक्नीकको रुपमा साथीभाइसँग मिलेर ताल किनारमा रमाउन जाने युवाहरूले आफूले लगेको प्लाष्टिकको बोतल, प्लाष्टिकका झोला, चाउचाउ, मिठाईका खोल, बियरको बोतल, क्यान लगायतका नकुहिने वस्तु खाएकै ठाउँ ताल किनार, सिमसार क्षेत्रमा छाड्ने गरेको पाइन्छ। 

यसरी प्लाष्टिकजन्य वस्तु, सिसा लगायतका वस्तु तालको मुहानको ताल किनार र सिमसार क्षेत्रमा फ्याँकिदा पछिल्लो समयमा ताल मुहानदेखि पुछारसम्म प्रदूषणको चपेटामा पर्दै गएको छ। 

यस्तो विषयमा नागरिक नै संवेदनशील भएर आफूले लगेको फोहोर आफैले फिर्ता ल्याउनु पर्छ भन्ने व्यावहारिक ज्ञान नहुँदा ताल प्रदूषणको चपेटामा पर्दै गएको नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारी बताउँछन्। 

आफ्नै ज्ञानले जानेर गर्नु पर्ने कुरा नगरेपछि जथाभाबी फोहोर फ्याँक्नेलाई दण्ड सजाय हुनुपर्ने उनको सुझाव छ। 

ताल फोहोर भएको स्थानमा महानगरका प्रहरीले अनुगमन गर्ने र जथाभाबी फोहोर फ्याँक्नेलाई कारबाही गर्नेसम्मका काम गर्ने योजनामा महानगर रहेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए। 

पोखराको फेवातालमा मुख्य बजार हुँदै मिसिने फिर्के खोलासँगै बगाएर ल्याउने प्लाष्टिकजन्य फोहोरले प्रदूषण भइरहेको अवस्थामा पछिल्लो समयमा तालको मुहानबाट बगेर आउने मुख्य स्रोत हर्पन खोला प्रदूर्षणको चपेटामा पर्दै गएको छ। 

सिमसार पुरेर घर बनाउने क्रम बढेपछि तालको मुहानदेखि नै ताल प्रदूषण हुनुको साथै पुरिने क्रम पनि बढेको हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.