सम्पत्तिसँग जोडिएका मुद्दा धेरै

सम्पत्तिसँग जोडिएका मुद्दा धेरै

 विराटनगर : पछिल्लो समय अदालतमा सम्पत्तिसँग जोडिएका र पारिवारिक तथा दाम्पत्य जीवनसँग सम्बन्धित मुद्दा बढी पर्न थालेका छन् ।

जिल्ला अदालत मोरङमा चालु आर्थिक वर्ष २०७४÷०७५ को हालसम्म परेकामध्ये सबैभन्दा बढी सम्पत्तिसँग जोडिएका अंश मुद्दा परेका छन् । यसलाई पछिल्लो समय परिवार तथा आफन्तमा बढ्दै गएको सम्पत्ति विवाद मुद्दा मामिलासम्म पुग्न थालेको रूपमा लिइएको छ ।

आर्थिक वर्ष सकिन एक साता पनि बाँकी नरहेको अवस्थामा एक हजार ७५ वटा अंशसम्बन्धी मुद्दा दर्ता भएका छन् । मोरङ अदालतमा परेकामध्ये सम्पत्तिसँग जोडिएका मुद्दाको संख्या अधिक रहेको हो । अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार दर्ता भएका एक हजार ७५ अंशसम्बन्धी मुद्दामध्ये पाँच सय ८६ वटा मात्रै फछ्र्योट भएका छन् । बाँकी चार सय ८९ वटा फैसलाको चरणमा छन् ।

‘अदालतमा पछिल्लो समय सम्पत्ति विवादका मुद्दा बढी पर्न थालेका छन्’, स्रेस्तेदार दुलालले भने, ‘यसले मानिसको जुनसुकै कुरा पनि सम्पत्तिसँग जोडिएको छ भन्ने पुष्टि गर्छ ।’ परिवारका सदस्य तथा आफन्तसँग अंश मुद्दा लड्ने क्रम बढेर गएको तथ्यांकले पुष्टि गरेको हो । पारिवारिक खटपट, विवाद, बेमेल आदि कारणले अंश मुद्दा पर्ने क्रम बढेर गएको उनले बताए । ‘अंश भन्ने चिज सम्पत्तिसँग जोडिएको विषय हो’, दुलालले भने, ‘अंश मुद्दा लड्दा सम्पत्ति पाइने र स्वतन्त्र जीवनयापन गर्न पनि पाइने कारणले पनि यस्ता मुद्दा पर्ने क्रम बढेको पाइयो ।’

अंशपछि जिल्ला अदालत मोरङमा पारिवारिक र दाम्पत्य जीवनसँग सम्बन्धित सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएका छन् । आठ सय ६६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा छ सय ७७ वटाको किनारा लागिसकेको र एक सय ८९ वटा मुद्दा फैसला हुन बाँकी रहेको जानकारी दुलालले दिए । माना चामलको पनि तीन सय ५१ वटा मुद्दा मोरङ अदालतमा दर्ता भएका छन् । जसमा एक सय ७९ वटा माना चामलसम्बन्धी मुद्दा फैसला भइसकेका छन् । एक सय ७२ वटा फछ्र्योेट हुन बाँकी छन् ।

पति पत्नीबीचको दाम्पत्य सम्बन्धमा दरार उत्पन्न भएपछि सुरुमा पत्नीले माना चामलको मुद्दा दर्ता गर्ने र पछि सम्बन्धविच्छेदसम्म पुगेर टुंगिने गरेको स्रेस्तेदार दुलालले बताए । ‘केही महिलाले माना चामलको मुद्दा नगरी सीधै सम्बन्धविच्छेदको मात्रै दर्ता गर्छन्’, उनले भने, ‘कसैले सुरुमा माना चामलको मुद्दा दर्ता गरेर सम्बन्धविच्छेदको पनि माग गर्छन् ।’ दुलालका अनुसार पतिले पत्नीसँग सम्बन्धविच्छेद गर्न चाहेको मुद्दामा भने माना चामल पर्दैन ।

समाजमा पछिल्लो समय सम्पत्ति र सम्बन्ध विवाद बढ्दै गएको दर्ता भएका मुद्दाले पुष्टि गर्छन् । महिलालाई दिएको अधिकार तथा चेतनाको विकास र विस्तारले पनि यस्ता मुद्दा बढ्दो क्रममा रहेको अदालतको तथ्यांकले देखाएको छ । पारिवारिक बिखण्डन, वैदेशिक रोजगार, घरेलु हिंसा, पतिपत्नीबीच सम्बन्धमा उत्पन्न हुने दरार, आपसी बेमेल आदि मुद्दाका मुख्य कारक बनिरहेका दुलालले बताए । आपसी सम्बन्ध टुटाएर आफ्नो हिसाबले स्वतन्त्रपूर्वक जीवनयापन गर्ने मनसायले पनि सम्बन्धविच्छेदका मुद्दाको संख्यासमेत बढेको हुन सक्ने बताए ।

चालु आर्थिक वर्षको हालसम्म अदालतमा चार हजार दुई सय ६० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये लागूऔषधका दुई सय ८८, घरेलु हिंसाका ७६, जबर्जस्ती करणीका एक सय ५८, मानव बेचबिखन तथा ओसारपसारका १०, अपहरण तथा शरीर बन्धकका सात, बहुविवाहका ३२ र अन्य सरकारवादी चार सय ९० वटा मुद्दा छन् । परेकामध्ये लागूऔषधका दुई सय २३, घरेलु हिंसाका ३७, जबर्जस्तीकरणीका ९६, मानव बेचबिखन तथा ओसारपसारका चार, अपहरण तथा शरीर बन्धकका दुई, बहुविवादका २१ र अन्य सरकारीवादी तीन सय ४३ मुद्दाको फैसला भएसकेको दुलालले बताए ।

जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश राजुकुमार खतिवडाले जतिसक्दो चाँडो प्रमाण जुटाएर मुद्दाको फैसला गर्नेतर्फ अदालत लागिपरेको जानकारी दिए । ‘कतिपय मुद्दामा प्रमाण पर्खिएर बस्नुपर्ने भएकाले फैसला ढिलो हुने गरेको छ’, उनले भने, ‘तर अदालत चाँडो गरेर प्रमाण जुटाउँदै मुद्दाको किनारा लगाउनेतर्फ केन्द्रित भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.