सिक्वेल लेखनको उत्कृष्ट नमुना

सिक्वेल लेखनको उत्कृष्ट नमुना

नेपाली साहित्यमा वानीरा गिरि कवि एवं उपन्यासकारका रूपमा परिचित छन्। अत्यन्त सशक्त र लोकप्रिय उपन्यास कारागारपछि उनको निर्बन्ध शीर्षकमा दोस्रो उपन्यास प्रकाशित भएको हो। कारागारमा घरभित्रकै स्वार्थीहरूले आफ्नो कुचक्रको जालोमा फसाएर अविवाहित रहन बाध्य पारिएकी नारीका पीडाको प्रस्तुतिका साथ मानिसमा निहित असीमित लालसी प्रवृत्तिलाई देखाउँदै मानवीय अस्मिताको खोजी गरिएको छ। धनको अभिमान तथा पितृसत्तात्मक स्वेच्छाचारी प्रवृत्तिप्रति बदलाको भाव राखेर गतिछाडा हुन पुगेकी पत्नीका यौनाचारी तथा स्वेच्छारी प्रवृत्ति तथा सम्पन्नतामा बिक्न विवश पुरुषको मानसिक पीडा देखाइएको यस उपन्यासमा विसंगत जीवनप्रति निराशा र पलायनवादी दृष्टिकोण अभिव्यञ्जित छ।

निर्बन्धमा लोग्नेको स्वेच्छाचारी र कामुक व्यवहारका कारण उत्पन्न शारीरिक र मानसिक दुव्र्यवहारको सिकार हुनुपर्ने नेपाली नारीको नियति र सहनशील प्रवृत्तिको प्रस्तुतिका साथ बाबुले आमाप्रति गरेको दुव्र्यवहारका कारण विद्रोही बन्न पुगेकी छोरीको संवेदनाहीन बदलाको भावनामा परिणत हुन पुगेको मानसिकतालाई देखाइएको छ। सामाजिक र पारिवारिक मर्यादाअनुरूप नचले जीवनमा दुखद एवं त्रासद परिणाम भोग्नुपर्ने भावको प्रकटीकरण पाइने यस उपन्यासमा समय बितेपछि मात्र सत्यको आभास र पश्चात्तापबोध भएको छ। अभिभावकको चारित्रिक प्रभाव केटाकेटीमा पर्ने मनोवैज्ञानिक तथ्यको उद्घाटन गरिएको यस उपन्यासमा स्वच्छन्द यौनाचारी नारीको मनोविश्लेषण गर्दै ऊभित्र सल्किएको परपीडक प्रवृत्तिले परिवार नै तहसनहस भएको संकेत गरिएको छ।

व्यक्तिको विसंगत मानसिकताका कारण नभई सामाजिक स्वार्थी एवं स्वेच्छाचारी व्यक्तिको चरम स्वार्थका कारणबाट उत्पन्न विसंगत जीवनलाई मूल स्वर बनाइनु, स्वार्थीका कुचक्रको जालोमा फसाइएका दुई भिन्न व्यक्तिको आहत मानसिकताको वैयक्तिक भावनाको प्रस्तुति यी दुवै उपन्यासमा पाइने समानता हुन्। सृष्टिका सम्पूर्ण प्राणीमा निहित नैसर्गिक यौनेच्छाको परितृप्ति नारी तथा पुरुष दुवैले गर्न पाउनुपर्ने धारणा अभिव्यञ्जित यिनका दुवै उपन्यासमा स्वस्थ र मर्यादित ढंगले यौनको तृप्ति हुनुपर्छ भन्ने दृष्टिकोण अभिव्यञ्जित छ। यिनका दुवै उपन्यासमा पुरुषले मनपरी ढंगले परिस्थितिको फाइदा उठाउने र नारी मात्र पीडित भई पिल्सिएर आफ्नो जीवन नै समाप्त गर्न बाध्य हुनुपर्ने सामाजिक दृष्टिकोणको विरोध गरिएको छ। यसखाले सामाजिक विद्रूपपूर्ण स्थितिले निम्त्याउने दुर्घटनालाई प्रस्तुत गर्दै नारी विरोधी गतिविधि एवं पूर्वाग्रही धारणाहरूको विरोध प्रत्यक्ष एवं परोक्ष दुवै रूपमा यिनका दुवै उपन्यासमा भएको छ।

मूल भावबाहेक गिरिका उपन्यासमा चरित्रगत समानता पनि रहेको छ। कारागार र निर्बन्ध उपन्यासका सबैजसो सहभागीलाई कुनै पनि प्रकारको मानवीय नामबाट सम्बोधन गरिएको छैन। दुवै उपन्यासका प्रमुख नारी सहभागीलाई कुनै औपचारिक नामद्वारा सम्बोधन नगरी सम्पूर्ण उपन्यासभरि ‘म’ का रूपमा उपस्थित गराइएको छ भने प्रमुख पुरुष सहभागीलाई दुवै उपन्यासमा उनीका रूपमा उल्लेख गरिएको छ। यीबाहेक यस उपन्यासका अन्य सबै सहभागी नातासम्बन्ध पारिवारिक नातासम्बन्धका आधारमा सम्बोधित छन्। यसरी कसैलाई पनि कुनै औपचारिक नामले सम्बोधन नै नगरी दुई भिन्न स्वतन्त्र अस्तित्व भएका उपन्यासका माध्यमबाट जीवन्त रूपमा प्रयोगशील एवं नवीन ढंगले तिनै सहभागीलाई निरन्तरता दिनसक्नु वानीरा गिरिको औपन्यासिक चरित्रविधानमा पाइने मूल वैशिष्ट्य हो। 

सिक्वेल लेखनलाई समेत स्वतन्त्र र पृथक् कृतिको संरचनामा प्रस्तुत गर्न सफल वानीरा गिरिका दुवै उपन्यास नवीन शिल्प समेतका दृष्टिले उल्लेखनीय, विशिष्ट र उपलब्धिमूलक देखिन्छन्। 

मूलकथा र चरित्र एउटै भएकाले यी उपन्यासको परिवेशमा समानता पाइनु स्वाभाविकै हो। उच्चवर्गीय सहरिया पारिवारिक परिवेश चित्रित यी उपन्यासमा सामाजिक परिवेशका तुलनामा आन्तरिक परिवेशको चित्रण सशक्त रूपमा भएको छ। यी दुवै उपन्यासमा व्यक्तिले भोग्नुपरेका विसंगत परिस्थितिबाट उत्पन्न वातावरण आन्तरिक र बाह्य दुवै पक्षबाट उराठलाग्दो मात्र नभई दुखद र त्रासद देखिन्छन्। विसंगत परिस्थितिबाट आहत व्यक्तिको बाह्य क्रियाकलाप एवं संवेदनशील भावुकताको प्रस्तुतिका साथ दमित र कुण्ठित यौनेच्छालाई शिष्ट, शालीन, विवेकपूर्ण ढंगले अभिव्यक्त गर्नु औपन्यासिक उद्देश्य रहेको वानीरा गिरिका यी दुवै उपन्यास प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छन्।

पहिलो उपन्यासको शीर्षक ‘कारागार’ को व्यतिरेकी अर्थ प्रदान गर्ने भावका निकट रहेको ‘निर्बन्ध’ शब्दलाई दोस्रो उपन्यासको शीर्षक बनाइएको छ। प्रमुख पुरुष सहभागीको निधनबाट पहिलो उपन्यासको अन्त्य र दोस्रो उपन्यासको प्रारम्भ गरिएको यी दुवै उपन्यासमा कथावस्तुको प्रस्तुति शृंखलाबद्ध ढंगले भएको छ। कारागारमा सहायक तथा नेपथ्य सहभागीको रूपमा प्रस्तुत गरिएकी नारी सहभागीलाई निर्बन्धमा प्रमुख सहभागीको स्थान दिएर औपन्यासिक स्वरूप प्रदान गरिएको छ भने निर्बन्धमा कारागारकी प्रमुख सहभागीको संकेत मात्र गरिएको छ। एउटै सहभागीको यस प्रकारको शृंखलाबद्ध प्रयोग नेपाली उपन्यासमै विशिष्ट र मौलिक प्रस्तुतिका रूपमा देखापरेको छ।

दुवै उपन्यासमा एउटै कथावस्तुलाई शृंखलाबद्ध रूपमा स्वतन्त्र रूपले अगाडि बढाएर पहिलो उपन्यास कारागारको सिक्वेलका रूपमा निर्बन्ध उपन्यास लेखिएको भए पनि उपन्यासकारले चाहिँ यी दुईलाई सिक्वेल लेखन भनेर कतै पनि संकेतसम्म गरेको भेटिँदैन। फलस्वरूप यी दुवै उपन्यास पढ्ने पाठक तथा विभिन्न दृष्टिकोणबाट यिनका उपन्यासको अध्ययन गर्ने समालोचक तथा यिनकै उपन्यासमा शोधकार्य गर्नेहरूले समेत यी दुई उपन्यासलार्ई सिक्वेल लेखन भनेर पत्तो नपाएको स्थिति रहेको पाइन्छ। पहिले कारागार पढेर पछि निर्बन्ध पढ्दा पनि यी दुई सिक्वेल लेखन हो भनेर पत्तो पाउन हम्मेहम्मे नै पर्छ। कारागारमा उसको उपस्थिति पत्नीबाट पीडित भई संवेदनशील एवं मायालु छहारीको खोजीमा हिँडेको एउटा व्यक्तिका रूपमा भएको छ भने निर्बन्धमा विवाहित पत्नीमा रहेको बदलाको आगोले खाक बनाएको व्यक्तिका रूपमा देखाइएको छ। प्रस्तुत उपन्यासका पाठक तथा यीबारे चर्चा गर्ने अधिकांश समालोचकले यी दुई उपन्यासलाई सिक्वेल लेखन भनेर पत्तो नपाए पनि यो उपन्यास सिक्वेल लेखन नै हो भन्ने कुराको पुष्टि यी उपन्यासमा अभिव्यक्त सन्दर्भबाट भएको छ।

दुवै उपन्यासको मूल पुरुष सहभागी ‘उनी’ को मृत्युको सन्दर्भबाट कारागार उपन्यासको अन्त्य भएको छ भने निर्बन्ध उपन्यासको प्रारम्भ उही ‘उनी’ कै मृत्युको सन्दर्भबाट भएको छ। यसका लागि दुवै उपन्यासमा उल्लिखित सन्दर्भ यसप्रकार छन् : 

कारागार— ‘आज बिहानै वीरगन्ज भन्सारबाट आउँदा हिउँमा चिप्लिएर गाडी पल्टिएछ र एघार बजे वीरअस्पतालमा सास गएछ।’ यो अभिव्यक्ति उनी पात्रको प्रेमिकाका रूपमा रहेकी कारागारकी मुख्य नारी सहभागी म पात्रको हो। 

निर्बन्ध— ‘वीरगन्जबाट आउँदा दामन पुगेपछि हिउँमा गाडी चिप्लिएछ वीर हस्पिटलमा प्राण गएछ’ यो अभिव्यक्ति उनी पात्रको पत्नीका रूपमा रहेकी निर्बन्धकी मुख्य नारी सहभागी म पात्रको हो। 

यसरी प्रमुख सहभागी उनीको मृत्यु प्रसङ्गबाट उपन्यासको कथानकलाई निरन्तरता दिइएको छ। 

प्रमुख पुरुष सहभागीको शिक्षासँग सम्बन्धित जानकारी यी दुई उपन्यासमा यसरी दिइएको छ : 

कारागार— ‘मैले दिल्ली विश्वविद्यालयबाट अब्बल दर्जामा बिजिनेस म्यानेज्मेन्टको डिग्री हासिल गरेँ’। यो स्वयं ‘उनी’ ले दिएको अभिव्यक्ति हो। 

निर्बन्ध— ‘उनी पढ्नमा खुब तेज रे। दिल्लीबाट म्यानेजमेन्ट गरेका छन् रे’। बिहाको कुरा चलाउने सिलसिलामा निर्बन्धकी म पात्रले दिएको अभिव्यक्ति हो। 

दुवै उपन्यासको मूल पुरुष सहभागी ‘उनी’ ले आफ्नो विवाहको सन्दर्भ यसरी उल्लेख गरेको छ :

कारागार—‘एकाएक कान्छी काकीको ठुल्दाइकी छोरीको बिहेको प्रस्तावले मेरो मस्तिष्कलाई पारदर्शक बनायो।’ 

निर्बन्ध—  ‘हुँदाहुँदा सबै क्यान्डिडेटमध्ये सानी फुज्यूको सिङ्गो टुहुरो भतिजोलाई क्यान्डिडेटका रूपमा सर्वसम्मतिबाट छानियो।’ यो निर्बन्धकी मूल नारी सहभागीको अभिव्यक्ति हो। 

यहाँ सम्झनुपर्ने कुरा के छ भने कारागारको मूल पुरुष सहभागीकी कान्छी काकी र निर्बन्धको मूल नारी सहभागीकी सानी फुज्यू एउटै व्यक्ति हुन्। 

कारागारकी महिला सहभागी पेसाले सेक्सन अफिसर हो। उसको उल्लेख यी दुई उपन्यासमा यसरी गरिएको छ। 

कारागार— ‘मजस्तो साधारण सेक्सन अफिसर भई खाइटोपलेकी स्वास्नीमान्छे’ भन्दै कारागारकी म पात्रले आफ्नो परिभाषा दिएको अभिव्यक्ति हो यो।  

निर्बन्ध—  ‘मबाट प्रताडित उनी पढेलेखेको एउटी सेक्सन अफिसरसँग लागेको घुइरोघुइरो कुरा पनि सुनेको छु’  भन्दै निर्बन्धकी महिला सहभागी मले यसरी परिस्थितिको परिचय दिएकी छ।  

निर्बन्धकी महिला सहभागीको स्वेच्छाचारी चरित्रको निन्दा स्वयं उसका दाजुहरूले यसरी गरेका छन् :

‘ज्वाइँसाहेब, बहुला कुकुर्नीको कुनै ओखती केही छैन।’  

आफ्ना दाजुहरूले गरेको चरित्रको निन्दाको पुष्टि निर्बन्ध उपन्यासकी नायिका स्वयंले यसरी स्वीकार गरेकी छ — ‘तातोपन र भोग नै मेरो जीवनको बाटो भयो, ...शरीर र भोगको दृष्टिले बघिनीको परकाया प्रवेश भइसकेको थियो मभित्र 

यसरी गिरिले कारागारकै वस्तुलाई निरन्तरता दिई तिनै सहभागीका माध्यमबाट निर्बन्ध उपन्यासको सिर्जना गरेको तथ्य उपर्युक्त उदाहरणबाट पुष्टि भए पनि वस्तु, चरित्र, संरचना आदिका दृष्टिले यी दुवै भिन्न र स्वतन्त्र उपन्यासका रूपमा देखापरेका छन्। यसरी एउटै विषयलाई क्रमिक रूपमा प्रस्तुत गर्दै तिनै सहभागीका माध्यमबाट स्वतन्त्र र भिन्नाभिन्नै स्वरूपका स्वतन्त्र औपन्यासिक संरचनाको निर्माण गर्नु वानीरा गिरिको वस्तुगत औपन्यासिक वैशिष्ट्य हो। सामान्यतया अघिल्लो कृतिको कुनै सन्दर्भबाट कथावस्तुको उठान गरिए पनि त्यसपछिका सन्दर्भहरू विल्कुल नयाँ दिनसके सिक्वेल लेखन रोचक, सशक्त, प्रभावकारी एवं नितान्त मौलिक हुनसक्ने स्थितिप्रति उपन्यासकार वानीरा गिरि अत्यन्त सचेत देखिन्छिन्।

पहिलो कृतिका घटनाहरूलाई पछ्याएर लेखिए पनि सिक्वेल लेखनका सन्दर्भबाट पछिल्लोमा स्वतन्त्र रूपमा घटनाको प्रस्तुति हुनुपर्छ र पहिलोमा भन्दा नवीन द्वन्द्वको समायोजन गर्न सक्नुपर्छ। पहिलो कृतिको पात्रलाई प्रयोग गरे पनि अर्को कृतिको नयाँ पात्रमा ध्यान केन्द्रित गर्नसक्नुपर्छ। यस दृष्टिले हेर्दा उपन्यासकार गिरिले बडो सचेत भएर सिक्वेल लेखनलाई सफल बनाएकी छन्। पहिलोमा प्रमुख सहभागीका रूपमा उपस्थिति गराइएको सहभागीलाई दोस्रोमा संकेत मात्र गरिएको छ भने दोस्रोमा प्रमुख सहभागीका रूपमा रहेकी प्रमुख नारी सहभागीलाई पहिलोमा सामान्य संकेत मात्र गरिएको छ। क्रमबद्ध रूपमा घटना र पात्रलाई अगि बढाएको भए पनि एउटा उपन्यास पढ्दा पाठकलाई अर्को उपन्यासको घटना र पात्र सम्झना नै नहुने गरी सशक्त रूपमा प्रस्तुत गर्नसक्नु वानीरा गिरिको उपन्यास लेखनको कौशल हो। व्यतिरेकी भाव अभिव्यञ्जित शीर्षकलाई समेटेर एउटै कथावस्तुलाई शृंखलाबद्ध ढंगले प्रस्तुत गर्दै स्वतन्त्र रूप र ढाँचामा उपन्यासको सिर्जनामा सिद्धहस्त गिरि सिक्वेल लेखनलाई समेत स्वतन्त्र र पृथक् कृतिको संरचनामा प्रस्तुत गर्न सफल उनका यी दुवै उपन्यास सिक्वेल लेखनको सफल प्रयोगका साथ र नवीन शिल्प दुवै दृष्टिले उल्लेखनीय, विशिष्ट र उपलब्धिमूलक देखिन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.