प्रशोधित भनिएकै पानीमा ‘कोलिफर्म’

प्रशोधित भनिएकै पानीमा ‘कोलिफर्म’

 विराटनगर : मोरङमा उद्योगबाट प्रशोधन गरेर उत्पादन गर्दै बजारमा बिक्रीका लागि लग्ने गरिएको पानीमा दिसामा पाइने ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको छ। उद्योगले पानी प्रशोधन गरेको भन्दै जार र बोतलमा बिक्रीका लागि बजारसम्म पुर्‍याउने गरेका थिए। प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायत सरकारी निकायले गरेको संयुक्त अनुगमन क्रममा पानीमा मानव स्वास्थ्यका लागि अति नै हानिकारक जीवाणु फेला परेको हो।

सामाजिक विकास मन्त्रालयले विराटनगरमा शुक्रबार अनुगमनको परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै अनुगमन गरिएका र ल्याब परीक्षणका लागि नमुना संकलन गरिएका २० वटा पानी उद्योगमध्ये ११ वटा उद्योगबाट उत्पादित पानीमा ‘कोलिफर्म’ फेला परेको जानकारी दिएको छ। तीनवटा उद्योगले उत्पादन गरेका पानी पिउन अयोग्य रहेको पाइएको छ। ६ वटाले उत्पादन गरेको पानी पिउन योग्य भए पनि ती उद्योगले समेत कतिपय मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल सचेत गराएर मापदण्ड पूरा गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचिव गोपी घिमिरेले बताए।

अनुगमन क्रममा पानी उत्पादन गर्ने उद्योगले सरसफाइमा ध्यान नदिने गरेको, लापर्वाही तरिकाबाट पानी उत्पादन गर्ने गरेको, सोडा तथा पोटासको मात्रा नमिलाउने गरेको, अनुमति तथा नवीकरणबिनै उद्योग सञ्चालन गर्ने गरेको पाइएको घिमिरेको भनाइ छ। उनका अनुसार कतिपय पानी उद्योग गोठबाटै सञ्चालित रहेको पनि फेला परेको थियो। कतिपयका उद्योगको बोरिङ र शौचालय सँगसँगै रहेको भेट्टाइएको घिमिरेले बताए। प्रशोधित पानीको अम्लियपना (पिएच) कम रहेको पाइएको थियो। सामान्यतया पानीको पिएच ६ देखि ८ दशमलव ५ हुनुपर्छ। अधिकांश उद्योगबाट उत्पादन गरिएको पानीमा प्रयोगको अन्तिम मिति र उत्पादन मितिसमेत उल्लेख नगरेको पाइएको छ।

मन्त्रालयले विराटनगर महानगरपालिका-५ को गंगाजल उद्योग, विराटनगर ४ को गोमा रानी जल उद्योग, विराटनगर-६ को पूजा फुड एन्ड वेभरेज प्रालि, विराटनगर-२ को तिरुपति जल उद्योग, विराटनगर-१० को हाइमल वाटर इन्डस्ट्रिज, विराटनगर-११ को माउन्टेन वाटर, विराटनगर-१३ को श्रीजल उद्योग, विराटनगर-८ को शीतल जल उद्योग, विराटनगर-१४ को जोनसन जल उद्योग, विराटनगर-१२ को दिव्य श्री जल उद्योग र बूढीगंगा गाउँपालिका-१ को शुभ जल उद्योगबाट उत्पादित पानीमा ‘कोलिफर्म’ फेला परेको प्रतिवेदन सार्वजनिक गरिएको छ।

अनुगमन गरिएमध्ये विराटनगर-५ को शान्ति जल उद्योग भने मापदण्डअनुसार नै सञ्चालनमा रहेको र त्यहाँ कुनै समस्या नपाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। विराटनगर-७ को एसएसएस जल उद्योग, विराटनगर-५ को गुडलक, विराटनगर-८ को हाम्रो प्रयास जल उद्योग, विराटनगर ११ को पूर्वाञ्चल निर्मल जल उद्योग, विराटनगर-९ को मंगल वेभरेज, विराटनगर १० को प्रजापति जल उद्योग, विराटनगर-१५ को हुलास प्युरिफाइड, विराटनगर-१२ को भूमि जल उद्योग समेतबाट उत्पादित पानीमा समस्या भेटिएको छ। प्रदेशका ९५ वटा पानी उद्योगलाई ६ महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशनसमेत दिइएको छ।

पानी उद्योग अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानव स्वास्थ्यका लागि अति हानिकारक जीवाणु ‘कोलिफर्म’ भेटिएका पानी उद्योग सधैँका लागि बन्द गरिने जानकारी दिए। साउन १ गते अनुगमन सुरु भएपछि पाँचवटा उद्योगमा सिलबन्दी गरिएको थियो। ‘अनुगमनमा मापदण्ड पूरा नगरेको र लापर्वाही गरेको पाइएपछि उत्पादित पानीको नमुना संकलन गरेर खाद्य प्रायोगशालामा ल्याब परीक्षणका लागि पठाइएको थियो,’ मन्त्री घिमिरेले भने, ‘परीक्षण गर्दा प्रशोधित पानीमै ‘कोलिफर्म’ रहेको रिपोर्ट आयो।’

उनले ‘कोलिफर्म’ भेटिएका र पानी पिउन आयोग्य देखिएका उद्योगको उत्पादन र बजारीकरण सधैंका लागि बन्द गर्न निर्देशन दिइएको बताए। पानीकै कारण कमलपित्त ‘जन्डिस’ को प्रकोप फैलिएको पाइएपछि विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा चार वर्षअघि ‘कोलिफर्म’ भेटिएको थियो। जन्डिसका कारण त्यतिबेला १२ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.