संस्कारले दिएको सोच

संस्कारले दिएको सोच

टिलपिल टिलपिल गर्दै अस्ताउँदै गरेको सूर्यझैं जीवनदेखि अस्ताउँदै गरेको कुनै वृद्धवृद्धा बाटो हिँड्दै गर्दा लडेको खण्डमा आजका अधिकांश किशोरकिशोरी ती वृद्ध वा वृद्धालाई उठाउँदैनन्। चर्मचक्षुले देखे पनि उनीहरूको मनचक्षुलाई भने यो दृश्यले पटक्कै छुँदैन। जीवन गतिशीलताको यथार्थलाई बुझ्न नसकेका यी किशोरकिशोरी ठीक यही अवस्था भोलिको भविष्य बनेर आफ्नै जीवनमा पनि आउँदै छ भन्ने कुरा रत्तिभर पनि सोच्न सक्दैनन्। अहिलेको नयाँ पुस्ताले आफ्नो समाजबाट के सिकिरहेका छन् भन्ने एउटा सानो उदाहरण मात्र हो यो।

आज माध्यमिक शिक्षा पूरा गर्दै गरेका अधिकांश छोराछोरीप्रति उनीहरूका बाबुआमा खुसी र सन्तुष्ट देखिँदैनन्। आफूले आशा गरे अनुरूपका सन्तान यिनीहरू नहुने भए भन्नेमा यी बाबुआमाहरू चिन्तित देखिन्छन्। उनीहरूले दिएको राम्रो सल्लाह समेतलाई यो उमेरका बालबालिकाले नकारात्मक रूपमा लिने गरेका छन्। आफ्ना अभिभावक अनि मान्यजनप्रति उनीहरू श्रद्धाभाव प्रकट गर्न चाहँदैनन्। यस्तै उनीहरूलाई आफ्नो मौलिक पहिचान झल्काउने कुनै पनि चिज मन पर्दैन। उनीहरूलाई न त आफ्नो संस्कृति मन पर्छ न संस्कार, न भाषा मन पर्छ न भेष। आफ्नो देशको गौरवमय इतिहास र पुर्खाको बहादुरी सुन्दा उनीहरूको शरीर गर्वले ढक्क फुल्दैन। उनीहरूको लवज अनि जीवनशैलीमा विदेशी देखासिकी र संस्कृतिको प्रभाव स्पष्ट झल्किन्छ। निजी विद्यालयमा अध्ययनरत कति विद्यार्थीलाई त नेपालीमा कुनै अंक भन्यो भने नबुझ्नु आजको यथार्थ हो। 

विगत केही वर्षदेखि नेपाली किशोरकिशोरीमा लाखौं खर्च गरेर १२ कक्षा वा स्नातक तह सक्नेबित्तिकै अध्ययनका लागि विदेश जाने ठूलो ‘ट्रेन्ड’ नै चलेको छ । एउटा गएको देखेर अर्को, अनि अर्को गएको देखेर फेरि अर्को जाने क्रम बढ्दो छ। कतिलाई बाध्यताले डोहोर्‍यायो होला त कतिलाई रहर र महत्त्वाकांक्षाले। तिनलाई यसरी नेपालमै शिक्षाको राम्रो अवसर पाएको एउटा ठूलो समूह छ। जसमा विदेशी भूमि टेकेपश्चात् विस्तारै स्वदेश प्रेम घट्दै गएको देखिन्छ। अनि उतैको नागरिक बन्ने इच्छा तीव्र रूपमा बढ्दै गएको छ। शारीरिक र मानसिक रूपमा उत्पादनमूलक र ऊर्जावान् वर्ग यसरी बिदेसिनु र आफ्नो राष्ट्रलाई चटक्कै बिर्सनु आजको दुःखद् यथार्थ हो।

आफ्नो देशको गौरवमय इतिहास र पुर्खाको बहादुरी सुन्दा अधिकांश युवा पुस्ताको शरीर गर्वले ढक्क फुल्दैन।

प्राचीन समयदेखि नै नेपाली समाजमा शिक्षाले मानिसलाई असल र चरित्रवान् बनाउँछ भन्ने बलियो मान्यता रहँदै आएको छ। शिक्षाको एउटा प्रमुख उद्देश्य पनि यही नै हो। तर, आजकल हाम्रो समाजमा यो मान्यता दिनप्रतिदिन गलत बन्दै जाने क्रम बढ्दो छ। यहाँ शिक्षा ग्रहण गरेर शिक्षित भनिएका मानिसहरू नै खराब बन्दै गइरहेका छन्। समाजमा अहंकारी र निर्दयीको संख्या शिक्षितहरूले नै बढाइरहेका छन्। हाम्रो देशमा भएका जुनसुकै वृद्धाश्रम गएर हेरे पनि त्यहाँ अधिकांश वृद्धहरू शिक्षित छोराछोरीकै बाबुआमा भेटिन्छन्।

कतिपय पारिवारिक बेमेल र कलहमा पनि शिक्षित मानिसहरू नै बढी संलग्न देखिन्छन्। केही दशकयता शिक्षाले मानिसमा कवि शिरोमणि लेखनाथ पौड्यालको कविताले भनेझैं, ‘मै खाऊँ मै लाऊँ सुख सयल मोज म गरुँ, मै हाँसु मै बाँचु अरू सब मरुन् दुर्बलहरू’ भन्ने प्रकारको भावना पो विकसित गरेको हो कि जस्तो देखिन्छ। आफूभन्दा ठूलालाई सम्मान र सानालाई प्रेम गर्नुपर्छ भन्ने कुरा अक्षरमा मात्र सीमित भएको छ। अब भनौं, हामीले हाम्रो शिक्षालाई कता लाँदैछौं ? के हामी सही बाटो नै हिँडिरहेका छौं त ?

एउटा बच्चा दिनमा ६, ७ घण्टा माध्यमिक तहसम्मको अध्ययनका लागि विद्यालयमा रहन्छ। शिक्षामा सबैभन्दा महत्त्वपूर्ण र आधारभूत तह प्राथमिकदेखि यही माध्यमिकसम्मको तह हो। पाठ्यक्रममा आधारित रहेर एउटा व्यक्तिले प्राप्त गर्ने सम्पूर्ण शिक्षाको जग नै माध्यमिक शिक्षा हो। कुनै पनि बच्चालाई भविष्यमा कुन क्षेत्रतर्फ उन्मुख गराउने, उनीहरूलाई कहाँ सुरक्षित अवतरण गराउने भन्ने कुराको निक्र्योल नै यही माध्यमिक शिक्षाले गर्छ। बृहत् अर्थमा भन्दा एउटा व्यक्ति पूर्ण व्यक्तिको रूपमा कस्तो बन्ने भन्ने शिक्षा सँगै ऊ गर्वमा रहँदादेखि, उसको आमाले के सोचिन् ? सम्मको भूमिका रहन्छ। यस्तै, कस्तो आहारविहार गरिन् अनि उसको जन्मपश्चात् उसले कस्तो पारिवारिक, सामाजिक, सांस्कृतिक वातावरण प्राप्त गर्‍यो भन्ने कुराले निर्धारण गर्छ। साथै, उसको पहिलो विद्यालयको रूपमा आमा हुँदै शैक्षिक संस्थाबाट कस्तो संगत, संस्कार अनि वातावरण पायो भन्ने कुराले पनि त्यति नै महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले आजको माध्यमिक शिक्षा अनि शिक्षार्थी हेरेर एउटा देशको भोलि आउने भविष्य आकलन गर्न सकिन्छ भन्ने कुरामा सायद दुई मत नहोला।तर, आज हामीले सञ्चालन गरिरहेको माध्यमिक शिक्षामा नैतिकता खै ? प्रेम र करुणा खै ? आफ्नो माटोको सुगन्ध खै ? समग्रमा भन्दा संस्कार खै ? संस्कारबिनाको शिक्षा भनेको लगामबिनाको घोडासरह हुन्छ। जसले गन्तव्यमा पुर्‍याउन सक्दैन। त्यसैले अबको माध्यमिक तहमा शिक्षासँगै संस्कार मिसाउन अत्यन्त आवश्यक छ। यसका लागि अहिलेको माध्यमिक शिक्षाको पाठ्यक्रममा तीन महत्वपूर्ण विषय थप गर्नु पर्छ। ती हुन्, नैतिकता, अध्यात्म र राष्ट्रियता।

शारीरिक र मानसिक रूपमा उत्पादनमूलक र ऊर्जावान् वर्ग यसरी बिदेसिनु र आफ्नो राष्ट्रलाई चटक्कै बिर्सनु आजको दुःखद् यथार्थ हो।

नैतिकता भन्नाले कुनै पनि समाजमा स्वीकृत वा प्रचलित आचरण गर्नु हो। समाजले विभिन्न संस्कृतिअन्तर्गत रहेर व्यक्तिले कुनै कार्य गर्न हुन्छ वा हुँदैन भनेर तोकिएको अलिखित नियम हो। नैतिक ज्ञानले एउटा व्यक्तिलाई बच्चादेखि नै सही र गलतबीचको भिन्नता सिकाउँछ। उसले समाज वा राष्ट्रबाट प्राप्त गर्ने अधिकार सँगसँगै निभाउनु पर्ने कर्तव्यको समेत बोध नैतिकताले गराउँछ। अक्सर नयाँ पुस्ता बेलाबेलामा स्वतन्त्रताको अभ्यास गर्दै जाँदा अराजक हुने स्थितिसम्म पुग्न लाग्दा नैतिकताले नै उनीहरूलाई सम्हालिन मद्दत गर्छ। समयसँगै नैतिकताका सीमाहरू परिवर्तन भइरहेको भान हुँदा एउटा किशोरलाई आफू ठीक ठाउँमा उभिने हैसियत यही नैतिक ज्ञानले प्रदान गर्छ।

अध्यात्म भनेको आफ्नो मूल स्वभाव वा प्रकृति जे हो, त्यसलाई चिनेर आफू त्यस्तै बन्नु हो। अध्यात्मले व्यक्तिलाई शान्त र स्थिर बनाउने ल्याकत राख्छ जसले गर्दा उसको चेतनास्तर बढ्न गई बोध शक्तिमा वृद्धि हुन्छ। एउटा बालक वा बालिकाको उमेर बढ्दै जाँदा उसको चेतन मन र अवचेतन मन बीचको द्वन्द्वलाई सन्तुलन गर्न अध्यात्म ज्ञानले सिकाउँछ। अध्यात्मले आफूभित्र रहेको ऊर्जा र क्षमतालाई बाहिर ल्याई आफ्नो सर्वाङ्गीण विकास गर्न ठूलो सहयोग गर्छ। यसले भन्छ, ‘ज्ञान त्यो हो, जुन आफैं भित्र प्रकट हुन्छ।’ त्यसैले सिद्धान्तको रूपमा अरूको सूचना ग्रहण गर्नुभन्दा व्यक्तिलाई आफैंभित्र ज्ञान प्रकट गर्न अध्यात्मले उत्प्रेरित गर्छ। अध्यात्मले ‘वसुधैव कुटुम्बकम’ अर्थात् सारा पृथ्वी एक परिवार हो भन्ने सिकाइ व्यक्तिलाई दया, प्रेम, करुणा, धैर्यजस्ता सत्गुण धारण गर्न मद्दत गरी मन, वचन र कर्ममा एकरूपता ल्याउन प्रेरणा दिन्छ।

राष्ट्रियताको ज्ञानले व्यक्तिमा राष्ट्रप्रतिको आस्था बढाई राष्ट्र हितमा लाग्न उत्प्रेरित गर्छ। संसारको जुनसुकै कुनामा गए पनि स्वदेश बिर्सन दिँदैन, राष्ट्रियताको शिक्षाले। यही शिक्षाले नागरिकको राष्ट्रिय स्वाभिमान र देश प्रेमको भावना बढाई देशबाट केवल आशा मात्र नगरेर, देशलाई चाहिँ म के दिन सक्छु भनेर सोच्न सिकाउँछ। आफ्नो देशको सुनौलो इतिहास र पुर्खाको योगदानप्रति गौरव गर्न अनि जातीय, वर्गीय र क्षेत्रीय पहिचानभन्दा माथि देश राख्न राष्ट्रियताको ज्ञानले अभिप्रेरित गर्छ।

हाम्रो माध्यमिक शिक्षामा संस्कारका साथै यसको शिक्षण पद्धतिमा समेत केही परिवर्तनहरू गर्न आवश्यक देखिन्छ। धेरै वर्षअघि हाम्रा पूर्वजहरूले शिक्षा प्रदान गर्नका लागि गुरुकुल परम्पराको विकास गरेका थिए। त्यस परम्परामा शिष्यहरूले गुरुको समीप रहेर, गुरुको सेवा गरेर, सबैसँग सामूहिक र भावनात्मक सम्बन्ध राखेर शिक्षा ग्रहण गर्थे। त्यस समयमा गुरुले एउटा शिष्यभित्र रहेको अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी प्रकाशद्वारा हटाएर उसलाई सभ्य, गुणवान् र ज्ञानी बनाउन भूमिका खेल्थे। उनीहरूमा गुरु शब्दझैं एक प्रकारको अद्भुत गुरुत्वाकर्षण शक्ति हुने गथ्र्यो। शिष्यलाई तिमी सफल हुनैपर्छ भन्ने त्रासबाट मुक्त गरी असल चाहिँ बन्नुपर्छ भनेर प्रेरित गरिन्थ्यो।

महाभारतकालीन समयमा युधिष्ठिरले गुरु द्रोणाचार्यबाट पाएको ‘सत्य बोल्नु, हिंसा नगर्नू’ भन्ने शिक्षा तीन महिना लगाएर भए पनि जीवनमा उतारेका थिए। युधिष्ठिरको यो प्रसंगझैं शिक्षा र शिक्षण पद्धतिले विद्यार्थीमा जीवनोपयोगी प्रभाव पार्न सक्नुपर्छ भन्ने मान्यता प्राचीन गुरुकुल परम्पराको थियो। जुन आज पनि उत्तिकै सान्दर्भिक छ। त्यसैले उक्त गुरुकुल परम्परा र आजको आधुनिक शिक्षण पद्धति दुवैको सकारात्मक र प्रभावकारी विधिहरू झिकेर एउटा नयाँ शिक्षण पद्धति बनाउन जरुरी छ। जसले हाम्रो माटोको सुगन्ध बोकेको होस् अनि जसमाथि हामी सम्पूर्ण शिक्षा प्रेमीले गौरव गर्न सकौं।

विद्यालयको अलावा हामीले घरमै पनि सन्तानलाई संस्कार सिकाउन उत्तिकै आवश्यक छ। उनीहरूलाई भविष्यको चित्रभन्दा पनि आजको सुचरित्र निर्माण गर्न बढी प्रेरित गर्नुपर्छ। आजको चरित्रले नै भोलिको चित्र कोर्ने हो। समग्रमा भन्नुपर्दा, अबको माध्यमिक शिक्षालाई हामीले एउटा नयाँ उचाइमा पुर्‍याउन आवश्यक छ। अब सम्पूर्ण सरोकारवाला एक पूर्ण व्यवस्थित, वैज्ञानिक, जीवनोपयोगी अनि सार्थक पाठ्यक्रम बनाउन एक ठाउँमा उभिनु पर्छ। ताकि हाम्रा सन्ततिहरूले यसै शिक्षाको माध्यमबाट संसार हाँक्न सकुन्। विश्वभरका विद्यार्थीको शिक्षाको केन्द्र नेपाल बन्न सकोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.