एच् पी सरको ठूलो गाडी

एच् पी सरको ठूलो गाडी

यो सहर हेर्दाहेर्दै कसरी खुम्चिँदै गयो? अनि खुम्चिएको सहरले ठाउँ र मानिसलाई भने कसरी टाढा बनाउँदै गयो?  


एच् पी सरलाई आजकल तनाव छ। भनेको ठाउँमा जानै सक्दैनन्। के गर्नु काठमाडौंका बाटाघाटा नै साँघुरा छन्। अनि उनको गाडी ठूलो र महँगो छ। जहाँ पायो त्यहीँ छिर्दा पनि छिर्दैन। फेरि यो सहरमा भनेको ठाउँमा पार्किंङ छैन। त्यसैले आजकल यतायति हिँडडुल गर्नुपर्दा उनको नौ नाडी नै फक्रक्कै गल्छ। पहिलेपहिले उनी आधा घण्टामा पुग्ने ठाउँहरू डेढ–दुई घण्टामा पनि पुग्न गाह्रो हुन्छ। कहीँ कुनै आफन्त अथवा इष्टमित्रले बिहे–वर्तमन वा कुनै अरू पारिवारिक अवसरमा बोलाए भने त पहिले नै एच् पी सरको आङ भारी भएजस्तो हुन थाल्छ। त्यसैले आजकल उनले बहाना बनाएर सकेसम्म कतै जानै छोडिसके। त्यसले गर्दा उनको सामाजिक जीवन विस्तारै अर्कै हुन थालेको छ। आठ–दस वर्षअघि बानेश्वरको छक्कुबक्कुमा चिया र चुरोट खाएर घण्टौं बिताउने उनका साथीहरूसँग आजकल वर्षमा एक दिन पनि भेट हुँदैन। लक्ष्मी दिदीको होटेलमा मासु चिउरा खाँदै त्यहाँ आउने कांग्रेसीहरूको राजनीतिक टीका टिप्पणी सुन्न नपाएको पनि धेरै भयो। वसन्तपुर र झोंछेका धागोजस्ता गल्लीहरूमा लोकल अयलासँग छ्वेला नटोकेको पनि धेरै भयो। नाम सुनेकै भरमा टोलटोलका भ्यारभ्यारे ममचा चपाउन आजकल उनी कुद्न सक्दैनन्। कुमारी गल्लीको ममचा पसल त्यहीं छ होला ?के अहिले पनि मानिसहरू

कुनबेला त्यो ठूलो भाँडो छोपेको ढकनी खुल्ला भनेर घिच्रो तानीतानी हेरिरहेका हुन्छन् होला ?ममचा पाकेर साहुजीले आफूभन्दा अगाडिकालाई दिन थालेपछि यही ‘लटमा’ भ्याउला कि नभ्याउला भन्दै घट्दै गएका डल्लाहरू गन्दै पालोमा आफ्नो क्रमकोे मनमनै हिसाब गर्नुको पनि आफ्नै रमाइलो हुन्थ्यो। बेलाबेला आफ्नो पालो आउनै लाग्दा अघिल्लो कसैले चार वा पाँच प्लेट लगेर आफ्नो अनुमान गलत हुँदा त्यो नचिनेको मान्छेसँग त्यसैत्यसै रिस उठ्थ्यो। कहिलेकाहीँ आफ्नो पालो आउने बेला भाँडोमा तीनचारवटामात्र डल्ला बाँकी भइदिँदाको त झन् के कुरा गर्नु। नयाँ काँचा डल्लाहरू भरिन्थे, भाँडो फेरि छोपिन्थ्यो। अनि त्यसपछिको १५–२० मिनेटको प्रतीक्षा पनि हेलीको पुच्छ्रेताराको जस्तो लामो लाग्थ्यो। त्यसैगरी हिसाब गर्दै कुरेर बस्ने मानिसहरू अहिले पनि त हुन्छन् होला। तर, आजकल एच् पी सर त्यहाँ जान सक्दैनन्।

यो सहर हेर्दाहेर्दै कसरी खुम्चिँदै गयो ?अनि खुम्चिएको सहरले ठाउँ र मानिसहरूलाई भने कसरी टाढा बनाउँदै गयो?       

०००

आजका एच् पी सर पहिले हरिप्रसाद वाग्ले थिए। उनी झन्डै तीस वर्षपहिले काठमाडौं आएका थिए। आई एस्ससी पढ्न। फिजिक्स र केमिस्ट्री दुवै उनलाई सजिलो र रमाइलो लाग्ने विषय थिए। उनी सहरको अँध्यारो गल्लीको घामै नआउने कोठामा डेरा गरेर बस्थे। त्यहीं वरपर नै उनको संसार थियो, साथीभाइ थिए। दुःखजिलो गर्दै उनले बीएस्सी पास गरे र नजिकैको कुनै एउटा प्राइभेट ‘बोर्डिङ’ स्कुलमा उनले साइन्स टिचरको जागिर खाए। आफ्नो विषय जति सजिलोसँग उनी बुझ्थे, त्यति नै सजिलोसँग बुझाउन पनि सक्थे। त्यसैले उनी विद्यार्थीबीच लोकप्रिय हुनु अनौठो कुरो थिएन। त्योबेला उनको जीवन सरल र सहज थियो। समय पनि निस्कन्थ्यो। साथीहरूसँग चियापसलमा घण्टौं बित्ने दिन तिनै थिए।

हरि सरले पढ्ने र पढाउने जागिर दुवै कायम राख्दै एमएस्सी पास गरे। त्यतिबेलासम्म राम्रो पढाउने शिक्षकको रूपमा उनको कीर्ति आफ्नो क्षेत्रमा विस्तारै फैलिसकेको थियो। एक दिन उनले एउटा पत्रिकामा विज्ञापन देखे। कुनै एउटा अलि ठूलै र नाम चलेका विद्यालयले विज्ञान शिक्षक मागेको थियो। आकर्षक तलब र सुविधा भन्ने शब्दले उनलाई आकर्षित गर्‍यो। उनले एउटा इमेल पठाइदिए। त्यसको केही दिनमै विद्यालयबाट उनलाई फोन आयो। कुरो मिल्यो र उनी नयाँ विद्यालयमा पढाउन थाले। उनको तलब त्यतिबेला उनले खाइरहेभन्दा निकै धेरै थियो। विद्यालयले नै आफ्नै कम्पाउन्डमा भएको क्वार्टर पनि दिएको थियो। एउटा कोठा, ट्वाइलेट बाथरुम र सानो भान्छा भएको क्वार्टरमा सरेपछि उनले चिसा छिँडीहरूलाई फर्केर हेर्नु परेन। त्यो विद्यालय सहरभन्दा अलि टाढा डाँडाको फेदमा थियो। बडो रमाइलो। त्यही रमाइलोमा उनलाई हेक्कै भएन, विद्यालयसँगै उनी पाख्रिन सर, शर्मा सर, मोक्तान सर र शाक्य सरजस्ता आफ्ना पुराना साथीभाइबाट टाढा हुँदै गएका थिए। हरि सर महिनामा एकपटक पनि उनीहरूसँग भेट्न पाउँदैनथे। त्यो अन्तराल विस्तारै बढ्दै तीन र पाँच महिना हुँदै कहिले वर्षमा पुग्यो भन्ने पनि थाहै भएन।

साथीभाइको घेरा भनेको पनि समय र परिस्थितिअनुसार फेरिँदै जाँदो रहेछ। हरि सरका नयाँनयाँ साथीहरू बने। उनको नयाँ जीवनशैली कोरिन थाल्यो। दुब्ला–पातला हरि सर अलि मोटाउन थाले। तलब पनि कुस्त, भाडा पनि बचेको हुनाले अब बैंकको उनको मरन्च्याँसे खाता पनि उनीसँगै विस्तारै मोटाउन थालेको थियो। विद्यालयमा शनिबार र आइतबार बिदा हुन्थ्यो। त्यो समय खर्च गर्ने पनि नयाँ बाटाहरू खुल्न थाले। हिसाब पढाउने कर्ण सरले एक दिन एउटा कुरा ल्याए, ‘एक जनालाई शनिबार र आइतबार ट्युसन पढाइदिने हो हरि सर ?खालि समयमा अलिअलि आम्दानी हुन्छ।’

हरि सरले ट्युसन पढाउन थाले। उनले राम्रो पढाउँछन् भन्ने एक कान दुई कान हुँदै गयो। अरू अभिभावक पनि आफ्ना लद्दु छोराछोरीलाई पढाइदिन कुरा गर्न थाले। हरि सर अब दुई दिनमा पाँचदेखि सात ठाउँमा ट्युसन पढाउन थाले। आम्दानी बढ्यो। यताउति कुद्न भ्याइँनभ्याइ हुन थालेपछि उनले एउटा भटभटे किने। भटभटेसँगै ट्युसनको संख्या बढेर बाह्र पुग्यो। सरस्वती र लक्ष्मी सँगैसँगै बस्दैनन् भन्ने भनाइ सुन्दा हरि सर मनमनै हाँस्न थाले।

एक दिन कर्ण सर फेरि एउटा गज्जबको आइडिया लिएर आए, ‘हरि सर, समुद्र आफ्नै अगाडि छ। तर हामी लोटाले पानी उभाइरहेका छौं बुझ्नु भो ?’ हरि सरले अचम्म मान्दै भने, ‘के भन्न खोज्नुभएको कर्ण सर ?’ कर्ण सरले अथ्र्याए, ‘यसरी घरघर गएर ट्युसन पढाउँदा हामीले हुन सक्ने जति कमाइ गर्न सकिरहेका छैनौं। माल बनाउने भनेको मौकामै हो। तपाईं र मिलेर कतै पायक पर्ने ठाउँमा एउटा ट्युसन सेन्टर खोलौं बुझ्नुभो ?त्यसो भए हाम्रो दौडधुप पनि कम हुन्छ। एउटै क्लासमा दर्जनौं विद्यार्थी पढाउन सकिन्छ। कमाइ त ह्वात्तै बढ्छ हरि सर।’

हरि सरको मनले त्यो कुरा खायो। दुई भाइ ट्युसन सेन्टर खोल्न मिल्ने घरको खोजीमा लागे। नभन्दै अर्को महिना उनीहरूले पुतलीसडकमा एउटा तीनकोठे ट्युसन सेन्टर खोले। ‘नाम चाहिँ अलि प्रभावशाली राख्नुपर्छ हरि सर,’ हाँस्दै कर्ण सरले भने, ‘अक्सफोर्ड, क्याम्ब्रिज अथवा त्यस्तै कुनै भारी सुनिने।’

निकै माथापच्ची गरेर दुबै ‘मिड–टाउन इन्स्टिट्युट अफ स्टडिज’ नाममा सहमत भए। छोटकरीमा पनि ‘एम आई टी ओ एस– मिटोस’ घच्चीको सुनिन्थ्यो। केही हप्तामै शनिबार र आइतबार त्यहाँ मेला लाग्न थाल्यो। दुवै शिक्षकले स्कुलको झिंगे जागिर छोडे। त्यो तलब अब उनीहरूलाई आँखा लाग्न छोडिसकेको थियो। मिटोस आइतबारदेखि शुक्रबारसम्मै खुल्न थाल्यो। विस्तारै विस्तारै सेन्टर जुका जसरी मोटाउन थाल्यो। हेर्दाहेर्दै तीनकोठाबाट चार, पाँच, पूरै फ्ल्याट र दुई तल्ला हुँदै अन्ततः सम्पूर्ण भवन नै ट्युसन सेन्टरले खायो। माथिल्लो तल्लामा निकै परबाट देखिने गरी उनीहरूले मिटोसको ठूलो संकेत पातो पनि राखे। अब रिसेप्सनमा एउटी आकर्षक युवतीले मुस्कानका साथ आगन्तुकहरूको स्वागत गर्थिन्। उनीहरूले बिस्तारै अरू शिक्षकहरूलाई जागिर दिन थाले। विज्ञान र हिसाबमात्र नभई त्यहाँ नेपाली, कमर्स, ब्रिजकोर्स, टोफल, आईएलटीएस, शाखा अधिकृत, नासु, सुब्बा, खरदारलगायतका सबै थरी पढाइ हुन थाल्यो। कक्षा जति थपे पनि विद्यार्थीहरूको चाप थेग्न कठिन हुन्थ्यो। कन्सल्टेन्सीको काम पनि सुरु भयो। आजकल त त्यहाँ कोरियन र इजरायली भाषा पनि पढाइन्छ।

हरि सरको कायापलट हुन समय लागेन। आजकल उनी एच् पी सर भनेर चिनिन्छन्। उनको अफिसको चिल्लो टेबलमा भएको ल्यापटपको प्रारम्भिक अक्षर पनि त्यही छ, एच् पी। एच् पी सरले बालुवाटारमा घर किनेका छन्। कम्पाउन्ड ठूलो छ, तीनवटा कुकुर पालेका छन्। उनी दुई करोडको हाराहारीको गाडी चढ्छन्। त्यो गाडी जति ठूलो छ, काठमाडौंका बाटाघाटा त्यति नै साँघुरा छन्। कतै आउजाउ गर्नुपर्दा हजार पटक सोच्नुपर्छ। गाडी नछिर्ने ठाउँमा उनी जानै सक्दैनन्। केही समयअघि उनका पुराना साथीमध्येका एक भेट भएका थिए– पाख्रिन सर। उनी त अचेल पनि बुद्धनगर भित्र पुरानै ठाउँमा बस्दा रहेछन्। एच् पी सर बिजुलीबजार नजिकै बस्दा उनीहरू दुवै खुब मिल्थे। छक्कुबक्कुमा चिया खाने बेलाका दिनहरू सम्झेर पाख्रिन सरले साह्रै गुनासो गरे। उनले निकै कर गरेपछि नाइँ भन्न नसकेर हरि सरले मन नलागी नलागी शनिबारको दिन पाख्रिन सरको कोठामा जान स्वीकृति जनाए। हुन त आजकल हरिसरलाई अनुत्पादक दुई घण्टा खर्च गर्दा निकै घाटा लाग्ने गर्छ। उनको समय पहिलेजस्तो सस्तो छैन भन्ने कुरा पाख्रिन सरले के बुझ्दथे र। एच् पी सरलाई त्यता जाँदै गर्दा सम्झना भयो, पाख्रिन सरको डेराको छेउमा एउटा मुद्दा परेको खुला जग्गा थियो। त्यहाँ टोलभरिका केटाकेटी भेला भएर सेभेन स्टोन, फुटबल आदि खेल्ने गर्थे। त्यो जग्गा अहिले पनि खाली नै रहेछ। मुद्दा अझै मिलेको थिएन होला।

आफ्नो महँगो गाडी त्यही खाली जग्गाको छेउमा रोक्दा उनले देखे, त्यहाँ आजकल पनि केटाकेटीहरू खेल्दा रहेछन्। हरि सरलाई उनीहरू त्यसरी प्रसन्न भएर खेलेको हेर्दा रमाइलो लाग्थ्यो। निकैबेर उनी तिनीहरूलाई हेर्थे। हरि सर कहिलेकाहीँ आफै केटाकेटी भएर तिनीहरूसँग खेली पनि दिन्थे। तर, यसपटक उनलाई ती केटाकेटीहरूसँग रिस उठ्यो। के अहिलेको जमानामा पनि टीभी इन्टरनेट वा ट्याबसँग नरमाएर धुलोमा खेल्न आएका होलान् ?तिनले हिर्काएको बलले उनको गाडीमा डेन्ट भत्कायो भने के गर्नु ! उनलाई आफ्नो गाडी त्यहाँ राखेर साथीको घरसम्म जानै मन लागेन। तर एच् पी सर फनक्क गाडी घुमाएर फर्के।

त्यसैले त भनेको नि, एच् पी सरलाई आजकल तनाव छ। भनेको ठाउँमा जानै सक्दैनन्। के गर्नु काठमाडौंका बाटाघाटा साँघुरा छन्। उनको गाडी ठूलो र महँगो छ। कसैलाई भेट्नुपर्दा पहिले गाडी सजिलै जाने र सुरक्षित पार्किंङ भएको नभएको निधो नगरी समय पक्का गर्न पनि सक्दैनन्। त्यसैले एच् पी सरको भेटघाट धेरैजसो याक एन्ड यती वा अन्नपूर्ण कफी सपमा हुने गर्छन्। हरि सरका चिया पसलका साथीहरू त्यहाँ भेला हुन सक्दैनन्। उनको पुरानो संसार र साथी फेरिएका छन्। यो व्यस्तता र उकासिएको हैसियतलाई कायम राख्ने क्रममा एच् पी सरले एउटा कुरा चाहिँ सोच्ने पनि फुर्सद पाएका छैनन्।

काठमाडौं खुम्चिएको हो कि एच् पी सर फराकिला भएका हुन्?       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.