जाँचको नाच

जाँचको नाच

कक्षाहरू सुरु भए। कक्षाहरू सकिए। कक्षा सकिएपछि तनाव सुरु भयो। आजको दिन सबैभन्दा बोरिङ भयो। मानौं आँधी बेहेरी आउनेवाला छ।


प्रिन्सिपल बोल्न थाले। उनले विद्यार्थीलाई प्रायः तीनवटा कुरामा फोकस गर्न निर्देशन दिए। उनको एउटा सूत्र नै थियो– अ+अ+अ। अर्थात् अनुशासन+अध्ययन+ अंक। आज पनि उनले यही भने। दोस्रो परीक्षा आएको छ। ध्यान दिएर पढ्ने, अनुशासन र अध्ययनका साथमा राम्रो अंक ल्याउने। राम्रो अंक नल्याउने विद्यार्थीलाई कसैले मन पराउँदैन। न स्कुलमा न घरमा न समाजमा।

परीक्षाको रुटिन निस्किसकेको छ। सबैले राम्ररी पढ्ने। तिम्रो अंकसित अभिभावकको सपना जोडिएको छ। तिम्रो अंक राम्रो आएन भने हामी अभिभावकलाई खुसी पार्न सक्दैनौं। तिमीहरू अभिभावकलाई खुसी देख्न चाहन्छौ कि चाहन्नौ ?

सबैले एकै स्वरमा जवाफ दिए– ‘चाहन्छौं सर।’

तिमीहरू आमा बुवाको सपना पूरा गर्न चाहन्छौ कि चाहन्नौ ?

–चाहन्छौं सर।

–तिमीहरू आफ्नो र देशको नाम राख्न चाहन्छौ कि चाहन्नौ ?

–चाहन्छौं सर।

– ल गुड.....। मैले भन्न खोजेको मुख्य कुरा जाँचमा राम्रो गर्ने है त।

– हुन्छ सर।

– ल तिमीहरू सबैलाई दोस्रो त्रैमासिक परीक्षाको शुभकामना। 

– थ्याङ् क्यु सर भनी सबैले ताली पिटे। अवन्तिकाले एसेम्ब्ली सकिएको घोषणा गरी। 

कक्षाहरू सुरु भए। कक्षाहरू सकिए। कक्षा सकिएपछि तनाव सुरु भयो। आजको दिन सबैभन्दा बोरिङ भयो। मानौं आँधी बेहेरी आउनेवाला छ। प्रत्येक कक्षामा शिक्षकले यसरी नै सजग गराए। जाँच आउँदै छ। जाँच आउँदै छ। जाँच आउँदै छ। प्रथम त्रैमासिक परीक्षा आउँदा पनि यस्तै भन्थे। अहिले पनि यस्तै दोहोरिँदै छ।

मानौं जाँच भनेको ठूलो राक्षस हो।

मानौं जाँच भनेको ठूलै महामारी हो।

मानौं जाँच भनेको प्राणघातक सरुवा रोग हो।

जाँच आयो। बि केयरफुल, जाँ..आँआँआँआँआँआँ च। वरदायिनी स्कुलमा पनि यसै गरी जाँच आउँथ्यो। यहाँ पनि यसैगरी जाँच आयो। सबैले जाँचको डर देखाउँदा सबै विद्यार्थी डराए जस्ता देखिए। सफल पनि डरायो। उसलाई पनि त राम्रो अंक ल्याएर आमाबुबालाई देखाउनु छ। 

जाँचको रुटिन निस्किएपछि केटाहरू होस्टेलमा पनि पढ्न थाले। नपढ्ने केटाहरू पनि पढेजस्तो गर्न थाले। तिनले त्यसो गर्नु बाध्यता थियो। केटाहरू रातको ११ बजेपछि भने स्वतन्त्र हुन्थे किनकि त्यति बेलासम्म होस्टेल वार्डेन आफ्नो गुँडमा छिरेर निदाइसकेका हुन्थे शायद। प्रायः साढे १० मा बत्ती निभ्थ्यो।

जाँचको बेलामा चाहिँ ११ बजेसम्म बल्थ्यो। बत्ती निभ्यो अनि केटाहरू बल्न थाले। ब्युटिफुल ब्युटिफुल ब्युटिफुल ब्वाय ...। अचम्म जोन लेननको गीत बज्न थाल्यो। केटाहरू उफ्रिन थाले। गार्गार र गुर्गुर सुरु भयो। बिदामा कसले मोबाइल लुकाएर ल्याएछ। वार्डेनले भेट्यो भने सिज हुन्छ। तैपनि केटाहरूलाई बालै थिएन।

सबै केटाहरू गीतको तालमा झुम्न थाले। अँध्यारो भए पनि एक अर्काको हात समाएर रमाएर नाचिरहेका छन् केटाहरू। ‘अ डान्स पार्टी इन अ डार्क स्टेज’ भने जस्तो। कसैले सजग बनाउँदै भन्यो– ‘ए केटाहरू आवाज चाहिँ धेरै ननिकाल है। अहिले वार्डेनको निद्रा भंग भयो भने थाहा पाएर आउँछ अनि सबैको १२ बजाउँछ।’

अर्कोले थप्यो ‘के को थाहा पाउनु नि। ११ बजेपछि त त्यो भुस भइसक्छ। अहिले त सपना देख्दै होला।’ सबै केटाहरू घोडा हिनहिनाएझैँ हाँसे। एक छिनपछि कसैले बत्ती बालिदियो। सफलले समातेको हात त वार्डेनको पो रहेछ। जासुस कहीँको। केटाहरूको चियो गर्न बत्ती निभेपछि होस्टेलकै कुनामा लुकेको रहेछ। दृश्य गजबको देखियो। नाच्नलाई उचालेको कतिको खुट्टो उचालेको उचालै भयो। जोन लेनन चाहिँ एक्लै कराइरहेको थियो– ब्युटिफुल ब्युटिफुल ब्युटिफुल ब्वाय।

वार्डेनले मोबाइल थुत्यो अनि यो कस्को हो भनी सोध्यो। केटाहरू चुपचाप भए। यो मोबाइल कस्को हो ? सबै चुपचाप भए। धम्की दिँदै वार्डेन बोल्यो– ‘अब पनि बोलेन भने यो मोबाइल ढुंगाले किचेर सय टुक्रा बनाइदिन्छु। यो मोबाइल कस्को हो छिटो भन्ने।

–परीक्षित ओठ कमाउँदै बोल्यो– 

सर मेरो।

–मोबाइल ल्याउन अनुमति छैन भन्ने थाहा छैन ? किन ल्याएको ?

–ल्याएको होइन सर।

–ल्याएको होइन रे ? के गरेको 

त यो ?

–आफैँ आएछ सर।

–बेबकुफ बनाउँछस् ? आफैं पनि आउँछ ?

–आई मिन, झोलामा परेछ सर।

– झोलामा परेछ रे लौ। झोलामा परेपछि यसो भएछ भनेर जानकारी गराउने कि रात परेपछि गीत बजाएर डाँङडाँङ र डुङ्डुङ गर्ने ? जाँच आएको थाहा छ कि छैन ? पढ्नु पर्छ कि पर्दैन ? केयरफुल हुनु पर्छ कि पर्दैन ? अलर्ट भएर पढ्नुपर्छ कि पर्दैन ? ओई अभिषेक ! तँ यो होस्टेलको क्याप्टेन होस् कि होइनस् ? यस्तो गलत काम हुन थालेपछि तैंले रोक्नु पर्छ कि पर्दैन ?

‘सर म त निदाइसकेको थिएँ। 

भर्खर ब्युँझिएको। 

– हेर यसका नाटक। मलाई उल्लु बनाउँछस् ? मलाई केटाकेटी बनाउँछस् ? म यहीँ थिएँ भन्ने कुरा तैंले बिर्सिस् ? त्यो निदाइसक्यो, भुस भइसक्यो, सपना देख्दै होला भन्ने तैं होइनस् ? म चिन्दिनँ तेरो बोली हँ ? मलाई अरू कुरा थाहा छैन। सबैले बेन्ड डाउन गर्ने। अनि परीक्षिते ! तेरो यो मोबाइल सिज भयो अब। यो पाउँदैनस् तैंले।

सफलले बेन्ड डाउन गर्दा देख्यो, त्यो मोबाइल। ठ्याक्कै मोबिलाको जस्तै। हुन त महिना महिनामा मोबाइल फेर्ने मोबिलाले अर्कै मोबाइल ल्याइसकी होला। 

वार्डेन सबैको नाम टिपेर मोबाइल लिई गयो। केटाहरू माटोको मूर्तिझैं चिसा र चुपचाप भए। सफल भने मोबिलालाई सम्झिन थाल्यो। वार्डेन जाँदाजाँदै बाहिरबाटै कराइरहेको थियो– जाँच आएको हो कि नाच आएको ?

असोज २१ गते बिहीबार घटस्थापनाका दिन विमोचन हुने पुस्तक ‘कखरा’ अंश।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.