एसईईपछि के पढ्ने ?

एसईईपछि के पढ्ने ?

भनिन्छ, सही समयमा गरिने सही निर्णयले परिणाम पनि सही नै दिन्छ। तर, निर्णय गर्न सही समय चिन्न सक्नु र गरिने निर्णय सही नै हो भनेर जान्न सक्नु आफैंमा अर्को जटिल निर्णय हो। त्यसैले निर्णय प्रक्रियामा एकभन्दा बढी मस्तिष्कको सहभागिता नै सही समयमा सही निर्णयमा पुग्ने सम्भावनाको बलियो आधार हो। मानिसले दैनिकजसो आफ्नो जीवनमा केही न केही निर्णय गरिराखेकै हुन्छ। यसभित्र पनि कतिपय निर्णय यस्ता हुन्छन्, जसको परिणामले जीवनपर्यन्त प्रभाव पार्छन्। अथवा भनौं, जीवनको दिशा नै बदलिदिन्छन्। यस्तै प्रकारको एउटा निर्णय हो, वर्षौंदेखि मेहनत गरेर एसईईसम्मको तह उत्तीर्ण गरेको एउटा विद्यार्थीले अबका दिनमा के पढ्ने ?

नेपालमा गएको वैशाखमा एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षा सम्पन्न भयो। उक्त परीक्षाको परीक्षाफल आउने समय विस्तारै नजिकिँदै गइरहेको छ। यो पृष्ठभूमिमा एसईई दिएका तमाम विद्यार्थीमा बच्चैदेखि आफूले गर्दै आएको परिश्रमलाई कसरी उचित व्यवस्थापन गर्ने र आउँदो भविष्यलाई समेत सुरक्षित पार्ने भन्ने विषयमा ठूलो तनाव र अन्योलताको अवस्था सिर्जना भएको छ। यसैगरी उनीहरूका अभिभावकमा पनि आफ्ना सन्तानलाई कसरी यो दोधारको अवस्थाबाट उचित मार्गनिर्देशन गर्ने भन्नेमा ठूलो चिन्ता देखिन्छ। 

कुनै पनि विषय अनि त्यसमा आधारित पाठ्यक्रम निर्माणका निश्चित उद्देश्यहरू रहेका हुन्छन्। ती विषय तथा पाठ्यक्रमहरू केही दर्शन साथै सैद्धान्तिक ज्ञान प्रदान गर्ने हेतुले बनाइएका हुन्छन् भने केही विशुद्ध सीप प्रदायक हुन्छन्। अनि केही विषय यस्ता हुन्छन् जसले सैद्धान्तिक ज्ञान र सीप दुवै प्रदान गर्छन्। अधिकांश विद्यार्थी यस्ता छन् जो यस प्रकारका विषयमा अनभिज्ञ देखिन्छन्। परिणामस्वरूप बर्सेनि विद्यार्थीको एउटा यस्तो समूह बढ्दै छ, जसलाई लाग्छ कि मैले पढेको विषय मेरा लागि गलत रहेछ। यसले विद्यार्थीमा विषयप्रतिको चाख र उत्प्रेरणा घट्दै जाने र स्वतः उक्त विषयमा राम्रो गर्न नसक्ने समस्या देखिन थाल्छ। यही कारण पनि नेपालमा शिक्षित बेरोजगारको संख्या बर्सेनि बढिरहेको हो भन्दा फरक नपर्ला।

नेपालमा एसईई उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीको सवालमा आफैंले छनोट गरेको विषय र पाठ्यक्रमप्रतिको उनीहरूको अनभिज्ञताबाहेक केही गल्ती पनि छन्। जुन बर्सेनि दोहोरिने गरेका छन्। जस्तै, आफ्नो मिल्ने साथीले छनोट गरेकै विषय आफू पनि छनोट गर्ने। आफूले चिनेका कुनै दाइ÷दिदीले राम्रो पैसा कमाएको देखेमा आफ्नो क्षमता र योग्यताको विचार नै नगरी उनीहरूले पढेकै विषय आफू पनि पढ्ने निर्णय गर्ने। कक्षा १० का आन्तरिक परीक्षाहरूमा सबैभन्दा बढी अंक ल्याएको विषयलाई मात्र आधार बनाएर कक्षा ११ का लागि विषय छनोट गर्ने। यसैगरी, एसईई उत्तीर्ण विद्यार्थीका अभिभावकले पनि सन्तानलाई कक्षा ११ का लागि विषय छनोट गर्ने क्रममा केही गल्ती गर्ने गरेका छन्।

बच्चाहरूको सक्षमता र इच्छा नबुझी वा बेवास्ता गरी आफूलाई इच्छा लागेको विषय पढ्न दबाब दिने काम भएका छन्। आफ्ना साथीभाइको छोराछोरीले अध्ययन गरेकै विषय छोराछोरीलाई पनि अध्ययन गर्न दबाब दिने गरिन्छ। जीवनमा आफूले पढ्न नसकेको विषय पढ्न दबाब दिएर कुण्ठित इच्छा पूरा गर्ने गरिन्छ। यसरी एसईईपछि कक्षा ११ का लागि संकाय अनि विषय छनोट गर्ने क्रममा विद्यार्थी तथा अभिभावकले गर्ने गल्तीले भविष्यमा यी दुवै पक्ष पछुताउने गरेका छन्।

नर्सरी वा शिशु तहदेखि कक्षा १० सम्म आइपुगेको विद्यार्थीको हरेक प्रकारको दक्षता र क्षमता सबैभन्दा बढी यदि कसैलाई थाहा हुन्छ भने ती हुन् उसको विद्यालयका शिक्षकशिक्षिका। त्यसैले विद्यार्थीलाई एसईईपछि कस्तो विषय पढ्दा उचित हुन्छ भन्ने प्रश्नमा सबैभन्दा उत्तम सुझाव उसकै विद्यालयले दिन सक्छ। यही सन्दर्भमा वर्षौंसम्म पढाएको विद्यार्थीलाई एसईईपछिको व्यवस्थापनमा समेत मार्गनिर्देश गर्नु विद्यालयको कर्तव्य हो। विद्यालयले एसईई दिएका विद्यार्थीलाई तीन÷चार दिनको सुझावमूलक कार्यक्रम आयोजना गर्न सक्छ।

सर्वप्रथम, एसईई दिएका प्रत्येक विद्यार्थीले दुई वर्षयताका सम्पूर्ण परीक्षाको परीक्षाफल, पढाइ बाहेकका क्रियाकलापमा आफूले देखाएको सामथ्र्य, आफ्नो एकल तथा सामूहिक व्यवहार आदिको सूक्ष्म विश्लेषण गर्नुपर्छ। त्यसपश्चात् सकेसम्म विभिन्न विषय अनि सम्बन्धित पेसासँग सम्बद्ध विज्ञ अथवा जानकार व्यक्तिहरू उपस्थित गराई उनीहरूको अनुभव तथा कुन विषय अध्ययन गर्न कस्तो योग्यता र क्षमता आवश्यक पर्छ। त्यो विषय अध्ययन गरेमा भविष्यमा कस्तो अवसर प्राप्त गर्न सकिन्छ भन्ने बारेमा जानकारी प्रदान गर्नुपर्छ। यसपश्चात् यो सुझावमूलक कार्यक्रमको अन्त्यमा विद्यालयले माथिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ। साथमा विद्यार्थीको क्षमता तथा आवश्यकता समेतलाई मध्ययनजर गरी उच्च शिक्षाका लागि उचित दिशानिर्देश गर्नुपर्छ। सूचना प्रविधिको आजको युगमा एसईईपछिको अध्ययन विषय छनोट गर्ने सवालमा विद्यार्थी आफैंले पनि धेरै कार्य गर्न सक्छन्। 

हरेक विषयको पाठ्यक्रम, क्षेत्र, उद्देश्य तथा अवसरबारे व्यक्तिगत लक्ष्य तथा उद्देश्य कुन विषयले सम्बोधन गर्न सक्छ भनेर तुलनात्मक अध्ययन गर्न सक्छन्। साथै ती विषयका नमुना कक्षामा समेत अनलाइनमा सहभागी हुन सक्छन्। महत्वपूर्ण कुरा भनेको विद्यार्थीले रुचि, चाहना र सपना के मा छ, त्यसलाई ध्यान दिनुपर्छ। मानिसका लागि चाहना र सपना नै यस्तो चिज हो जुन प्राप्तिका लागि जीवनमा उसको आँट र हिम्मत दुई गुणाले वृद्धि भइदिन्छ। आजसम्म संसारमा सपनालाई पछ्याउनेहरू नै चाँडो गन्तव्यमा पुगेका छन्। 

एउटा दुःखद् यथार्थलाई भने बेवास्ता गर्न सकिन्न, जुन हो गरिबी। नेपालमा करिब १७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। ती बाबुआमालाई पनि सन्तानलाई स्नातक, स्नातकोत्तर वा त्योभन्दा माथिसम्म पढाउँ भन्ने इच्छा अवश्य हुन्छ। तर, गरिबी बाधक बनेको छ। स्टिभ जब्स, बिल गेट्स, माइकल डेलजस्ता विश्वविख्यात व्यक्तिहरूले किशोरावस्थामै औपचारिक शिक्षा छाडेका थिए र पनि सफलता प्राप्त गर्न कसैले रोक्न सकेन। औपचारिक शिक्षाको महत्त्व नै छैन भन्ने होइन। कसैले पढाइलाई महत्त्व दिन्छ भने उसलाई वञ्चित गरिनु हुँदैन। सानै उमेरमा विद्यालयबाट निकालिँदा बाबुले साथ नदिएको भए सायद पेले विश्वकै महान् फुटबल खेलाडी हुने थिएनन्।

बालबालिका भविष्यमा गएर के बन्छन् भन्ने कुरामा प्रभाव पार्ने विभिन्न पक्षमध्ये शिक्षा एकदमै महत्त्वपूर्ण पक्ष हो। यसर्थ एसईई उत्तीर्ण गरेको विद्यार्थीले त्योभन्दा माथिल्लो तह अध्ययनका लागि विषय छनोट गर्दा धेरै पाटामाथि ध्यान पुर्‍याएर निर्णय गर्न आवश्यक छ। दुर्भाग्यवश कुनै विद्यार्थीले उसका लागि गलत विषय छनोट गरेको रहेछ भने पनि हिम्मत भने हार्नु हुँदैन। जीवनको दौडमा गल्ती सुधार्न कहिल्यै ढिलो हुँदैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.