लागूऔषध कारोबारी पक्राउ
काठमाडौं (अन्नपूर्ण):लागुऔषध कारोबार मुद्दामा फरार काठमाडौंको बूढानीलकण्ठका २५ वर्षीय प्रवेश बराललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
जिल्ला अदालत बाराले प्रवेशलाई १० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद फैसला गरेको थियो। २०६५ सालमा बारामा १४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका निशान चेम्जोङविरुद्धको मुद्दामा प्रवेशलाई पनि प्रतिवादी बनाएर उक्त फैसला गरिएको थियो।
निशानसँगै प्रवेश पनि लागुऔषध कारोबारमा संलग्न भएको देखिएको थियो।यसैगरी महानगरीय प्रहरी वृत्त थानकोटले लागुऔषधसहित पाल्पाका १८ वर्षीय सुशील लामालाई पक्रेको छ। प्रहरीले सुशीलको साथबाट मुकसिन २९ एम्पल, फेनारागन २९ एम्पल, डाइजोपाम २८ एम्पल, नाइटरोसन १५ ट्याब्लेट बरामद गरेको छ।