जलवायु परिवर्तन कि संकट ?

जलवायु परिवर्तन कि संकट ?

पृथ्वीको तापक्रम बढेको बढ्यै छ। पछिल्ला सात वर्षमा सबैभन्दा बढी तापक्रम देखियो। बढ्ने क्रम जारी छ।


समुद्री आँधीले गरेको विनाश, आगलागी र डढेलोको प्रकोप, बाढीपहिरोका घटना आदि सबै जलवायु परिवर्तनले भइरहेको हो। जलवायु परिवर्तन कम गर्न संसारभर जुन प्रयासहरू भइरहेका छन् ती पर्याप्त छैनन्।

जलवायु परिवर्तन हो कि जलवायु संकट ? बुझ्नु पर्छ। धेरैले जलवायु परिवर्तन भनेर कुरा गर्छन् तर हामी अथवा यो पृथ्वी परिवर्तनको तहबाट निकै अगाडि पुगिसकेका छौं। अहिले त हामी जसलाई जलवायु परिवर्तन भन्थ्यौं। यो र यसको असर संकटको अवस्थामा पुगेका छन्। अहिले दुईवटा कुरा स्पष्ट भइसकेको छ, एउटा त जलवायु परिवर्तन मानवीय क्रियाकलापको कारण भइरहेको छ र यसको असर तीव्र गतिले वृद्धि भइरहेको छ। जसको कारण पृथ्वीको प्राकृतिक प्रणालीमा परिवर्तनभन्दा संकट बढी भइरहेको छ। केही वर्ष अगाडिसम्म धेरैले प्रश्न गर्थे कि जलवायु परिवर्तन साँच्चै भइरहेको छ वा यो परिवर्तन वैज्ञानिकहरूको अनुमान मात्र हो ? परिवर्तन भएकै हो भने त्यो कहिले हुन्छ र त्यसको असर के हुन्छ ? भनी प्रश्न गर्नेहरू पनि थिए। अहिले आएर त्यसको असरहरू संसारभरि नै भोगिरहेका छौं। समुद्री आँधी, डढेलो र बाढीपहिरोका घटना आदि जलवायु परिवर्तनका कारण भइरहेको हो।

दोस्रो कुरा, जलवायु परिवर्तन कम गर्न संसारभर जुन प्रयासहरू भइरहेका छन् ती पर्याप्त छैनन्। यो कुरा गएको ३० वर्षको अनुभवले देखाएको छ। किनभने संयुक्त राष्ट्रसंघ महासन्धि भएकै ३० वर्ष भइसक्यो र यो अवधिमा के भयो भनेर विचार गर्ने हो भने हामी देख्छौं ? धेरै बैठक बसे, छलफलहरू भए तर जलवायु परिवर्तन हुने दर झन् बढी छ। अथवा कुरा धेरै भए पनि काम खासै भएको छैन। जसले गर्दा पृथ्वीमा हरित गृहग्यासको उत्सर्जन बढेको बढ्यै छ। त्यो घटाउन थाल्नु पर्‍यो भनेर धेरैले भनेका छन्। तर कसैले पनि यसतर्फ ठोस कदम चालेको छैन। यसबीच पृथ्वीको तापक्रम बढेको बढ्यै छ। पछिल्ला सात वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम देखियो भनिएको छ। अहिले आएर पृथ्वीको औसत तापक्रम करिब १.१ डिग्री सेल्सियसले बढिसकेको छ र यो बढ्ने क्रम जारी छ। केही दिनअघि मात्र पनि खबर आएको थिया, पृथ्वीको सबैभन्दा जाडो हुने ठाउँमध्येको एक उत्तरी ध्रुवीय क्षेत्रमा पनि तापक्रम ३८ डिग्री सेल्सियस पुगेर रेकर्ड ब्रेक भएको रहेछ। यसैगरी, गएको वर्ष अक्सर हिमपात हुने क्यानडाको लिट्टन नामक सहरमा पनि तापक्रम वृद्धि भएर ४९ डिग्री सेल्सियस पुगेको थियो। अमेरिका, क्यानडा, रसिया, युरोप, अफ्रिका, भारत र हाम्रै देश नेपालमा पनि बाढी, पहिरो, डढेलो र समुद्री आँधीजस्ता प्रकोप पहिलाभन्दा बढी देखा परेको छ।

हामी त अझ बढी सशंकित हुने अवस्थामा छौं। किनभने जलवायु संकटको असर हामीलाई बढी पर्ने छ। नेपाली र नेपालको अर्थतन्त्र प्रकृतिमा बढी निर्भर छ र प्राकृतिक प्रणालीहरूमा परिवर्तन हुँदा त्यो परिवर्तनसँग जुध्ने वा त्यो परिवर्तनलाई व्यवस्थापन गर्ने क्षमता हामीमा कम छ। हामी अक्सर भन्ने गर्छौं जलवायु संकट हुनुमा हाम्रो खासै दोष  छैन। यो केही हदसम्म त ठीक होला तर त्यो भन्दाभन्दै पनि हामी नेपालीले दुःख पाइरहेका छौं। भविष्यमा यो पीडा अझ बढ्ने निश्चित छ। त्यसैले हामीलाई नखाएको विष लाग्या हो भनेर मात्रै पुग्दैन। नेपालले अब आफ्नो तर्फबाट तीन वटा कुरा गर्नैपर्छ। एक, सकेसम्म हामी आफैं हाम्रो उत्सर्जन घटाऔं। हाम्रो हरित गृह ग्यास उत्सर्जन दर तीब्र गतिमा बढिरहेको छ। सात वर्षमै कार्बन उत्सर्जन दोब्बरले वृद्धि भएको अध्ययनले देखाएको छ। तर राम्रो कुरा त यो कार्बन उत्सर्जन घटाउनुमा हामीलाई नै फाइदा छ। हामीले कार्बन उत्सर्जन गर्ने क्रियाकलाप के के हुन् त भनेर हेर्नुपर्ने हुन्छ। उत्सर्जन यातायातको क्षेत्रमा बढिरहेको छ। यातायातबाट उत्सर्जन घटाउने भनेको त पेट्रोलियम पदार्थको उपयोग कम गर्ने हो। यो भनेको हरित गृह ग्यासको उत्सर्जन मात्रै होइन, हामीले सास फेर्ने हावामा भएको पीएम २.५, कार्बन मोनोअक्साइड, नाइट्रोजन मोनोअक्साइडस् जस्ता हानिकारक वायुप्रदूषक घटाउने पनि हो।

अध्ययनले भन्छ, वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष करिब ४२ हजार मानिसको मृत्यु भइरहेको छ। वायुप्रदूषण घटाउँदा हरित गृह ग्यास मात्र होइन, नेपालीको मृत्यु दर कम गर्न सकिन्छ अथवा जनस्वास्थ्यमा व्यापक सुधार हुन्छ।
त्यो हुनु भनेको हाम्रो अर्थतन्त्रमा सुधार आउनु पनि हो। जब मानिसको उत्पादकत्व बढ्छ, अर्थतन्त्रमा सुधार आउँछ। पेट्रोलियम आयात घटाएपछि व्यापार घाटा कम हुने त छँदै छ। यातायात क्षेत्रबाट हुने उत्सर्जन घटाउन हामीकहाँ विभिन्न उपाय छन् जस्तै, हिँड्ने, साइकल चलाउने, सार्वजनिक यातायात प्रयोग गर्ने, विद्युतीय गाडी चलाउने आदि। यसले वातावरण र अर्थतन्त्र दुवैलाई फाइदा पुर्‍याउँछ। यसैगरी, कार्बन उत्सर्जन हुने अर्को ठाउँ हो हाम्रै भान्छा। अहिले पनि नेपालको करिब दुईतिहाई घरमा दाउरा गुइँठाजस्ता इन्धन प्रयोग गर्छन्। यी घर दाउरा गुइँठाबाट निस्कने धुँवाका कारण अत्यधिक वायु प्रदूषण हुने गर्छ। काठमाडौंको

हावाको वायु प्रदूषणभन्दा १० गुणाभन्दा बढी यसले धेरैजसो महिला र बालबालिकालाई असर गर्छ। विशेषगरी निम्न आयस्रोत भएका महिला बालबालिकाको स्वास्थ्य, उत्पादकत्व र बालबालिकाको शिक्षामा असर गरिरहेको छ। स्कुल जानुपर्ने बालबालिका दाउरा लिन वनजंगल जानुपर्ने हुन्छ। दाउरा वा गुइँठोमा पकाउँदा हुने कालो भएका भाँडा माझ्न महिलाले धेरै समय खेर फालिरहेछन्। त्यसैले भान्छामा सफा इन्धन प्रयोग गर्न सके त्यसको फाइदा नेपालीको स्वास्थ्य र अर्थतन्त्रलाई हुन्छ।

भान्छामा हुने उत्सर्जन घटाउन अहिले बजारमा विभिन्न प्रकारका सुधारिएका चुला र विद्युतीय चुला छन्। विद्युतीय चुलो अहिले सबैको पहुँचमा नहोला किनभने ९० प्रतिशत नेपालीको घरमा मात्र विद्युत पुगेको छ। त्यसमा पनि अधिकांश घरमा ५ एम्पियर क्षमताको लाइन चाहिन्छ। विद्युतीय चुल्हो चलाउन १५ एम्पियरको क्षमता चाहिन्छ। यसमा सुधार गर्नुपर्छ। तर पाँच वर्षभित्र सबै घरमा सफा चुल्हो लगाउँछौं भन्ने व्यापक अभियान चलाउने हो भने त्यसले धेरै फाइदा पुर्‍याउँछ। यसले हरित गृह ग्यास उत्सर्जन घटाउने त छँदै छ। हरित गृह ग्यास उत्सर्जन हुने अर्को क्षेत्र हो, फोहोर व्यवस्थापन। फोहोरलाई विशेषगरि कुहिने फोहोरलाई ल्यान्डफिलमा हाल्दा मिथेन ग्यास उत्पन्न हुन्छ। जुन कार्बन डाइअक्साइडभन्दा कयौं गुणा बढी हानिकारक हरित गृह ग्यास हो। तर, कुहिने फोहोरलाई ल्यान्डफिलमा फाल्नुको सट्टा त्यसबाट कम्पोस्ट मल वा बायोग्यास उर्जा उत्पादन गर्ने हो भने त्यसबाट उत्सर्जन पनि कम हुन्छ र यसले अर्थतन्त्रलाई पनि टेवा पुर्‍याउँछ।

समग्रमा भन्दा राम्रो कुरा के हो भने कार्बन उत्सर्जन घटाउनु भनेको देशको अर्थतन्त्र र जनस्वास्थ्यको फाइदाका लागि हो। यसमा लगानी गर्नुपर्छ, प्रतिफल राम्रो आउँछ। हाम्रो उत्सर्जन कम छ तर पनि घटाऔं। त्यसको फाइदा भनेको हामीलाई नै हुन्छ। यस्तै, हामीले गर्नुपर्ने दोस्रो काम भनेको पैरवी गर्ने हो। अरू देशलाई पनि कार्बन घटाउ भनेर दबाब दिने हो। आफैंले आफ्नो कार्बन उत्सर्जन घटाएपछि त भन्न सक्छौं नि दुनियाँलाई ‘हामीले त गर्‍यौं नि तपाईं नि ?’ हामीले बुझ्नैपर्ने अर्को कुरा, नेपालले जतिसुकै उत्सर्जन घटाए पनि वा संसारका अन्य देशले कार्बन उत्सर्जन घटाए जलवायु परिवर्तन र यसको असरलाई पूरै निमिट्यान्न सकिँदैन। पृथ्वीको तापक्रम बढ्दै जाने निश्चित छ। अहिलेसम्म १.१ डिग्री सेल्सियसले बढिसकेको छ। यदि पृथ्वीको औसत तापक्रम वृद्धि २ डिग्री सेल्सियससम्म सीमित गर्न सक्यौं भने पनि ठूलो उपलब्धि हुन्छ। सबै देश मिलेर हरित गृह ग्यासको उत्सर्जनमा व्यापक कटौती गर्न सके पनि पृथ्वीको तापक्रम बढ्ने दर मात्रै घट्छ।

त्यसैले हामीले आउँदा दिनमा हुने तापक्रम वृद्धि र यसको असर वा जलवायु संकटसँग जुध्ने क्षमता बढाउन अति आवश्यक छ। अथवा हामीले अनुकूलनका विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ। र जलवायु संकटको असर हरेक क्षेत्रमा पर्ने भएकाले अनुकूलन पनि हरेक क्षेत्रमा नै गर्नुपर्ने छ। जस्तै हाम्रो कृषि प्रणाली मनसुनको भरमा चल्छ। जलवायु संकटको कारणले हुने अतिवृष्टि र अनावृष्टिले यसलाई नराम्ररी असर गर्न सक्छ। यही वर्ष पनि मनसुनपछि बेस्सरी पानी पर्दा धेरै ठाउँमा धानबाली नष्ट भएको थियो। यसकारण पनि जलवायु संकट बढ्दै जाँदा हामीले तीनवटा कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। पहिलो, जलवायु परिवर्तनसँग जुध्ने हाम्रो क्षमता विकास र अनुकूलन गर्ने। दोस्रो, हाम्रो आफ्नै उत्सर्जन घटाउने। तेस्रो, पैरवी गर्ने अथवा अरूलाई पनि घटाऊ भनेर दबाब दिने। अहिलेको अवस्थामा जलवायु संकट सुरु भइसकेको छ। संकटसँग जुध्न सबैजना लागि पर्नुपर्ने अवस्था छ। कृषि प्रणाली, स्वास्थ्य प्रणाली र जलस्रोत जस्ता हरेक क्षेत्रमा जवलायु संकटको असरलाई ख्याल गर्दै विकासलाई अगाडि लैजानुपर्ने हुन्छ। यो काम अलिअलि भएको छ तर जति हुनुपर्ने हो त्यति भएको छैन। अथवा जुन गम्भीरताका साथ यो संकटलाई हेर्नुपर्ने हो त्यसरी हेरिएन।

उदाहरणका लागि भर्खरै ग्लासगोमा भएको अन्तर्राष्ट्रिय सम्मेलन कप २६ मा प्रधानमन्त्रीको नेतृत्वमा ठूलै टोली गएर हामीले विभिन्न प्रतिवद्धता जाहेर गर्‍यौं। तर, जलवायु संकटसँग जुध्नकै लागि भनेर प्रधानमन्त्रीकै अध्यक्षतामा भएको समितिको बैठक भने एक पटक पनि बसेको छैन। त्यो समिति क्रियाशील हुनुपर्यो। यसले समन्वय गर्नुपर्‍यो, नेतृत्व दिनुपर्‍यो। जलवायु संकटसँग जुध्न नेपाललाई आर्थिक र प्राविधिक सहायता पनि चाहिन्छ। जुन नेपालको अधिकार पनि हो। त्यसका लागि पनि यो समिति क्रियाशील हुनुपर्छ। त्यसैले जलवायु परिवर्तनलाई परिवर्तन मात्र होइन, संकटकै रूपमा हेरेर रणनीतिक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ। यो हाम्रो वातावरण र अर्थतन्त्रको स्वास्थसँग जोडिएको गम्भीर मुद्दा हो। यो हाम्रा सामु आएको एउटा संकट हो र यसलाई संकटकै रूपमा हेर्नु पर्छ।
- लेखक वातावरणविद् हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.