खसिया नेपाली

खसिया नेपाली

भारतको बाइसौँ राज्य मानिने मेघालय सन् १९७० सम्म असम राज्यअन्तर्गत नै थियो। १९७० मा स्वायत्त पर्वतीय परिषद्का रूपमा गठन भएको मेघालय सन् १९७२ मा असमबाट अलग्गिएर पूर्ण राज्यका रूपमा स्थापित भएको हो। यसको पूर्व र उत्तरमा भारतकै असम राज्य पर्छ भने दक्षिण र पश्चिममा बंगलादेश। संसारकै सबैभन्दा बढी पानी पर्ने क्षेत्रका रूपमा चर्चित चेरापुन्जी र मौसनराम मेघालयअन्तर्गत नै रहेका छन्। पूर्व खासी पहाड, पश्चिमी खासी पहाड, रिभोई, जयन्तिया पहाड, पूर्वी गारो पहाड, पश्चिमी गारो पहाड र दक्षिणी गारो पहाड गरी मेघालय सात जिल्लामा विभाजित छ। स्वतन्त्र राज्य मेघालयको स्थापनापछि सम्पूर्ण असम राज्यको राजधानीका रूपमा रहेको सिलाङलाई नै यसको राजधानी बनाइएको छ।

बेग्लाबेग्लै भाषा र संस्कृति भएका खासी, जयन्तिया र गारो तीनै जाति मातृसत्तात्मक पारिवारिक संरचना भएका जाति हुन्। यिनीहरूको पारिवारिक संरचनामा महिला नै सर्वेसर्वा हुन्छन्। विवाहपश्चात् पति पत्नीको घरमा भित्रिएर घरभित्रका काममा संलग्न हुनुपर्ने, पत्नीको थरमा आपूmलाई समाहित गर्नुपर्ने, सन्तानको पहिचान आमाका नामबाट हुने तथा पैतृक सम्पत्तिमा छोरीको अधिकार हुने व्यवस्था यी तीनै जातिका वैशिष्ट्य हुन्। कतिपय समुदायमा परिवारकी कान्छी छोरीलाई पैतृक सम्पत्तिको उत्तराधिकारीका रूपमा लिने गरिएको पाइन्छ। यी जातिमा सन्तानमाथि पिताको कुनै अधिकार पनि हु“दैन। मातृसत्तात्मक जाति भएकाले विवाहपश्चात् पति पत्नीको घरमा भित्रिने प्रचलन साझा हो भने पैतृक सम्पत्तिलगायत कतिपय सन्दर्भबाट हेर्दा यिनीहरूमा केही चलन पृथक् रहेको स्थिति पनि छ।

भारतीय संविधानको छैटौं अनुसूचीअन्तर्गत जातीय आरक्षणका लागि विशेष व्यवस्था गरिएका यी तीनै जातिले हरेक क्षेत्रमा सरकारी संरक्षण एवं अनुदान पाउ“छन्। यी तीनमध्ये मुख्य जातिका रूपमा रहेको खासी अनेक शाखामा विभक्त देखिन्छन्। यिनमा पनि खासी, सिंतेंग, वार, र लिंग्गम गरी मुख्य चार मुख्य शाखा मानिन्छन्। यिनीहरूको विवाह आफ्नो कुलमा मात्र हुँदैन शाखाका बीचमा विवाह सम्बन्ध राखिन्छ। यी तीन जातिबाहेक यस क्षेत्रमा बंगाली, बिहारी, मारवाडी आदि जातिको पनि बसोबास रहेको छ भने नेपालीहरूको बसोबास पनि उल्लेख्य मात्रामा पाइन्छ।

मेघालयमा नेपालीहरूको बसोबासको इतिहास निकै पुरानो छ। भारतमा अंग्रेजी शासन सुरु हुनुभन्दा अघिदेखि नै यस क्षेत्रमा नेपालीहरूको बसोबास रहेको पाइन्छ। भारतमा आफ्नो शासन सुरु भएपछि अंगे्रजहरूले नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न थाले। सन् १८३५ मा गोर्खा राइफल्सको गठन गरी त्यसलाई चेरापुन्जीमा खटाइएको थियो। अंग्रेजी शासनले विशेष गरी गोर्खाली सेनाका लागि बनाएको गोर्खा राइफल्सलाई पूर्वोत्तर भारतका मणिपुर, अब्बर पहाड, लुसाई हिल आदि ठाउ“लाई अधीनमा लिन प्रयोग गरेको थियो। अंग्रेजी शासनको विस्तार हु“दै जाँदा गोर्खालीहरू आउने क्रम बढिरह्यो। सन् १८७१ मा सिलाङलाई असमको राजधानी बनाएपछि अंग्रेजका धेरैजसो गतिविधि सिलाङबाटै सञ्चालन हुन थाले। सिलाङको मौसम बेलायतको जस्तै चिसो भएका कारण अंग्रेजहरूले आपूmलाई सुहाउ“दो हावापानी देखेर सिलाङलाई असमको राजधानी बनाएका हुन्। राजधानी बनाइसकेपछि त्यहा“ उनीहरूले छाउनी, भर्ती केन्द्र आदि विस्तार गर्दै गए। कतिपय पल्टनहरूलाई अंग्रेजले सिलाङमै स्थापित गरे। सैनिक जवानहरू सिलाङमा बस्दाबस्दै सेवानिवृत्त पनि भए। सेवानिवृत्त भएपछि उनीहरू जग्गाजमिन लिएर यतै घरजम गरी बस्न थाले।

विश्वयुद्धमा संलग्न गरिएका नेपालीहरूलाई युद्धको समाप्तिपछि भारतका विभिन्न क्षेत्रमा बसोबास गराउने क्रम सुरु भयो। यसबाहेक काम र मामको खोजीमा यस क्षेत्रमा प्रवेश गरेका नेपालीहरू पनि जंगल फा“डेर खेती तथा पशुपालन गर्दै त्यतै बस्न थाले। यसरी विभिन्न कारणबाट यस क्षेत्रमा नेपालीहरूले बसोबास बढ्दै गयो। हाल यस क्षेत्रमा निकै ठूलो संख्यामा नेपालीहरूको बसोबास भए पनि जातीय आरक्षणको व्यवस्थाका लागि बनाइएको राज्य हुँदा अहिले यस क्षेत्रमा यी तीन जातिबाहेक अन्य जातिलाई अचल सम्पत्ति किनबेच गर्न रोक लगाइएको छ।

मेघालयमा सैनिकका रूपमा नेपालीहरूको प्रवेश भएपछि यहा“का स्थानीय जातिहरूलाई नेपालीहरूले नै धान खेती गर्न, चामल पकाएर खान, गाई पाल्न तथा दही, दूध खान सिकाएको हो भन्ने भनाइ रहेको पाइन्छ। यसका अतिरिक्त अहिले स्थानीय जातिहरूको मुख्य आयस्रोत बनेको कुचो, डालो, नाम्लो, थुन्से, चित्रा, डोको, मुडा आदि बुन्न पनि यिनीहरूलाई नेपालीले नै सिकाएको जानकारी पाइन्छ। इसाई धर्म अवलम्बन नगरेका कतिपयले त पूजा पनि नेपाली पाराले नै गर्छन्। यस क्षेत्रमा प्रशस्तै नेपालीहरूले खासी महिलालाई बिहे गरेर घरजम गरेको पाइन्छ। यसैले यस क्षेत्रमा ‘नेपाली र खासी त मामाभानिज पो हो त’ भन्ने भनाइ प्रचलनमा रहेको छ। यसका साथै कतिपय नेपालीहरूले ‘खसियाको त पितृ बुझाइन्छ’ भन्ने गरेको पनि पाइन्छ।

मेघालयमा खासी, गारो एवं जयन्तिया भाषामा शिक्षा प्रदान गरिन्छ। खासी एवं जयन्तियाले बोल्ने भाषा मनखोमेर परिवारअन्तर्गत पर्दछ भने गारो जातिले बोल्ने भाषा भोटबर्मेली परिवारअन्तर्गत पर्दछ। बेग्लाबेग्लै भाषा र संस्कृति भएका यस राज्यमा प्रशासनिक भाषाको रूपमा अंग्रेजीको प्रयोग हुने भए पनि अनौपचारिक रूपमा यी जातिका बीच दैनिक व्यवहारमा सम्पर्क भाषाका रूपमा नेपाली भाषा प्रयोग गरिएको स्थिति पनि प्रशस्तै रहेको देखिन्छ। यति हुँदाहुँदै पनि कतिपय क्षेत्रमा यी जातिका बीच दैनिक व्यवहारमा सम्पर्क भाषाका रूपमा नेपाली भाषा प्रयोग गरिने स्थिति पनि प्रशस्तै रहेको देखिन्छ। राजधानी सिलाङमा मात्र नभई जोवाई, नस्टयाङ र अरू भित्री भागतिरका खसियाहरू नेपाली भाषा सहजतापूर्वक बोल्छन् र पढ्न पनि सक्छन्। यस क्षेत्रका नेपालीहरूले बोलेको खासी भाषा र खसियाहरूले बोलेको नेपाली भाषा सुन्दा अन्य जातिका मानिसलाई उक्त भाषा बोल्ने जाति कुन हो भनेर छुट्ट्याउन निकै कठिन पर्ने स्थिति रहेको छ।

खासी भाषा अस्ट्रोएसियाटिक परिवारको मोनखमेरअन्तर्गत पर्छ। यसलाई खसिया, खस्सी तथा कोस्साया पनि भनिन्छ। छुट्टै लिपि नभएकाले रोमनमा लेखिने खसिया भाषामा नेपाली भाषाको प्रभाव परेको स्पष्टै देखिन्छ। यस भाषामा नेपाली भाषाको प्रभाव देखाउन तल केही उदाहरण प्रस्तुत गरिन्छ।

नेपालीहरूले आफ्नो भाषा र ध्वनिअनुरूप नामकरण गरेका मेघालयका स्थानीय विभिन्न ठाउ“हरूलाई स्थानीय खसिया तथा अन्य जातिहरूले त्यही नामले उल्लेख गर्ने गरेको पाइन्छ। अन्नक्षेत्र, आलुगोदाम, गरमपानी, गाडीखाना, गोरालाइन, ग्वालापट्टि, चिहानडा“डा, झालुपाडा, नया“बंगला, पल्टनबजार, पुलिसबजार, बडापानी, बडाबजार, बत्तीबजार, बाघमारा, बारपत्थर, महादेवखोला, लछिमीनाला, सुनाकुरुङ, हल्लनेपुलजस्ता महादेवखोलाजस्ता विभिन्न ठाउँहरूलाई यसको उदाहरणका रूपमा लिनसकिन्छ।

खसिया भाषाको शब्द भण्डारमा पनि नेपाली भाषाको रामै्र प्रभाव परेको छ। यस भाषामा नेपाली शब्द जस्ताको तस्तै प्रयोग गर्ने र नेपाली भाषाका शब्दहरू ध्वनिमा सामान्य परिवर्तनका साथ प्रयोग गर्ने गरी यस्तो प्रभाव दुई प्रकारको देखिएको छ। ‘अचार, अपिल, कसम, काम, किताब, चिनी, छुरी, जात, टिन, तामा, दर्बार, दस्तुर, दुस्मन, नियम, बक्सिस, बरोबर, महाजन, मामा, मुलुक, रङ, रीति, सन्दुक, साबन, सारी, हुकुम’ लगायतका थुप्रै नेपाली शब्दहरूलाई खसिया जातिले उही अर्थका लागि जस्ताको तस्तै रूपमा प्रयोग गरेको पाइन्छ।

यसैगरी इजत (इज्जत), कराइ (कराही), कुट (कागत), कारबार (कारोबार), खुबर (खबर), खुलम (कलम), घि (घिउ), जुत्ति (जुत्ता), जुबरजस्ती (जबरजस्ती), जुबाब (जबाफ), टुपिया (टोपी), डुट (दुध), ताला (ताल्चा), तिली (तेल), दुवार (द्वार), दुकान (दोकान), नुकसान (नोक्सान), नुसिब (नसिब), पका (पक्का), पिसा (पैसा), पोप (पाप), फासी (फा“सी), बन्दाकुबी (बन्दाकोबी), बरोबर (बराबर), मदान (मैदान), मुजा (मोजा), मुफलर (मफलर), मुली (मुला), मुसला (मसला), मोइदा (मैदा), रजा (राजा), रुकम (रकम), रुटी (रोटी), सरक (सडक), सिन्दुक (सन्दुक), सिंह (सिङ), सुमार (सम्हार), सोत (सत्य), स्या (चिया), हाती (हात्ती), हिमत (हिम्मत) लगायतका नेपाली भाषाका अनेक शब्दहरू खसिया भाषाको शब्द भण्डारमा रहेका छन्। यीमध्ये कतिपय शब्दमा स्थानीय उच्चारणअनुसार ध्वनि परिवर्तन भएको देख्न सकिन्छ।

खासी भाषामा प्रयुक्त कतिपय शब्दमा हिन्दी भाषाको प्रभाव परेजस्तो देखिए पनि नेपाली जातिका पल्टनियाहरू भारतका अन्य क्षेत्र हुँदै खासी जातिको सम्पर्कमा पुगेका कारण उनीहरूकै भाषामा हिन्दी प्रभावित शब्दको बाहुल्य रहने व्यावहारिक अभ्यास सर्वविदितै छ। तसर्थ तिनै पल्टनेहरूबाट व्यावहारिक जीवनका विभिन्न सन्दर्भहरू सिकेको हुनाले यस प्रकारको प्रयोग स्वाभाविक देखिन्छ। यसले गर्दा खासी नेपालीको सम्पर्क सूत्र बलियो रहेको तथा खासी जातिमा नेपाली जातिको प्रभाव रहेको स्पष्ट हुन्छ। यसरी स्थानीय जातिको जनजीवनमा महत्वपूर्ण प्रभाव पार्ने नेपाली जाति जातीय संरक्षणको व्यवस्थाअन्तर्गत बनेको राज्य मेघालयमा अहिले अचल सम्पत्तिको कारोबार गर्न नसक्ने भएका कारण बिस्तारै अन्य राज्यमा स्थानान्तरण हुने क्रम बढेको छ।

           

नेपालीहरूले आफ्नो भाषा र ध्वनिअनुरूप नामकरण गरेका मेघालयका स्थानीय विभिन्न ठाउ“हरूलाई स्थानीय खसिया तथा अन्य जातिहरूले त्यही नामले उल्लेख गर्ने गरेको पाइन्छ। भारतीय संविधानको छैटौं अनुसूचीअन्तर्गत जनजातिको संरक्षणका लागि निर्माण गरिएको मेघालय राज्यमा मूल रूपमा खासी, जयन्तिया र गारो जातिको बसोबास रहेको छ। खासी तथा जयन्तिया जाति अस्ट्रो-एसियाटिक परिवारका जाति मानिन्छन् भने गारो जाति चाहि“ भोटबर्मेली मूलको मानिन्छ। कतिपयले जयन्तियालाई खासीकै प्रजाति मानेको पनि पाइन्छ। यस क्षेत्रमा इसाई धर्मको प्रवेश हुनुअगि अधिकांश जातिले हिन्दू धर्म मान्थे भने अहिले यी जातिका अधिकांश व्यक्तिले प्रायः इसाई धर्म अवलम्बन गरेका छन्।

अहिले पनि कतिपय जयन्तियाहरू हिन्दूधर्मावलम्बी नै रहेका छन् भने गारो जातिका लगभग ५५ प्रतिशतले इसाई धर्म मान्ने गरेको जानकारी पाइन्छ। यसैगरी कतिपयले परम्परित धर्म एवं जीवनशैली नै अ“गालिरहेका छन्। यी जातिमा लोकगीत, लोकनृत्य, लोककला, लोककथा, लोकगाथा आदिको लामो परम्परा रहिआएको छ। इसाई धर्मको प्रभाव पर्नुअगि यी तीनै जाति प्रकृति पूजक थिए। यिनका धेरैजसो धार्मिक कृत्य प्रकृतिमै आधारित छन्। यी तिनै जातिका मौलिक चाडपर्व एवं संस्कृति भए पनि अहिले इसाई धर्मको प्रभावका कारण कृषि एवं प्रकृतिसम्बद्ध चालचलन एवं उनीहरूको मौलिक संस्कृति क्रमशः लोप हु“दै गएको छ। यसको साटो अहिले क्रिसमस मुख्य चाडका रूपमा मनाउने र चर्चमा गएर बिहे गर्ने प्रचलनको विकास भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.