लोकसेवा पाठ्यक्रम : कस्तो ?

लोकसेवा पाठ्यक्रम : कस्तो ?

लोक सेवा आयोगले ठूलो र मोटो पाठ्यक्रमको सट्टा व्यावहारिक र वैज्ञानिक परीक्षण गर्न सकिने किसिमको छरितो पाठ्यक्रम बनाउन आवश्यक छ।


धातुको मूर्ति कस्तो आकार र रूपको हुने भन्ने निर्धारण फर्माले गर्छ। गलैंचाको आकार र बुट्टाको निर्धारण तानको ढाँचाले गर्छ। त्यस्तै कुनै संगठनभित्र कति दक्ष र क्षमतावान कर्मचारी भित्राउने भन्ने निर्धारण संगठनको कर्मचारी भर्ना तथा छनोट प्रक्रियाले गर्छ। अनि उक्त संगठनको भविष्यसमेत यही भर्ना तथा छनोट प्रक्रियामा निर्भर हुन्छ। संसारमा कुनै यस्तो संगठन छैन। जसले सही मानिस सही ठाउँमा छनोट गरेर पनि असफल भएको होस्।

विश्व मानचित्रको जुनसुकै कुनामा स्थापना भए पनि संगठनका निश्चित लक्ष्य तथा उद्देश्यहरू हुन्छन्। त्यसलाई सरल, किफायती र प्रभावकारी ढंगबाट हासिल गर्न संगठनमा मानिस, पँुजी, प्रविधि आदि जस्ता स्रोत साधनहरू प्रयोग गरिएका हुन्छन्। मानिस यस्तो महत्वपूर्ण स्रोत हो, जसले अन्य स्रोतलाई समेत चलायमान बनाएर संगठनलाई सफलताको शिखर चुमाउन सक्छ। अनि यही मानिस हो, जसले संगठनलाई रसातलमा पुर्याई इतिहासमा मात्रै सीमित बनाइदिन सक्छ।

नेपालमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाहरूमा कर्मचारी छनोटका लागि लोक सेवा आयोगको व्यवस्था गरिएको छ। सम्बन्धित निकायबाट पद पूर्ति गर्न माग प्राप्त भएपछि लोकसेवा आयोगले ऐन, नियमअनुसार पद संख्या निर्धारण गर्छ। र, विज्ञापन प्रकाशित गर्छ। त्यसपछि परीक्षा सञ्चालन गर्नेसम्मको कार्य गर्छ। लोकसेवा आयोगले हालसम्म स्वतन्त्र, निष्पक्ष र तटस्थताको सवालमा हामी नेपालीले शिर ठाडो पारी गर्व गर्न लायकको कार्य सम्पादन गर्दै आएको छ। नेपालमा कतिपय गर्विला निकायसमेत विभिन्न विवाद र झमेलामा फसिरहँदा लोकसेवाले भने आशा र भरोषालाई झन् मजबुद बनाउँदै लगेको पाइन्छ। लोकसेवा आयोगमाथि हामी आँखा चिम्लिएर विश्वास गर्न सक्छौं। तर, आयोगले कर्मचारी छनोटका लागि लिने लिखित परीक्षाको पाठ्यक्रम भने व्यवहारोपयोगी, औचित्यपूर्ण र समयसापेक्ष नभएको गुनासाहरू बढिरहेका छन्।

कुनै पनि संगठन चाहे नाफामूलक होस् वा गैर–नाफामूलक, त्यहाँको सबैभन्दा मूल्यवान मानव स्रोतको महत्व जति हुन्छ त्यति नै महत्व मानव स्रोतको भर्ना तथा छनोट प्रक्रियाको हुन्छ। नेपालमा लोकसेवा आयोगले कर्मचारी भर्ना तथा छनोट गरेका संगठनहरू निजी संगठनको तुलनामा कमजोर अवस्थामा सञ्चालन भइरहेका छन्। जलाई एउट निरक्षर व्यक्तिले समेत छुट्ट्याउन सक्छन्। केही नाफामूलक सार्वजनिक संस्थानहरू वर्षैपिच्छे घाटाको पोको ठूलो पार्दै चलिरहेका छन्। सेवामूलक भनिएको निजामती क्षेत्रले पनि जनताको आशा अनुरूप सेवा प्रवाह गर्न सकिरहेको देखिँदैन। मानव संसाधन व्यवस्थापनको आँखाबाट यस अवस्थालाई विश्लेषण गर्ने हो भने सबैभन्दा ठूलो दोष मानव स्रोतलाई नै जान्छ। सँगसँगै यो दोष ती मानव स्रोतलाई संगठनमा भित्राउने प्रक्रियालाई समेत जान्छ। यसरी सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा एउटा संगठन असफल हुनमा, त्यस संगठनमा कार्यरत मानव स्रोतलाई भर्ना तथा छनोट गर्ने योजनादेखि नियुक्तिसम्मका सम्पूर्ण चरणहरू समेतको कमजोरी देखिन्छ।

लामो समयदेखि नेपालमा लोकसेवा परीक्षा एउटा ठूलो हाउगुजीको रूपमा रहँदै आएको छ। जसको कारण युवावर्गको मनोविज्ञानमा यो परीक्षा उत्तीर्ण गर्न नसकिने, भद्दा, धेरै परीक्षा पत्रहरू भएको आदि जस्ता छाप पर्ने गरेको छ। यही मनोविज्ञानका कारण प्रतियोगीहरू महँगो शुल्कमा तयारी कक्षा लिन बाध्य छन्। जीवनमा अरू केही नसोची कतिपय युवायुवतीहरूले शारीरिक र मानसिक रूपमा आफ्नो सबैभन्दा उत्पादनमूलक र ऊर्जावान समय लोकसेवा परीक्षाका लागी खर्चिरहेका छन्। धेरैले  लोकसेवा दिने चक्करमा आफ्नो पढाइसमेत पूरा गर्न पाएका हुँदैनन्। वर्षैभरि निजामतीलगायत विभिन्न संगठनहरूमा परीक्षा दिइरहुनु अनि सफल नहुनु नियती नै बन्न पुगेको छ। केही परीक्षार्थीहरूले २०÷२१ पटकसम्म असफल हँुदासमेत परीक्षा दिन नछाडेका घटनाहरू बेला–बेलामा सुनिने गरेका छन्। यसले गर्दा परीक्षार्थीहरूमा भएको नयाँ जोस र जाँगर परीक्षा दिँदा÷दिँदा रित्तिसक्ने र अन्ततः सफल भए पनि मनोवैज्ञानिक रूपमा थकित भएको अवस्थामा संगठन प्रवेश गर्ने सम्भावना अधिक रहन्छ। अनि यस्तो थकित व्यक्तिले संगठनलाई नयाँ के दिन सक्ला र ?

मानव संसाधन व्यवस्थापनको नियमअनुसार कुनै संगठनमा नयाँ कर्मचारी भर्ना गर्नुपर्यो भने सर्वप्रथम त मानव संसाधन योजना बनाइन्छ। कुन कार्यका लागि कर्मचारी माग गर्नुपर्ने हो त्यसको विश्लेषण गरी कार्य विवरण र कार्य विशिष्ट विवरण तयार पारिन्छ। अनि यही विवरणका आधारमा नयाँ कर्मचारीका लागि आवश्यक योग्यता र उसले नियुक्ति पश्चात् गर्नुपर्ने कामको निर्धारण गरिन्छ। नयाँ उम्मेद्वारको परीक्षा लिइन्छ। यसो गर्दा सही कामका लागि सही मानिस प्राप्त गर्न सकिन्छ। तर, लोकसेवा आयोगले भने जुनसुकै संगठन वा सेवाका लागि पनि प्रथम पत्रका रूपमा एउटै समान प्रश्नहरू सोध्ने गरेको छ। उक्त प्रथम पत्रमा लोकसेवा आयोगले नेपाललगायत विश्वको भूगोल, इतिहास, विभिन्न मुलुकका ऐतिहासिक घटनाहरू, अन्तर्राष्ट्रिय संगठनहरू आदिका बारेमा सोध्ने गरेको छ। एउटा व्यक्ति कुनै संगठनमा नियुक्त भएपश्चात् उसले गर्नुपर्ने कामसँग कुनै पनि सम्बन्ध नराख्ने विषयमा उसको परीक्षा लिनुको कुनै औचित्य हुन्छ र ? उदाहरणका लागि नेपाल टेलिकमको प्रशासन शाखामा काम गर्ने कर्मचारीले विश्वको भूगोलका बारेमा जान्नैपर्ने आवश्यकता किन ? त्यस्तै जलस्रोत विभागमा काम गर्ने एउटा लेखापालले विश्व इतिहासको परीक्षा दिनै पर्ने बाध्यता किन ?

कुनै पनि मुलुकमा चुनावी प्रक्रियाबाट आउने राजनीतिक नेतृत्व निश्चित समयका लागि मात्र सरकारमा रहन्छ। यही कारण यस्तो सरकारलाई अस्थायी सरकार भन्ने गरीन्छ। तर, कर्मचारी तन्त्र एउटा यस्तो निकाय हो जसले स्थायी सरकारका रूपमा देशको नेतृत्व गरिरहेको हुन्छ। विश्वमा यस्ता कैयौं उदाहरण छन्, जहाँ राजनीतिक नेतृत्व कमजोर भएका बेलामा कर्मचारीतन्त्रले राष्ट्रलाई उचित दिशानिर्देश गरेको छ। राजनीतिक नेतृत्व जतिसुकै डगमगाए पनि कर्मचारी तन्त्रले देशको गति रोकिन दिएनन्। तर हाम्रो देशमा भने पटक–पटक राजनीतिक नेतृत्व अस्थिर र कमजोर हुँदासमेत कर्मचारीतन्त्रले देशलाई गति दिन सकेको देखिँदैन। बरु उल्टै त्यस किसिमका राजनीतिक अस्थिरताको प्रत्यक्ष वा अप्रतक्ष प्रभावले कर्मचारीहरू बीचमै विचारको खण्डीकरण देखिने गरेको छ। यस्तो परिस्थितिलाई नजिकबाट नियाल्दा कर्मचारी तन्त्रभित्र हामीले के योग्य, क्षमतावान र दूरदर्शी कर्मचारीहरू नै भित्र््याइरहेका छौं त भन्ने प्रश्न खडा नहोला भन्न सकिन्न।

आज संसारमा अत्याधिक सफल भएका संगठनहरूले नयाँ कर्मचारी छनोट गर्दा अन्य योग्यताहरूभन्दा बढी महत्वका साथ परीक्षार्थीहरूमा नयाँ विचार जन्माउन सक्ने खुबी छ÷छैन भनेर हेर्ने गरेका छन्। यहि प्रसंगमा विश्व प्रशिद्ध माइक्रोसफ्ट कर्पोरेसनका संस्थापक विल गेट्सले भनेका छन्, “यदि मेरो कम्पनीको सुरक्षा गार्डले समेत कम्पनीका लागि नयाँ विचार दिन्छ भने म त्यसलाई स्वागतका साथ ग्रहण गर्दछु।” हाम्रो देशमा पनि लोकसेवा आयोगलगायत निजी कम्पनीहरूले नयाँ कर्मचारी छनौट गर्ने सवालमा यसलाई मनन् गर्नुपर्ने देखिन्छ।

केही वर्षअघि संयुक्त राज्य अमेरिकामा कर्मचारी छनोटका लागि लिइएको परीक्षामा उत्कृष्ट ठहरिएका परीक्षार्थी र नियुक्तिपश्चात् उनिहरूको कार्य सम्पादन स्तरबीचको तुलनात्मक अध्ययन गरिएको थियो। उक्त अध्ययनले परीक्षामा उत्कृष्ट ठहरिने सबै परीक्षार्थीहरू नियुक्ति पश्चात्को कार्यसम्पादन स्तरमा उत्कृष्ट नरहेको देखाएको थियो। त्यसैले लोक सेवा आयोगले पनि परीक्षार्थीहरूको परिक्षण गर्दा ठूलो र मोटो पाठ्यक्रमको सट्टामा परीक्षार्थीहरूलाई विभिन्न आयामहरूबाट व्यावहारिक र वैज्ञानिक परीक्षण गर्न सकिने किसिमको छरितो पाठ्यक्रम बनाउन आवश्यक छ। एउटा कर्मचारीलाई लिच्छवी कालमा मन्त्रीलाई के भनिन्थ्यो भनेर जान्ने भन्दापनि के गरेमा आफ्नो संगठन अझ माथील्ले स्तरमा पुग्न सक्छ भन्ने जान्नु औचित्यपूर्ण हुन्छ भनेर सिकाउन जरुरी छ। समग्रमा लोकसेवा आयोगले नयाँ कर्मचारी छनोट गर्दा दूरदर्षी, नयाँ विचार दिन सक्ने खुवि भएको, नीति निर्माण तहमा दखल भएको एक जाँगरिलो र सिर्जनात्मक व्यक्ति चयन गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.