जेल जानुपर्नेहरू खुलेआम अदालतमा

जेल जानुपर्नेहरू खुलेआम अदालतमा

विराटनगर : नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे। प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ। फैसला आउने दिन अदालत पुगे पनि उनी पक्राउ परेनन्।

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सोमबारै उनलाई दुई वर्ष कैद सजाय र ७५ हजार जरिवाना फैसला सुनाएको छ। उनले प्राप्त गरेको नागरिकता पनि रद्द भएको फैसला आएको छ। तर, उनी मंगलबार पनि अदालतमै झुल्किए। कानुन व्यवसायीसँग आफ्नो मुद्दाबारे सुझाव लिएर बाहिरिएको प्रत्यक्षदर्शीको भनाइ छ। उनका अनुसार अदालतका कर्मचारी र प्रहरीले यसबारे सुइँकोसम्म पाएनन्।

उनी अदालत पुगेको खबर गरे पनि प्रहरीले पक्राउ नगरेको एक स्थानीयले बताए। ‘उनीहरूले नेपाली नागरिकता लिएको सूचना हामीले दिएपछि प्रहरीले मुद्दा चलाएको थियो’, उनले भने, ‘तर, फरार सूचीमा राखेर खोजी गरिरहेका व्यक्ति खुलेआम डुलघुम गर्दा पनि पक्राउ गरिएको छैन।’ प्रहरीसँगकै सेटिङमा उनीहरू खुलेआम हिँडडुल गर्न पाएको र अदालतमा पुग्दा पनि पक्राउ नपरेको हुन सक्ने उनको आशंका छ।

एक कानुन व्यवसायीका अनुसार फरार भनिएका व्यक्ति धेरै पटक अदालत परिसर र वरपर घुमफिर गर्दा पनि प्रहरी र अदालतले पहिचान नगर्नु आश्चर्यको विषय हो। अदालत र प्रहरीले चासो नदिएकै कारण फरार प्रतिवादी खुलेआम हिँडिरहेको उनको भनाइ छ।

अदालतले नरेशका नाममा २०७४ चैत २८ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले चैत २ गतेदेखि नै खोजी गरिरहेको थियो। त्यसयता उनी मुद्दाबारे बुझ्न धेरै पटक अदालत पुगेको पाइएको छ। उनकी पत्नी रिङ्कीदेवी साह पनि यही मुद्दामा फरार प्रतिवादी हुन्। उनी पनि दुईपटक अदालत पुगेर सहज रूपमै बाहिरिइन्। उनका हकमा पनि न्यायाधीश खनालकै इजलासले सोमबार कैद र जरिवाना फैसला गरेको छ।

नेपाली नागरिकता लिएका दुई भारतीयलाई कैद र जरिवाना सजाय सुनाइए पनि पक्राउ परेका छैनन्।

नरेशका दाजु सन्तोषकुमारलाई पनि दुई वर्ष कैद र ७५ हजार जरिवाना तथा प्राप्त गरेको नेपाली नागरिकता रद्द हुने फैसला अदालतले गरेको छ। उनलाई भने प्रहरीले गत चैत २ गते पक्राउ गरेको थियो। फैसलासँगै उनलाई प्रहरीले कारागार चलान गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध चैत २७ गते मुद्दा दायर गरेको थियो।

दोषी ठहर भएका व्यक्तिहरू भारत अररिया जोगबनी नगर पञ्चायत–१० का हुन्। सन्तोष र नरेशले २०६४ जेठ १३ गते जन्मका आधारमा ९१ र ९२ नम्बरको नागरिकता लिएका थिए। नागरिकतामा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाको हस्ताक्षर छ।

नेपाली नागरिकता लिएको पुष्टि भएपछि अदालतबाट कैद सजाय र जरिवानाको फैसला सुनाइएका भारतीय नागरिक सन्तोषकुमार साह।

सन्तोषले १५ वर्षअघि फारवेसगन्ज इन्द्रनगर–४ बाट जीवाईक्यू ११५१९७६ नम्बरको भारतीय परिचयपत्र प्राप्त गरेको प्रमाण फेला परेको छ। उनका भाइ नरेशको ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र छ। रिंकीदेवीका नाममा सन् २०१० जुन १५ मा जारी भएको टीएफएस ०७७१३५२ नम्बरको भारतीय परिचयपत्र फेला परेको छ। नेपाली नागरिकता लिएर नरेश र रिंकीदेवीले काठमाडौं कोटेश्वरमा मोटरसाइकल ग्यारेज सञ्चालन गरेका थिए। साह परिवार विराटनगर महानगरपालिका–१६ दरैयामा बसोबास गर्दै आएको प्रहरीले पत्ता लगाएको छ।

अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले नरेश र रिंकीदेवीलाई अदालतमा उपस्थित हुन म्याद जारी गर्दै पक्राउ पुर्जीसमेत जारी गरिएको बताए। ‘तीन जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो। तीमध्ये नरेश र रिंकीदेवी फरार थिए’, उनले भने, ‘फरारलाई अदालतमा उपस्थित हुन म्याद जारी गर्दा पनि उनीहरू समयमा आएनन्। पक्राउ पुर्जी जारी गरेर प्रहरीलाई खबर गरिए पनि पक्राउ पर्न सकेका छैनन्।’ अदालत परिसरमा आए पनि कर्मचारी र प्रहरीले नचिनेका कारण पक्राउ नपरेको हुन सक्ने उनले सुनाए। ‘उनीहरूका बारेमा प्रहरीलाई लेखेर पठाइसकिएको छ’, उनले भने, ‘अदालतको फैसलासमेत आइसकेका कारण अब पक्राउ पर्दा सिधै कारागार चलान गरिन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.