कीर्ति आजादलाई नेपाली नेताको जवाफ: नेपालबारे जथाभावी नबोल
काठमाडौँ: भारतीय जनता पार्टीका निलम्वित सांसद कीर्ति आजादले नेपालबारे गरेको टिप्पणीको नेपाली नेताहरूले कडा जवाफ दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भाजपाका नेता कीर्तिको टिप्पणीको कडा आलोचना गरेका छन् । भारतका पूर्व क्रिकेटर समेत रहेका आजादले नेपालस्थित मिथिला क्षेत्रलाई भारतमा गाम्भुपर्ने भनाइ शुक्रबार सार्वजनिक गरेपछि थापाले कडा टिप्पणी गरेका हुन् ।
आजादलार्इ जवाफ दिँदै ट्विटरमा थापाले भनेका छन्,‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमै एक भारतीय सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका विचारको भर्त्सना गर्दछु ।’
सांसद आजदले भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमै रहेका बेला मोदी बिहारका मुख्यमन्त्री नितिशकुमारसँग २ सय वर्षअघि भएको सन्धिको समय सकिएकोले अब जनकपुर क्षेत्रलाई फिर्ता माग्न भनेका थिए ।
त्यसैगरी सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले मिथिलाक्षेत्र वास माग्नुपर्ने कीर्तिको टिप्पणीलाई ‘दिमाग खुस्किएका’को बोली भनेका छन् ।
‘जसको दिमाग ठीक हुँदैन, उसले मात्रै यस्तो बोल्छ र लेख्छ । स्वस्थ मानिसले यस्तो कुरा लेख्दैन र बोल्दैन पनि नेपालको इतिहास नबुझेकाले मात्रै यस्ता गैरजिम्मेवार कुरा गर्दै हिँड्छन् । नेपाल-भारत सम्बन्ध बिगार्न यस्तो लेखिएको हुन सक्छ ।'
तीन पटक भारतीय लोक सभाका सदस्य भइसकेका भारतीय जनता पार्टीका पूर्वनेता कीर्ति आजादले शुक्रबार मोदी जनकपुर ओर्लिएलगत्तै मिथिलाको राजधानीलाई भारत लैजान सुझाव दिएका थिए ।
बिहार राज्यका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा समेत रहेका कीर्तिले मोदीलाई मिथिलाको राजधानी जनकपुर नगरमा स्वागत गर्दै यो भूमिलाई भारत लैजान सुझाव दिएका थिए । सन् १९८३ मा भारतले क्रिकेटको विश्वकप जित्दा टिमका सदस्य पनि रहेका आजादले जनकपुरलाई भारतमा गाभ्न आग्रह गरेपछि नेपालबाट उनको चर्को आलोचना सुरु भएको छ ।
आजादलाई एक हत्याको मामिलामा केही महिनाअघि भारतीय जनता पार्टीले निलम्बन गरेको छ । भाजपा नेताकै एक बाबुको हत्या अभियोगमा निलम्बनमा परेका उनी यसअघि दिल्ली बिधान सभाका सदस्य पनि भइसकेका छन् ।
आजादले बिहारमा छुट्टै मिथिला राज्यको पनि वकालत गर्दै आएका छन् । आजादले कुनै बेला मिथिलाको राजधानी रहेको जनकपुरलाई पनि त्यही सन्दर्भमा भारतमा गाभ्नुपर्ने बताएका हुन् ।