दार्चुलामा हिमपात हुँदा ५० बढी भेडाबाख्रा मरे
दार्चुला : हिमपातका कारण अपीहिमाल गाउँपालिकाको लोलुमा ५० भन्दा बढी भेडाबाख्रा मरेका छन्। दैनिक पानी परेर हिमपात हुने गरेको छ। हिउँले च्यापिएर नै घरमा बाँधिएका भेडाबाख्रा मरेको स्थानीयले जानकारी दिएका छन्।
मध्यरातमा ठूलो पानी परेको थियो’, स्थानीय जयसिंह धामीले भने, ‘बल्लतल्ल हामीले ओडारमा बसेर ज्यान बचायौँ। तर, भेडा बाख्रा बचाउँन सकिएन।’ भेडाबाख्रा केही च्यापिएर र केही चिसोले मरेको उनको भनाइ छ। अझैसम्म हिउँ ३–४ फिटसम्म जमेको छ।’
यो बर्ष अत्याधिक हिउँ परेपछि मान्छे बच्ने कि भेडाबाख्रा जोगाउने भन्ने समस्या भएको स्थानीयको भनाइ छ। हिमपातले बस्न नसकिने अवस्था भएपछि भेडापालक कृषकले लोलु फेदबाट भेडाबाख्रा धौलीओडार सारेका छन्। धौली ओडारमा पनि भेडा राख्नसक्ने अवस्था नभएको स्थानीयको भनाइ छ। हिउँबाट जोगाएका भेडालाई ओडारमा राति बाघले खाएपछि किसान झन त्रसित छन्।
त्यस्तै, हिमपातकै कारणले यार्सा संकलन गर्न गएका रितै हात फर्किन बाध्य भएका छन्। २ र ३ गते परेको असिना पानी र हिमपातका कारण यार्सा संकलन गएका स्थानीय रित्तो हात फर्किएका हुन्। ‘हिमालमा तीन, चार फिट हिमपात परेको छ’, अपीहिमाल गाउँपालिकाका अध्यक्ष धर्मेन्द्र मन्यालले भने, ‘साना बालबालीका आफ्नो पढाई छोडेर लेक लागेका थिए। तर, मौसम खराब भउका कारण काम ठप्प भएपछि उनीहरु फर्किन बाध्य भएका छन्।’