उमेर ढाँटेर जागिर : पेन्सन पट्टा रोक्का, डेढ करोड असुली
काठमाडौं : उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ । अनिवार्य अवकाशको मिति ढाँटेर चार-पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन् ।
सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट १ करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।
ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स (गम्भीरतापूर्पक फाइल केलाउने) अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन् । त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ ।
हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन् । उनीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष हो । ‘अब ढाँटेर जागिर खाने दुष्प्रयास कसैले नगरे हुन्छ । भिजिलेन्स अभियानलाई आक्रामक बनाएका छौं । छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनेछ’, किताबखानाकी महानिर्देशक भट्टराईले भनिन् ।
एकै कर्मचारीबाट १५ लाख रुपैयाँसम्म जफत गएिको छ । सेवा निवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले राज्यकोषबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म बुझेका छन् । किताबखानाका कर्मचारीको मिलेमतो तथा राजनीतिक पहुँचका आधारमा सेवा निवृत्त कर्मचारीले ढाँटेर बढी समय जागिर खाने गरेका थिए । कतिपयले उमेर बढाएर थप अवधि जागिर खाएका थिए ।
किताबखानामा सुधार भइसकेकाले अब विगतमा जस्तो कुनै प्रकारको त्रुटि नदोहोरिने भट्टराईले दाबी गरिन् ।
किताबखानाले कर्मचारीलाई पदावधि सकिनुअगावै पत्राचारमार्फत जानकारी गराउन थालेको छ । आकर्षक निकायमा कार्यरत कर्मचारीले किताबखानाले पठाएको पत्रलाई गायब बनाएर बढी समयसम्म जागिर खाँदै आएको किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जनाए ।