भोको पेटमा दुःखको गीत

भोको पेटमा दुःखको गीत

साँझले घुम्टो ओढ्ने तयारी गरिरहेको थियो। सिमसिमे पानी दर्किरहेकै थियो। उनी भने पूरै भिजेकी थिइन्। साउनको तेस्रो साता। भक्तपुरको सूर्यविनायक चोक। गर्मी महिनामा पनि उनी डगडगी काँपिरहेकी थिइन्। डोकामा फर्सीका मुन्टा र काँक्रा थिए। सायद उनलाई बेचिसकेर छिट्टै गाउँ फर्किनु थियो। ‘मुठाको दस ! मुठाको दस ! ल आयो... काँक्रो किलोको ३०।’

तिनेछिनेको आवाजमा बोलिरहेकी थिइन् उनी। मानिसलाई जति सस्तो भए पनि नपुग्ने। ‘दुई मुठाको १५ मा हुन्छ कि हुँदैन ?’ केही ग्राहक मोलमोलाइ गरिरहेका थिए। एकैछिनमा अर्का रैथाने व्यापारी आइपुगे। तिनले पनि मोलमोलाइ गर्न थाले, ‘ल म सबै उठाइदिन्छु, काँक्रो किलोको २५, फर्सीको मुन्टा १५ को दुई मुठा। हुन्छ कि हुँदैन ?’ उनको मुख अँध्यारो भयो। मसिनो स्वरमा यसै भुत्भुताइन्, ‘लकडाउनकै कारणले बेलामा बीउ र मल पाइएन। ढाड कुच्चिने गरी बोकेर गोबर मल हाली फलाको तरकारी यसरी सस्तोमा मिल्काउनु पर्छ। लौ लिनुस्।’ अर्का व्यापारीले त्यही काँक्रालाई किलोको ४० र फर्सीको मुन्टा मुठाको २५ मा बेचिरहेका थिए। बिचौलियाको विषले तलदेखि माथिसम्म कसलाई छोडेको छ र ? साना किसानहरू आफ्ना उत्पादन कि त सस्तोमा बेच्न बाध्य छन् कि त सडक र नालीमा लगेर फाल्न।

केही सातादेखि पंक्तिकार पनि यस्तै केही दुःखका साक्षी बन्न पुगेको छ। झन्डै चार महिनापछि साउनको पहिलो सातादेखि सरकारले लकडाउन हटायो। अर्थात् गरिखाने बाटो केही खुकुलो बनाइदियो। उपत्यकाको पूर्वी नाका साँगाबाट काठमाडौं आवतजावत गर्दा आफैंले देखेभोगेका केही दृश्य निकै नै हृदयविदारक छन्। पसिनाजीवी किसानको पीडा अर्कै छ। उनीहरू उत्पादनलाई कौडीकै भाउमा मिल्काउन बाध्य छन्। कतिले बारीमा ट्र्याक्टर लगाएर फल्न लागेको तरकारी फाँडेका छन् त कतिले नालीमा दूध घोप्ट्याइरहेका छन्।

...
बाह्रबिसेदेखि धुलिखेल हुँदै काठमाडौंमा मानव सागर ओइरिन थाल्यो। लकडाउन खुले पनि काठमाडौं खाल्डो छिर्ने प्रमुख नाका खुलेका थिएनन्। लामो दूरीका सार्वजनिक सवारीका साधन चलेका थिएनन्। भैंसी, कुखुरा र मालसामान ओसार्ने गाडीले समेत भक्कुमार मानिस ओसारेर साँगा ल्याइपुर्‍याउँथे। साँगामा चेक प्वाइन्ट थियो तर तीन चार सय मिटर तल नै यात्रीलाई सडकमा लावारिस मिल्काएर तिनीहरू फर्कन्थे। पैदल यात्रीलाई रोक्ने अधिकार सुरक्षाकर्मीलाई खासै थिएन। तैपनि तिनीहरू सुरक्षाकर्मीसँग सकेसम्म लुकिछिपी तर्किएर या थप सास्ती बेहोर्न नचाहेर ओल्टोकोल्टो हुँदै नाका पार गर्थे। नाका त जसोतसो पार गर्थे तर सुरु हुन्थ्यो तिनको अर्को दुर्दान्त।

कतिपय मानिस गाउँमा दुःख भएरै सहर पसेका हुन्। मौसम, समय र परिस्थिति फेरिए पनि तिनको दुःख फेरिएको पाइन्न। लकडाउन अलि खुकुलो भएपछि तिनलाई सहरले फेरि बोलायो। सहरले के भन्नु, ऋणले बोलायो। घरभेटीको भाडाले बोलायो। साहुले बोलायो अर्थात् उही भोको पेटले बोलायो अनि त्यही दुःखको गीतले बोलायो।

काठमाडौं छिर्न गाडी चलेका थिएनन्। साँगाको ओल्लो नाकामा काठमाडौंबाट गएका केही हल्का सवारीसाधन बल्छी थापेर बस्थे। साँगा-काठमाडौं प्रतिव्यक्ति भाडा ३५ हो तर तिनले ठाडै सात सय माग्थे र पाँच सयसम्ममा लैजान तयार हुन्थे। हिँड्न सक्ने बलियाबांगा त हिँड्न कसिन्थे। बालबच्चा र झोलातुम्ली बोकेका महिलाको दिनहुँ बिजोग देखिन्थ्यो। पानीमा रुज्दै बच्चा रुवाउँदै अनि गहु्रँगा झोला घिच्याउँदै हिँडेको दृश्यले साँच्चै मुटु चिमोट्थ्यो, चिमोटिरहेछ। ‘कोरोनाको यस्तो महामारी छ। गाउँमा जानुभएको मान्छे किन हतार गरेर फर्किनुभएको त ?’, मन थाम्न नसकेर मुटु मागें। पीडादायी उत्तरहरू बर्सिए, घरभेटीले कि कोठा खाली गर्देऊ कि भाडा तिर्देऊ भनेर ठोसिरहन्छन्। साहुले काममा बोलायो। गाउँमा पनि जग्गाजमिन धेरै छैन। काम पनि खासै छैन। अब लकडाउन खुकुलो हुँदैछ गाउँमै बसेर के गर्नु... ? आदि इत्यादि।

‘कसैको आँसुमा कसैको मस्ती छ
नसल्काऊ आगो त्यहाँ मानिसको बस्ती छ...।’

कहिलेकाहीँ आफैंले लेखेका शब्दले आफैंलाई झस्काउँदो रहेछ। २०५५ सालमा लेखेका यी शब्दले बेलाबेलामा मुटु चसक्क पार्छन्। त्यति खेर मानिसको बस्तीमा आगो झोसिने क्रम व्यापक थियो। अहिले पनि त्यो रोकिएको छैन। त्यसमाथि यो कोरोनाको आगो भयंकर रूप धारण गरेर मानिसका बस्तीबस्तीमा पसिसकेको छ। कोरोनापूर्व पनि गरिब, निमुखा र श्रमजीवीको जीवन त्यसै कष्टसाध्य थियो। अहिले त कोरोनाले धेरैका सपना खरानी पार्न लागेको छ। समाजमा बढ्दै गएको पापाचार र अत्याचारको आगोले सर्वसाधारणको थाप्लो सेकाउँदै छ। हुन त कोरोना कुनै एउटा निश्चित व्यक्ति, परिवार, समुदाय या राज्यको मात्रै समस्या होइन। यो विश्वव्यापी सङ्कट हो। यो मानव जीवनमाथिको खतराको साइरन हो। यसबाट मुक्ति पाउन सिंगो विश्व नै छटपटाइरहेको छ। हाम्रोजस्तो मुलुकमा कोरोनाले पनि विभेदी बाटो लिएको हो कि ? कोरोनाले सबैभन्दा बढी असर गरिखाने वर्गलाई नै पारेको छ। एक थरी मानिसलाई कोरोना कमाउने मौका भएर आएको छ। कोरोनाले दिने पीडाभन्दा शोषकले दिने पीडा चर्को छ। कोरोनाकै निहुँमा शक्तिशाली र पहुँचवाला वर्गले निमुखाकै ढाडमा दुःख र अभावको भुतभुते खन्याइरहेका छन्।

सर्पको मुखमा परेको भ्यागुताले वरिपरि आएको कीरालाई खान छोड्दैन रे। यो एउटा प्रचलित सूक्ति हो। कोरोनारूपी कालले मानिसलाई आठैतिरबाट घेरिसकेको छ। महामारी र युद्ध उस्तै हुन्। कहाँ र कहिले कसको जीवनलीला समाप्त पार्छन्, पत्तो हुँदैन। अहिले पनि विश्वको इतिहास कता मोडिने हो ? मानवको भविष्य के हुने हो ? एक किसिमको अनिश्चितता व्याप्त छ। सर्वत्र अन्योल, आशङ्का र त्रासले छाएको छ। हजारौंका दरमा सङ्क्रमित थपिँदै छन्। लासको पहाड चुलिने खतरा बढ्दो छ। मानिस त्राहिमाम छन्। मानवले आफू मानव भएको पुष्टि गर्ने बेला यही हो। एउटा मानिसले अर्को मानिसलाई हातेमालो गरेर मानवता बचाउने बेला पनि यही हो। तर, एकाथरी मानिस कोरोनालाई कमाउने मौसमका रूपमा लिइरहेका छन्। कोही भने कोरोनाको अनुहार देखाएर स्वार्थ पूरा गर्न तल्लीन छन्। आफैं मात्र खाऊँ, आफैं मात्र बाँचौं भन्ने प्रवृत्तिले मानिसलाई कता पुर्‍याउँछ होला ? यस्तो संकटका बेला पनि केही मानिसमा देखिएको एकलकाँटे, डाडे र हाँडीघोप्टे प्रवृत्तिले पीडितका घाउमा नुनचुक छर्ने काम गरिरहेको छ।

सास फेर्न गाह्रो भएको संक्रमण सास्तीको यही बेला अरूको गाँस काटेर कमाउने हतारो किन ? कामना गरौं, भोलि यस्तो दिन पनि नआओस् कि संसार चरम मन्दीको माखेसाङ्लोमा नजाकियोस्। उत्पादनका स्रोतहरू ठप्प भई पैसाले केही किन्न नसकिने अवस्था नआओस्। अनि अहिले गरिब र निमुखालाई चुसेर थुपारेको पैसा भोलि कागजजसरी सडकमा फाल्नु नपरोस् जसरी अहिले किसानले दूध र तरकारी फालिरहेछन्।

जतिखेर पनि कमाउनै पर्ने, जसरी पनि कमाउनै पर्ने स्वार्थी प्रवृत्ति हावी हुनाले आज भरिया, मजदुर, किसानलगायत समाजको पिँधमा रहेका विभिन्न पेसाकर्मीको जीवन संकटपूर्ण बन्न पुगेको छ। कालाबजारी, ठग, कमिसनखोर र भ्रष्टहरूको चलखेल बढेर तिनै कमजोर मानिसको रगत र पसिनामा पौडी खेल्न उद्यतहरूको अनुहार देख्दा सर्पको मुखमा परेको भ्यागुताको कहावत याद आउँदो रहेछ !

लकडाउनको डरबाट मानिसले ऋण गरेर भए पनि खाद्यान्न थुपार्न थाले। सक्नेहरूलाई लकडाउन चाड बनेर आयो। खानाका विभिन्न परिकारले फेसबुक र इन्स्टाग्रामका भित्ता रंगिए। अर्कातिर खान नपाएर मानिस भोकभोकै मर्न थाले। सयौंले आत्महत्या गरे। यसरी लकडाउन एउटा वर्गका लागि मस्ती बन्न पुग्यो भने अर्को वर्गका लागि सास्ती। अहिले पनि ठूल्ठूला व्यापारी, कालोबजारी, ठेकेदार, टाठाबाठा र भ्रष्ट पथमार्गीहरूलाई रजाइँ छ। सोझासीधा र गरिखाने मानिसलाई सजाय बनेको छ कोरोना। समाज स्पष्ट रूपमा चिराचिरा परेको छ। विभिन्न वर्गको सिर्जना भएको छ। जस्तै गरिखाने वर्ग र सोसेर खाने वर्ग। काम गर्ने वर्ग र काम लगाउने वर्ग। धेरै खाएर मर्ने र खान नपाएर मर्ने वर्ग। हो, कोरोनाले धनी÷गरिब कसैलाई छोड्दैन तर भोकले गरिबलाई मात्रै अँठ्याइरहेको छ। गरिबलाई कोरोनाले जति दुःख दिएको छ, भोकको मारले त्योभन्दा बढी दुःख दिएको छ। गरिबमारा उपभोक्तावादको मार र कोरोनाको कष्टपूर्ण प्रहारले श्रमजीवी वर्गलाई स्यान्डविच बनाइरहेको छ।

आज सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ढुवानीकर्ता, शिक्षक, मजदुर, किसान र निजी क्षेत्रका पेसाकर्मीको जीवन दयनीय बन्दै गएको छ। समाजको जरासम्म पुग्ने अनि पिँधमा बसेर काम गर्ने सबैलाई सकस छ। सडकमा अरूको सुरक्षामा रातोदिन खट्ने प्रहरी आफैं जोखिममा छन्। झरी, बादल, हिउँद, वर्षा केही नभनी घरपरिवारलाई बिर्सिएर अरूको सुरक्षाका लागि सडकमा तल्लीन सुरक्षाकर्मीको योगदान भुल्यो भने पाप लाग्छ। त्यसैगरी केही स्वास्थ्यकर्मी ज्यानलाई दाउमा लगाएर उपचारमा खटिएका छन्। तिनको सम्मान गर्नैपर्छ तर गर्ने कसले ? नागरिकलाई सुसूचित गराउन प्राणको पर्वाह नगरी समाचार संकलनमा खटिने सञ्चारकर्मी आज आधा पेट काटेर काम गरिरहेका छन्। इतिहासले यसको पनि हिसाबकिताब राख्नुपर्छ। अन्धकार नाशकको उपाधि पाएका शिक्षक (निजी क्षेत्रमा कार्यरत) आज साहाराविहीन भएको छ। अधिकांश यस्ता पात्र भोको पेटमा दुःखको गीत गाइरहेका छन्।

यस्तो लाग्दैैछ, यो देश कलमले हारेको देश हो। मजदुर, किसान र श्रमजीवीको श्रमको पनि मोल छैन। होला, कतिपय कम्पनी, प्रतिष्ठान र संस्था आफैं धराशयी होलान्। कतिपयको हैसियत कर्मचारी पाल्न नसक्ने पनि होला। तर सक्नेले पनि नदिनु भनेको पाप हो, अपराध हो। झन् त्यसमाथि दैनिक रूपमा काम गरेर जीवन गुजार्नुपर्ने ज्यालादारी, भरिया र मजदुरको अवस्था दर्दनाक बन्दै गएको छ। यस्ता मानिसको मजबुरीको फाइदा उठाउँदै एक थरी मानिस दुष्कर्ममा डकारमा डुबिरहेका छन्।

लकडाउन लम्बिँदै जाँदा सहरमा बसेर रोजीरोटी गरिरहेका मानिस आत्तिए। तिनीहरू कष्टपूर्ण लामो यात्रा पार गरेर गाउँघरमा पुगे। दुःखीको सबैभन्दा नजिकको साथी दुःख नै हुन्छ सायद। जहाँ गए पनि दुःख सँगै आउँछ भनेको यही होला, दुःख उनीहरूको साथमै रह्यो। कतिपय मानिस गाउँमा दुःख भएरै सहर पसेका हुन्। मौसम, समय र परिस्थिति फेरिए पनि तिनको दुःख फेरिएको पाइन्न। लकडाउन अलि खुकुलो भएपछि तिनलाई सहरले फेरि बोलायो। सहरले के भन्नु, ऋणले बोलायो। घरभेटीको भाडाले बोलायो। साहुले बोलायो अर्थात् उही भोको पेटले बोलायो अनि त्यही दुःखको गीतले बोलायो। यसबीच साधन हुनेहरूको यात्रा अलि सहज भयो, नहुनेको सास्ती। साधन नहुनेहरू पोकोपन्तुरो बोकेर फेरि सहर होमिन थाले। अधिकांशको हातमा अम्रिसाको कुचो, काँधमा धोक्रो वा ठूलो झोला, त्यसमाथि ससाना बालबच्चा। चर्को घाम र पानीको मौसम। भ्रष्टलाई ‘भेरिफिकेसन’ गर्न सरकार अनुगमन गर्छ। सरकार ! तर, यो दुःखको अनुगमन गर्ने को ?

संस्कृतमा एउटा भनाइ छ, ‘स्वस्मै स्वल्पं, समाजस्य सर्वस्व।’ यसको अर्थ हुन्छ, आफ्ना लागि थोरै गरेर भए पनि समाजका लागि धेरै गरौं। अचेल भने यसको अर्थ उल्टो निस्किन थालेको छ। जे गरिन्छ आफ्नै लागि गरिन्छ। समाजलाई चुसेर भए पनि आफैं मोटाऔं। कोरोना कालमा यो प्रवृत्तिको बढोत्तरी भएको छ। भ्रष्टाचार मौलाएको छ। यो आलेख तयार गर्दै गर्दा एउटा भिडियो सामाजिक सञ्जालमा छाएको थियो। भिडियोमा देखाइएअनुसार साउन २० गते तराईको कुनै एउटा नगरपालिकाले क्वारेन्टाइनका लागि पाँच सय ५८ थान तन्ना र एक सय एघार थान सिरानीको खोल खरिद गर्‍यो। यसको मोल ४५ लाख रुपैयाँ निस्किएछ। यसरी हेर्दा एउटा तन्नाको मोल आठ हजार परेको देखिन्छ। साथै एउटा सिरानीको खोलको मूल्य दुई हजार आठ सय। यस्ता खरिद अन्त कति भए होलान् ? यो भिडियो हेरेपछि मनमा केही अनुत्तरित प्रश्न उब्जिएका छन्। यस्तो मूल्यमा बिक्री भएको त्यो वस्तु तन्ना हो कि मानवता ? यहाँ बेचिएका सिरानीका खोल हुन् कि नैतिकता ? यस्ता प्रश्नको जवाफ दिने निकाय सायद शीतनिद्राको मौसममा छन्। रोगीका नाउँमा यसरी लुट मच्चाउनेले त्यो पैसा के गर्लान् ? के तिनेरु संसारमा सधैं रहन्छन् ? गोजीमा कात्रो हुन्न भन्ने थाहा नभएको त होइन होला।

लकडाउनमा लुट मच्चिएको अर्को क्षेत्र हो, खाद्यान्न। लकडाउनअघि १६ सय पर्ने चामल अहिले १७५० देखि २००० पुगेको छ। १०० रुपैयाँ पर्ने दाल किलोमा ५० थपिएको छ अर्थात् आधा बढेको छ। केजीको ८० रुपैयाँ पर्ने चिनीको मूल्य ९०-१०५ पुगेको छ। लिटरको १३० पर्ने तेलको मूल्य अहिले १७० छ। ८० रुपैयाँ धार्नीको आलु १७०-१९० पुगेको छ। तरकारी उत्पादन गर्नेको पहुँच बजारसम्म पुगेको छैन। उपभोक्ताको पहुँच उत्पादकसम्म पुगेको छैन। फलस्वरूप तरकारीको भाउ छोइनसक्नु भएको छ। किन सामान यति महँगो भएको ? भनेर सोध्दा व्यापारीको उत्तर हुन्छ, ‘यति मूल्य बढ्नु त सामान्य कुरा हो। धन्न लकडाउनको यस्तो समयमा पनि सामान पाइएको छ भनेर खुसी मनाउनुस् न।’ व्यापारीका कुरा सुन्दा आफ्नै सोचाइ पो गलत हो कि भनेझैं पनि लाग्दो रहेछ।

होटल र रेस्टुराँ बन्द छन्। नेपाल भ्रमण वर्षका लागि हौसिएर पर्यटनमा लगानी गर्नेहरूको पुँजी डुबेको छ। त्यहाँ कार्यरत कामदारको जागिर र जागिरसँगै आन्द्रा चँुडिएको छ। खाडी मुलुकमा कार्यरत कामदारको जागिर धरापमा परेको छ। कति घर फर्किएका छन्। कति फर्किने आशामा बाँचेका छन्। यससँगै विप्रेषणको स्रोत सुकेको छ। प्रत्यक्ष÷परोक्ष कोरोनाको मार सबैलाई परेको छ। सबैभन्दा बढी मार भने गरिखाने वर्गलाई नै परेको छ। ठगी खान पल्केकाहरूको तुजुक अझ ज्यूँका त्यूँ छ। तथ्यांकअनुसार भूकम्पको बेलामा पनि गरिब र निमुखाहरूकै उठिबास भएको थियो अनि कोरोनाले पनि गरिबकै पेटमा लात मार्दैछ।

हाम्रो देशका सामान्य नागरिक न्यूनतम आवश्यकताभित्र पर्ने खाना, नाना, छाना, शिक्षा र स्वास्थ्यबाट सदियौंदेखि वञ्चित छन्। संकटका बेला तिनीहरूको जीवन झनै संकटमय बन्ने गरेको छ। सडक खन्ने, पुल बनाउने, घर बनाउने, रङ लगाउने, भारी बोक्ने र सडकमा जताततै भेटिने वर्ग त्यही हो। राजनीतिक परिवर्तनका लागि मर्ने वर्ग त्यही हो। देश बदल्ने सपना बोकेर बन्दुक बोक्ने वर्ग पनि त्यही हो। अरब र खाडीको भुंग्रोमा सपनाको बीउ रोपेर घरबार सजाउने सपना बोक्ने वर्ग पनि त्यही हो। हो, पटकपटक धोका खाने वर्ग पनि। कवि भूपि शेरचनले भनेझैं मुलुकका लागि तिनको केही मूल्य छ भने चुनावका बेलामा केवल एक भोटको मूल्य भएको वर्ग पनि यही हो।

के कोरोना कसैको धन्दा राम्रो बनाइदिनकै लागि आएको हो ? कि लुट्ने, कमाउने र मोटाउने अवसर लिएर आएको हो ? यो महामारीबाट पार पाइयो भने भोलि फेरि कमाउने दिन आइहाल्ला नि। सास फेर्न गाह्रो भएको संक्रमण सास्तीको यही बेला अरूको गाँस काटेर कमाउने हतारो किन ? कामना गरौं, भोलि यस्तो दिन पनि नआओस् कि संसार चरम मन्दीको माखेसाङ्लोमा नजाकियोस्। उत्पादनका स्रोतहरू ठप्प भई पैसाले केही किन्न नसकिने अवस्था नआओस्। अनि अहिले गरिब र निमुखालाई चुसेर थुपारेको पैसा भोलि कागजजसरी सडकमा फाल्नु नपरोस् जसरी अहिले किसानले दूध र तरकारी फालिरहेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.