देशलाई चाहिएको शिक्षा

देशलाई चाहिएको शिक्षा

राष्ट्रको उन्नति हुने शिक्षा नीति तथा प्रणाली बनाइनुपर्छ जसले समस्याको समाधान र परम्परागत सोचबाट बाहिर निकाल्छ।


अल्बर्ट आईन्स्टाईन भन्छन्, हामी जुन सोचाइले समस्याको निर्माण गर्छौं त्यहीसोचाइले त्यो समस्याको समाधान गर्न सक्दैनौं। समस्याको समाधान गर्न परम्परागत सोचभन्दा बाहिर निस्किनुपर्छ। आईन्स्टाईनको विचारमा जतिपनि ठूला ठूला वैज्ञानिक, अनुसन्धानकर्ता, सर्जकहरू छन् ती सबै जिज्ञासु, कल्पनाशील भएर भएका हुन्।  विज्ञानको विकास पनि उनीहरूकै कारण सम्भव भएको हो। के हाम्रो देशको शिक्षाले आईन्स्टाईनले भनेजस्तो फरक सोचाइको निर्माण गर्न सक्ला?शिक्षा राष्ट्रको मेरुदण्ड हो। त्यो बलियो भयो भने राज्य बलियो हुन्छ।

शिक्षित व्यक्तिहरू भएको समाज चेतनशील हुन्छ। त्यो देशको राजनीति पनि राम्रो हुन्छ। त्यो राज्यमा छुवाछुत र विभेद न्यून हुन्छ। तर हाम्रोमा शिक्षा के हो, सिकाइ कस्तो हुनुपर्छ र शिक्षा के प्रयोजनका लागि अपरिहार्य छ? भन्ने बारेमा न छलफल चल्छ, न त्यसका बारेमा गहन ज्ञान भएका मानिस नेतृत्ववर्गमा छन्। कक्षामा गएर पढाउनेदेखि कोर्ष बनाउने, परीक्षा लिने, विद्यार्थीले पाउने प्राप्तांकसम्मको गतिविधि हेर्दा नेपालको शिक्षा स्तरमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ।मूलतः नेपालको शिक्षा प्रणालीमा भोलि विद्यार्थीले प्रमाणपत्र पाएपछि के गर्छ, उसको देश र समाज निर्माणमा के भूमिका रहन्छ? कतिसम्म चेतनशील रसक्षम हुनसक्छ? आफूले पढेको क्षेत्रमा कति निपुण हुनसक्छ भन्ने कुरा नै प्रष्ट छैन। यो सबै छर्लंग थाहा नभईकन विद्यार्थीले पढाइ सिध्याइसकेको हुन्छ।

विद्यार्थीकेन्द्रित शिक्षाको आवश्यकता
नेपालको सन्दर्भमा हेर्ने हो भने केही अपवादबाहेक विद्यालयमा पढाइने तरिका शिक्षक केन्द्रित छ। एउटा ‘नोटबुक’ बनाएर त्यसैको आधारमा विद्यार्थीलाई पढाइन्छ र शिक्षकका कुरा मात्र सही भन्ने भ्रम सृजना गरिन्छ। शिक्षकले भनेका कुरा मात्र सही र आफूले भनेका कुरामा कम सत्य भन्ने लाग्न थाल्छ विद्यार्थीलाई। त्यही भएर ऊ शिक्षककै नोटलाई आफ्नो ज्ञान ठान्न थाल्छ, जसको कारण विद्यार्थीको वैचारिक तथा सृजनशीलतामा ह्रास आउँछ। ऊ सुक्ष्म भएर शिक्षकसँग प्रतिप्रश्न गर्न सक्दैन।  यदि गरिहालेशिक्षकले आफूलाई असुरक्षित महसुश गर्न सक्छ र भन्न सक्छ,‘मलाई चुनौती दिने?’ त्यो डरले विद्यार्थीको जिज्ञासुपन र उत्सुकता मर्छ। जहाँ प्रश्नहरू गर्न दिइँदैन वा गरिँदैन त्यहाँ उत्तरहरूको खोजी हँुदैन वा गरिँदैन।

यसैगरी कक्षाकोठामा अन्तरक्रिया कम गराइन्छ। विद्यार्थीका धारणाहरू राख्न र खण्डन गर्न अनिवार्य गरिँदैन। विद्यार्थीका आवाजलाई उल्टै कक्षाकोठाभित्र दबाइन्छ जसकारण उनीहरूको सृजनशीलता र वैज्ञानिकता मर्छ। ‘अथोरिटी’लाई प्रश्न गर्न सक्ने सामथ्र्यको विकास गराइँदैन। बन्द बाकस बाहिर गएर सोच्न सक्ने मानसिकताको विकास गराइँदैन। अनि कसरी सोच्न सकिन्छ त्यस्तो शिक्षा प्रत्युत्पादक हुन्छ भनेर ?अनि सिर्जनशील कल्पनाशिलताको विकास गर्न सकिन्छ भनेर?विकसित देशहरूको कक्षाकोठाभित्र शिक्षाको अभ्यास हेर्ने हो भने शिक्षकले मध्यस्तकर्ताको मात्र भूमिका खेलेको हुन्छ। सम्पूर्ण काम विद्यार्थी आफैंले गरिरहेको हुन्छ– शीर्षक छान्नेदेखि, त्यसका बारेमा बोल्ने, खण्डन गर्ने र त्यसको निष्कर्षमा पुग्नेसम्म।

न शिक्षकले म सम्पूर्ण कुरा जान्दछु भनेर घमण्ड गर्छ। न विद्यार्थीले नै शिक्षकबाट सम्पूर्ण कुराको अपेक्षा गर्छ। सिकाइ र बुझाइ पारस्परिक हुन्छ।एकदिन कक्षाकोठामा अंग्रेजी व्याकरणको प्रसंग चल्दैथियो। शिक्षकले प्रयोग गरेको ‘कोलन चिन्ह’का (:) बारेमाविद्यार्थीले प्रश्न उठाउँदै भनिन्, ‘त्यहाँ कोलन होइन, सेमीकोलनको (;)प्रयोग हुन्छ।’ उनले व्याकरणको पुस्तक खोल्दै सप्रमाण देखाइन्। त्यसलाई शिक्षकले ससम्मान लिए र भने ‘धन्यवाद, मैले पनि यो सिकें।’ के त्यो सहजता, त्यो बुझाइ नेपाली शिक्षक तथा विद्यार्थीबीच हुन सक्ला ? कक्षा कोठाभित्रको सिकाइविद्यार्थीकेन्द्रित हुनुपर्छन कि शिक्षककेन्द्रित।कक्षाकोठाभित्र विद्यार्थीसँग उनीहरूको  सृजनशीलता र उत्सुकतालाई उजागर गर्न सक्ने छलफल र बहस हुनु जरुरी छ। जसका कारण उनीहरूको मष्तिस्क फराकिलो हुन्छ। सोचाइमा वैज्ञानिकता हुन्छ।  आत्मबल र निडरपनको विकास हुन्छ। यसले समाज र राष्ट्रप्रति उनीहरूलाई जिम्मेवार बनाउँछ।
जीवन र जगत्का विभिन्न आयामका लागि ढोका खुल्ला हुन्छ। एकै ठाउँमा पुग्ने सयौं बाटाखुल्छन्। एउटै बाटोबाट सयौं ठाउँहरू पुग्न सकिन्छ र संसारलाई हेर्ने दृष्टिकोण बदलिन्छ। नयाँ चेतनाको विकास हुन्छ। विश्वका नामुद शिक्षाविद्हरूले कल्पनाशिलतालाई अति नै जोड दिएको पाइन्छ। चाहे त्यो अनुसन्धानमा होस् वा लेखाइमा। जब हरेक व्यक्तिको हरेक विचारलाई सम्मान गर्न सक्ने शिक्षा प्रणालीको विकास हुन सक्दैन तबसम्म समाज र राष्ट्रको विकास हुन सक्दैन।

पाठ्यक्रममा परिणामबारे अस्पष्टता
नेपालमा बनाइएका बढीभन्दा बढी पाठ्यक्रमहरूमा उद्देश्य र उपलब्ध परिणामहरू ठोस छैनन्। हरेक पाठ्यक्रमको तयारी पढाइने विषयहरूका लागि धेरै महŒवपूर्ण हुन्छ। त्यो पाठ्यक्रम केका लागि, कुन प्रयोजनका लागि, त्यो विषय पढिसकेपछि विद्यार्थीले लिन सक्ने सीप तथा ज्ञान के हो? प्रष्ट हुनुपर्छ। अमेरिकाको पाठ्यक्रमको कुरा गर्ने हो भने त्यहाँ सबै कुरा खुलाएर लेखिएको हुन्छ। जस्तो  कतिदिनमा पढाएर सकिने, पाठ्यक्रमको उद्देश्य, उपलब्ध परिणाम, विद्यार्थीको जिम्मेवारी, पढ्नुपर्ने पाठ्य सामग्रीहरू, गर्नुपर्ने गृहकार्यहरू र कक्षा नीति। यदि यी सबै कुरा नगरे पाउने सजाय जस्तो प्राप्तांक घट्ने खुलाइएको हुन्छ। कक्षाको पहिलो दिन त त्यही पाठ्यक्रम बुझाउन मात्रै लाग्छ।

यो प्रविधिको युग हो। प्रविधिको प्रयोगले शिक्षाको सिकाइ र बुझाइमा आमुल परिवर्तन ल्याएको छ।प्रविधिका विभिन्न प्रयोगले शिक्षालाई गुणस्तर बनाएको छ।

विद्यार्थीले त्यो राम्ररी बुझेपछि मात्रै कोर्ष अगाडि बढ्छ। कतिपय कक्षामा शिक्षकले विद्यार्थीलाई ‘मैले यो पाठ्यक्रम बुझें’ भनेर हस्ताक्षर समेत गर्न लगाउँछन्। ठोस उद्देश्य र उपलब्ध परिणामको आधारमा शिक्षाको उत्पादनशीलतालाई नाप्न सकिन्छ। विद्यार्थीले पनि भोलि यो विषय पढिसकेपछि म के गर्न सक्छु भन्ने थाहा पाउँछ।  पाठयक्रम तयार पार्नु सजिलो कुरा होइन। यसमा अनुसन्धानको खाँचो छ जस्तो  कस्तो पाठ्यक्रम तयार गरे विद्यार्थीले भोलि आफूलाई समाजमा स्थापित गर्न सक्छ? जागिर खान सक्छ?भविष्य बनाउन सक्छ? आदि।

सिकाइमा प्रविधिको प्रयोगको अभाव 
यो प्रविधिको युग हो। संसारको कुनै कुनामा बसेर पनि गर्नुपर्ने कामहरू गरिरहेका हुन्छन् मानिसले। अहिले आएर प्रविधिको प्रयोग कक्षाकोठामा पनि अपरिहार्यझैं भएको छ। प्रविधिको प्रयोगले शिक्षाको सिकाइ र बुझाइमा आमुल परिवर्तन ल्याएको छ।प्रविधिका विभिन्न प्रयोगले शिक्षालाई गुणस्तर बनाएको छ। कक्षामा प्रयोग गरिने ‘पावर प्वाइन्ट प्रिजेन्टेसन’, ’युट्यूब भिडियो’को प्रयोगसँगै विद्यार्थीलाई नै ब्लग खोल्न लगाएर त्यसैमा अनलाइन छलफल गर्न लगाउनेदेखि विभिन्न एपहरू जस्तो जुम, वेबिनार, टिम मिटिङको प्रयोग गरेर सिकाइलाई प्रभावकारी बनाइएको छ। कोर्षबुकहरू पनि विभिन्न अनलाइन माध्यमबाट उपलब्ध गराइन्छ।

ज्ञानको दायरा अब एउटा पुस्तकमा मात्र सीमित छैन जसलाई काखी च्यापेर विद्यार्थी सधैं हिँडिरहोस्। प्रविधिको युगमा इन्टरनेटभरि छ्याप्छ्याप्ती पाइन्छ। विचार र ज्ञानको सागर त्यसको प्रयोग गर्ने बानीको विकास अपरिहार्य छ। जसको कारण भोलि विद्यार्थी प्रविधिसँग पनि उत्तिकै जानकार हुनसकोस्। तर नेपालमा प्रविधिको प्रयोग धेरै न्यून छ। सबैजनाको प्रविधिसँग पहुँच छैन। यस्ता प्रविधिहरूको विकास पहिल्यै भइदिएको भए देशमा कहिलेकाँही आउने प्राकृतिक महामारीबीचमा अनलाइन नै बसेर कक्षा सञ्चालन गर्न सकिन्थ्यो। जुन कोभिड महामारीले महसुस गरायो। तर अनलाइन कक्षाको पहुँच सहरिया क्षेत्रका केही सम्रान्त तथा मध्यमवर्गीय परिवारलाई मात्र छ।अमेरिकीशिक्षाविद् डेभिड वार्लिक भन्छन्, ‘हरेक कक्षाकोठामा, विद्यार्थी तथा शिक्षकका हात–हातमा प्रविधिको प्रयोग अनिवार्य छ किनभने यो हाम्रो समयको कपी र कलम हो र यो एउटा लेन्स हो जसका माध्यमबाट हामी आफू बाँचेको संसारको अनुभव गर्न सक्छौं।’

परीक्षा लिइने तरिकामा समस्या
धनी देशहरूमा कसरी परीक्षालाई वैज्ञानिक बनाउन सकिन्छ भनेर सोचिन्छ तर हाम्रो देशमा उसो भएको पाइँदैन। वर्षभरी पढेको कुराको मापन प्रश्नपत्रमार्फत केही प्रश्नहरू सोधेर गरिन्छ जसको आधारमा त्यो विद्यार्थीको क्षमताको मापन गरिन्छ।  जुन एकदमै परम्परागत र अवैज्ञानिक छ। त्यस्तो परीक्षा प्रणालीबाट न विद्यार्थीको सृजनशीलताको मापन गर्न सकिन्छ न त्यहाँबाट कुनै व्यावहारिक ज्ञान नै प्राप्त हुन्छ। त्यस्तो उत्पादनले देश र समाजका लागि के गर्न सक्छ ? यद्यपि आजभोलि केही विद्यालयमा सिकाइको वैज्ञानिक अभ्यास भने गर्न थालिएको छ तर देशव्यापी हुन सकेको छैन।

विद्यार्थीको ज्ञानको मापन उसले मानिससँग गर्ने व्यवहार कक्षामा रहँदा उसको सहभागिता र उसले गर्ने छलफलको विषयवस्तुप्रतिको दखल, समयप्रति उसको सजगता, उसले गरेको बाह्य खोज तथा अनुसन्धान, विषयवस्तुप्रतिको चाख, अन्य कुराको दक्षता, विद्यार्थीको मानवीयपन यी सबै कुरासँग हुनुपर्छ। सम्झिन्छु, अमेरिकी प्रोफेसरले ‘रिकमेन्डेसन लेटर’ लेखिँदिदा मेरो पढाइको क्षमताभन्दा पनि मेरो ‘सेन्स अफ ह्युमर’, मानवीयपन र इमान्दारिता आदिलाई जोड दिएकी थिइन्। विद्यालयको काम भनेको विद्यार्थीलाई उक्त विषयका प्रश्न–उत्तर दिन सक्ने मात्र बनाउनु होइन, त्यस विषयमा क्षमतावान् बनाउनु मात्र होइन, एउटा सभ्य, सहनशील र सिर्जनशील नागरिक पनि बनाउनु हो।

अनुसन्धानात्मक लेखनको स्तरियताको अभाव 
नेपालमा अनुसन्धानात्मक लेखनको पाटो हेर्ने हो भने त झन् बिजोग नै छ। अझै पनि स्नातकोत्तर स्तरका शोधपत्रको कुरा गर्ने हो भने कि अर्काको चोरेर कि कसैलाई लेख्न लगाएर तयार पारिन्छ। उनीहरूलाई थाहा छैन कि शोधपत्र कसरी लेख्ने ? यसका प्राविधिक पक्षहरू के के हुन् ? यसको कारण एउटै छ कि अनुसन्धानात्मक लेखनको अभ्यास कहिल्यै भएको हुँदैन। त्यो एकैचोटि स्नातकोत्तर तहमा पुगेपछि थेसिस लेख्ने बेला गरिन्छ। अमेरिकाका विद्यालयतिर हेर्ने हो भने स्नातक तह, अझ भनौंविद्यालय तहबाटै तर्क लेख्न, त्यसको वैकल्पिक तर्कबारे सोच्न, अनुसन्धान गर्न, बाहिरबाट ल्याइएका स्रोतहरूको पृष्ठभित्र प्रयोग गर्न, अनुच्छेदहरू मिलाएर लेख्न तथा सन्दर्भसूचीको सही प्रयोग गर्न सिकाइन्छ।

सँगै अनुसन्धानात्मक लेखनको बनोट, संगठन र निष्कर्ष लेख्न सिकाइन्छ। कसैको विचारलाई नखुलाई लेखेको खण्डमा त्योबौद्धिक चोरी हुन सक्छ र त्यो कति घातक हुन्छ भन्ने सिकाइन्छ। नेपालको शिक्षामाअनुसन्धानको धेरै महत्व छ। अनुसन्धानले नखुलेका र नदेखिएका पाटाहरूको उजागर गर्छ, समस्या पत्ता लगाउँछ र त्यसको समाधानको खोजी गर्छ। नीतिनिर्माणमा टेवा पुर्‍याउँछ। व्यक्तिलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउँछ।

वर्षेनीविद्यालयको मूल्यांकनमा अभाव
अमेरिकाको शिक्षा प्रणालीको कुरा गर्ने हो भने हरेक वर्ष शिक्षकहरूको र उनीहरूले गरेको कामको मूल्यांकन गरिन्छ। शिक्षक आफूले गरेका कामहरूको मूल्यांकन गर्छ। वर्षभरि के काम भयो, कतिवटा शोधपत्र लेखियो, कतिवटा विषय पढाइयो, कतिवटा कोर्ष बनाइयो, के प्रकाशन गरियो, स्वयंसेवक काम कति गरियो आदि।हरेक सेमेस्टरको अन्त्यमा विद्यार्थीले पनि शिक्षकको मूल्यांकन गर्छन्। शिक्षकले कस्तो पढाए, विद्यार्थीप्रति कति जवाफदेही र जिम्मेवार भए, कति बुझाउन सके आदि।  कतिपय विद्यालयमा शिक्षकले आफूले पढाएको विषयमा विद्यार्थीको प्रगति कस्तो रह्यो, उद्देश्यहरू पूरा हुनसक्यो कि सकेन भन्ने मूल्यांकन हुन्छ।जसले अर्को वर्ष कसरी पढाउने र के उद्देश्य राख्ने भन्ने कुराको निर्धारण गर्दछ। तर त्यस्तो अभ्यास नेपाली विद्यालय तथा विश्वविद्यालयमा भएको पाइँदैन।

राज्यको दायित्वः शिक्षामा पहुँच
माथिका यावत कुरालाई सम्बोधन गर्न राज्य सक्रिय भएर लाग्नुपर्छ। शिक्षामा  सबैको पहुँच हुनुपर्छ। राज्यले बजेट मात्र छुट्याउने नभएर, शिक्षा नीति कस्तो हुनुपर्छ र शिक्षानीतिलाई व्यावहारिक, सीपमूलक र वैज्ञानिक बनाउन कस्तो नीति ल्याउनुपर्छ भन्ने बारेमा छलफल हुनुपर्छ। छलफल गरेर समाज र राष्ट्रको उन्नति हुने किसिमको शिक्षा नीति तथा प्रणाली बनाइनुपर्छ। अनिमात्र हामीले अल्बर्ट आईन्स्टाईनले भनेजस्तो फरक सोचको निर्माण गर्न सक्छौं। जसले समस्याको समाधान गर्न सक्छ। समस्याको समाधान गर्न परम्परागत सोचभन्दा बाहिर निस्किन सक्नुपर्छ।
- लेखक साउथ जर्जिया स्टेट कलेज अमेरिकामा अध्यापन गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.