खेम रिजालबाट सिक्नुस् : संघर्ष, श्रम, सिर्जनशीलता, सेवा र सफलता

खेम रिजालबाट सिक्नुस् : संघर्ष, श्रम, सिर्जनशीलता, सेवा र सफलता

जे–जे हुनु भइगयो अब कुरा नचलाऊ न

आलो यो घाउमा फेरि छुरा नचलाऊ न


अमेरिका, पेन्सलभेनियाको ह्यारिसबर्गमा १८ चक्के सेमाई ट्रेलर ट्रक रोकिएको थियो। त्यसको क्याबिनमा सत्य–स्वरूप आचार्य घन्किइरहेका थिए। गीतका स्रष्टा खेम रिजाल त्यसैलाई सुन्दै स्टेरिङमा अधैर्य कुरिरहेका थिए। 

अमेरिका उड्नुअघि नै उनले मलाई ओहायोको निम्ता गरेका थिए। अर्को संयोग जुरेको थियो– नेब्रास्कामा ग्लोबल भुटनिज लिटररी एसोसिएसनको बृहत् कार्यक्रम। त्यसको एक अतिथि म बनाइएँ। ओहायोबाट नेब्रास्का भ्याएर सिकागो विमानस्थलमा छाड्ने अभिभारा उनले लिए। अन्य केही स्टेटका कार्यक्रम सकेर उनलाई भेट्नुअघि म अन्तिम पाहुना थिएँ डा. विष्णुमाया परियार र प्रदीप परियार थापाको घर, न्युजर्सीमा। 
‘म ह्यारिसबर्गमा हुनेछु। तर, म लामो ट्रक चलाउँछु। त्यसमै फर्किने भए यहाँसम्म आउनुहोला’, खेमले मलाई छान्न दिए, ‘नत्र जहाजमा आउनुहोस्, म एयरपोर्टमा लिन आइपुग्नेछु।’

जुट ट्रकको प्रसंग आयो, प्रदीपले सल्लाह दिए, ‘करिब १० घण्टा यसमा यात्रा गर्नु साँच्चै रोमाञ्चक हुन्छ, मौका नछुटाउनुहोस्।’ विष्णुले थपिन्, ‘दाइ, तपाईंलाई हामी ह्यारिसबर्गसम्म छाड्न जान्छौं। र, मौका मिल्यो भने केही मिनेट मात्र भए पनि त्यो ट्रक चढेर फर्कन्छौं।’

नेपालमा कर्म र श्रमलाई सम्मान गरिन्न। ठूला–ठूला ट्रक चलाउने पेसालाई ‘तेस्रो दर्जा’ मा राख्छौं हामी। तर, अमेरिकाको सोच फरक छ। को कति मेहनती छ भन्ने आधारमा उसको सम्मान हुन्छ। 

‘जसले आफ्नै यस्तो ट्रक चलाउँछ, उसले कम्तीमा १५ देखि २० हजार डलर (करिब २०–२५ लाख रुपैयाँ) महिनामा सजिलै कमाउँछ’, प्रदीपले सुनाए, ‘तपाईंको साथी धेरै मेहनती हुनुहुन्छ भन्ने यसले देखाउँछ।’
उनैलाई भेट्न करिब ४ घण्टाको ड्राइभिङमा निस्कियौं हामी। तर, गुगल म्यापले लोकेसनमा धोका दियो। उनलाई खोज्दै केही फन्का लगायौं। थोरै ढिला पुग्दा उनी हडबडाइसकेका थिए। कारण– सामान अनलोड गरेर ओहायो फर्किंदै थिए। बाटामा उता लैजाने अर्को सामान टिप्नु थियो। जसका लागि दिइएको समय भेट्न अलि हम्मे थियो। ढिला हुनासाथ त्यो व्यापार अर्काको पोल्टामा पथ्र्यो। यो अमेरिकी विशेषता हो।

ट्रकको पृष्ठभूमिमा हामीले हतार–हतार एउटा फोटो खिच्यौं। 

आहा ! ट्रकको क्याबिनमै सुत्ने बेड। किचन। फ्रिज। ओभन। सुविधासम्पन्न घरैसमान हुँदो रहेछ त्यो। एक तल्लामाथि जस्तो उचाइमा बसेर सडकमा सररर कुद्नुको मज्जै बेग्लै। अर्थात्, बाल्कोनी–यात्रा। 

ह्यारिसवर्गबाट इन्टर स्टेट ७६–विलिङ–कोलम्बस हुँदै हामी सिन्सिन्याटीतर्फ जाँदै थियौं। अन्दाजी यात्रा अवधि थियो १० घण्टा। ट्रकका चक्का जुन गतिमा घुमिरहेका थिए, खेमको संघर्षपूर्ण जीवनमाथि मेरा जिज्ञासा त्यही गतिमा चलिरहेका थिए। 

000

भुटानको दागाना जिल्ला टासिदिन ब्लकमा विसं २०३८ मा जन्मिएका हुन्, खेम रिजाल। उनी स्थानीय नाम्चेला स्कुलमा प्रिपाइमरीमा भर्ना भए। कक्षा १ मा पढ्दै थिए, देशमा आन्दोलन चर्कियो। दक्षिण भुटानका स्कुल बन्द भए। नेपाली किताब जलाइए। नेपाली मूलका नागरिकलाई पढ्न दिइएन। त्यही घानमा परे उनी पनि। अन्ततः घाँस–पात, गोठालोमै उनका दुई वर्ष बिते। पढाइ चटक्कै छुट्यो। 

सन् १९९२ को एक बिहान। खेमका आमा–बुवाले गाई भैंसीका दाम्ला खोलिदिए। टाट्नाबाट बाख्रा छाडिदिए। अन्नको ढिकुटीमा दुइटा कलस थापेर दियो बाले। मझेरीभरि फिँजाएको आलु ममतापूर्वक सम्याए। घरलाई नमस्कार गरे। र, बलिन्द्र धारा आँसु बगाए।

‘म माईको डिलमा बस्थें। रमिता हेर्थें। त्यहाँ जलाउने लास गन्थें। त्यहाँ चढाएका र भक्तालुले पुलबाट खोलामा फालेका पैसा टिप्थें। बरफ किनेर खान्थें। भाइहरूलाई खुवाउँथें।’

बारबार जागिर फेरेका खेम आफैं सेमाई ट्रक किनेर चलाउने निधोमा पुगे। अमेरिकामा यो राम्रो आर्जन हुने र सम्मानित पेसामा पर्छ। ट्रकका चक्का जुन गतिमा घुमिरहेका थिए, खेमको संघर्षपूर्ण जीवनमाथि मेरा जिज्ञासा त्यही गतिमा चलिरहेका थिए।

इतिहास भन्छ– राम शाहका पालामा भुटान सरकारको आग्रहमा केही हजार नेपाली त्यता पठाइए। बहादुरी, इमानदारी र लगनशील नेपालीका विश्वविख्यात विशेषता थिए। आफ्ना नागरिकलाई ती गुण सिकाउन भुटानले नेपालीलाई आवासीय ‘खेताला’ खोजेको थियो। 

वास्तवमा नेपालीले भुटानीलाई त्यति मात्र सिकाएनन्, त्यहाँको माटोलाई ऊर्वरसमेत बनाए। भुटान सरकारले उनीहरूलाई दक्षिणी भूभागमा राखिदियो। कारण थियो– गर्मी हुने बेंसी र रुखो जमिन। शीतल चुचुराहरूमा रैथाने भुटानीले मोज–मस्तीले रमाउने धोको बनाए। परिणाम उल्टो आयो। दक्षिण भुटान अन्न, फलफूल र नगदे बालीको भण्डार हुँदै गयो। उत्तरी उपल्ला भागलाई दक्षिणले पाल्न थाल्यो। र, आगन्तुक नेपालीको देशको राजनीति, शिक्षा र अर्थतन्त्रमा प्रभुत्व बढ्दै गयो।  

रैथाने भुटानीले ल्याइते नेपालीमाथि आरिस गर्न थाले। त्यही क्रममा सरकारले नागरिकता ऐन ल्यायो। त्यसमा जन्मका आधारमा नागरिकको वर्गीकरण गरियो। जनमत संग्रह गरेर व्यक्तिको इतिहास खोतल्न थालियो। क्रमशः भाषा–संस्कृतिमाथि आक्रमण सुरु भयो। ९९ प्रतिशतले नेपाली प्रस्ट बोल्ने भुटानमा जोङ्खा मात्र बोल्नुपर्ने भयो। नेपाली पोसाक होइन, त्यहाँको बख्खु र किरा लगाउन बाध्य पारिन थालियो। ती कुनै हतकन्डाले नधानेपछि भुटान सरकारले नयाँ रणनीति रच्यो– ‘ग्रिन बेल्ट।’ अर्थात्, दक्षिण भुटानलाई हरियाली पेटी (वन) ले घेर्ने। त्यसो गर्दा नेपाली मूलका नागरिकका प्रायः बस्ती उठ्थे। 

त्यसविरुद्ध तत्कालीन राजपरिषद्का सदस्य एवं सांसद टेकनाथ रिजालको नेतृत्वमा आन्दोलन उर्लियो। सरकारी सैनिकबाट व्यापक धरपकड एवं क्रूर यातना–हत्या सुरु भयो। घर–घरमा महिला र बालिकाको बलात्कार हुन थाल्यो। बढेका छोरी–चेली सेना, प्रहरी र ठूला कर्मचारीलाई ‘चढाउन’ पठाउनुपर्ने भयो। अन्ततः यस्तो वातावरण बन्यो, नेपाली मूलका भूटानीले कि अत्याचार सहनु पर्‍यो, कि देश छाड्नु पर्‍यो। 
धेरैले दोस्रो रोजे। 

000

सन् १९९०। खेमका हजुरबुवा पद्मप्रसादको कालगतिले निधन भयो। दागाना खोलामा दाहसंस्कार गरेर मलामी फर्किएका थिए। साँझ छिप्पिइरहेको थियो। पेट्रोलमेक्स बालेर किरियापुत्री रुँग्दै आफन्त र गाउँले बसेका थिए। कोही शोक भुलाउन तास खेल्दै थिए। आँगनैमुनि सडक थियो। त्यहाँ गाडी खासै चल्दैनथिए। अचानक हेडलाइट बल्यो। गाडीबाट राइफल भिरेका ५–७ जना आर्मी झरे। त्यतै आए। खेम सानै थिए। त्यो दिन उनी सम्झन्छन्, ‘५–७ जनालाई समातेर, बाँधेर लगे। रेग्मी भिनाजुलगायत। धेरै चुलबुल गर्‍यौं भने तातो गोली खान्छौ भन्दै सबैलाई धम्क्याएर गए। म भने भित्र लुकेर बसिरहें।’

जता गयो, आन्दोलन र आतंकको कुरा मात्रै हुन्थ्यो। कसरी बस्ने, कसरी बाँच्ने परिचर्चा मात्रै सुनिन्थ्यो। हजुरबुवाको बर्खान्त सकिएको साल उनका कान्छा भाइ जन्मिए। घरमा सुत्केरी र शिशु थिए, सैनिकको दोहोरीलत्त आगमन चलिरहन्थ्यो। धम्की सुनिरहनुपथ्र्यो। 

बुवा–आमा खेती किसानी गर्ने। धान मस्तले खान पुग्थ्यो। बारीमा मकै, कोदो, बोडी, केराउ आदि फल्थ्यो। फलफूलमा दारिम, आँप, नासपाती हुन्थे। कागती, निबुवा, तोरी घरमै पेल्ने गरिन्थ्यो। गाई–भैंसी, घोडा थिए। नपुग्दो केही थिएन। रिजाल परिवार सुखमय जीवन धानिरहेको थियो। 

तर, देशको स्थिति सुखमय थिएन। आँखै अगाडि हत्या, बलात्कार, धरपकड, कुटपिट, यातना देख्नुपथ्र्यो। यसमा कहिले को पर्ने हो, टुंगो थिएन। लालाबालाका शिक्षाका ढोका बन्द थिए। भविष्य अन्धकार सुरङतर्फ छिरिरहेको प्रतीत हुन्थ्यो। 

000

सन् १९९२ को एक बिहान। खेमका आमा–बुवाले गाई भैंसीका दाम्ला खोलिदिए। टाट्नाबाट बाख्रा छाडिदिए। अन्नको ढिकुटीमा दुइटा कलस थापेर दियो बाले। मझेरीभरि फिँजाएको आलु ममतापूर्वक सम्याए। घरलाई नमस्कार गरे। र, बलिन्द्र धारा आँसु बगाए। 

काखमा एक वर्षे कान्छो भाइ थिए। खेम १० वर्षका थिए। माइलो ८ वर्ष। साइँलो ६। बालख ४ सन्तानमध्ये आमा–बुवाले दुई–दुई जना सम्हाले। र, गह्रुँगा पाइला आँगनबाट बाहिर निकाले। लीलबहादुर क्षत्रीको बसाइँ उपन्यासका दृश्यभन्दा मार्मिक थियो त्यो क्षण। 

साथमा, सम्पत्तिका नाममा केही नगद र फेरफार लुगा मात्र थिए। बुवा यदु र आमा इन्दिरा सहनशीलताका प्रतिमूर्ति थिए। कस्तै संकट र विपत्मा पनि विचलित हुँदैनथिए। तर, त्यो दिन महासंकटभन्दा महापीडादायी थियो। ‘ठूलो मान्छे रोएको मैले देखेको थिइनँ। आर्जेका घर–सम्पत्ति छाडेर हिँड्दा बुवा–आमा डाको छोडेर रुनुभयो’, खेम सम्झन्छन्, ‘त्यति मात्र होइन, यो त राष्ट्र नै छाड्नुपर्ने बाध्यता थियो। हामीले टुलुटुलु हेर्‍यौं, केही बुझेनौं।’ 

उनीहरूको हूलमा करिब ७० परिवार एकसाथ मिसिए। जेबी टुहुरेको गीतजस्तो– 

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ
लाखौंका लागि उजाड छ यो देश, मुठीभरलाई 
त स्वर्ग छ...

खेमका बुवा यदुका अनुसार उनलाई स्थानीय मण्डल (नेपालको वडाध्यक्षजस्तो) ले बोलाए। वरिपरि सैनिक राखे र एउटा कागज दिँदै भने, ‘यसमा सही गर्।’ त्यसमा लेखिएको थियो, ‘म राजी–खुसीले देश छाडेर जान चाहन्छु।’ सँगै धम्क्याए, ‘सही नगर्ने भए कि जेलमा कोचिन्छस्, कि तातो गोली खान्छस्।’  उनले परिवार सम्झिए। देश छाड्न राजी भए। 

त्यो हूलमा सामेल कोही ‘मारिँदैछौ’ भन्ने सुराकी सुनाएकाले भागेका थिए। कतिपयका छोराछोरी जेलमा थिए। प्रशासनले ‘देश छाड्छस् भने तेरा छोरा–छोरीलाई पनि छाडिदिन्छु’ भनेका थिए। देशको मायाले बसिरहौं, ज्यान जाने। ज्यान जोगाउन देश छाड्नुपर्ने परिस्थिति थियो त्यो। फलतः ज्यान रोज्नु बाध्यात्मक बन्यो। त्यो बसाइँ–सराइ गन्तव्यविहीन थियो। जाने कहाँ, पुग्ने कहाँ कसैलाई मेलो थिएन। शेर्पा गाउँ हुँदै, आङै सिरिङ्ग गर्ने खहरेको भीर छिचोलेर अघि बढ्यो त्यो जमात। देश खोसिएको समुदाय। सर्वस्व लुटिएको समाज। 

पाइला सरिरहेका थिए। पृथ्वी घुमिरहेको थियो। दिनको घामलाई छेक्दै क्षितिजमा अँध्यारा टाटाहरू बढ्दै थिए। ‘खहरेको छेउमा गान्टेको बोटमुनि एकरात बस्यौं। राति बाघ–भालु कराएको सुनेर हामी उठ्यौं। रुनु हुँदैन भनेर बुवाहरूले फकाउनुभयो’, बालस्मृतिबाट विस्मृत भएका छैनन् ती कहालीलाग्दा काल खेमका लागि, ‘दिनभरिको हिँडाइले थाकेका थियौं। हामी फेरि भुसुक्क निदायौं। बुवा–आमा भने रातभरि सुत्न सक्नु भएन रे।’ 

दोस्रो दिन सुनकोश खोलाको किनारैकिनार हिँड्यो ताँती। ठूलो पानी पर्‍यो। रुझ्दै भिज्दै अघि बढे उनीहरू। एउटा ओडारमुनि बास लाग्यो। ‘खसियो भने तल खोलामा झरिन्छ भनेर बुवाहरूले सम्झाउनुभयो’, उनी भन्छन्, ‘लाग्छ, त्यो ओडार खोलाको किनार, भीरको डिलमा थियो।’

पैदलयात्रा जारी थियो। बल्ल पर्सिपल्ट भारतको सीमा केराबारी पुगे उनीहरू। कालीखोलाबाट सीमा छिचोलेर भारतको कुलकुले भन्ने ठाउँमा बास बसे। त्यहाँ सम्भवतः कुनै कार्यालयले छाडेका अस्थायी टहरा थिए। ‘केही दिन त्यहीं बस्यौं। अनि, ट्रक रिजर्भ गरेर ढालामा चढ्यौं’, ‘कहाँ जाँदै छौं, कति टाढा छ त्यो ठाउँ हामीलाई केही थाहा थिएन’, खेम त्यता फर्कन्छन्, ‘करिब दुई दिनमा नेपाल–भारत सीमा क्षेत्र पानीट्यांकी आइपुग्यौं। सुरक्षाकर्मीले नेपाल छिर्न रोके। केही अग्रज झरे, कुरा मिलाए। राति १० बजे माई खोलाको किनारमा खुला आकाशमुनि झारियो हामीलाई।’ 

‘पुर्खाको प्रसाद नेपाली माटोमा अनि टेक्न पाइयो !’ 

ट्रक यात्राले गलेर लखतरान थिए सबै। कसैले आउँदै गरेको खबर गरेको हुन सक्छ। खाना तयार थियो। हावाले बालुवा मिसाएको। चिसो। भात र तरकारीको झोल। ‘त्यो यति मीठो भयो, भनिसाध्य छैन’, उनी भन्छन्। 

000

नेपालमा भुटानबाट शरणार्थी बनेर आउनेको लर्को लागेको थियो। सबैलाई ल्याउँदै माई किनारमा छाड्न थालियो। केही दिनपछि दाताका नजर त्यता परे। घोचा गाडेर त्रिपाल टाँग्न थालियो। त्यही त्रिपालमुनि अरूजस्तै यदु रिजालको परिवार करिब पाँच महिना बस्यो।   

‘कान्छो भाइ सिकिस्त बिरामी भयो। सरकारले सलेदोवाला स्टोभ दिएको थियो। स्टोभ त बाल्ने, के पकाउने ? दाताले अलि–अलि चामल दिन्थे। दुई छाक सबैलाई पेटभरि नपुग्ने’, खेम ती दिनतिर फर्किए, ‘म माईको डिलमा बस्थें। रमिता हेर्थें। त्यहाँ जलाउने लास गन्थें। त्यहाँ चढाएका र भक्तालुले पुलबाट खोलामा फालेका पैसा टिप्थें। बरफ किनेर खान्थें। भाइहरूलाई खुवाउँथें।’ 

साथै, एक रिक्सावाला थिए। उनले झिलझिले–केर्खा सामान ओसार्थे। भारी रिक्सा उनलाई उकालोमा तान्न गाह्रो थियो। खेम ठेलिदिन्थे। 

फर्किंदा रिक्सावाला गीत गाउँथे– 
आलुदम चना
छोटो जिन्दगी लामो सम्झना

त्यही गीतजस्तै खेमलाई अझै तिनको सम्झना आउँछ। किनकि, तिनै रिक्सावालाले उनलाई सिंगडा र मुराईका डल्ला किनेर खुवाउँथे। 

केही महिना यही बन्यो दिनचर्या। 

हेर्दा हेर्दै हजारौं भुटानी माई किनारमा थुप्रिएका थिए। करिब पाँच महिनापछि शिविर खुल्न थाले। त्यही क्रममा रिजाल परिवार बेलडाँगी शिविर पुग्यो। खेम भने कहिले भारत मावल जान्थे। कहिले यताउति लर्खरिन्थे। बल्ल १२ वर्षमा उनी १ कक्षामा भर्ना भए। शिविरभित्रकै स्कुलमा। त्यहाँ सबै विषय अंग्रेजीमा पढाइन्थ्यो। एउटा नेपाली थियो। 
८ कक्षासम्म जोङ्खा पनि राखियो। उनले त्यहींबाट १० कक्षा सके।

000

एसएलसीपछि खेम दमकस्थित सिद्धार्थ बोर्डिङमा प्लस टु पढ्न थाले। शरणार्थी जीवन। सरकारले दिने रासनका भरमा चल्न हम्मे थियो। खर्च जुटाउन उनी ट्युसन पढाउन थाले। त्यसले पनि नपुगेर घर ढलान गर्ने कुल्ली काम गरे। ‘एक दिन कुल्ली काम गरेको ५० देखि ८० रुपैयाँ दिन्थे’, उनी भन्छन्, ‘सधैं काम हुँदैनथियो। कति रात भोकैसमेत सुतियो।’

प्लस टुपछि स्नातक तह पढ्न पुगे विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस। भर्ना त भए, तर पढाइ नियमित गर्न सकेनन्। जागिर खोज्दै, भौतारिँदै कर्णाली पुगे। कालीकोट मान्मस्थित बालविकास इङ्लिस मिडियम बोर्डिङ स्कुलमा पढाउन थाले। 

माओवादी युद्ध उत्कर्षमा थियो। ‘पिली आक्रमण हुँदा म कालीकोटमै थिएँ। कतिबेला कहाँ गोलाबारी हुन्छ भन्ने त्राहिमाम थियो’, उनी सम्झन्छन्, ‘स्कुल र शिक्षक पनि टार्गेटमा पर्न थाले। असुरक्षित हुँदै गएपछि फर्किएँ।’ 

एक समय विद्यालयमा ‘दार्जिलिङका’ शिक्षक राख्ने लहर थियो। तर, स्कुललाई मात्र थाहा हुन्थ्यो, तिनीहरू दार्जिलिङका होइनन्, भुटानी शरणार्थी शिविरबाट गएका थिए। हुलिया ढाँटेर पढाउनुपर्ने बाध्यता खेपेका तिनैमध्ये थिए खेम पनि। उनी दार्जिलिङे बनेर कर्णाली पुगे। पछि धादिङको आदमघाटस्थित पाविल बोर्डिङ स्कुलमा करिब एक वर्ष पढाए। स्याङ्जा गए, पढाउन।

स्याङ्जाको उस्तै तीतो स्मरण छ उनीसँग, ‘माओवादीले बोर्डिङ बन्द गरायो। शिक्षकलाई खोज्न थाल्यो। म भागेर ढापुक गाउँ पुगें। त्यहाँबाट अघि बढ्ने खर्च भएन। २२ दिनसम्म बाटो खन्ने श्रमिक बनें।’

000

शरणार्थी समस्या समाधान गर्न नेपाल–भुटान पटक–पटक वार्ता भए। उपलब्धि भएनन्। तर, यसबारे संसारको ध्यानाकर्षण भइसकेको थियो। त्यही क्रममा तेस्रो मुलुकमा पुनर्वासको निर्णय भयो। त्यसलाई अधिकांश भुटानी शरणार्थीले स्वीकारे। 

यदु रिजालको परिवार अमेरिकामा जानेमा पर्‍यो। सन् २००८ जुलाई पहिलो साता उक्त परिवार सियाटल वासिङ्टन उत्रियो। खेमका माइलो भाइको बिहे भइसकेको थियो। नानीसमेत जन्मिइसकेकी थिइन्। ८ जनाको रिजाल परिवारलाई त्यहाँ ड्यानियल नाम गरेका व्यक्तिले विमानस्थलबाट लिएर गए। 

त्यतिञ्जेल खेमले पढाउँदै, पढ्दै गरेर स्नातक सिध्याइसकेका थिए। अमेरिकामा ईएसएल (इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज) कक्षामा भर्ना भए। त्यति बेला अमेरिका आर्थिक संकटमा थियो। तैपनि अगस्ट १५, बर्थडेमा उनले मेरियट होटलमा कस्टडियन (कस्टमरको सेवा–सत्कार र सहजकर्ता) काम पाए। 

तीन महिनामै फ्रन्ट डेस्कमा सारिए। त्यसबीच नर्सिङ एसिस्टेन्ट र मेड डेलिकेसन पढे।  बिहान ३ बजे आमाले पकाएर पोको पारेको खाना बोकेर हिँड्थे।  बसमा एकोहोरो २ घण्टा लाग्थ्यो। राति फर्किंदा ११–१२ बज्थ्यो। ती दिन उनलाई रमाइला लाग्छन्, ‘अधिकांशतः म दैनिक २–३ घण्टा मात्र सुत्थें।’

नयाँ ठाउँ। नयाँ संघर्ष। फेरि पुगे हस्पिटलमा काम गर्न। अनि, दोभाषे बने। गुजारा चलाउन श्रम गर्थे। सँगसँगै भुटनिज कम्युनिटी रिसोर्स सेन्टर चलाए। कतिपय भुटानीलाई कहाँ गएर के गर्नुपर्छ भन्ने थाहै थिएनन्। त्यस्ताका सहजकर्ता मात्र होइन, दसैं–तिहारजस्ता चाडपर्व आयोजना गराउने पुलको भूमिकामा अग्रसर भए। 

सियाटल अमेरिकाको माथिल्लो भेगको पल्लो छेउमा पर्छ। भुटानी–नेपाली समुदाय कमै थिए त्यहाँ। त्यही कारण रिजाल परिवार सन् २०१४ मा ओहायोको सिन्सिन्याटी सर्‍यो। सन् २०१५ मै खेम भुटनिज कम्युनिटी अफ सिन्सिन्याटीको अध्यक्ष बने। पछि त्यसकै कार्यकारी निर्देशक भए। भुटानीका सहजकर्ता रहे। मर्दा–पर्दाका साथी बने।

000

फेरि काम फेरे। सन् २०१९ सम्म हिंसामा परेका बालबालिकाको केस वर्कर बनेर काउन्टीमा सरकारी काम गरे। ‘धेरै काम फेरें। फेर्दाफेर्दै अलि जोखिमपूर्ण काम गर्न मन लाग्यो। सन् २०२० मा अर्काको सेमाई ट्रक लिएर चलाउन थालें। त्यसले आफ्नै व्यवसायको सोच जगायो’, उनी भन्छन्, ‘त्यही भएर सन् २०२१ मा आफैं सेमाई ट्रक किनें। दुई लाख डलर अग्रिम तिरेर।’
त्यही ट्रकमा हामी हुइँकिइरहेका थियौं। खेम जीवनका कथा उधिनिरहेका थिए। 

000

शरणागत बाध्यतालाई जीवनको ट्रान्जिट बनाएका भुटानीको छातीमा सबैभन्दा नेपालीत्व गढेको छ। उनीहरू आफूलाई भुटानी भन्दैनन्, नेपाली भनेर चिनाउँछन्। नेपाली भन्नुमा गर्व र गौरव गर्छन्। तर, दुःख यसमा मान्छन्– 

नेपाली बन्धुबान्धवले दुख्ने गरी अझै ‘भुटानी शरणार्थी’ भनिदिँदा।

‘हो, हामी शरणार्थी थियौं। तर, सधैं शरणार्थी होइनौं’, भुटानी नेपाली समुदायका प्रबुद्ध व्यक्तित्व गंगाराम लामिटारे गुनासो गर्छन्। 

नेपाली भाषा, साहित्य, संस्कृति, धर्मको रक्षामा नेपालका वंशज नेपालीभन्दा भुटानी कुनै हदमा कम छैनन्। बरु उम्दा छन्। 

त्यही मर्म र कर्मलाई पछ्याउँदै खेमले साहित्य र गीत–संगीतमा निकै पाइला सारिसकेका छन्। नेपाली समुदायलाई ८ वटा सिर्जना दिइसकेका छन्। उनी भुटनिज अमेरिकन म्युजिक एसोसिएसन (बामा) का अध्यक्ष हुन्। राम्रा गीत, कविता, गजल लेख्छन्। यदाकदा गाउँछन्। संगीत भर्छन्। जुन लोकप्रिय र कर्णप्रिय पनि छन्। 

र, तिनै गीत ट्रकमा घन्काएर स्वाभिमानले शिर ठाडो पार्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.