'म फुल्दै गरेको भुइँफूल'

'म फुल्दै गरेको भुइँफूल'

विदेशमा एउटा सांगीतिक कार्यक्रम गर्न केही चल्तीका नेपाली कलाकार झिकाउने निर्णय भएछ। नेपालका प्रतिनिधिले राजनराज शिवाकोटीको नाम लिएछन्। आयोजकको भनाइ थियो, ‘राजन–साजन थाहा छैन, कुटुमा कुटु सुपारी दाना बनाउने मानिसचाहिँ नभै हुँदैन।’ कुटुमा कुटुको क्रेजको एउटा सानो नमुना हो यो। गीत जीवनमा नमिलेको हिसाब ठीक पार्ने फर्मुला हो। गीत बनाउने मानिसचाहिँ जीवनलाई लयमा ढाल्न सक्ने एक कुशल कालीगढ। राजनको सन्दर्भमा यतिमात्रै भन्यो भने अन्याय हुन सक्छ। राजन गीतभित्र जीवन र जीवनभित्र गीतको फ्युजन गराउन सक्ने एक अद्भुत आविष्कारक हुन्।

राजनलाई मानिसले चिन्न थालेको धेरै भएको छैन। ‘कुटुमा कुटु सुपारी दाना’ले नेपालको सांगीतिक दुनियाँमा एउटा छुट्टै इतिहास कायम गरिसकेको छ। यस गीतको युट्युब भ्युअर्स मात्रै सात करोड नाघिसकेका छन्। हुन त ‘सुर्के थैली खै’ र ‘पूर्व पश्चिम रेल’जस्ता गीतले उनको सांगीतिक उडानको उचाइ तय गर्न पहिल्यै सुरु गरिसकेका थिए। यी गीत सिर्जना गर्नुभन्दा एक दशक अगाडिदेखि नै हिट नम्बर दिइरहेका राजनलाई दुनियाँले जानकारीमा राखेकै थिएन। खासमा उनका सिर्जनाले नेपाली संगीतको उचाइ छुने मात्र होइन, गहिराइ भेट्ने कामसमेत गरिरहेका छन्।

जतिखेर नेपाली स्कुले नानीहरू नाच्ने गीत नपाएर ‘मुन्नी बदनाम हुई’, ‘काँटा लगा’ अनि ‘चोलीके पिछे क्या हे’ टाइपका गीतमा नाच्न अभिशप्त थिए, त्यति बेलादेखि नै राजनको दिमागमा नेपाली धुनका अनेकन गुजुल्टाहरू सल्बलाउन थालेका थिए। यसैको परिणति थियो, ‘डाँफेझैं नाच्ने हिमालझैं हाँस्ने नेपालकी छोरी हुँ म।’ राजनले आफ्ना सिर्जनामा पुरातन शैलीलाई तोडेर नवीनता भर्ने काम गरे। उनको विचारमा गीत सस्तो मनोरञ्जन मात्रै नभएर जनजीवन र समाजको प्रतिविम्ब पनि हो। त्यसैले उनले शान्ति, सद्भाव, विकास र मानवताका विषयवस्तुमा गीतसंगीत सिर्जना गरे।

अन्धविश्वास, बोक्सी–डायनी प्रथा र वृद्धवृद्धालाई सन्ततिले आश्रममा लगेर छाड्ने प्रथाका विरुद्धमा धुनहरू तिखारिरहे। चाहे ‘सम्धीज्यू सम्धीज्यू वार्ता गराई दिऊँ’मा होस् या चाहे नवीन के भट्टराईको ‘मलाई अलिकति पीडा हुँदा नि’ जस्ता गीतमा उनले नयाँनयाँ प्रयोग गरिरहे। यति हुँदाहुँदै पनि गीत चल्ने स्रष्टा नचल्ने लुकामारी लामो समयसम्म चलिरह्यो। यसमा पनि राजनको केही गुनासो थिएन/छैन। यस सन्दर्भमा उनको भनाइ छ, ‘सीमित चर्चाको लोभले या तत्काल केही पाउने उत्कण्ठाले म संगीत क्षेत्रमा लागेको होइन। संगीत मेरो जुनुन (प्यासन) हो। साधना हो, कर्म हो। बस् मैले त मेरो एउटा कर्म मात्रै पूरा गरिरहेको छु।’

सायद राजनको जिनमा नै संगीत संघुलित थियो। उनका हजुरबुवा लक्ष्मीप्रसाद बाँसुरीका सोखिन थिए। उनी बजाउन नजाने पनि बाँसुरीहरू संकलन गरेर राख्थे। गाउँका पूजा र मेलाहरूमा जाँदा हजुरबुवाले एकातिर राजनलाई बोक्थे अर्कोतिर बाँसुरी। सानोमा राजन हजुरबाका तिनै बाँसुरीमा साई..सुई..आवाज निकाल्थे। हजुरबाको अधिक लाडप्यारले राजनको बालमति बिग्रिन थालेको थियो। एक दिन हजुरबा निदाएपछि उनले दौराको बगलीमा हात छिराएर दुई रुपैयाँको सिक्का निकाले। त्यही बेला हजुरबा ब्यूँझिएर उनको हात च्याप्प समाते। आजभन्दा अघिका सबै पोल खुल्ने डरले राजन लुगलुग काम्न थाले। हजुरबाले सोधे, ‘तँलाई पैसा चाहियो ?’ उनको बक्के नै फुटेन। हजुरबाले हाँसेर सोधे, ‘दुई रुपैयाँले के गर्छस् त ? लौ ला पाँच रुपैयाँ।’

यो घटनाले राजनको दिमागमा घाम लाग्यो। चोर्न नहुने रहेछ, बरु समस्या दर्शायो भने हजुरबाले त्यसै पनि दिने रहेछन् भनेर बुझे। दोलखाको सुप्पा क्षमावतीमा जन्मेका राजन एसएलसी सकेपछि २०४८ सालमा उच्च शिक्षाका लागि काठमाडौं छिरे। उनी जीवनमा केही नयाँ गर्न चाहन्थे। तर, पारिवारिक सर्कलले उनलाई एक किसिमको मानसिक दबाब सिर्जना गरेको थियो। परिवार चाहन्थ्यो उनले डाक्टर, इन्जिनियर या पाइलटजस्ता बिकाउ र समाजमा इज्जतिला ठानिएका विषय पढून्। राजन संगीत छोड्न नसक्ने, परिवारले सकेसम्म संगीत छुन नदिने। यही कारणले परिवारसित असमझदारी बढ्यो। उनलाई कुनै हौसला र सहयोग भएन। परिणामस्वरूप उनी काठमाडौंमा एक्लै संघर्ष गर्न थाले। परिवारलाई पूर्ण रूपमा चिढ्याउन पनि भएन। उनी व्यवस्थापन विषय पढ्न थाले र एमबीए सम्मको पढाइ पूरा गरे। एअरपोर्टमा जागिर पनि खाए तर पढाइ र जागिर दुवैबाट सन्तुष्टि मिलेन।

नेता बन्ने रहर

राजनको अन्तरआत्माले उनलाई केही फरक कुरा गर्न घच्घच्याइरहेको थियो। सेवा गर्ने, समाज बदल्ने, जनतालाई सुख दिने उत्तम क्षेत्र राजनीतिभन्दा अरू केही हुनै सक्दैन। यस्तै कुरा विचार गरिल्याउँदा उनीभित्र राजनीतिको भूत सवार भयो। उसै पनि उनलाई नेपालीको अस्तव्यस्त जनजीवनले पिरोलिरहेको थियो। विकासको धिमा गति, सुस्त प्रशासिनक संयन्त्र, राजनीतिक अकर्मण्य र भ्रष्टाचारको जञ्जाल देख्दा उनीभित्र क्रान्तिको ज्वाला दन्किन थाल्यो। उनले एउटा खतरनाक अठोट गरे। ‘अरू पार्टीहरूले केही लछारपाटो लाउन सकेनन्। म आफैं एउटा पार्टी खोल्छु र जनताका दुःख केही वर्षभित्र नै नामेट पार्छु।’ मुलुकमा एमालेको नौमहिने शासनकाल थियो। मनमोहन अधिकारी प्रधानमन्त्री थिए। यताउति गर्दा उनले तीन चार सय मानिस भेला पारेर पार्टी खोले। पार्टीको नाम राखियो, ‘नेपाल एकता पार्टी।’ यसरी १८ वर्ष पूरा गर्नेबित्तिकै उनी पार्टी अध्यक्ष भए। निर्वाचन आयोगमा पार्टी दर्ता गराउन गए। देशका ठूल्ठूला नेताको लाइनको ७६ नम्बरमा राजनराज शिवाकोटीको नाम पनि दर्ज भयो।

‘कुटुमा कुटु सुपारी दाना’ले २०७४ को छिन्नलता गीत पुरस्कार प्राप्त गरेको छ। नेपालको सांगीतिक दुनियाँमा छुट्टै इतिहास कायम गरेको यस गीतको युट्युब भ्युअर्स मात्रै सात करोड नाघिसकेका छन्।

पत्रकारले सोधे, ‘जुँगाको रेखी नै राम्ररी नपलाएको मानिस कसरी पार्टी अध्यक्ष हुन सक्छ ?’ राजनको जवाफ थियो, ‘पार्टी चलाउने जुँगाले होइन, विचार र मस्तिष्कले हो।’ पत्रकारले फेरि सोधे, ‘तपाईंको पार्टीको उद्देश्य के हो ?’ राजनको जवाफ थियो, ‘अबको १० वर्षमा हाम्रो पार्टीको सरकार बनाउने।’ बेलुका त्यतिखेरको चर्चित रेडियो कार्यक्रम घटना र विचारले ‘नेपाल एकता पार्टी’का बारेमा समाचार प्रसारण गर्‍यो। पछि पार्टी अध्यक्षका हैसियतमा उनले विभिन्न कार्यक्रममा सहभागितासमेत जनाए।

एक दिन एउटा ठूलै पार्टीका अध्यक्षले फोन गरे। तपाईंको र हाम्रो पार्टीबीचमा सहमति र छलफल गरेर सँगै अगाडि बढ्न जरुरी छ भनेर घरमा भेट्न बोलाए। समय मिलाएर राजन भेट्न गए। उनले नेताजीलाई नमस्कार गरेर आफ्नो परिचय दिए। नेताजीले एकछिन त अक्क न बक्क परेर हेरे। सायद यो फुच्चेले के गर्ला भन्ने लाग्यो होला। एकछिन बसेपछि एउटा स्याउ र केरा खान दिए। अनि, ल हामी मिलेर जानुपर्छ आउँदै गर्नुहोला भनेर केही छलफलै नगरी बिदा दिए।

मध्यावधि चुनाव लड्न उनको पार्टी दर्ता भएको थियो। मनमोहनले घोषणा गरेको मध्यावधिलाई तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले भंग गरिदिए। राजनको पार्टी पनि भंग भयो। २०५६ सालको निर्वाचनमा भाग लिन फेरि पार्टी दर्ता गर्नु जरुरी थियो। उनी निर्वाचन आयोग पुगे। तर, पार्टीको कुनै प्रिन्टेड डकुमेन्ट थिएन। निर्वाचन आयोगका कर्मचारीले उनको रफ डकुमेन्टलाई दर्ता गर्नै मानेनन्। फर्किने क्रममा उनलाई कर्मचारीले धेरै हेपेको महसुस भयो। राजनलाई दिदीले सात हजार रुपैयाँ राख्न दिएकी थिइन्। त्यो उनको पर्समा सुरक्षित थियो। यता समयमै पार्टी दर्ता गर्न नपाए चुनावमा जाने अवस्था थिएन। दिदीले राख्न दिएको पैसाले पार्टीको डकुमेन्ट छपाएर त्यो कर्मचारीलाई हैसियत देखाउँछु भन्ने सोचेर उनी निर्वाचन आयोगबाट बाहिरिए। उनी भने मनमा एक किसिमको औडाहा बोकेर लुमु्रङ लुमु्रङ हिँडेर गौशाला पुगे। गौशाला पुगेपछि उनलाई बल्ल थकाइको महसुस भयो र बसे चढे। बसमा एकदमै भीड थियो। एअरपोेर्ट पुगेपछि एउटा जगल्टे पाकेटमारले हाकाहाकी उनको गोजीमा हात हालेर पर्स निकाल्यो। ‘गाडी रोक्नू, मेरो पाकेट मार्‍यो’, राजन कराए। गाडी रोकिएपछि पाकेटमार भाग्यो। उनी पनि लखेट्दै पछि पछि गए। अलि पर पुगेपछि उनले पाकेटमारलाई भेट्टाउनै लागेका थिए तर पाकेटमारले यामानको धारिलो चक्कु निकालेर भन्यो, ‘ओइ चुप लागेर खुरुक्क फर्किन्छस् कि यही चक्कुले भुँडीसँडी रोप्दिऊँ ?’ त्यसपछि राजनका नौनाडी गले। उनले पाकेटमारलाई नमस्ते गर्दै भने, ‘सरी अंकल पैसा हजुर नै राख्नू, मलाई केही पनि नगर्नू।’ राजन त्यहाँबाट आफैं कुलेलम ठोके। त्यस दिनदेखि उनको राजनीतिको ज्वरो पूर्ण रूपमा शान्त भयो। २०५६ सालपछि उनी एकाग्र भएर संगीतकर्ममा लागे।

सुर्के थैली खै ?

‘सुर्के थैली’ गीत बनाउने बेलामा उनले आफ्नै हजुरआमाको सुर्के थैली सम्झे। उनी आमा सीता, बा बलराम र हजुरबा लक्ष्मीप्रसादलाई गीत बनाउने बेलामा एकदम सम्झन्छन्। उनका गीतमा आउने कुरुस, बही, पेरुंगो, बन्दकी, टाकन–टुकुन, लेउ, चोया, छुकछुक लगायतका सबै शब्द उनले आफ्नै परिवार र लोकजीवनबाट टिपेका हुन्। गाउँमै जग्गा किनेर आफ्नोपनलाई बचाइराख्ने पुर्खाप्रति अहिले उनलाई अगाध श्रद्धा छ। उनलाई लाग्छ, ‘सहरमा जन्मे, हुर्केको भए मेरो बाटो अर्कै हुन्थ्यो होला। सायद म संगीतकार पनि हुने थिइनँ होला। लोकजीवन र संस्कृतिबाट टाढा भएको भए अहिले यो स्तरको संगीत सिर्जना सम्भव हुँदैनथ्यो होला।’

२०५८ को हिट्स एफएम म्युजिक अवार्डको कार्यक्रममा उनको भेट गायक नवीन के भट्टराईसित भयो। राजनले भट्टराईका लागि पनि गीत बनाउन थाले। एक दिन एउटा गीत बनाएर नवीनलाई पठाए। त्यो गीत सुनेपछि नवीनको घरमा रुवाबासी चलेछ। नवीनले एक दिन राजनलाई घरमा बोलाएर हार्मोनियम दिँदै भनेछन्, ‘यो लिएर जाऊ।’ राजनसित हार्मोनियम किन्न गोजीमा दाम थिएन। राजन हिच्किचाएको देखेर नवीनले भनेछन्, ‘यो तिमीलाई गिफ्ट हो।’ यति भनिसक्दा पनि राजनलाई पत्यार भएनछ। उनले मनमनै सोचेछन्, ‘यस्तो महँगो हार्मोनियमको पैसा तिर्नु पर्‍यो भने त गाह्रो पो हुन्छ।’ राजनको मनोदशा बुझेर नवीनले हार्मोनियममा लेखेरै दिएछन्, ‘अ गिफ्ट बाई नवीन के. भट्टराई।’ यसरी उनलाई चिन्नेले पहिल्यै चिनेका थिए। आम श्रोताले भने अहिले बल्ल चिनेर उनलाई दिलमा बसाउन थालेका छन्।

लोक, पप, आधुनिक सबै खालका गीतमा राजन पारंगत छन्। शब्द, संगीत र गायनमा उत्तिकै दम राख्छन्। ठूलो नेता भएर नेपालको पूर्वपश्चिम रेल कुदाउने उनको सपना पूरा नभए पनि उनी गीतमा यस्ता विम्ब उतारिरहन्छन्। काठमाडौंमा जारको पानीले नुहाउनु पर्दा ‘काकाकुल झैं भा’को छ जिन्दगी’ भनेर त्यसबाट पार पाउने उपाय सोच्छन्। केही वर्षमा उनले सुर्के थैली, पूर्व पश्चिम रेल, कुटुमा कुटु, सि ओ डब्लु काउ, टाकान टुकुन, चिरबिर चिरबिर चाँचरी, चेप्टे चेप्टे पेरुंगो, कम्पनी माला जस्ता सुपरहिट गीतसंगीत नेपाली माटोलाई दिएका छन्। सुखद कुरा के हो भने, कुटुमा कुटुलाई विदेशीले समेत विभिन्न कार्यक्रममा गाउने र नृत्य गर्ने गरेका छन्। हाम्रै छिमेकी मुलुकमा यो उचाइको गीत बनाउने साधकको आर्थिक हैसियत निकै माथि पुगेको हुन्छ। करोडौं भ्युअर्स पुर्‍याउने राजनको अर्थिक हैसियत भने लगभग उस्तै छ। पहिला पनि डेरामा बस्थे, अहिले पनि डेरामै छन्। उनको स्वभावमा पनि खासै बदलाव आएको छैन। उनी अहिले पनि पहिलाजस्तै सरल र सीधा छन्।

राजनलाई आफ्नो धरातल थाहा छ। काम गर्ने मजदुर सडकमै छन्। राम्रा लेखक, कवि, कलाकर सडकमै छन्। यो मुलुकमा महलमा पुग्ने बाटो अर्कै छ। उनलाई भने असल संगीत सिर्जना गरेर दर्शक श्रोताको मनमुटुसम्म पुग्न पाए अरू केही चाहिँदैन। वास्तविक राजनराज शिवाकोटी को हो त ? उनी भन्छन्, ‘म गीतसंगीतमा फुल्दै गरेको भुइँफूल हुँ।’ उनले जेसुकै भनून् उनी टाढैबाट देखिने र स्पष्ट रूपमा चिनिने डाँडाको लालीगुराँस भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.