भरतपुरमा प्रतिष्ठाको लडाइँ

भरतपुरमा प्रतिष्ठाको लडाइँ

भरतपुर : देशभर चुनावको माहोल छ। राजनीतिक दलहरू हरेक स्थानीय तहमा प्रचारको धपेडीमा छन्। सिंगै मुलुकको मुख्य ध्यान भने एउटा महानगरपालिकामा छ, त्यो हो भरतपुर। किनभने, यसलाई सबै दलले विशेष प्रतिष्ठाको थलो ठानेका छन्। माओवादीले सत्ता गठबन्धनका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई दोस्रोपल्ट प्रमुखको उम्मेदवार बनाएको छ। एमालेले प्रदेश सांसद छोडाएर जिल्लामै कहलिएका नेता विजय सुवेदीलाई उनको प्रतिस्पर्धामा खडा गराएको छ। सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस रेणु दाहालको विजयमा दिलोज्यानले लागेको छ। तैपनि, कांग्रेसकै जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन्। यसले गठबन्धनमा चुनौती थपेको छ। 

जहाँ जरो गाड्न चाहन्छन् दाहाल

सशस्त्र द्वन्द्व रोकेर शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष दाहाललाई आफ्नो क्षेत्र बनाउन समस्या पर्‍यो। यताउता भौतारिँदै उनी पछिल्लो निर्वाचनमा चितवन आएका छन्। साथमा महानगरमा छोरीलाई ल्याएका छन्। त्यसयता उनले गृहजिल्ला चितवनमा आफूलाई केन्द्रित गरेका छन्। त्यही क्रममा छोरी रेणुलाई महानगरको महाकमान्डर बनाउन दोस्रोपल्ट प्रयत्नशील छन्। त्यसकै घमासान एवं रोचक भिडन्त चलिरहेछ भरतपुरमा। 

प्रमुखमा प्रत्यासी रेणु भने आफूलाई नेताकी छोरीका रूपमा होइन, काम गरेर आएको व्यक्तिका रूपमा बुझिदिन आग्रह गर्छिन्। ‘म प्रचण्डकी छोरी त हो। तर, पार्टीमा छोरी होइन, कर्मठ कार्यकर्ता हुँ,’ उनले भनिन्। 
उनले केही राम्रा काम गरेको र जित्ने आधार त्यही भएको दाबी माओवादीले गरेको छ। ‘चितवनलाई केन्द्र बनाएर विकास र समृद्धिको मोडेल बनाउने कुरामा हामीले अभ्यास गर्‍यौं। भरतपुर महानगरले एउटा गति पैदा गरेको छ’, माओवादीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले भने, ‘यो गठबन्धन प्रतिगमनविरुद्ध लडाइँ हो। एकले अर्कालाई सहकार्य गर्ने विषय हो। हामी कांग्रेससँग मिलेर अघि बढ्छौं। सहमतिसाथ लाग्छौं।’ 

एमाले भत्काउन चाहन्छ किल्ला 

नेकपा विघटनसँगै दुई कम्युनिस्ट छिन्नभिन्न भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी अध्यक्ष पुष्पकमल दाहालको सेखी झार्न चाहन्छन्। त्यसका लागि उनले चितवनबाट माओवादीलाई पराजय भोगाउने रणनीति बनाएका छन्। त्यही सिलसिलामा एमालेले यहाँ शक्ति प्रदर्शन गर्दै आएको छ। चितवनमा भएको एमाले महाधिवेशन त्यसको एउटा उदाहरण हो। गत मंसिरमा उसले नारायणी किनारमा हजारौं सर्वसाधारण उता¥यो। त्यति मात्र होइन, अध्यक्ष ओलीले माडीको अयोध्यापुरीलाई ‘रामजन्मभूमि’ भन्दै आएका छन्। त्यहाँ उनले राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसमेत आफ्नो प्रधानमन्त्रीत्वकालमा प्रतिस्थापन गरेका छन्।
प्रचण्डले गाड्न चाहेको किल्ला भत्काउने रणनीतिका लागि एमालेले सुवेदीलाई उभ्याएको हो। ‘एमालेले जितेर त्यहाँभित्र गएपछि म सबैको साझा हो। सबैलाई सम्बोधन गरेर राम्रो, स्वच्छ, समृद्ध, हरियाली र मानवीय महानगरपालिका बनाउन चाहन्छु’, सुवेदी भन्छन्, ‘दुई सय वर्ष पछाडि भोलिको पुस्ताका लागि बस्नलायकको भरतपुर बनाउने योजना छ।’ 
चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपाने पार्टीमा फुटको प्रभाव नपरेको बरु अझ सुदृढ भएको दाबी गर्छन्। ‘अघिल्लो पटक माओवादीले मतपत्र च्यातेर लोकतन्त्रविरोधी काम गरेको छ। लोकतन्त्रको नारा उचाल्ने कांग्रेस त्यसको साक्षी बस्यो’, उनले भने, ‘हामी इज्जतको राजनीति गर्छौं।’

कांग्रेसलाई इज्जतको सवाल

कांग्रेसभित्र पार्टी निर्देशन कतिले मान्छन् भन्नेमा रेणुको विजय निर्भर हुनेछ। इमानदारपूर्वक हँसिया–हतौडामा मतदान गरे, रेणु बलियो अवस्थामा देखिन्छिन्। तर, भोट ‘क्रस’ भए उनलाई गाह्रो पर्न सक्छ। 
कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल कार्यकर्ताले ढुक्कले गठबन्धनका पक्षमा मतदान गर्ने ठान्छन्। ‘यो गठबन्धन किन बन्यो भन्नेमा कांग्रेस कार्यकर्ताले बुझेका छन्। प्रतिगमनविरुद्ध लडाइँले बनाएको गठबन्धनभन्दा बाहिर कार्यकर्ता छैनन्। त्यसमा एमाले र राप्रपाको तालमेलले त्यसलाई पुष्टि गरेको छ’, उनले भने, ‘कांग्रेसकै बागी बनेका स्वतन्त्र उम्मेदवारका कारण हामीलाई कुनै असर पर्दैन। जुन उद्देश्यका साथ गठबन्धन बनेको हो, कार्यकर्ता त्यसैमा लागेका छन्। हामी ढुक्क छौं।’

दाहालले चिढ्याए कांग्रेसजनलाई

माओवादी अध्यक्ष दाहालले गत बिहीबार गठबन्धनको चुनावी सभामा कांग्रेस मतदातालाई संकेत गर्दै भने, ‘हँसिया हतौडामा भोट हाल्दिनँ भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ।’ 
जटिल अवस्थामा अर्को दलका कार्यकर्तालाई अनुरोध गर्नुपर्नेमा ‘धम्क्याएको’ भन्दै कांग्रेसजनले आपत्ति जनाएका छन्। उनले जुन भाषा प्रयोग गरे, कांग्रेसका कार्यकर्ता चिढिएका छन्। 
त्यसो त भरतपुरमा कांग्रेसले अडान नछाडेको भए सम्भवतः यो गठबन्धन हुने नै थिएन। अप्ठ्यारो–अप्ठ्यारो कालखण्डमा ‘दुर्घटना’को धम्की दिने दाहालले गठबन्धनभित्र गञ्जागोल भइरहँदा अर्को धम्की दिएका थिए, ‘भरतपुर हामीलाई छाड्नुभएन भने एमालेसँग मिलेर लडिदिन्छु।’ 

कांग्रेसका लागि गठबन्धनको मुख्य बाध्यतै त्यही थियो– एमाले र माओवादी पुनः मिल्न नपाऊन्। माओवादी र एकीकृत समाजवादीलाई भने कतै न कतै जोडिनु बाध्यात्मक थियो यसपालि। त्यही कारण कांग्रेस–एमाले नमिलून् भनेर एमसीसीमा निर्णयविपरीत ‘व्याख्यात्मक टिप्पणी’सम्म आइपुगेका थिए। 

अन्ततः एमाले मैदानमा एक्लिएको छ। अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा सबै दल मिलेर एमालेविरुद्ध राप्रपाका उम्मेदवारलाई प्रमुखमा उठाएका छन्। भरतपुरमा दाहाल–देउवाविरुद्ध एमालेले त्यही राप्रपासँग मिलेमतो गरेको छ। गठबन्धनले बिहीबार चुनावी सभा गरेको छ। त्यसको प्रत्युुत्तर स्वरूप एमाले अध्यक्ष ओली आइतबार आउँदै छन्। त्यसैले पनि चितवनको भिडन्त रोमाञ्चक मोडमा छ। त्यसमाथि मतदाताबीच मुख्य चर्चा छ, ‘दाहालले किन  त्यसो भनेका होलान् ?’ 

तंग्रिने प्रयासमा राप्रपा

चितवनमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ। त्यसमा भरतपुरको उपप्रमुख राप्रपाले पाएको छ। उसले हिमला गुरुङलाई उठाएको छ। माओवादी अध्यक्ष दाहालको क्षेत्रमै पर्ने माडी नगरपालिका उपप्रमुख पनि राप्रपाले पाएको छ। 

दाहालको क्षेत्र चितवन ३ मा माडीको पूरै भाग र भरतपुरका २९ मध्ये १८ वडा पर्छन्। गएको संघीय चुनावमा यस क्षेत्रबाट दाहाल (माओवादी, एमालेसहितको गठबन्धनबाट) ४८ हजार २ सय ७६ मत ल्याई विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिक (कांग्रेससहितको गठबन्धन) का विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ ल्याएका थिए। 

पछिल्लो समय विक्रम पाण्डेले पनि केही मत आर्जन गर्ने क्षमता बनाउँदै लगेका छन्। वर्तमान सत्तारुढ गठबन्धनविरुद्ध एमालेसँग उनी जोडिएकाले प्रतिस्पर्धा तीव्र हुने आकलन छ। राप्रपाको परिचर्चा पनि अलि बढेको छ।  

बत्तिने मतदाता

विगतका चुनावलाई हेर्दा चितवनका मतदाता निश्चित राजनीतिक दलका पक्षमा छैनन्। समय–परिस्थितिअनुसार उनीहरू यताउता हुँदै आएका छन्। संसदीय निर्वाचन २०४८ मा चितवनका तीनै क्षेत्रमा वामपन्थी गठबन्धन विजयी भएको थियो। २०५१ को मध्यावधि निर्वाचनमा ४ वटा क्षेत्रमध्ये एमाले र कांग्रेसका पोल्टामा २–२ क्षेत्र परे। २०५६ को आमनिर्वाचनमा एमाले विभाजनको मौका उपयोग गर्दै चारै क्षेत्रमा कांग्रेस विजयी भएको थियो। 

२०६४ को संविधानसभा निर्वाचनमा चितवनका ५ निर्वाचन क्षेत्रमध्ये एउटामा एमाले र बाँकी माओवादी विजयी भए। २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा दुइटामा एमाले, दुइटामा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो। २०७४ मा एमाले–माओवादी गठबन्धनले सबै ३ क्षेत्र जित्यो, कांग्रेस हार्यो‍। 

राज्यशक्ति लाग्यो, गलेनन् जगन्नाथ

संयोगवश गएको स्थानीय निर्वाचनमा भएकै गठबन्धन यसपालि दोहोरिएको छ। कांग्रेस माओवादीसहितको गठबन्धनका तर्फबाट दुवैपटक माओवादीकी रेणु दाहाल प्रमुखको उम्मेदवार छिन्। चितवनमा अध्यक्ष दाहाल स्थापित हुन चाहन्छन्। त्यसका लागि क्षेत्र ३ बाट आफू र महानगरमा छोरी रेणुलाई निरन्तर ल्याउने वा उनले चाहेकै व्यक्ति आउने त्रासमा कांग्रेस कार्यकर्ता असन्तुष्ट देखिएका थिए। 

पार्टी सभापति शेरबहादुर देउवाको हस्तक्षेप र निरन्तर पहलका कारण स्थिति साम्य त भयो त, राष्ट्रियसभाका पूर्वसदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बने। उनलाई बसाउन सिंगो राज्यसंयन्त्र लाग्यो। राज्यमन्त्री उमेश श्रेष्ठ आएर प्रयास गरे। पार नलागेपछि गृहमन्त्री बालकृष्ण खाँणसमेत आए। उनले भनेको लाग्छ भन्ने ठानिएका धेरै व्यक्तिसँग सरकारले गुहार माग्यो। कुनै पहल पार लागेन। 

उम्मेदवारी फिर्ता लिने समय गएपछि पनि उनले विज्ञप्तिमार्फत जानकारी दिएर आफू निस्क्रिय भएको अवगत गराउने गठबन्धनको आस थियो। तर, उनी डटेर घरदैलोमा खटिए। बिहीबार भएको बृहत् सभाका लागि प्रधानमन्त्री एवं पार्टी सभापति देउवा अघिल्लो दिनै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.