बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?

बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?

हामीलाई दुई कुरामा बडो गर्व छ– बुद्ध र हिमाल । यी दुवै गौरवका विषय हुन् । अतः यी दुवैका प्रति नेपाली अभिमान स्वाभाविक पनि हो । तर, नढाँटी भन्ने हो भने हिमालका विषयमा हाम्रो जानकारी, हाम्रो अभिमानको तुलनामा निक्कै होचो छ ।

हामीमध्ये अधिकांशलाई नेपालका हिमाली शिखरहरूको तस्बिर देखाइए, विरलै चुचुराको नाम मात्र भन्न सक्छौं । ‘सगरमाथा हाम्रो सान, हाम्रो मान र हाम्रो परिचय’ भन्ने गीत गाएर हामी थाक्दैनौं । तर, सत्य के पनि हो भने सगरमाथाको शिखर हाम्रो मात्र होइन । मित्रराष्ट्र चीनको पनि त्यसमा बराबरीको हक लाग्छ । सगरमाथाको एउटा मोहडा हाम्रो हो, अर्को मित्रराष्ट्र चीनको हो । त्यसैले उताबाट आरोहण गर्नेले हाम्रो पर्यटन मन्त्रालयबाट अनुमतिपत्र लिँदैनन् ।

बुद्धका सम्बन्धमा हाम्रो अभिमानको तुलनामा, हाम्रो जानकारी झनै पुड्को छ । ‘बुद्ध लुम्बिनीमा जन्मेका थिए’ भन्नेबाहेक हामीलाई उनका विषयमा पनि खासै थाहा छैन ।

बुद्ध शब्दको अर्थ के हो ? के यो कुनै मान्छे विशेषको नाम हो वा अवस्था ? के महाराज शुद्धोधनका छोरा राजकुमार सिद्धार्थ गौतमभन्दा अघि पनि संसारमा बुद्धहरू थिए ? राजकुमार सिद्धार्थ जो कालान्तरमा शाक्यमुनि गौतम बुद्ध भनेर चर्चित भए, उनले के–के भनेका थिए ? कसरी भनेका थिए ? के अभिप्रायले भनेका थिए ? कुन–कुन ठाउँहरूमा भनेका थिए ? गौतम बुद्धको जीवनका चार महŒवपूर्ण घटना कहाँ घटित भएका थिए ?

गौतम बुद्धको जन्मदेखि मरणसम्मका ती घटना भएका बेलाको राजनीतिक नक्सामा नेपाल र भारत भन्ने देश थिए कि थिएनन् ? अहिले बुद्ध धर्मको विस्तार विश्वमा तीव्र गतिमा भइरहेको छ, त्यसको कारण के हो ?

अनि लुम्बिनीकै वरिपरि क्षेत्रमा बुद्धमार्गीको उपस्थिति शून्यप्रायः किन छ ? लुम्बिनी क्षेत्रकै सानाठूला होटेलमा मदिरा, मांसको खुलेआम बिक्री उचित—अनुचित के हो ?

बुद्धले नेपालको परिचयमा त्यत्रो विशाल योगदान दिए पनि नेपाल राज्यले वा नेपाली जनस्तरले उनको स्मृति र धर्मका निम्ति आजसम्म के ग¥यो त ?

यस्ता कयौं प्रश्नलाई कार्पेटमुनि लुकाएर ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर मात्र हाम्रो दायित्व पूरा हँुदैन । यस विषयलाई अलि फराकिलो र ताजा कोणबाट हेरिनु अत्यावश्क भइसकेको छ । बुद्ध विराटताका प्रतीक हुन्, संकीर्णताका होइनन् । २५ सय वर्ष बितिसक्दा पनि उनका शिक्षाको महŒव संसारमा रत्तिभर घटेको छैन । बरु दुनियाँका सबैभन्दा आधुनिक र शिक्षित भनिएका भू–भागमा तीव्र रफ्तारमा फैलिँदो छ ।

कपिलवस्तुका राजा महाराज शुद्धोधनका सुपुत्र राजकुमार सिद्धार्थ लुम्बिनीमा जन्मेका थिए भन्ने चक्रवर्ती सम्राट् अशोकद्वारा लुम्बिनीमा स्थापित स्तम्भले स्वतः प्रमाणित गरेको छ । हो, तिनै चक्रवर्ती सम्राट् अशोक, जो आफैं बुद्ध धर्मावलम्बी थिए, बुद्ध धर्मको निम्ति जसको योगदान अमर छ ।

बुद्ध कहाँ जन्मेका थिए ? भन्ने विषय स्वयं प्रमाणित भएकाले म त्यसको थप बेलीविस्तार गर्न चाहन्न । भारतबाट बेलाबखतमा अज्ञानतावश वा दुष्ट कुटिल नियत राखेर यस विषयमा गलत प्रचार गरिदिनाले नेपाली मनमा अप्रसन्नता, क्रोध र रोष उत्पन्न हुनु स्वाभाविक हो ।

तर, पछिल्ला वर्षहरूमा भारतका केही सरकारी र गैरसरकारी सूचनाहरूले पनि लुम्बिनीलाई नै बुद्धको जन्मस्थलका रूपमा स्वीकारोक्ति दिन बाध्य भएको तथ्य पनि स्मरणयोग्य छ । जस्तै, भारतमा करोडौं मानिसले हेर्ने अमिताभ बच्चन सञ्चालित ‘कौन बनेका करोडपति’ मा यो प्रसंगको स्वीकारोक्ति वा कैयौं औपचारिक कार्यक्रममा भारतीय राजदूतहरूले समेत यस विषयमा स्पष्टीकरण दिइसकेका छन् । यदि भविष्यमा पनि कसैले अज्ञानता वा खराब नियतले बुद्ध जन्मस्थलका विषयमा गलत प्रचार गर्छ भने यथोचित जवाफ, संयमता र उदारतापूर्वक दिन सकिन्छ ।

हेक्का रहोस्, बुद्ध उदारता र संयमका सगरमाथा हुन्, कुनै अल्पज्ञानीको उत्तेजनाले निर्मित बालुवा ढिस्का होइनन् । बुद्धका विषयमा केही लेख्न बस्दा पंक्तिकारलाई बडो संकोचको अनुभव भइरहेको छ । किनभने यो विराट विषयमा लेख्न, बोल्न वा माइकिङ गर्न म विल्कुलै अनुपयुक्त पात्र हुँ । पाटनका मित्र अशोक वज्राचार्यको निरन्तर आग्रह टार्न नसकी यस विषयमा आफ्नो मनका कुरा पोख्न बसेको हँु ।

सबैभन्दा ठूलो प्रेरणा त स्वयं शाक्यमुनि बुद्धका यी शब्द हुन्, जो कुनै पनि बुद्धमार्गीको मनमा कुँदिएका हुन्छन्– ‘हे भिक्षु ! मैले भनेको भन्दैमा तिमीले केही पनि मान्नु पर्दैन । मेरा शब्दलाई आगोमा पोलर, पानीमा डुबाएर र आकाशमा उडाएर जाँची हेर । त्यसपछि पनि विश्वास लागेछ भने मात्र मेरा शब्दमा पत्यार गर ।’

आफ्ना अनुयायीलाई त्यत्रो अपार स्वतन्त्रता दिने शाक्यमुनि बुद्धको करुणाको सम्झना मात्रले कुनै पनि बुद्धमार्गीको मन भावुक नरही बस्न सक्दैन । त्यसैले त ओशोजस्ता महापुरुष पनि ओजपूर्ण आवाजमा यो भन्न बाध्य छन्– ‘गौतम बुद्ध मात्र त्यस्ता हुन्, जसले कसैसँग आस्था वा श्रद्धाको पूर्वभुक्तानी (एड्भान्स) माग्दैन । मलाई मान् अनि मात्र तँलाई फल दिन्छु भन्दैन । शिर झुका अनि ज्ञान दिउँला पनि भन्दैन । पर्वत त संसारमा धेरै छन् तर हिमालय अतुलनीय छ । गौतम बुद्ध अतुलनीय छन् । उनले शिर नझुका भन्दाभन्दै पनि साधकको शिर आफैं, स्वतः स्वचालित निहुरिन्छ ..श्रद्धाले ....।’

शाक्यमुनि बुद्धको जीवनमा चार स्थानहरूको महŒव सर्वाधिक छ । लुम्बिनी (जहाँ उनी जन्मिए) बोधगया (जहाँ उनले बुद्धत्व प्राप्त गरे) सारनाथ (जहाँ उनले पहिलो प्रवचन दिए) कुशीनगर (जहाँ उनी निर्वाण भए) यी चारैवटा स्थानहरू संसारभरिका कुनै पनि बुद्धमार्गीको जीवनमा अतुलनीय छन् ।

अब पंक्तिकार एक प्रश्न समाजका अगाडि राख्न चाहन्छ । यदि गौतम बुद्धका प्रति हाम्रो चासो र श्रद्धा साँचो हो भने ‘बुद्ध वाज बर्न एन नेपाल’ भनेर मात्र पुग्दैन । बुद्धका प्रति हाम्रो श्रद्धा पाखण्डी होइन भने त्यति भनेर मात्र पुग्दैन । बुद्धले नेपाललाई संसारमा त्यत्रो परिचय दिए । हामीले उनको जन्मस्थल लुम्बिनी र उनको धर्मलाई के चाहिँ गुण ति¥यौं त ? यतिका दशकपछि पनि लुम्बिनी क्षेत्र किन त्यस्तो हालतमा ? बुद्ध शिक्षाको विकास र बिस्तारमा योगदान दिन नेपाल सरकार र समाजले के कति गरेको छ ? भुइँचालो पछि गाउँघरमा अनेकन् गुम्बा भत्किएका, चर्किएका छन् । बुद्धको देशले के गरेको छ तिनका लागि ?

अहिंसाका प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुनुमा हाम्रो गौरव सक्कली हो भने त्यस क्षेत्रलाई हेर्दै गौरव गर्ने लायक बनाउने काममा हामी यति सुस्त किन ?

‘बुद्ध वाज बर्न इन् नेपाल’ भनेर जसरी हामी भन्छौं ‘वी मस्ट डेभलप लुम्बिनी’, ‘वी मस्ट वर्क टु डेभलप बुद्ध सेन्टर्स’ किन भन्न सक्दैनौं ? यत्तिका दशक बितिसक्दा पनि लुम्बिनी क्षेत्रमा हाम्रो योगदान खोइ ? तिलौराकोट संरक्षणको अभावमा रोइरहेको छ । हामी ‘बुद्ध वाज बर्न इन् नेपाल’ को गीतमा वर्षौंदेखि मस्त छौं ।

हुन त, हामीले लुम्बिनी क्षेत्रको विकास गरे पनि, नगरे पनि बुद्धलाई खासै फरक पर्दैन होला । प्रशंसक, निन्दक वा निरपेक्षको हिसाब गर्ने क्याल्कुलेटर बोकुन्जेल कोही कहाँ बुद्ध हुन्छ र ! फेरि, बुद्धको कुनै पासपोर्ट पनि त हँुदैन नि ! पासपोर्ट बोकुन्जेल बुद्ध हुन पनि सकिँदैन । न बुद्धलाई हामीसित कुनै आशा वा लोभ छ । आशा, लोभ र डरबाट पर गएकाले नै त राजकुमार गौतमले बोधी पाए, बुद्ध भए ।

हामीले बुद्ध जन्मस्थल, बुद्ध धर्म र बुद्ध संघका निम्ति आजसम्म यथोचित योगदान गरेका छैनौं । यो कटु सत्य हो । बुद्धको जन्मस्थलबारे अज्ञानतावश, कुटिलतावश वा दुष्टतावश भ्रम फैलाउने प्रयास जसले गरे पनि सत्य लुक्न सक्दैन । तर, अर्को एक कटु सत्य पनि छ । बुद्धका प्रति हामीले अर्थात् बुद्ध जन्मस्थलका निवासीहरूले आफ्नो कर्तव्यको पालना त्यसरी गरेका छैनन्, जसरी गरिनुपथ्र्याे वा पर्छ। यो स्थितिमा परिवर्तन अनिवार्य छ । बुद्धले हामीसित केही मागेका छैनन् भन्दैमा यथावस्थामा रहन सकिन्न ।

प्रकाण्ड बहुमतद्वारा स्थापित नयाँ सरकारले यी विषयमा मौलिक, ठोस र सकारात्मक निर्णयहरू गरेर दुनियाँलाई देखाओस्– सरकार गौतम बुद्धको जन्मभूमिका प्रति आफ्नो कर्तव्यपालनमा ऐतिहासिक निर्णय गर्न तत्पर छ । त्यही उदाहरण हिमाली क्षेत्रको संरक्षण र विकासमा पनि लागू हुनुपर्छ । अनि मात्र बुद्ध र हिमाल–दुवै विषयमा हाम्रो देश, समाज र सरकारले गर्ने गर्वको महत्वलाई बाँकी संसारले पनि सहजै बुझ्नेछ ।

संसार हेर्दै छ– गौतम बुद्धको नाम लिँदा नेपालीको आवाजमा राप मात्र छ कि कर्तव्यपालनको न्यूनतम प्रकाश पनि छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.