भो ! यो विकृत राजनीति

भो ! यो विकृत राजनीति

विश्व मानचित्रमा झट्ट हेर्दा देखिन मुस्किल पर्ने देश नेपाल। जुन भूगोलमा जति सानो छ तर त्यति नै विशाल छ यसको इतिहास। कुनै कालखण्डमा विश्वलाई नै ज्ञान र ध्यान सिकाउने ल्याकत राख्ने यो देश विश्वभरकै तपस्वीको तपोभूमि थियो। चाहे मन्त्र होस्, चाहे तन्त्र या चाहे यन्त्र, तीनै विधामा पोख्त ऋषिमुनिहरू यही थिए। जसको प्राचीन ग्रन्थहरूमा प्रशस्त प्रमाण पाइन्छ। यही देश हो जहाँ निर्माण भएको कैलाशकुट भवन अनि यसको वास्तुकला देखेर चिनियाँहरू आश्चर्यचकित भएका थिए। प्रथम विश्वयुद्धताका बेलायतलाई सैन्य तथा १० लाख पाउन्ड सहयोग यही देशले गरेको थियो। बेलायत र अमेरिकाजस्ता देशहरूको भ्रमणमा यहाँका राष्ट्रप्रमुख जाँदा उच्च कोटीको सम्मान पाउने गर्दथे। भूगोलमा सानो भएता पनि विश्वसमुदायमा ओज र गरिमा बोकेको देश हो नेपाल। तर, आज यो ओज र गरिमालाई हामिले किन निरन्तरता दिन सकेनौं ?

दिन, बार, महिना, वर्ष हुँदै नेपाल जति अघि बढ्दै गयो विश्व प्रतिस्पर्धामा भने यो त्यति नै पछि पर्दै गयो। केही क्षेत्रमा बाहेक अन्य धेरै क्षेत्रमा आज हामी निकै पछाडि छौं। केही दशक अघिसम्म नेपालभन्दा कमजोर अर्थतन्त्र भएका मुलुकहरू आज नेपालभन्दा धेरै माथि पुगिसकेका छन्। कुनै समय हामिले निर्यात गर्ने वस्तुहरू आज आयात गरिराखेका छौं। वर्षौंदेखिको व्यापार घाटाको पोको झन्झन् ठूलो हुँदै कहालीलाग्दो अवस्थामा आइपुगेको छ। निर्यात केही प्रतिशतले बढ्दै गए पनि आयातको आकार भने घट्नुको सट्टा झन् बढिरहेको छ। तर, देशको विषम परिस्थितिलाई मध्यनजर गरी केही समयका लागि केही वस्तुको आयातमा लगाइएको रोकले राहत पुग्ला कि भन्ने आशा गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय जगत्मा नेपालको स्थिति र इज्जत कति छ भनेर हेर्दा नेपाल र नेपालीलाई विश्व समुदायले कस्तो नजरले हेर्छ भन्ने कुरा नै प्रमुख रूपमा मानक मान्न सकिन्छ। यस सम्बन्धमा नेपालको राहदानी अन्य देशको तुलनामा धेरै कमजोर देखिन्छ। यहाँको राहदानीले विकसित मुलुकहरूको भिसा पाउने सवालदेखि ती देशहरूको विमानस्थलमा ओर्लंदासम्म विशेष निगरानी र शंकाको व्यवहार भोग्नुपर्छ। एउटा व्यक्ति देशभित्र जतिसुकै सम्पन्न र सम्मानित किन नहोस् तर यदि उसको देशको स्वाभिमान र प्रतिष्ठा नै कमजोर छ भने अन्तर्राष्ट्रिय मञ्चमा उसले सम्मान र इज्जत पाउन अत्यन्त कठिन हुन्छ। त्यसैले हाम्रो व्यक्तिगत प्रतिष्ठा देशको प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको हुन्छ।

केही वर्षयता नेपालका प्रत्येक अवयवहरू धराशायी बन्दै गइरहेका छन्। कानुनी शासन, मानवअधिकार, आधारभूत स्वतन्त्रता, शक्ति पृथकीकरण, जाँच र सन्तुलन, सेवाको समान वितरण, स्वतन्त्र न्यायपालिका, सुशासनजस्ता राजनीतिका आधारभूत मूल्यमान्यताहरू दिनप्रतिदिन कमजोर हुँदैछन्। जसरी एउटा घातक रोगी जीव कोषिकाहरूबाटै ध्वस्त हुन थाल्छ। त्यस्तै अवस्थामा नेपाल देखिँदैछ। नेपाललाई ध्वस्त पार्दै लाने यो रोग भने अरू केही नभएर ‘विकृत राजनीति’ नै हो। नेपालको प्रत्येक निकाय आज विकृत राजनीतिको सिकार भएका छन्। सरकारीदेखि गैरसरकारी, निजी अनि सहकारीसम्मका हरेक एकाई विकृत राजनीतिक प्रभावले थलिएका छन्।

केही दशकदेखि नेपालको राजनीतिमा भइरहेको अभ्यास हेर्दा एउटा नयाँ व्यक्ति कुनै राजनीतिक दलको नेता बन्न चालिने पहिलो पाइला हो राजनीति। तर, त्यसको मूल्यमान्यतामा आधारित रहेको भने देखिँदैन।

राजनीतिक मैलोले नछोएको यहाँ कुनै ठाउँ छैन। गाउँको चिया पसलदेखि केन्द्रको तारे होटलसम्म मानिस एकअर्कालाई राजनीतिको हिलो छ्याप्न तँछाडमछाड हुन्छन्। हुँदाहुँदा हाम्रो व्यक्तिगत सम्बन्धमा समेत राजनीतिको दूषित स्वार्थ हावी हुन थालिसकेको छ। बेरोजगारीको चरम समस्याका कारण लाखौं नेपाली विदेशमा पसिना चुहाउन बाध्य छन्। करिब तीन दशकअघि भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट कारखाना, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखानाजस्ता ठूला उद्योग राजनीतिक नेतृत्वको चरम लापरबाहीका कारण आज बन्द छन्। यी उद्योगले हजारौं मानिसलाई रोजगार दिनुका साथै देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएका थिए। 

नेपालको राजनीतिक इतिहास र यसको कथन हेर्ने हो भने आश्चर्यलाग्दो देखिन्छ। २००७ सालमा भएको क्रान्तिअघि जनतालाई निरंकुश राणाशासनको कारण देश बनेन भनियो। राणाशासन अन्त्य भएको केही वर्षपछि निरंकुश पञ्चायतका कारण फेरि पनि देश बनेन भनियो। जब पञ्चायतको पनि अन्त्य भएर देशमा प्रजातन्त्र पुनस्र्थापना भयो तब पनि जनताले महसुस गर्ने गरी परिवर्तन भएन। अनि फेरि राजतन्त्रका कारण पो देश नबनेको हो त भन्दै देशमा गणतन्त्र र संविधानसभाद्वारा निर्मित संविधान भएमा देश बन्छ भनियो। आज देशमा गणतन्त्र छ। उन्नत जातको भनिने लोकतन्त्र छ। संघीयता छ। संविधानसभाद्वारा नै निर्मित संविधान पनि छ। तर, आमजनताको जीवनस्तर अझै उही छ। दैनिक जीवनमा भोग्नुपर्ने समस्याहरू उस्तै छन्।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू दिन प्रतिदिन महगिँदै आमजनताको पहुँचभन्दा झन् टाढा जाँदैछन्। यस प्रकारले देशमा कति राजनीतिक परिवर्तन भए, कति नेताहरू आए र गए। दलका घोषणापत्रका कति शब्दहरू परिवर्तन भए तर नेतृत्वको नियत र जनताको नियतिमा कुनै परिवर्तन हुन सकेन। अझ विडम्बनाको कुरा त जसले तत्कालीन व्यवस्थाहरू परिवर्तनका निम्ति संघर्षको नेतृत्व गर्दै आफूलाई क्रान्ति नायकको रूपमा उभ्याए। तिनै व्यक्तिहरू व्यवस्था परिवर्तनपश्चात् उही विकृत राजनीतिको हिस्सेदार बने। हाम्रो नेतृत्वले देशलाई अगाडि बढाउने सवालमा बहुकोणीय दृष्टिकोण राख्न नसकेको स्पष्ट देखिन्छ।

नेताहरू हाम्रो समाज र हामी जनताकै प्रतिविम्ब हुने भएकाले मतदानमा हाम्रो निर्णय जति सही भयो, त्यति नै गुुणात्मक नेता हामीले पाउने हो। त्यसैले हाम्रो चेतनास्तर माथि उठ्न जरुरी छ।

विकासको नाममा सडक चिल्याउने र ठूलाठूला संरचनाहरू बनाउने मात्र काम धेरै भइरहेका छन्। यो पनि एउटा कोणबाट आवश्यक छ नै। तर, देशभित्रकै उद्योगधन्दालाई मजबुत बनाउने, स्वदेशी लगानी बढाउन लगानीमैत्री वातावरण बनाउने काम हुनुपर्छ। जनतालाई उत्प्रेरित गर्ने, उद्यमशीलताको विकास गर्ने, पुराना बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्नेजस्ता कार्यमा नेता र नेतृत्वको ध्यान गएको पटक्कै देखिँदैन। विदेशी अनुदान र सहयोगलाई मात्र ठूलो उपलब्धि मानिन्छ यहाँ। तर, हामी जनता कहिलेसम्म अर्काले देला र खाउँला भनेर आशा गरिरहने ? नेपाली जनतालाई अर्काले मारेर दिएको माछा खुवाउनुको सट्टा आफैं माछा मार्न सक्ने कहिले बनाउने ?

विश्वको जुनसुकै देश होस्, त्यहाँ प्रयोग गर्दा सफल भएको कुनै पनि नीति र योजना अर्काे देशमा पनि सफल नै हुन्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन। त्यसैले नीति स्थानान्तरण गर्दा गन्तव्य मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक शैक्षिक, आर्थिक आदि पाटो नकेलाई अघि बढेमा उक्त नीति सफल हुने सम्भावना न्यून रहन्छ। सफलताका लागि स्थानान्तरण गरिएको नीतिले गन्तव्य मुलुकको माटोको सुगन्ध बोकेको हुनुपर्छ। राजनीतिक नेतृत्वले राजनीतिक सिद्धान्तको रूपमा होस् या विकास मोडेलका रूपमा, बिना कुनै यथेष्ट अध्ययन त्यस्ता नीतिहरू अनुसरण गर्ने गरेका छन्।

कतिपय नेताले त नेपाललाई फलानो देश जस्तो बनाइदिन्छौं भनेर अभिव्यक्ति दिने गर्छन्। वास्तवमा नेपाल अरू कुनै देशजस्तो होइन, नेपालजस्तै हुनुपर्छ। के कुनै नेपालीको मस्तिष्कले देश विकास गर्ने आफ्नै मौलिक मोडेल बनाउन सक्दैन ? यस विषयमा मस्तिष्क मन्थन कहिले गर्ने ? दुःखको कुरा त आज आफ्नो भूगोलभित्र नेपाल कता कता हराउँदै छ। नेपालीपन र नेपाली मनमा खडेरी लाग्दैछ। राजनीतिक सीमाको हिसाबले हामी नेपालभित्रै त छौं। तर हामीलाई यो सीमाभित्रको कुनै पनि चीज मन पर्दैन। कुनै विदेशीले तिम्रो देश कुन हो भनेर सोधेमा नेपाल त भन्छौं। अनि घरीघरी नेपालमा जन्मेकोमा धिक्कार्छौं पनि। यो चरम असन्तुष्टि र आक्रोशको कारण नेपालमा विद्यमान फोहोरी राजनीति र यसबाट निस्किएको गलत संस्कार नै हो।

केही दशकदेखि नेपालको राजनीतिमा भइरहेको अभ्यास हेर्दा एउटा नयाँ व्यक्ति कुनै राजनीतिक दलको नेता बन्न चालिने पहिलो पाइला हो राजनीति। तर, त्यसको मूल्यमान्यतामा आधारित रहेको भने देखिँदैन। स्थानीय तहको सानो एकाइदेखि केन्द्रीय तहको ठूलो एकाइसम्मका पदहरूमा चुनाव लड्दा कसैको आशीर्वाद र पैसा चाहिन्छ। नभएको व्यक्तिले या त उम्मेदवारको टिकट नै पाउँदैन या पाइहाले पनि जित्ने सम्भावना न्यून रहन्छ। त्यसैले उक्त व्यक्ति कसैको आशीर्वाद र कसैबाट पैसा प्राप्तिका लागि कसरत गर्न बाध्य हुन्छ। तिनै अमुक व्यक्तिहरूको अमूर्त बन्धनमा बाँधिन पुग्छ। यसरी एउटा व्यक्ति नेता भएपश्चात भविष्यमा उसले गर्ने कुनै पनि निर्णय ती अमुक व्यक्तिहरूको प्रभावबाट मुक्त रहन सक्दैन। नेपाली राजनीतिको यो दुःखद् पक्ष हो।

राजनीति आफैंमा गलत हुँदैन। यो त राज्य सञ्चालन प्रणाली र शासन व्यवस्थासम्बन्धी महŒवपूर्ण नीति हो। हाम्रो देशमा भने राजनीतिलाई अंग्रेजीको ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने उखानझैं बनाइयो। हाम्रा राजनीतिकर्मीहरूले राजनीतिको आधारभूत मर्मलाई नभुली राष्ट्र र जनहितलाई पहिलो सर्त मान्न सक्नुपर्छ। त्यसरी काम गरेको खण्डमा यो सानो देशमा प्रगति गर्न धेरै समय लाग्दैन। फूलको रसमा भमरा घुमेझंै शक्ति र सत्ता प्राप्त नेताका अगाडि पछाडि घुम्ने कार्यकर्ताको लर्काे छ। त्यो देखेर नेताले यो क्षणिक हो भन्ने बुझी आफू मरेर जाँदा पनि देश र जनता अनि विश्वविद्यालयका विद्यार्थीले शोधपत्रका लागि सम्झिरहने तहकोे कार्य गर्नुपर्छ। नेताहरू हाम्रो समाज र हामी जनताकै प्रतिविम्ब हुने भएकाले मतदानमा हाम्रो निर्णय जति सही भयो, त्यति नै गुुणात्मक नेता हामीले पाउने हो। त्यसैले हाम्रो चेतनास्तर माथि उठ्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.