मुन र किमबीच दोस्रो पटक भेटवार्ता
सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जेइन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा शनिबार दोस्रो शिखर सम्मेलन भएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय बताएअनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमा स्थानीय समयअनुसार शनिबार दिउँसो ३ बजे भेट भई करिब दुई घण्टा कुराकानी भएको थियो । भेटमा दुई नेताले गत अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रको कार्यान्वयनबारे एकआपसमा विचार आदानप्रदान गरेका थिए । उनीहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको तर विविध कारणले अनिश्चित बनेको शिखर सम्मेलनलाई कसरी सफल पार्ने भन्ने षियमा समेत छलफल गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।
मुनले शिखर सम्मेलनबाट निस्केका निचोडबारे स्थानीय आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको छ । यसबारे राष्ट्रपतिको कार्यालयले विस्तृत विवरण भने दिएको छैन । मुन र किमबीच गत अप्रिल २७ मा पहिलोपटक भेट भएको थियो । उक्त भेटमा दुई नेता कोरियाली प्रायद्वीपलाई पूर्णतया आणविक हतियारविहीन बनाउने र लामो समयदेखि कायम रहेको युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा रूपान्तरण गर्ने सहमत भएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिंगापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अगाडि बढाउन नसकिने बताएका थिए । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।
बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको थियो, ‘दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुला आलोचनात्मक व्यवहार र गतिविधिका कारण द्विपक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महसुस गरिएको छ ।’ यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शंका व्यक्त गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मूर्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाइपछि आएको थियो । यद्यपि अमेरिकाले उत्तर कोरियाली नेतालाई लेखेको पत्रपछि उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच संवाद नटुटाउने विषयमा कुरा भएको खबर बाहिर आएका छन् ।