युगले भुलेका बालागुरु

युगले भुलेका बालागुरु

मानिसको जीवन अनन्त सम्भावनाहरूको पुञ्ज हो। तर सम्भावनालाई यथार्थमा परिणत गरेर सम्भव बनाउने सामथ्र्य भने अत्यन्त दुर्लभ मान्छेमा मात्र पाइन्छ। संसारमा बिरलै यस्ता मानिसहरू होलान्, जो एउटा व्यक्तिभित्रको गुह्य क्षमता र अन्तज्र्ञान चिन्न सक्छन्। भौतिक शरीर अनि लौकिक क्षमताभन्दा पर जान नसकी अनेकौं महापुरुषहरूको अवमूल्यन यो संसारले धेरैपटक गरिसकेको छ।

जब एउटा देशले आफ्नो ज्ञान, परम्परा, भाषा, संस्कृति, कला अनि विभूतिजस्ता पहिचानहरूलाई नजरअन्दाज गर्दै आयातीत संस्कृतिमा रमाउन थाल्छ तब त्यस देशले विश्व मञ्चमा गर्वसाथ उभिने ताकत गुमाउँछ। विगत केही दशकयता हाम्रा शासकहरूले बोकेको विचार र व्यवहार हेर्दा कतै हाम्रो देश पनि त्यतै त जाँदै छैन भन्ने शंकाको सुविधालाई नकार्न सकिँदैन। पूर्वी नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा १८९२ मार्ग शुक्ल पञ्चमीका दिन जन्म लिएका बालागुरु अर्थात् आबाल ब्रह्मचारी षडानन्द अधिकारी एउटा यस्ता महापुरुष हुन् जसलाई आजको पुस्ता र सत्ता दुवैले चिन्दैन।

निरंकुश र कठोर भनिएका राणाशासकहरूबाट समेत सम्मान र सद्भाव पाएका बालागुरु देशमा नयाँ पाठ्यक्रम लागू भएपश्चात् त पाठ्यपुस्तकका पानाहरूबाट समेत निकालिए। जीवनभर आफू जलेर अरूलाई आलोकित गरेका बालागुरु अत्यन्त दूरदर्शी र बहुआयामिक व्यक्तित्व भएका सन्त थिए। उनी र उनको योगदानलाई एक कोणबाट मात्र हेरियो भने त्यो पूर्ण रूपमा अन्याय हुन जान्छ।

शैक्षिक व्यक्तित्व

राणाकालीन अन्धकार त्यसमा पनि जंगबहादुरको कठोर शासनकालमा सर्वसाधारण जनताका छोराछोरीले शिक्षाको उज्यालो देख्न पाउनु असम्भव प्रायः थियो। १९१० सालमा दरबार हाइस्कुलको स्थापना भएता पनि त्यो राणाका छोराछोरीका लागि मात्र खुल्ला थियो। यस्तो अवस्थामा १९३२ चैत्र शुक्ल रामनवमीका दिन स्थानीय जनताको सक्रिय संलग्नतामा बालागुरु षडानन्दले सर्वसाधारणले पढ्न पाउने गरी भोजपुर जिल्लाको दिङ्लामा विद्यालय स्थापना गरे। जनस्तरबाट व्यवस्थित यो नेपालको पहिलो विद्यालय हो।

त्यसबेलादेखि नै यस विद्यालयमा भोजपुरका अतिरिक्त गुल्मी, सल्यान, प्यूठान, इलाम, पाँचथर, ताप्लेजुङलगायत भारतको सिक्किम, आसाम हुँदै भुटान र म्यानमारसम्मका विद्यार्थी अध्ययन गर्थे। विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको समेत व्यवस्था गरिएको उक्त विद्यालयमा वेद, व्याकरण, ज्योतिष, भाषा साहित्य तथा गणितको शिक्षणका लागि छुट्टाछुट्टै कक्षाकोठाको निर्माण गरिएको थियो। ‘विद्या पढ्न कि काशी जानु कि दिङ्ला जानु’ भन्ने लोकोक्ति त्यस समय प्रसिद्ध नै भएको थियो। बालागुरु षडानन्दले शिक्षा क्षेत्रमा नेपालमै प्रथम पटक केही नौलो प्रयोगसमेत गरे। जस्तो, आफ्नै परीक्षा बोर्डको स्थापना, छात्र र छात्रालाई संयुक्त रूपमा अध्यापन प्रणाली, विद्यार्थीलाई विभिन्न स्थानमा लगेर स्थलगत रूपमै उनीहरूको मूल्यांकन प्रणाली (आजकलको अभ्यास शिक्षण), सूत्रको माध्यमबाट अध्यापन प्रणाली आदि।

यी सबै प्रयोगलाई समेटेर सोधकर्ता सुदीप अधिकारीले यसलाई ‘एस.एस.मोडेल’ अर्थात् षडानन्द संस्कृत मोडेल भनेर नामकरण गरेका छन्। शिक्षण विधिका हिसाबले षडानन्दको सूत्र प्रणालीलाई भने उनले सुपर पेडागोजी मोडेल भनेका छन्। आबाल बह्मचारी षडानन्द अधिकारीले शिक्षा र चेतनाको बलियो जग बसाएकै कारण भोजपुरको शैक्षिक विकास देशकै अग्रणी स्थानमध्येमा पर्छ। यहाँका मानिस प्रसिद्ध खेलाडी, कलाकार, वकिल, पत्रकार, विमान चालक, चिकित्सक, उच्च प्रहरी तथा सैनिक अधिकारी, संघीय मन्त्री, मुख्यसचिव, राजदूत, प्रधानन्यायाधीशदेखि राष्ट्रपतिसम्म भएका छन्। भोजपुरेहरूको यो प्रगति र उपलब्धिको जस बालागुरुलाई अवश्य जानुपर्छ।

आध्यात्मिक व्यक्तित्व

बालागुरु षडानन्दले आफ्नो आध्यात्मिक उन्नतिका लागि आठ वर्षको कलिलो उमेरमै घर छोडे। जनकपुर र बनारसको मुमुक्षु आश्रमस्थित गुरु मग्नीराम ब्रह्मचारीको सानिध्यमा रही वेद, व्याकरण, ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, दर्शनलगायत विषयको गहन अध्ययन गरे। बनारसमा रहँदा उनले गंगातटमा अष्टांग योगको साधनासमेत गरे। साधनाकै क्रममा बालागुरुले नेपालको गोकर्ण, टेकु पचलीघाट र पशुपति क्षेत्रको श्लेषमान्तक वनमा बसी २४ पटक गायत्री पुरस्चरण गरे। यस बाहेक उनले पोखराको नारायणस्थान र बाग्मती मरिन उपत्यकामा समेत साधना गरेका थिए।

बालागुरु योग साधना र गायत्री उपासनामा सिद्धि प्राप्त गरेका तपस्वी थिएँ। साधना पनि विशेष गरेर अष्टसिद्धिको फलस्वरूप उनमा विभिन्न अलौकिक र चामत्कारिक क्रिया गर्न सक्ने क्षमता थियो। अष्टसिद्धिअन्तर्गतको लघिमा सिद्धिको बलबाट आफ्नो शरीर अत्यन्त हलुका बनाई वर्षाको उर्लंदो भेलमा पानी माथि हिँडेरै बाग्मती नदी तरे। यस्तै, रुमाल ओछ्याएर विशाल अरुण नदी तर्ने, जमिनबाट केही फिट माथि उठेर शरीरलाई हावामा अड्याइरहन सक्नेजस्ता अद्भुत कार्य बालागुरुले गर्ने गरेको आज पनि सुन्न पाइन्छ।

अष्टसिद्धिअन्तर्गतकै अर्को अणिमा सिद्धिको शक्तिबाट बालागुरु आफ्नो शरीरलाई मानव आँखाले देख्नेभन्दा सूक्ष्म अणुसमान बनाउँथे। यसरी एक ठाउँबाट लुप्त भई अर्को ठाउँमा तुरुन्त प्रकट हुने जस्तो अलौकिक कार्य पनि गर्थे। बालागुरुमा देखिएको यस्तै अद्भुत क्षमता र ज्ञानको मूल्यांकन स्वरूप बनारसको विद्वत् सभाले उनलाई ‘श्री १०८’ को उपाधिसमेत प्रदान गरेको थियो। बालागुरुले आफ्नो आध्यात्मिक तेज र ज्योतिबाट दिङ्लामात्र नभएर समग्र देशलाई नै उज्यालो बनाउने जागरणको थालनी गरेका थिए। दिङ्लामा चतुर्माशा पुराण प्रवचन गर्ने चलन चलाएर जीवन र जगत्लाई संकीर्णतामा होइन, सम्पूर्णतामा हेर्न उनैले सिकाए।

सामाजिक व्यक्तित्व

करिब डेढ सय वर्षअघिको नेपाली समाज कस्तो थियो भनेर सहजै अनुमान गर्न सक्छौं। सामाजिक र राजनीतिक चेतनाका दृष्टिले पिछडिएको अनि विभिन्न कुरीति र कुसंस्कारबीच बाँच्न विवश तत्कालीन समाजलाई बालागुरुले ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट उज्यालोतर्फ डोहो¥याउने काम गरे। उनले दिङ्ला र त्यस आसपासको क्षेत्रमा १९४० सालतिरै सतीप्रथा उन्मूलन गराउनुका साथै छुवाछूत गलत हो भन्ने सन्देश छरेका थिए। राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्रशमशेरले यिनैबाट पाएका थिए भनिन्छ।

पानी चल्ने र नचल्ने भनी विभक्त तत्कालीन समाज स्थानीय मेलामार्फत सबै जातजातिका मानिसमा सहयात्राको सुरुआत पनि यिनले गरे। संस्कृत भाषाको उज्यालोबाट एउटा वर्ग विशेष मात्र नभएर सबै आलोकित हुनुपर्छ भन्ने सोचलाई बालागुरुले मूर्त रूप दिने काम गरे। बालागुरुले दिङ्लाको भन्ज्याङमा वास्तुशास्त्रीय र आधुनिक इन्जिनियरिङका दृष्टिले समेत व्यवस्थित भौतिक संरचना निर्माण गराएका थिए। कैलाश डाँडामा स्थापित विद्यालयलाई पछि त्यही भवनमा स्थानान्तरण गरिएको थियो। उक्त विद्यालयको भित्री भागमा बालागुरुले १००८ जातिको दुर्लभ वनस्पतिसहितको उद्यान निर्माण गराएका थिए भने बाहिरी भागमा एउटा विशाल वनको स्थापना गराए। यसलाई सामुदायिक धारणाअनुरूप संरक्षित नेपालको पहिलो सामुदायिक वन मानिन्छ।

स्थानीयवासीको खानेपानीको सुविधालाई मध्यनजर गरेर बालागुरुले राम, लक्ष्मण र नारायण नाम गरेका धाराहरू निर्माण गराए भने विभिन्न कुण्ड पनि निर्माण गराए। सामूहिक रूपमा सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालनका लागि उनले चौरहरू र स्थानीय सुरक्षाका लागि छोटी जंगीअड्डाको स्थापना गराई सैनिकका लागि परेड खेल्न टुँडिखेलसमेत बनाए। यसका साथै बालागुरुले आसपासका गाउँदेखि भन्ज्याङसम्म पुग्ने बाटाहरू फराकिलो बनाउन लगाए।

आर्थिक व्यक्तित्व

कुनै पनि संस्था निर्माण गर्नु जति चुनौतीपूर्ण हुन्छ, त्यति नै चुनौती उक्त संस्थालाई दिगो बनाउन हुन्छ। बालागुरुले निर्माण गरेका मन्दिर, विद्यालय, पुस्तकालय, बगैंचा आदिको चिरकालसम्म सुसञ्चालन होस् भनेर उनले करिब १,७९० रोपनी जग्गाको सीताराम गुठी स्थापना गरेका थिए। विभिन्न व्यक्तिबाट दानस्वरूप प्राप्त गरेको जग्गा, खरिद गरेको, सट्टापट्टा गरेको र सरकारबाट जारी भएको लालमोहर तथा आदेश गरी उक्त गुठी स्थापना गरिएको कुरा लेखक तथा अनुसन्धाता विप्लव ढकालले ‘भोजपुरको वाङ्मय’मा उल्लेख गरेका छन्।

बालागुरुले विद्यालय र मन्दिरको वार्षिक र विशेष पर्व सञ्चालन खर्च यति र यसरी गर्नू भनी स्थानीय भद्रभलाद्मीहरूको रोहवरमा गुठी सञ्चालनको विधि र प्रक्रिया शिलालेख, ताम्रपत्र र धर्म पत्रिकामा उल्लेख गराएका थिए। साथै उनले प्रत्येक साल त्यसअनुसार गुठी चले वा नचलेको सरकारले जाँच गर्ने व्यवस्थासमेत मिलाएका थिए। आर्थिक जवाफदेहिताको सवालमा योभन्दा विश्वसनीय र दूरदर्शी कार्य अर्को के हुन सक्छ ?

मानिसहरूको आर्थिक गतिविधिमा वृद्धि गर्न साथै स्थानीय कृषि तथा घरेलु उत्पादन बिक्री गरी आर्थिक उपार्जन गर्न बालागुरुले दिङ्ला भन्ज्याङमा साप्ताहिक रूपमा हाटबजार र वार्षिक रूपमा मेला लगाउने थिति बसाले। वार्षिक रूपमा लाग्ने मेला आज पनि उही आयतन र घनत्वमा लागिरहेको छ। बालागुरुले बनारसबाट रुद्राक्षको बिरुवा प्रथम पटक दिङ्ला ल्याई फैलाएका थिए। आज भोजपुर, संखुवासभा र आसपासका जिल्लाका मानिसको आम्दानीको प्रमुख स्रोत नै यही रुद्राक्ष बनेको छ। यी जिल्लाहरूमा वार्षिक रूपमा अर्बौं रुपैयाँबराबरको रुद्राक्ष कारोबार हुने गरेको छ।

अन्त्यमा, बालागुरु षडानन्द अधिकारीलाई हरेक युगले सम्झिरहने वातावरण यो देशले बनाओस्।

बालागुरु योग साधना र गायत्री उपासनामा सिद्घि प्राप्त गरेका तपस्वी थिएँ। साधना पनि विशेष गरेर अष्टसिद्धिको फलस्वरूप उनमा विभिन्न अलौकिक र चामत्कारिक क्रिया गर्न सक्ने क्षमता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.