गाउँपालिका अध्यक्ष बाइकमै सररर

गाउँपालिका अध्यक्ष बाइकमै सररर

कुस्मा : स्थानीय तह स्वायत्त स्थानीय सरकार पनि हो। नीति नियम, ऐन, कानुन निर्माण गर्नेलगायत थुपै्र अधिकार गाउँपालिका प्रमुख उपप्रमुखसँगै कार्यपालिकामा निहित छन्। आफूले के–कति सुविधा लिने भन्ने निर्णय आफैं गर्ने स्थानमा रहेका यहाँका एक गाउँपालिका अध्यक्ष धुलो खाँदै मोटरसाइकलमा हुइँकिने गरेका छन्।

गाउँपालिकाका अध्यक्षले गाडीको सुविधा लिन पाउने अधिकार भए पनि बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले गाडी खरिद वा भाडामा समेत नलिई बाइक चढ्ने गरेका छन्। ‘बजेट बनाउने बेला गाडी चाहिँदैन होला भनेर व्यवस्था गरिएन अहिलेको व्यस्तता हेर्दा नभइनहुने रहेछ’, उनले भने।

जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाले महँगा गाडी खरिद गरेर वा केहीले भाडामा लिएर सुविधा प्रयोग गरिरहेका बेला अध्यक्ष भुसाल भने धुलो खाँदै बाइकको पछाडि बसेर यात्रा गर्छन्।

सानो गाउँपालिका, थोरै बजेट, काम पनि कमै होला भनेर ऊ बेला बजेट व्यवस्थापन गरिएन’, उनले भने, ‘गाडी खरिद वा भाडामा लिने पैसा सबै विकास निर्माणमा लगाइयो तर अहिले आएर पछुतो भएको छ।’ सवारीको नाममा अहिलेसम्म एउटा मोटरसाइकल मात्र खरिद गरिएको उनले बताए।

प्रत्येक वडामा ९३ लाख रुपैयाँको दरले विनियोजन गरियो’, उनले भने, ‘यो आर्थिक वर्षमा गाडी खरिद गर्ने पैसा पनि छैन, भाडा लिने पैसा पनि छैन।’ आगामी आर्थिक वर्षमा सवारी साधन व्यवस्थापनका लागि रकम विनियोजन गर्ने योजना रहेको उनले बताए।

‘जनप्रतिनिधि आफूले गाडी चढ्दा नागरिकले नराम्रो सोच्ने हुन् कि भनेर मन गरिएन’, उनले भने, ‘तर अहिले दैनिकजसो गाउँपालिकाभित्र हुने नियमित, बैठक, गोष्ठी हुँदा कतिपय ठाउँमा पैदलै हिँडेर जाने गरेको छु।’

त्यस्तै, पोखरा, काठमाडौं र जिल्ला सदरमुकाममा कार्यक्रम परे सार्वजनिक यातायात प्रयोग गर्ने गरेको उनले बताए। कति सेवा–सुविधा लिने भन्ने कार्यपालिकाले निर्णय गर्ने अधिकार भए पनि यो वर्ष पूरै विकास निर्माणमा खर्चिएको उनको भनाइ छ।

कार्यपालिका बहुमत प्राप्त नभएकाले पनि सामान्य विषयमा सहमति जुटाउनसमेत समस्या हुने गरेको छ। एमालेका तर्फबाट उनी विजयी भएका हुन्।

‘यो वर्षको सबै रकम पूर्वाधारमा जोड दिएका छौं’, उनले भने, ‘गाउँपालिकाभित्रका सबै सडक बाह्रैमास सवारी चलाउन योग्य बनाउने योजना छ।’ अर्को आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याउँदा गाउँपालिकाका लागि गाडी, मोटरसाइकलजस्ता सवारीसाधनका लागि बजेट विनियोजन गर्ने बताए।

यो वर्षको कुल बजेटमध्ये ५० लाख सडकमा विनियोजन गरिएको थियो। यो गाउँपालिकामा कुनै पनि सडक कालोपत्रे भएका छैनन्।

‘विकट भनेर कर्मचारी आउन पनि मान्दैनन्, सबै ठाउँमा आफैं पुग्नुपर्ने बाध्यता छ’, उनले भने, ‘कतिपय ठाउँमा त पैदल नै हिँडेर पनि जाने गरेको छु।’

९ जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा अहिले ६ जना मात्रै कर्मचारी छन्। आइटी इन्जिनियर, कम्प्युटर अपरेटर, सब इन्जिनियर र ओभरसियर अझै पुगेका छैनन्।

सुरुदेखि नै कर्मचारी अभाव झेल्दै आएको गाउँपालिकाले अहिलेसम्म २५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माले जानकारी दिए। गाउँपालिकाले चालु आर्थिक वर्षका लागि २१ करोड बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो।

६ वटै वडामा गरी ३ सय ६६ वटा योजना थिए। ती सबै सम्झौता भएर काम पनि तीव्र गतिमा भएको शर्माले बताए।

 

मोटरसाइकलको पछाडि बसेर योजना अनुगमनमा जाँदै पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.