दुई सातादेखि रोल्पा प्रजिअविहीन
(लिबाङ) रोल्पाः रोल्पा जिल्ला दुई सातायता प्रमुख जिल्ला अधिकारीविहीन भएको छ । प्रमुख जिल्ला अधिकारीका रुपमा यहाँ रहेका डा. डिजन भट्टराई गृहमन्त्रालयमा बोलाइएपछि जिल्ला प्रजिअविहीन बनेको हो ।
प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्ला प्रशासन कार्यालय अभिभावकविहिनभैmँ भएको छ । प्रजिअका रुपमा सम्पादन हुने कतिपय काम ठप्प छन् । यद्यपी, दैनिक प्रशासनिक काम भने सहजै रुपमा सम्पादन भइरहेको निमित्त प्रजिअ अनुनय बाँस्तोला वताउँछिन् ।
प्रजिअ भट्टराई सरुवा भएपछि सहायक प्रजिअ चुडामणि गौतम निमित्त बनेका थिए । काम विशेषले गौतम पनि विदामा गएपछि यसअघि सहायक प्रजिअको भूमिका निर्वाह गरिसकेकी बाँस्तोलाले निमित्त प्रजिअको जिम्मेवारी सम्हालेकी छन् ।
प्रजिअ भट्टराई फागुन २७ गते गृहमा सरुवा भएका थिए । त्यसयता जिल्लाबासी नयाँ प्रमुख जिल्ला अधिकारी आउने आशामा छन् । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रिय सभा सदस्य रामबहादुर थापा नेपाल सरकारको गृहमन्त्री वनेपछि प्रजिअ भट्टराई गृहमन्त्रालयमा तानिएका थिए । गृहमन्त्रीको निजी सचिवका रुपमा भट्टराईले जिम्मेवारी समेत लिइसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी नहुँदा शान्ति सुरक्षा र विशेष काम प्रभावित हुने एक अधिकारीले बताए । कतिपय कार्यसम्पादनमा देखिने जटिलताबारे प्रजिअ हुँदा समन्वय र परामर्शबाट काम गर्न सजिलो हुने निमित्त प्रजिअ वास्तोला बताउँछिन् । ‘नयाँ प्रजिअ केही दिनमै गृहले पठाउने आशामा छौं ।’, निमित्त प्रजिअ वास्तोला भन्छिन्, ‘प्रजिअ नहुँदा अभिभावक विहिनको महशुस गरिरहेका छौं ।’
पूर्व गृहमन्त्री र मन्त्रीहरुको जिल्लामा दुई हप्ता पुग्न लाग्दापनि प्रजिअ नपठाउँदा नागरिक दुखी भएका छन् । नयाँ प्रजिअ नआउँदा विभिन्न अडकलवाजी समेत हुन थालेको छ । माओवादी केन्द्रका नेता र मन्त्रीको हानथापले नयाँ प्रजिअ खटाउन ढिला भएको चर्चा समेत हुने थालेको छ ।
कतिपयले दुई जनाको नाम प्रजिअका रुपमा चर्चा हुने गरेको छ । विगतमा सहायक प्रजिअका रुपमा रहिसकेर सरुवा भएका धनबहादुर केसी र गञ्जबहादुर एमसीको चर्चा छ । दुईमध्ये एकजना प्रजिअका रुपमा आउन सक्ने अड्कालबाजी हुने गरेका छन् । यद्यपी, यसबारे गृहले कुनै जानकारी दिएको छैन ।