वास्तविक संसार भर्सेस भर्चुअल संसार

वास्तविक संसार भर्सेस भर्चुअल संसार

अबका दिनमा यदि यो संसार इन्टरनेटविहीन हुँदो हो त कस्तो होला ? पछिल्लो पुस्ताले त भन्न सक्छ कि इन्टरनेटबिना यो संसारको गति नै रोकिने छ।


अस्तित्वको सुरुआतदेखि आजसम्म आइपुग्दा मानिसले कैयौं उतारचढाव देख्यो, भोग्यो अनि त्यही भोगाईबाट सिक्यो पनि। पानीभित्र बस्ने प्रजातिदेखि संघर्ष गर्दै जमिन अनि चार पाउ टेक्नेदेखि दुई पाउ टेकी ठाडो भई हिँड्नेसम्म आइपुग्दा मानिस निलो ग्रहको नायक नै बन्यो। भोकले लोकसँग लड्न सिक्नेदेखि आवश्यकताले आविष्कारसम्म पुर्‍याएको मानिसको खोजमा भने कहिल्यै पनि पूर्णविराम लागेन। आजसम्म यस धर्तीमा कैयौं पुस्ता प्रश्नवाचक चिन्ह बोकेर आए। सकेको खोजे र बाँकी प्रश्न चिन्हहरू आउने पुस्तालाई छाडेर गए। आउने पुस्ताले पनि यही गरिरह्यो। मानिसले यही जिज्ञासु स्वभाव अनि खोजप्रतिको हुटहुटीले गर्दा सन् १९९० को दशकमा विश्वले इन्टरनेटको युग पायो।

पूर्वीय सभ्यताभित्र आजभन्दा करिब पाँच हजार वर्षपूर्वको महाभारतकालीन इतिहास हेर्ने हो भने इन्टरनेट त्यतिबेला नै थियो भन्न सकिने प्रशस्त आधार देखिन्छन्। आज हामीले प्रयोग गरिरहेको इन्टरनेट र कुरुक्षेत्रमा पाण्डव र कौरवबीच भएको युद्धमा सञ्जयलाई प्राप्त भएको दिव्यदृष्टिमा कुनै न कुनै सामाञ्जस्यता पक्कै छ।

समयको पछिल्लो खण्डमा मानव जीवनको हरेक क्षेत्रमा देखिएको होडबाजी र प्रतिस्पर्धा जसरी उच्च गतिमा अगाडि बढिरहेको छ, ठिक त्यसकै समानान्तर गतिमा विश्वभर इन्टरनेट प्रयोगकर्ताहरू पनि बढिरहेका छन्। सन् २०२१ को अक्टोबरको तथ्यांक हेर्दा करिब ६० प्रतिशत विश्व जनसंख्याले इन्टरनेटको प्रयोग गरेको देखिन्छ। यस्तै नेपालमा पनि सन् २०२१ को मध्यसम्ममा करिब ९० प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको तथ्यांकले देखाएका छन्।

आजकाल अधिकांश मानिसको बिहानी मोबाइलसँगै सुरु हुने गरेको छ। बिहानको उर्जाशील समय उनीहरू इन्टरनेटको प्रयोगमा बिताइरहेका छन्। चिया पिउँदा होस् या खाजा खाँदा, मानिसहरूको आँखा भने मोबाइल सेट अथवा ल्यापटपको स्क्रिनमा नै दौडिरहेको हुन्छ। अहिलेका बालबालिकामा यो समस्या झन् बढ्दो छ। उनीहरू त मोबाइल नहेरी कुनै पनि चिज खानै चाहँदैनन्। प्राय: बालबालिका खाने बेलामा एक ठाउँ नबस्ने, झगडा गर्ने, खाना फाल्दिने जस्ता हर्कत गर्छन्। यस्तो अवस्थामा हामी अविभावक पनि आफैंले बालबालिकालाई मोबाइल दिने अनि इन्टरनेटमा उपलब्ध भिडियो लगाइदिने जस्ता कार्य गर्छौं। यसरी हामीले केही समयको झन्झटलाई पन्छाउन खोज्दा बालबालिकामा भने इन्टरनेट प्रयोगको लत लागिसकेको हुन्छ।

आजको युवा तथा किशोरकिशोरी इन्टरनेटको प्रयोगमा एक किसिमको एडिक्ट भइसकेका छन्। उनीहरूको यो डुबाइले व्यावहारिक संसार महत्त्वहीनसरह छ। इन्टरनेटभित्र पनि उनीहरू विशेष गरेर फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, टिकटक, ट्वीटरजस्ता सामाजिक सञ्जाल अनि मोबाइल गेममा झुमिरहेका भेटिन्छन्। यस्ता युवा तथा किशोरकिशोरी एक्लै बस्न रुचाउने, सीमित साथीसँग मात्र कुराकानी गर्ने, परिवारका सदस्यसँग बिनाकारण झर्किरहने, रिसाउने, स्मरण शक्ति कमजोर हुँदै जाने देखिएको छ। अमेरिकामा अत्याधिक मात्रामा सामाजिक सञ्जाल चलाउने बालबालिकामा यस्तै किसिमका समस्या देखिएका छन्। जसलाई उनीहरूले सोसियल मिडिया डिप्रेसनको नाम दिएका छन्। यस्तै केही सामाजिक सञ्जालहरूमा आउने विभिन्न रसका छोटा भिडियोहरूले मानिसमा भावनात्मक अस्थीरताको समस्या निम्त्याउन सक्ने सम्भावना पनि देखिएको छ। भर्चुअल दुनियाँ पछिल्लो समय मानिसका लागि वास्तविकता छोपेर यथार्थमा आफू जे होइन त्यही देखाउने कोशिस गर्ने प्लेटफर्म बनेको छ। मानिस आफू जस्तो भए पनि सामाजिक सञ्जालमा भने भलाद्मी, इमान्दार, दयालु अनि सुन्दर देखिने प्रयत्न गर्छन्। सञ्जालमा तस्वीर पोस्ट गर्नुपर्‍यो भने त्यहाँ उपलब्ध विभिन्न फिल्टर प्रयोग गर्छन्। र सुन्दर रूप मात्र सार्वजनिक गर्छन्। कुनै समय ऐनामा देखिने आफ्नो सक्कली अनुहार नै मन पर्न छोड्यो भने के होला ?

अचम्म लाग्दो अर्को तथ्य पनि हामी सामु छ अर्थात् यही संसारमा करिब ४० प्रतिशत मानिस इन्टरनेटविहीन छन्।

आफूलाई अरू व्यक्तिसँग तुलना गर्न थाल्नु भनेको जीवनमा आफैंले दु:खलाई निम्त्याउनु बाहेक केही होइन। तर अचेल सामाजिक सञ्जालमा अरूको जीवनशैली देखेर आफूलाई तुलना गरिरहेका हुन्छौं। यसले अन्तत: हामीलाई नै अहंकारी वा कमजोर बनाउने हो। सामाजिक सञ्जाल पनि हिजोआज त पर्म लाउने वा पर्म तिर्नेजस्तो भइसकेको छ। यसमा हामी जति बढी सकृय भइरहन्छौं, जति मात्रामा अरूको पोस्ट वा तस्वीरमा प्रतिक्रिया जनाइरहन्छौं, त्यति नै मात्रामा आफू पनि पाइरहन्छौं। मानिस जातैले सामाजिक प्राणी हो। दु:ख र सुखमा एकले अर्कोलाई साथ दिनु मानवीय गुण पनि हो सायद।
सामाजिक पक्ष जे भए पनि इन्टरनेटको प्रयोगले मानिसलाई सामाजिक वा सामूहिक जीवनबाट टाढा लैजाँदैछ। हामी भेटघाटका लागि आफन्त वा साथीभाइकोमा जान्छौं अनि मुस्किलले केही क्षण बोल्छौं। त्यसपछि सबैजना आआफ्नो मोबाइल झिकेर इन्टरनेटको भर्चुअल संसारभित्र छिर्छौं। अनि त्यसको एकैछिनमा इन्टरनेटमा यति मग्न हुन्छौं कि हामी कहाँ छौं, हाम्रो नजिक को छ ? भन्ने पनि बिर्सन्छौं। केही साताअघि पूर्वी नेपालको तराई क्षेत्रमा लगातार ४० घण्टासम्म विद्युत् अवरुद्ध भयो। यही कारण अधिकांशले त्यस समय इन्टरनेट प्रयोग गर्न पाएनन्। इन्टरनेट जब बन्द भयो, तब त्यहाँ एउटा अनौठो किसिमको वातावरण सिर्जना भयो। फुर्सद हुनासाथ इन्टरनेटमा व्यस्त हुने मानिस परिवारका सदस्यबीच कुराकानी गर्न थाले। छिमेकीसँग पनि एक्कासि भेटघाट बढ्न थाल्यो। साथीभाइसँग गफगाफको वातावरण बन्यो।

४० घण्टा इन्टरनेट नहुँदा मानिसमा अनौठो प्रकारले प्रेम र उर्जाको सञ्चार बढ्यो। धेरैले आपसी नजिकपन र सद्भावको महसुुस गरे। यही घटनाबाट पनि प्रस्ट हुन्छ कि इन्टरनेटले मानिसबीच भावनात्मक दूरी बढाउँदै लगेको छ। कतिपय कसरतका लागि बिहान–बेलुका बाटोमा हिँड्ने, दौडिने, साइक्लिङ गर्ने आदि गर्छौं। तर, कानमा एयरफोन लगाएर आफूलाई व्यस्त गराउने कोसिस गर्छौं। यस प्रकारले भौतिक रूपमा जहाँ हुन्छौं, जुन ठाउँमा पुग्छौं, त्यहाँको सुन्दरता, रमाइलोपन अनि नौलो उर्जा भने गुमाइरहेका हुन्छौं। यस किसिमका गतिविधिलाई प्रश्रय दिँदै जाने हो भने एक दिन यस्तो अवस्था आउने छ जहाँ हामी एक पल मात्र पनि केही नगरी बस्न सक्ने छैनौं। हामी तिनै पुर्खाका सन्तान हौं। उनीहरू भने महिनौं अनि वर्षौंसम्म शान्त र आनन्दित भावमा एकै मुद्रामा बसिरहन सक्थे।

विश्वको हरेक क्षेत्रमा आज तीव्र प्रतिस्पर्धा छ। सिर्जनात्मकता नै एउटा यस्तो अस्त्र हो जसले प्रतिस्पर्धाको यो भीडमा पनि छुट्टै स्थान बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। इन्टरनेटको सुविधाले भने अधिकांशको सिर्जनात्मक क्षमता नै कमजोर हुँदै गएको छ। सानोभन्दा सानो प्रश्नको उत्तर पनि हामी मस्तिष्क प्रयोग नगरी इन्टरनेटबाटै खोजेर काम चलाउनमा अभ्यस्त हुँदैछौं। आफूभित्र ज्ञान प्रकट गर्नेभन्दा पनि बाहिर उपलब्ध सूचना प्राप्त गर्नेमा बानी परिरहेका छौं। नेपाललगायत विश्वभर नै अहिले ताररहित प्रविधि वाईफाईको चलन छ। सोही माध्यमबाट इन्टरनेट प्रयोग गर्नेहरूको संख्या धेरै छ। वाईफाईबाट उत्पन्न हानीकारक विकीरणले मानव स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर पार्न थालेको छ।

हामी अधिकांश राति सुत्ने बेलामा मोबाइल चलाउँछौं। कति मानिस त मध्यरातसम्म पनि मोबाइलमा इन्टरनेट प्रयोग गर्न छाड्दैनन्। निन्द्रा र अन्धकारको ज्यादै महत्त्वपूर्ण सम्बन्ध हुन्छ। यसरी राति सुत्ने बेलामा र उठ्नेबित्तिकै मोबाइल चलाउँदा यसको प्रत्यक्ष प्रकाश आँखामा पर्ने आँखा कमजोर हुन थाल्छ। अर्कोतिर मेलाटोनिन नामक निन्द्रा लगाउन मद्दत गर्ने हर्मोन उत्पादन नहुने भएकाले मानिसमा निद्रा नलाग्ने समस्या उत्पन्न भइरहेको छ। पछिल्लो समय इन्टरनेटले हामी बसिरहेको यथार्थ संसारभन्दा बाहेक पनि अर्को एउटा भर्चुअल संसार खडा गरिदिएको छ। यी दुवै संसारमा समानान्तर उपस्थिति देखाउँदा देखाउँदै भर्चुअल संसारको रंगीन झिलीमिलीले बढी आकर्षित बनाइरहेको छ।

इन्टरनेटको भर्चुअल संसारभित्र हामी यसरी छिर्दै छौं कि यथार्थ संसार हाम्रा लागि पर हुन लागिसक्यो। फुर्सद हुनेबित्तिकै श्रीमान् भर्चुअल दुनियाँमा रमाउन थाल्छ। उसकी श्रीमती र छोराछोरी त्यसैगरी आआफ्नै भर्चुअल दुनियाँमा रमाउँछन्। यसरी आपसी सम्बन्ध सतही र खोक्रो बन्न थाल्छ। यो बढ्दै जाँदा वास्तविक संसार केवल बालुवाको घरसरह हुन के बेर ? भत्किँदैन कसरी भन्नु ? एकैछिन विचार गरौं त, अबका दिनमा यदि यो संसार इन्टरनेटविहीन हँुदो हो त कस्तो होला ? पछिल्लो पुस्ताले त भन्न सक्छ कि इन्टरनेटबिना यो संसारको गति नै रोकिने छ। अचम्म लाग्दो अर्को तथ्य पनि हामी सामु छ अर्थात् यही संसारमा करिब ४० प्रतिशत मानिस इन्टरनेटविहीन छन्। करिब ४५ वर्षअघि यो दुनियाँमा इन्टरनेट कहाँ थियो र ? तर पनि जीवन चलेकै थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.