कोरोनाभित्रको उज्यालो

कोरोनाभित्रको उज्यालो

सकेसम्म प्रकृतिसँग नजिक रहने कोशिस गरौं किनकि प्रकृतिसँगको सहकार्य नै मानव स्वास्थ्यका लागि लाभदायक हुनेछ


ब्रह्माण्डीय अस्तित्वमा एउटा नियम छ, दुःख छ त सुख पनि छ। अँध्यारो छ त उज्यालो पनि। नकारात्मक छ त सकारात्मक पनि छ अनि कालो छ त सेतो पनि। यी दुवै विपरीत गुणहरूको समान उपस्थिति छ पूरा ब्रह्माण्डमा। अनि यी सबै एउटा निश्चित चाल र लयमा घुमिरहेका हुन्छन्। हामी न त यस नियमलाई तोड्न सक्छौं न आफ्नो अनुकूल नै बनाउन। बस् सक्छौं त केवल यस नियमसँगै बेहिसाब चल्न।

ब्रह्माण्डमा आज अस्तित्वमा भेटिएका सम्पूर्ण प्राणीमध्ये सबैभन्दा विशिष्ट र परिष्कृत प्राणी मानिन्छ मानव। मानव जाति विशेष रूपमा आफ्नो बुद्धि र चेतना स्तरका कारण अन्य जातिभन्दा माथिल्लो स्तरमा छ। मानव जातिले यही विशेष गुणको प्रयोग गरेर आफ्नो भाषा, संस्कृति, सामाजिक मूल्यमान्यता आदि हुँदै आजको दिनसम्म आइपुग्दा एक उच्चतम तहको भौतिक विकास गरिसकेको छ। जसलाई भौतिक विज्ञानको रूपमा पनि चिन्दछौं। यही भौतिक विज्ञान वर्तमान अवस्थासम्म आइपुग्दा धेरै ब्रह्माण्डीय रहस्यहरूको पर्दा उघार्न सफल भइसकेको छ। हामी रहेको सौर्य प्रणाली, यसभित्रका विभिन्न ग्रह, उपग्रह, चन्द्रमा, तारा, उल्का पिण्ड अनि यसैभित्रको एउटा सदस्य, मानव जाती बस्ने पृथ्वी समेतको उद्गमदेखि आजसम्मका विभिन्न तथ्यहरू आधुनिक विज्ञानले खोजी गरिसकेको छ।

यससँगै सूर्यको गुरुत्वाकर्षण शक्तिभित्र रहेको सौर्य प्रणालीलगायत सम्पूर्ण आकाशगंगाभन्दा धेरै टाढाको सुपर क्लस्टर अनि त्यसभन्दा पनि टाढासम्मको ब्रह्माण्डको जानकारी आजको भौतिक विज्ञानसँग छ। ब्रह्माण्डीय रहस्योद्घाटनको ठुलो उपलब्धीको रूपमा आज भौतिक विज्ञानसँग ‘भोएजर–१’ नामक मानवनिर्मित यान छ जुन पृथ्वीबाट सबैभन्दा टाढा ३८ एष्ट्रोनिमिकल युनिट पर घुमिरहेको छ। यो आफैंमा अद्भूत उपलब्धी हो। त्यस्तै चिकित्साको क्षेत्रमा आजको विज्ञानले धेरै ठुलो फड्को मार्दै मानव शरीरको सुक्ष्मभन्दा सुक्ष्म परीक्षण गर्न सक्ने प्रविधि विकास गरिसकेको छ। यस अर्थमा हामी धन्य छौं आधुनिक विज्ञानप्रति। तर यस आधुनिक विज्ञान पनि खोज र आविष्कारको एउटा तहभन्दा माथि जान नसकेर अल्मलिरहेको भान हुन्छ। जुन तहभन्दा माथिलाई परा–भौतिकको नाम दिइएको छ।

सन् १६५ देखि १९० सम्म फैलिएको एन्टोनाइन महामारीले रोमन जनसंख्याको एक तिहाई मानिसलाई मृत्युको मुखमा पु¥याएको थियो। सन् १८८९ देखि १८९० सम्मको रसियन फ्लुको कारण १० लाख मानिसले ज्यान गुमाउनु परेको थियो। यस्तै, सन् १९१८ देखि दुई वर्षसम्म नरोकिएको स्पेनिस फ्लुले विश्वमा एक भयानक आतंक मच्चाएको थियो। मानव इतिहासमै सबैभन्दा डरलाग्दो महामारीको रूपमा लिखित यस फ्लुले ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो। त्यस महामारीमा ज्यान गुमाउने अधिकांस मानिस २० वर्षदेखि ४० वर्ष उमेर समूहका थिए, जुन त्यसअघिका महामारीभन्दा नौलो र फरक तथ्य थियो। सन् १९५७ को एसियन फ्लु, सार्स, स्वाइन फ्लु, इबोलाजस्ता महामारी हुँदै सन् २०१९ देखि सुरु भएको कोभिड–१९ ले आज विश्व आतंकित बनेको छ।

अस्पतालमा उपचार गर्ने ठाउँ नपाएर मानिसहरू छटपटाइरहेका छन्, प्राण त्यागिरहेका छन्। पैसा मूल्यहीन बनेको छ, कागजको खोस्टासरह। सजिलोसँग सास फेर्न पाउनु नै कोरोना संक्रमितहरूको आज एक मात्र उदेश्य बनेको छ। जीवनका ठुलाठुला सपना साँघुरिएर सानो सपनामा सीमित भएको छ। त्यही सपना पनि कसैका त पूरा भए तर कसैका भने अधुरै रहे। थाकिसके रुँदारुँदा आफन्त गुमाउनेहरू, रित्तिसके आँखाभित्र आँसुहरू। संसार शोकमा डुबाउने कोरोना भाइरस अगाडि आज आधुनिक विज्ञान निरीहझैं देखिएको छ। दिनरातको प्रयास र मेहनतको बाबजुत जब औषधि विज्ञानले यसको खोप परीक्षण गर्न सफल हुन्छ तबसम्म खोप पूर्ण रूपमा प्रयोग गर्न नपाउँदै भाइरसले आफ्नो रूप फेरिसकेको हुन्छ।

फरक रूपमा देखिएको यस भाइरस पहिलेभन्दा अझ शक्तिशाली बनेर आएको छ। यस कोरोना भाइरस उत्पत्तिको करिव डेढ वर्ष बित्दा पनि यसको निश्चित लक्षण, प्रभाव र यसको संक्रमणबाट पूर्ण रूपमा ठिक हुने उपाय पत्ता लगाउन सकिएको छैन। विश्वलाई नै भ्रम र डरमा राख्न सफल कोरोना महामारी कहिले अन्त्य हुने हो भन्नेमा कसैले बोल्न सक्ने अवस्था छैन। महामारीको दोस्रो भेरियन्ट सकिन नपाउँदै तेस्रो भेरियन्टको समेत लक्षणहरू केही देशमा देखिएको चर्चा चलिरहेको छ। यस्तो परिस्थिति बढ्दै गएमा अहिले उत्पादित खोपसमेत अपडेट गर्नुपर्ने हुनसक्छ। यस्तो जटिल अवस्थामा कहिलेसम्म विज्ञान पनि खोज र अनुसन्धान गरिरहन सक्षम होला ? भोलिका दिनमा यस भाइरस आफ्नो रूप फेर्दै अझ सशक्त हुँदै गएमा विज्ञानले पनि सँगै यसलाई नियन्त्रण गरिरहन सक्ला ?

विश्व मानव समुदाय आज कोरोना महामारीको चपेटाको कारण निषेधाज्ञा र लकडाउनको अवस्थामा छ। मानिस घरभित्रै थुनिएका छन् पिँजडाको सँुगाझैं। उद्योग, कलकारखाना सबै ठप्प छन्, सवारी साधन बन्द छन्। एकपटक फेरि वायु स्वच्छ भएको छ। दिनरात कोरोनाको डर र त्रासबाट गुज्रिरहँदा आकासमा चराहरू भने आनन्द र हर्षका साथ उडिरहेझै देखिन्छन्। न कुनै डर छ नत कुनै चिन्ता। मानिस बाहेकका सम्पूर्ण प्राणी यो कोरोना कालमा स्वाभाविक देखिन्छन्। यसरी हेर्दा कोरोनाको कारण आज केवल मानव जाति प्रताडित छ। किन यसो भइरहेको छ ? धर्तीका अन्य प्राणीभन्दा सर्वश्रेष्ठ प्राणी मानव जातिको मात्र यो अवस्था हुनुमा को जिम्मेवार हुनसक्ला ? कतै हामी आफैं नै पो जिम्मेवार छौं कि ? कतै पृथ्वीको पारिस्थितिक प्रणालीमै असर पर्ने गरी हामी बाहेकका अन्य प्राणी र प्रकृतिको अस्तित्वलाई नै नजरअन्दाज पो ग¥यौं कि ? पर्यावरण र मानिसबिचको सन्तुलन कायम गरेनौं कि ?

यस धरतीमा उपस्थित सम्पूर्ण प्राणीमध्ये विशिष्ट प्राणी मानिस भएता पनि हाम्रा कमजोरी र सीमाहरू थुप्रै छन्। पृथ्वीमा पाइने धेरै जीवहरूले सजिलै सुन्न सक्ने ध्वनी हामी भने सुन्न सक्दैनौं। हामीले सुन्न नसक्ने ध्वनी मुसा वा कुकुरले सुनिरहेका हुन्छन्। मानिसले कुनै वस्तुलाई जस्तो रंगमा देख्छौं, अन्य प्राणीले त्यस वस्तुलाई अर्कै रंगमा देख्छन्। यस धरतीको पारिस्थितिक प्रणाली सन्तुलित राख्न अन्य प्राणीको तुलनामा मानिसको भूमिका न्युन रहेको वैज्ञानिक बताउँछन्। यति सीमाका बाबजुद हामी भने धरतीलाई आफ्नो इच्छाअनुसार चलाउन खोज्छौं, प्रकृतिभन्दा माथि जान खोज्छौं। के यो ठिक होला त ?

पूर्वीय दर्शनका योगीहरूका भनाइअनुसार संसारमा केही मानिस छोडेर बाँकीले आफूभित्र कहिल्यै हेरेनौं। आफूलाई चिन्ने कोशिस गरेनौं। मन, मस्तिष्क र शरीरको सम्बन्ध र संरचनामा कहिल्यै ध्यान दिएनौं। मनलाई सकारात्मक अनि शुद्ध बनाउनेतिर कहिल्यै लागेनौं। जे जे चिजमा समस्या देखिन्छ ती सबै चिजहरू परिवर्तन गर्न तयार भयौं। आफूभित्रकै समस्या पत्ता लगाएर आफैं परिवर्तन हुन भने कहिल्यै तयार भएनौं। पूर्वीय वैदिक सभ्यताको करिब सुरुआती समयमा अस्तित्वमा आएको मानिएको विश्वकै पुरानो ग्रन्थ वेदको एक उपअंगको रूपमा रहेको योगलाई प्रतिपादन गर्दै प्राचीन ऋषि पतञ्जलीले योग शुत्र नामक कृतिको रचना गरे। उक्त योग शुत्रमा उनले योगका आठ अंग अर्थात् अष्टांग योगको बारेमा व्याख्या गरेका छन्। जीवनको अनन्त सम्भावनालाई खोज्नु र यसलाई उच्चतम रूपमा उपयोग गर्नु नै योग हो भन्ने योगीहरूका भनाइ छन्।

मानव शरीरको आन्तरिक विज्ञानलाई बुझ्नु अनि यसका सबै आयामबिच सन्तुलन कायम गर्नु योग हो भन्छन् उनीहरू। यसरी हेर्दा कोरोनाको भयावह परिस्थितिमा योगलाई अँगाल्न सक्यौं भने यसले हाम्रो शरीरको आन्तरिक र बाह्य संरचना मजबुत बनाउने देखिन्छ। योग र प्राणायामको माध्यमद्धारा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन सकिन्छ भनेर योगविज्ञानले भन्छ। यस्ता संक्रमणबाट बच्ने दीर्घकालीन उपाय यिनै हुनसक्छन्। जस्तोसुकै रोगसँग लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमताकै महŒवपूर्ण हात हुन्छ भनेर आजको विज्ञानले समेत मानेको छ।

यस विषम परिस्थितिमा दैनिक जीवनमा योगसँगै आयुर्वेद पनि जोड्नु अपरिहार्य रहेको आयुर्वेदका विज्ञहरू बताउँछन्। आयुर्वेद पनि वेदकै एक उपवेदको रूपमा रहेको ग्रन्थ हो। आजको आधुनिक चिकित्सा विज्ञानको विकास नभइसकेको प्राचीन समयमा आयुर्वेदकै माध्यमद्धारा उपचार गरिन्थ्यो। आयुर्वेदले मानिसको शरीर पञ्चमहाभूत, वायु, आकास, जल, अग्नि र पृथ्वीद्धारा निर्माण भएको मान्यता राख्छ। पञ्चमहाभूतद्धारा निर्माण भएको मानव शरीरलाई आयुर्वेदले बात, पित्त र कफ गरी तीन दोषमा विभाजन गरिएको छ। जब तीन दोषविचको सन्तुलन बिग्रन्छ तब मानिस अस्वस्थ हुन्छ भनेर आयुर्वेदले भनेको छ।

आयुर्वेदले तीनवटै दोषबिच कसरी सन्तुलन बनाउन सक्छ वा के कारणले सन्तुलन बिग्रन्छ भन्ने बोलेको छ। आयुर्वेदले थप प्रष्ट पार्दै पृथ्वी सौर्य प्रणालीको एक हिस्सा भएकाले पृथ्वी र सम्पूर्ण प्राणीमा सूर्य र चन्द्रको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने कुरा गरेको छ। मानव शरीरमा पनि सूर्य र चन्द्रको प्रभावअनुसार बिहान, दिउँसो र बेलुका फरक फरक प्रकृति हुने कुरा यसले गरेको छ। यससँगै आयुर्वेदले मानिसका लागि बिहानको समयमा उठ्नेदेखि, के खाने, के नखाने, कसरी खाने हुँदै राति कुन समयमा सुत्नेसम्मको सम्पूर्ण दिनचर्या र रात्रिचर्याको बारेमा व्याख्या गरेको छ। यसका अलवा कुन मौसममा कस्तो भोजन गर्ने, कुन कुन भोजनसँगै ग्रहण गर्न मिल्ने, कुन एकापसमा विरोधी हुनेसमेत यसले बताएको छ।

भोजन र जीवनशैलीका यी सम्पूर्ण नियमलाई हामीले केही हदसम्म लागू गर्न सकेको खण्डमा पनि मानव स्वास्थ्यमा यसले धेरै सकारात्मक प्रभाव पार्ने देखिन्छ। कोरोना महामारीको यस परिस्थितिमा आयुर्वेदलाई जीवनमा जोड्न सके धेरै लाभ हुनेछ। कोरोनाका कारण धेरै देशको स्थिति भयावह र कारुणिक छ। नेपाल पनि यसबाट अछुतो छैन। तर हरकालो बादलभित्र चाँदीको घेरा हुन्छ भनेझैं यस महामारीको अँध्यारोभित्र छरिएर रहेका आशाका उज्यालालाई समेट्नुपर्छ। वर्षौंदेखि बिछोडिएका सन्तान देख्न आतुर आमाबाबुका आँखाहरू कारोनाकै कारण सन्तान नजिक बस्न पाएका छन्। उच्च शिक्षा हाँसिल गर्न राजधानी छिरेका छोराछोरी गाउँ फर्किएका छन्। धेरै परिवार एक ठाउँमा भेला हुन पाएका छन्, सुखदुःख साट्न पाएका छन्। त्यसैले यो अवसरलाई सदुपयोग गर्दै सकारात्मक अनि जीवन पर्यन्त प्रभाव पार्न सक्ने कार्य गर्ने कोसिस गरौं।

योग, आयुर्वेद साथै आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको अधिकतम रोगको मूल चित्त विकारलाई मानेको छ। त्यसैले चित्तलाई शुद्ध र निर्विकार बनाउन सकारात्मक सोचका साथै बढीभन्दा बढी खुसी र प्रफुल्लित रहने कोसिस गरौं। जति बढी हाँस्न र खुसी हुन सक्छौं, त्यत्ति नै हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि सक्रिय हुँदै जान्छ। समयले सम्भव भएसम्म कम्तिमा पाँचदेखि दस मिनेट प्रत्यक्ष सूर्यको प्रकाशमा बसौं। सकेसम्म प्रकृतिसँग नजिक रहने कोशिस गरौं। प्रकृतिसँगको सहकार्य नै मानव स्वास्थ्यका लागि लाभदायक हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.