१३ अर्ब खर्चेर इन्टरनेट

१३ अर्ब खर्चेर इन्टरनेट

काठमाडौः सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर देशका सबै गाउँमा इन्टरनेट विस्तार गर्ने भएको छ । अप्टिकल फाइवरमार्फत ब्रोडब्यान्ड (द्रुत गतिको) इन्टरनेट सेवा विस्तार गर्न सरकारले कोषको १३ अर्ब रुपैयाँ खर्च गर्नेछ ।

दूरसञ्चार ऐन २०५३ अनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि प्राधिकरणबाट अनुमति पाएका सबै सेवा प्रदायकले वार्षिक आम्दानीको दुई प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । यसमार्फत हाल १५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।

यही रकम तीन चरणमा खर्च गर्न सरकारले मोडालिटी तयार पारेको छ । यो रकम खर्चेर पहिलो चरणमा ७५ वटै जिल्ला सदरमुकामसम्म इन्टरनेट सेवा पुर्‍याइनेछ । यसपछि जिल्ला सदरमुकामबाट गाउँगाउँसम्म दू्रत गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिनेछ ।

यस्तो इन्टरनेट सेवा कम्तीमा ५१२ केबीपीएसको डाउलोड गतिमा हुनुपर्ने सर्त ब्रोडब्यान्ड नीति २०७१ ले तोकेको छ । सोही नीतिअनुसार गाउँगाउँसम्म इन्टरनेट सेवा विस्तार गर्ने रणनीति सरकारले अवलम्बन गर्न थालिसकेको छ । सरकारले दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकबाट लिएर जम्मा गरेको रकम ग्रामीण क्षेत्रसम्म इन्टरनेट पहुँच पुर्‍याउन खर्च गर्न प्रक्रिया अघि बढाइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच पुर्‍याउन प्राधिकरणले तीन चरणमा काम थालिसकेको छ । पहिलो चरणका लागि नेपाल टेलिकमलाई जिम्मा दिईसकिएको छ । करिब पाँच अर्ब रुपैयाँको काम टेलिकमले सुरू गरिसकेको छ ।

मध्यपहाडी लोकमार्ग भएर ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तार गर्ने कामलाई पूर्वी खण्डतर्फ टेलिकमले जिम्मा पाएको हो । टेलिकम सरकारी कम्पनी भएको र सरकारबाट पनि सोही कम्पनीलाई निर्देशन भएकाले सीधै यसलाई पहिलो चरणको कामको जिम्मा दिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

मध्यपहाडी लोकमार्ग इन्टरनेटका लागि महामार्ग हो । यसलाई आधार मानेर ९६ कोर क्षमताको मेन लिंक र जिल्ला सदरमुकाम पुग्न ४८ वा २४ कोरको स्पर्क लिंक हुनुपर्ने सर्त तोकिएको छ ।

मध्यपहाडी लोकमार्गलाई अप्टिकल फाइबरको महामार्ग मान्ने र यसैबाट जिल्लाका नगर र गाउँसम्म इन्टरनेट विस्तार हुनेछ । प्राधिकरणका अनुसार दुई वर्षभित्रमा नै टेलिकमले ताप्लेजुङको चियो भन्ञ्याङदेखि गोरखाको आरुघाटसम्मको प्याकेजका लागि काम गरिहेको छ ।

प्राधिकरणका अनुसार २०५६ सालदेखि नै दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकबाट ग्रामीण विकास शुल्क उठाउन थालिएको हो । खर्च गर्ने मोडालिटी र क्षेत्रबार भएको लामो बहसपछि गत वर्षसम्म जम्मा भएको १३ अर्बलाई खर्च गर्ने तयारी भएको हो ।

कोषको पैसा खर्च गर्न पहिलो चरणमा टेलिकमार्फत करिब पाँच अर्ब, दोस्रो चरणमा आईएसपीमार्फत करिब तीन अर्ब र बाँकी रकम ६१ जिल्लामा खर्च गर्ने गरी मोडालिटी तय भएको छ ।

कोषमा जम्मा भएको बाँकी रकम भने पुनः अर्को मोडालिटी बनेपछि मात्रै खर्च हुनेछ । प्राधिकरणमा पछिल्लो समय विभिन्न सेवाप्रदायकमार्फत वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ संकलन हुने गरेको छ । यो रकम उनीहरूको कुल आम्दानीको जम्मा दुई प्रतिशतले हुन आउने रकम मात्रै हो ।

पहिलो प्योकजको जिम्मा टेलिकमले लिएकाले दोस्रो प्याकेजअन्तर्गत भूकम्पबाट अति प्रभावित ११ जिल्ला छनोट भएका छन् । यी जिल्लामा सबै गाविस, सामुदायिक स्कुल, स्वस्थ्य चौकीमा ब्रोडब्यान्ड कनेक्टिभिटी पुर्‍याउनुपर्छ । यो ११ जिल्लाका लागि इन्टरनेट सेवा प्रदायकले पनि भाग लिन पाउँछन् ।

कोषको पैसा खर्च गर्न पहिलो चरणमा टेलिकमार्फत करिब पाँच अर्ब, दोस्रो चरणमा आईएसपीमार्फत करिब तीन अर्ब र बाँकी रकम ६१ जिल्लामा खर्च गर्ने गरी मोडालिटी तय भएको छ ।

यसमध्ये सातवटा जिल्लाका लागि भने टेन्डर नै भइसकेको छ । यो टेन्डरमा प्राधिकरणबाट अनुमतिप्राप्त सबै इन्टरनेट सेवा प्रदायकले भाग लिन पाउनेछन् । यो योजनामा भूकम्प अतिप्रभावित ११ जिल्लामा गोरखा, सिन्धुपाल्चोक, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, ओखलढुंगा, रामेछाप, रसुवा, सिन्धुली र मकवानपुर रहेका छन् ।

त्यसपछि बाँकी ६१ वटा जिल्लालाई पनि विभिन्न सातवटा प्याकेजमा विभाजन गरेर टेन्डर गर्ने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार सातवटै प्याकेज एकैपटक सुरू नभएर फरकफरक समयमा हुने भए पनि टेन्डर पाएपछि काम सुरु गरेको एक वर्ष भित्रमै सेवा विस्तार भैसक्ने गरी काम गर्नुपर्ने सर्त छ ।

११ जिल्लाका सबै जिल्ला सदरमुकाममा बढीमा दुई वर्षमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्नेछ । भूकम्प प्रभावित जिल्ला र अन्य जिल्लामा पनि टेन्डर भएपछि काम सुरू भएको दुई वर्षभित्रमा सेवा विस्तार गरिक्नुपर्नेछ ।

पहिलो र दोस्रो प्याकेजको काम अगाडि बढेको छ भने तेस्रो प्याकेजको टेन्डर डकुमेन्ट बनिरहेको छ । सबै प्रक्रिया पूरा गरेर ब्रोडब्यान्ड सेवा दिने कम्पनी छनोट गरेर बढीमा पाँच वर्ष लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.