रेडियो अन्नपूर्णको चौथो वार्षिकोत्सव
काठमाडौँः रेडियो अन्नपूर्ण तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । अन्नपूर्ण मिडिया नेट्वर्कद्वारा सञ्चालित रेडियो अन्नपूर्णको चौथो वार्षिकोत्सवका अवसरमा मंगलबार पकनाजोलस्थित होटेल गोकर्ण हाउस रेस्टुरेन्ट औपचारिक कार्यक्रम गरिएको छ ।
अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रसिद्ध गायक योगेश वैद्यलाई ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित गरियो ।
वरिष्ठ गीतकार रत्नसमशेर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना धारणा राख्दै रेडियो अन्नपूर्णलाई चौथो वार्षिकोत्सवका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै रेडियो अन्नपूर्ण नेपालका प्रमुख ठाकुर बेलबासेले देशभरका दर्शकमाझ पुग्न केही महिनामै प्रसारणलाई विस्तार गर्न लागिएको बताए । उनले रेडियो अन्नपूर्णले दर्शकहरुको मन जित्दै गएको बताउँदै अझै खरोरुपमा प्रतिस्पर्धामा उत्रिन आफूहरु तयार रहेको बताए ।
त्यसैगरी कार्यक्रममा अन्नपूर्ण पोस्ट्का ग्रुप सम्पादक विजयकुमारले सञ्चारकर्मीले मेहनत गर्नुबाहेक अर्को विकल्प नभएको बताउँदै रेडियो अन्नपूर्ण नेपालका टिमले पनि अझै मेहनत गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रमको अध्यक्षको तर्फबाट बोल्दै अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले रेडियो अन्नपूर्ण चाँडै राष्ट्रव्यापी प्रसारणको तयारीमा रहेको जानकारी दिए ।
अध्यक्ष थापाले अन्नपूर्ण मिडिया नेट्वर्कले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको बताउँदै देश र जनताका लागि अझै जिम्मेवार पत्र कारिता गर्नुपर्नेमा जोड दिए ।
वार्षिकोत्सव कार्यक्रममा रेडियो अन्नपूर्ण नेपालमा कार्यरत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कृत गरियो । पुरस्कृत हुनेहरुमा समाचार शाखाबाट शिव सुनार, प्रविधि शाखाका राेशन थापा र प्रशासन तथा लेखाबाट देवेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरी विज्ञापन एजेन्सीतर्फ जगदम्बा इन्टरप्राइजेजलाई पनि सम्मानित गरियो ।