विवाह लोकगीतमा तत्कालीन समाजको वास्तविक चित्र झल्किन्छ। विवाह संस्था अस्तित्वमा रहुन्जेल विवाहगीत पनि अस्तित्वमा रहन्छ। भलै त्यो बदलिँदो परिवेशमा नयाँ रूपमा आउला।
ज्यान पैयुँ फुल्दा सुन चेलीबेटी माइतीघर सम्झिनू
मधुमास सुरु भएको छ। आरु र आलुबखडाका हाँगामा कोपिला खेल्न थालेका छन्। लटरम्म पैयुँ फुल्न थालेका छन्। विवाहका लगन सुरु भएका छन्। यत्रतत्र नौमती पञ्चैबाजा घन्किन थालेका छन्।
यतिखेर मेरो कानमा अरुण उपत्यकाको संकलनमा रहेको यस्तै गेडाहरू गुञ्जिन थालेका छन्। भारतका प्रख्यात लोकअध्येता देवेन्द्र सत्यार्थी भन्छन्– लोकगीत कुनै पनि समाजको मुखले बोलिरहेको तस्बिर हो।
सत्यार्थीले भने झैं जब हामी लोकगीत सुन्छौं तब हाम्रा आँखामा त्यो समाजको हर्ष, विस्मात, सुख, दुःख, विरह, वेदना, रीतिरिवाज, प्रथा, परम्परा आदि चलचित्रको दृश्य झैं झलझली आउन थाल्छ। वास्तवमा लोकगीत लोकसाहित्यको त्यस्तो विधा हो जुन जनसाधारणद्वारा निर्मित हुन्छ। देश, काल, परिस्थितिको चित्रण गर्दै प्रचलित हुँदै आएको हुन्छ।
गेयात्मक रूपमा एक स्थानबाट अर्को स्थानमा फैलिँदै गएको हुन्छ। लोकगीत अंग्रेजीमा फोल्कको रूपमा चर्चित भए पनि नेपालको परिप्रेक्ष्यमा फोल्कको समकक्षी लोक कदापि हुन सक्दैन। पाश्चात्य जगत्मा फोल्क शब्द असांस्कृतिक मूढ समाजका निम्ति प्रयोग हुन्छ।
पाश्चात्य विद्वान् चाइल्ड किटरिजले फोकलाई आदिम अवस्थाको अभिव्यक्ति माने पनि नेपालको परिप्रेक्ष्यमा त्यो लागू हुँदैन। किनकि नेपाल एउटा ग्राम प्रधान देश हो। युरोपमा झैं यहाँ नगर र सहरको संस्कृतिमा लामो दूरीको फरक हुन्छ तर यहाँ त नगरभन्दा ग्रामीण जीवन झन् भव्य र सभ्य छ।
कतिले लोकगीतलाई अशिक्षित वर्गको साहित्य भन्छन्, झ्याउरे भनेर यसलाई अलि हेयको भावले हेर्छन्। भलै लोकगीतमा आधुनिक साहित्यमा झैं भरमार अलंकार, शब्दाडम्बरका बुट्टा, छन्द बिम्ब र प्रतीक नहोलान्। तर पनि यसको सरलता, स्वच्छता र श्रुतिमाधुर्य यति प्रभावकारी हुन्छन् कि मानिसका हृदय सहजै भेदेर स्पर्श गर्छन्। अमेरिकी नो कवि, गायक बब डिलनले परम्परागत अमेरिकी लोकगीतलाई आधुनिक रूपमा प्रस्तुत गरेर नोबेल पुरस्कार जिते।
- विवाह लोकगीतमा तत्कालीन समाजको वास्तविक चित्र झल्किन्छ। विवाह संस्था अस्तित्वमा रहुन्जेल विवाहगीत पनि अस्तित्वमा रहन्छ। भलै त्यो बदलिँदो परिवेशमा नयाँ रूपमा आउला।
- विवाह लोकगीतमा तत्कालीन समाजको वास्तविक चित्र झल्किन्छ जुन गीत सामन्ती र पितृसत्तात्मक युगमा रचिएका थिए। वर्तमानमा सामायिक छन् वा छैनन् त्यो बहसको अर्को पाटो होला। तर विवाह संस्था अस्तित्वमा रहुन्जेल विवाह गीत पनि अस्तित्वमा रहन्छ।
- नौमती ख्याली र गर्रा रागका गीत बेहुलो अन्मिएर बेहुलीको घरमा पुगेपछि सुरु हुन्छ। सर्वप्रथम जन्ती पर्सिइन्छ। बेहुलाको वरणी हुन्छ। खाँडो जगाइन्छ। हातमा तरबार लिएर खाँडो जगाइनुको एउटै उद्देश्य हुन्थ्यो– बेहुलीलाई सत्रुले दागा नधरुन्। लोकोख्यान वा लोककविता चर्चित खाँडो मूलतः वीर रसले ओतप्रोत हुन्छ।
- खाँडो जगाएपछि कल्स्यौडी, मुढ्यौली, ढाल, तरबार बोक्ने, ब्राह्मण, सिलोके, कवितेहरूलाई तयार रहन आह्वान गरिन्छ। विधिवत् रूपमा ख्याली र गर्रा गीत आरम्भ हुन्छ। प्रायः यी गीतहरू करुण रसले ओतप्रोत हुन्छन्। यस्ता गीतहरूले सबै मनलाई अश्रुपुरित बनाइदिन्छ।
मुक्ति गायक पिट सिगर, उडी गथ्रीहरू लोकगीतबाटै चम्किए। लोकगीत आधुनिक गीत र साहित्यका निम्ति स्रोत पनि हो। कुनै पनि समाज चियाउन लोकगीत झैं सरल र सहज आँखीझ्याल अर्को हुनै सक्दैन। विवाह लोकगीतलाई पनि यही रूपमा बुझ्नु जरुरी छ।
विवाह परम्परादेखि चल्दै आएको संस्था र संस्कार हो, जसले समाजलाई सही तरिकाले व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। विवाह यसै कारणले बनाइयो कि असल समाजको निर्माण भएर समाज सुव्यवस्थित होस्। अर्थात् मानिसले पशुले झैं गलत कार्य गर्न नपाओस्।
त्यसो त तसलिमा नसरिनले विवाहलाई बलात्कारको लाइसेन्स भनेकी छन्। त्यसो त समाज सुव्यवस्थित बनाउन एक पक्षले मात्र भूमिका खेल्छ वा दुवै पक्षले भूमिका खेल्छ, त्यो बहसको अर्को पाटो होला। तर यहाँ विवाहको लोकगीतको पाटोलाई मात्र उजागर गरिँदैछ।
विवाह संस्था जन्मिएसँगै विवाह लोकगीत पनि जन्मियो। साक्षरता अभावमा पिल्सिएका निरक्षर ग्रामीण जनताले प्रकृतिका खोला, नाला, वनजंगललाई बिम्ब, प्रतीक अनुप्रास र अन्त्यानुप्रास बनाएर लोकगीत र संगीत रचे कि ? यस्तै अनुमान गर्न सकिन्छ। प्रकृति आफैंमा ध्वनिमय छ।
खोलाका सुसाइ, बन बुट्ट्यानका सरसराहट, चराका रंगीबिरंगी स्वरूप, बस्तुभाउका आवाज आदिमा संगीत छ। यसैलाई आधार मानेर लोकगीतहरू सृजित भएको मान्न सकिन्छ। सुरुमा एक व्यक्तिद्वारा रचेर पछि सामुदायिक रूप लिएको सहजै बुझ्न सकिन्छ। विवाहगीत पनि यसैअनुरूप चल्दै आएको छ।
विवाहमा अक्सर नौमती र पञ्चैबाजाका लोकधुनहरूको छुट्टै विशेषता छ। जुन गीतको रूपमा नभएर धुनको रूपमा चर्चित छ। नरसिंगा, ढोलक, दमाहा, सहनाई, टेम्को, झुर्मा, कर्णाल आदि बाजाको तालमा बजाइने धुनमा सन्जे जगाउने धुन, कर्खा मंगल धुन, डाँडी मंगल धुन, ख्याली, गर्रा, खोलाको धुन, सगुन आदि चर्चित छन्।
पूर्वाञ्चल होस् वा सुदूरपश्चिमाञ्चल जताततै विवाहमा अति चर्चित र आकर्षित गीत भनेको नौमती र पञ्चैबाजाका तालमा गाइने गीत नै हुन्। त्यसमा विशेषतः तीनसोरे, चारसोरे ख्याली रागका गीतको छुट्टै आकर्षण छ। चाहे संयोगान्त होस् वा वियोगान्त, रागको ख्याली गीत होस् हरेकको हृदयलाई छुन्छ। तत्कालीन समाजको बाह्य चित्र र अन्तर मनोदशाको चित्रलाई सिपालु चित्रकारले झैं उतार्ने काम गर्छ।
अचेल विवाहमा रात राख्ने केही अवशेष बाँकी भए पनि लगभग लोप हुन लागिसकेको छ। पहिला विवाहमा जन्तीहरू बेहुलीको घरमा रात बस्ने र डोली प्रयोग गर्ने चलन थियो भन्ने कुरा विवाह ख्याली रागको फणीन्द्र सुवेदीको स्वरमा रहेको यो गीतले प्रष्ट पार्छ–
आज बस्छौं बास हामी
यसै घरको आँगनीमा
भोलि बिहानको मिर्मिरेमा
घुम्टो ओढाई डोली चढ्दा
नरोउ नरोउ दुलही नानी
हाम्रो सहनाई एक्लै रोइरहन्छ ...
यस्ता नौमती ख्याली र गर्रा रागका गीत बेहुलो अन्मिएर बेहुलीको घरमा पुगेपछि सुरु हुन्छ। सर्वप्रथम जन्ती पर्सिइन्छ। बेहुलाको वरणी हुन्छ। खाँडो जगाइन्छ। हातमा तरबार लिएर खाँडो जगाइनुको एउटै उद्देश्य हुन्थ्यो– बेहुलीलाई सत्रुले दागा नधरुन्।
लोकोख्यान वा लोककविता चर्चित खाँडो मूलतः वीर रसले ओतप्रोत हुन्छ। जुन सुन्दा विरुदावली झैं देखिन्छ। खाँडो जगाएपछि कल्स्यौडी, मुढ्यौली, ढाल, तरबार बोक्ने, ब्राह्मण, सिलोके, कवितेहरूलाई तयार रहन आह्वान गरिन्छ। विधिवत् रूपमा ख्याली र गर्रा गीत आरम्भ हुन्छ।
प्रायः यी गीतहरू करुण रसले ओतप्रोत हुन्छन्। यस्ता गीतहरूले सबै मनलाई अश्रुपुरित बनाइदिन्छ। अन्मिन लागेको बेहुलीलाई बाजाका तालमा दर्जीहरू मनै कटक्क खानेगरी यसरी सम्बोधन गर्छन्, जसमा अरुण उपत्यकाले स्वर भरेको छ–
सुरु बुरु लाकुरीको लंका पुग्यो जरा हजुर
आमा छैनन् बाबु छैनन्
कसले भन्ला बरा हजुर
माथि माथि कैलाशैमा
ढल्क्यो तीतेपाती हजुर
कुटे पनि मारे पनि
आफ्नै आमा जाती हजुर
नरोउ नरोउ दुलही नानी
सबको मन त रोला नि हजुर...
यस्ता गीतहरू त्यतिखेर करुणाको चरम उत्कर्षसम्म पुग्छ जब बेहुलीलाई अन्माइन्छ। माइतीघरलाई छोड्नुको असह्य पीडाले बिथोलिएकी हुन्छे– बेहुली। बेहुलीको क्रन्दनयुक्त रोदनले कसको मुटु गाँठो नपर्ला र ! साथीसंगीहरू बिह्वल हुँदै यसरी बिलौना पोख्न थाल्छन्, जसमा भानु ओलीले संकलन गरेर स्वर भरेका छन्–
सातै डाँडा काटी गयौ जन्म घर छोडी
बालसखी कहिल्यै नभुल्नु
पँधेरीले सोध्यो भने तिमीलाई
अब पँधेरी फेरिन् भनुँला
झाली गाई र परेवीलाई
घाँस चारो अब उनले दिन्न भनुँला
गाउँघरकी चेली गएपछि मानिस मात्र होइन, गाउँमा घर, पानीपँधेरो वरिपरिको वातावरण नै खिन्न हुन्छ भन्ने भाव नवीनकुमार खड्का र साथीहरूको स्वरमा रहेको यी गीत विरहिणी ख्यालीका भाकाले पुष्टि गर्छ–
पुल्टुङ पञ्चै बाजा धुरु धुरु रोयो नि साइँलो
कोठे वारि आँगन रोयो
भैंसी गोठ रोयो नि साइँलो
बेहुली टिपी बेहुलाले लग्यो
घरै शून्य भयो नि साइँलो
तीनै सहरमा बाजा बज्यो
धुन्न नि लै लै हो
यस्तै रहेछ लेखान्तमा
सोचे जस्तो हुन्न नि लै लै हो
सूर्यजस्ता दुलाहा राजा
चन्द्र जस्ती दुलही नि लै लै हो
जानु पर्यो पराइघर डोलीमाथि
चढी नि लै लै हो
बाबा लागे अन्माउन
आमा लागिन् रुन् नि लै लै हो।
एकातिर यसरी नौमती पञ्चै बाजामा विरह वेदनाका भाका गुञ्जिरहेका हुन्छन् भने अर्कातिर रात कटाउनलाई बेहुला पक्ष र बेहुली पक्षबीच श्लोक जुहारी चलिरहेको हुन्छ। यस्ता श्लोकहरूमा पुराणका कथा, लोककथाका श्लोक हुन्छन्।
कतिपय श्लोक भने बेहुला पक्षले सके बेहुली पक्षलाई र बेहुली पक्षले सके बेहुला पक्षलाई उछितो काढ्ने, खुइल्याउने खालका हुन्छन्। माधव दाहालको संकलनमा यी विवाह लोकश्लोकका हरफले यसै तथ्यलाई इंगित गर्छ–
बेहुली पक्ष
एक कन्या उचित वर भनिकन
भन्छन् त लोकमा सबै
खानै नपाइसरी किन यहाँ
आयै लाबा लस्करै ?
बेहुला पक्ष
तीन छोरी पछि एक पुत्र भो
हर्षै छ मनमा कति
यति जन्ती पनि धेर भन्यौ भने
दरिद्र रहेछौ अति।
बेहुली पक्ष
घरमाथि देवी थान
सिलोकले खायो कान
मेरा बैंसमा उखेल्छु तेरा कान
सिलोकले घोच्का नहान्।
बेहुला पक्ष
ठोट्नेका शिरमा डढेलो सल्क्यो
डढी गए सब मुढा
सिलोकको बदला सिलोकले तिरुँला
जोरी नखोज कल्चुडा।
बेहुली पक्ष
घाँसै काट्न भनी गएको वनमा
घाँस काटी ल्याए टुनी
तेरा पोल खोल्छु अहिले
रैछस् नि साह्रै खुनी।
विवाह गीत मात्र विवाह गीत होइन, सदियौंदेखि चल्दै आएको व्यवस्थाको रूप पनि हो। जसले महिला पुरुषलाई अलग कोणबाट हेर्न अहम् भूमिका खेलेको हुन्छ। जतिखेर विवाह गीत रचिए त्यतिखेरको सामाजिक संरचना सामन्ती र पितृसत्तात्मक थियो भन्ने विवाह लोकगीत सुन्दा प्रस्ट हुन्छ।
कतिपय लोकगीत सुन्दा महिलालाई आर्थिक रूपमा परनिर्भर हुन आह्वान गरेझैं लाग्छ। जस्तो एउटा विवाह लोकगीतको गेडाले यसै तथ्यलाई इंगित गर्छ–
नरोउ नरोउ ए दुलही नानी
मार्न होइन पाल्नलाई लैजाने।
एकपटक सत्रौं शताब्दीकी नारीवादी चिन्तक मेरी वोल्स्टन क्राफ्टले आफ्नो किताब ‘विन्डिकेसन राइट अफ वुमन’ किताबमा भनेकी थिइन्– कुनै युवतीलाई दिइने घरेलु तालिम सैन्य तालिम सरह हुन्छ।
कतै तत्कालीन पितृसत्तात्मक समाजले यस्तै गीतमार्फत व्यवस्था टिकाउन तालिम त दिएको होइन ? ताकि महिलाहरूको ब्रेन वास होस् र व्यवस्था टिकिरहोस्। लोकगीत सुन्दै जाँदा परनिर्भरताको झल्को पाइन्छ भने अर्कातिर महिलाको अन्तिम गन्तव्य मात्र विवाह हो भन्ने आभास पनि दिलाउँछ।
मानौं कि स्त्रीको जीवन विवाहबिना पूर्णत अधुरो छ। मानौं कि उसको जिम्मा अरूले मात्र लिन सक्छ। गीतका यी हरफहरूले यही तथ्यलाई प्रस्तुत गरेझैं लाग्छ–
पानी पर्यो रिमझिम
गैह्रीखेतको सिममा नि हजुर
आजदेखि भयौ चेली कुटुम्बको
जिम्मा नि हजुर।
त्यस्तै गीतको अर्को गेडाले पनि यही तथ्यलाई उजगार गर्छ–
परेवाको भाले पोथी
हाँसको डिम्मा नि हजुर
आजदेखि भयौ चेली
पराइको जिम्मा नि हजुर।
त्यस्तै भानु ओली र साथीको स्वरमा रहेको अर्को गीतको गेडाले पैतृक सम्पतिमा महिला माथि हुने भेदभावलाई उजगार गर्छ–
गाईलाई घाँस खरुकी त
भैंसीलाई अट्टेघान साइँला
छोरालाई अंश दान
छोरीलाई कन्या दान साइँला।
जसरी वर्तमान पुँजीवादी समाजमा महिलाहरूको बाह्य सुन्दरता हेरिन्छ। सौन्दर्य प्रतियोगिता, फेसन सो आदि गराएर महिलाको सुन्दरताको
मापन गरिन्छ।
त्यसैगरी तत्कालीन सामन्ती समाजमा पनि महिलाहरूको सुन्दरताको मापन बाह्य रूप र आभूषणले मात्र गरिँदो रहेछ भन्ने विचार विवाहगीतको यो अंशले व्यक्त गर्छ। जसमा अरुण उपत्यकाले स्वर भरेको छ–
धानै खायो धानचरीले, मकै खायो घुनले नि हजुर
रूपै राम्रो चन्द्रजस्तो बान्की राम्रो सुनले नि हजुर।
तर यसो भन्दैमा सबै गीतमा पित्तृसत्तात्मक सन्देश छैनन्, कतिपय गीतमा मातृसत्ता र स्वतन्त्रताको स्वर पनि गुञ्जिएको पाइन्छ। विवाहमा प्रचलित रत्यौली गीत यसैको ज्वलन्त उदाहरण हो।
आजभोलि पुरुष पनि सहभागी भएर यो गीत गाइएको पाइए पनि पहिला यो गीत महिलाले मात्र गाउँथे। राति खेलिने र ज्यादा रतिरागात्मक भाव आउने भएकाले यसलाई रत्यौली भनिएको हो भनिन्छ। विशेषत ग्रहशान्ति र मातृका पूजा गरिएको स्थलमा खेलिन्छ।
पितृसत्तात्मक समाजमा पुरुषहरू जति यौनको मामिलामा खुल्छन्, महिला खुल्न पाएका हुँदैनन्। मौका पाए भने उनीहरू पनि खुल्छन् भन्ने अभिव्यक्ति रत्यौली गीतले दिन्छ। महिलाले पुरुषको झैं लुगा लगाउँछन्। यौनसम्बन्धी हाउभाउका साथ
गाउन थाल्छन्–
खेलौ रत्यौली, खेलौ रत्यौली
म बेहुला तिमी बेहुली खेलौ रत्यौली
रत्यौलीको बोको छ
खाउँला भन्ने धोको छ।
नाटकीय रूपमा प्रस्तुत हुने यो गीतमा पहिला पुरुष सहभागी हुन पाउँदैनथे। अश्लीलझैं लागे पनि गीतले भने पितृसत्तालाई प्रहार गथ्र्यो। तर यो गीत फेरिँदै आउन थालेको छ। यसमा पुरुष पनि सहभागी हुन थालेका छन्।
पूर्व र मध्यमाञ्चलतिर रत्यौली, पश्चिमतिर जिउतीको रूपमा चर्चित यो गीत महिलाहरू पुरुषको जस्तै दौरा, सुरुवाल, ढाकाटोपी लगाएर छमछम नाच्छन् भन्ने उदाहरण शिवनारायण जोशीको संकलनमा रहेको यो गीतमा झल्किन्छ–
त्रिशूली तादी बाढी आयो राति
शिर बर्सेर सामरी हिँड्दै जाँदै गर
म पनि आउँछु ढाका टोपी ढल्काई।
तत्कालीन समाजमा युवतीहरूले नचाहँदा नचाहँदै पनि अनमेल र बेमेल विवाहको सिकार हुनु पथ्र्यो। बाबुआमाले रोजिदिएपछि आफ्नै बुवासरहको उमेरको मानिससँग विवाह गर्नु पथ्र्यो।
सुन्दा अलि ठाडो लागे पनि रत्यौली गीतको यी गेडाहरूमा बेमेल विवाहले निम्त्याएको यौन कुण्ठा छताछुल्ल भएर पोखिएका छन्। जसमा धेरै पहिला गंगा राणाले स्वर भरेकी थिइन्–
फेवातालको कत्ले माछा हरदम खोला धाउँछ
बूढो पोइको ओछ्यान लाउँदा जाँगर मरी आउँछ।
अरू बेला महिलाहरू दमित र गुम्सिएर बस्नु परेको अभिव्यक्ति एकैपटक रत्यौलीमा विस्फोट हुन्थ्यो–
दिदी पनि आउ यता, बहिनी पनि आउ यता
दुलहीकी आमालाई तानेर ल्याउ यता
नाइलनको सारीमा गाउँछु गीत
समाउँछु नारीमा परेनी जारीमा।
विवाह लोकगीतमा तत्कालीन समाजको वास्तविक चित्र झल्किन्छ। जुन गीत सामन्ती र पितृसत्तात्मक युगमा रचिएका थिए। वर्तमानमा सामायिक छन् वा छैनन् त्यो बहसको अर्को पाटो होला। तर विवाह संस्था अस्तित्वमा रहुन्जेल विवाहगीत पनि अस्तित्वमा रहन्छ।
भलै त्यो बदलिँदो परिवेशमा नयाँ रूपमा आउला। भारतका प्रख्यात लोकअध्येता देवेन्द्र सत्यार्थी भन्छन्– ‘लोकगीत जंगलको त्यो रूख हो जसको जरा अतीतको गहिराइमा धसिएको हुन्छ र वर्तमानमा नयाँ पात पलाइरहन्छ।’